पाहिरोले दोलखा त्राहीत्राही, हालसम्म ३७ घरपरिवार विस्थापित

साउन १२, दोलखा ।
दोलखामा लगातारको वर्षाका कारण आएको पहिरोले हालसम्म ३७ घरपरिवार विस्थापित भएका छन् । वर्षायाम सुरु भएदेखि हालसम्मको अवधिमा पहिरोका कारण जिल्लाको दुई नगरपालिका र तीन गाउँपालिका गरी पाँच स्थानीय तहका ३७ घरपरिवार विस्थापित भएका हुन् । पहिरोका कारण सबैभन्दा बढी कालिञ्चोक गाउँपालिकाका १८ घरपरिवार बिस्थापित भएका छन् ।

यस्तै , गौरीशंकर गाउँपालिकामा १२ , भिमेश्वर नगरपालिकामा ३ तथा वैतेश्वर र जिरी नगरपालिकामा २२ घरपरिवार विस्थापित भएका हुन् । वर्षायाम सुरु भएपछि आएको पहिरोका कारण कालिञ्चोक गाउँपालिकाका १८ घरधुरी विस्थापित भएको गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले जानकारी दिनुभयो । उहाँका अनुसार विस्थापित हुनेमा वडा नम्बर २ थामीस्वाँरा र झ्याकुलेडाँडाका १२ घर तथा वडा नम्बर ६ का ६ घरपरिवार रहेका छन् । विस्थापित सबै परिवारलाई पालिकाभित्रको सामुदायिक विद्यालयमा राखिएको अध्यक्ष थामिले बताउनुभयो ।

गाउँपालिकाबाट प्राप्त विवरण अनुसार करिब ४१ घरपरिवार भने पहिरोको जोखिममा रहेका छन् ।
यस्तै, गौरीशंकर गाउँपालिकाको वडा नम्बर ३ साउनेमा १० घर र वडा नम्बर ५ गुरुम्फीमा २ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । निरन्तरको वर्षापछि सडकमाथि बाट पहिरो खस्नुका साथै बस्ति मुनिबाट पहिरो गएका कारण वडा नम्बर ४ ओखरबुटे र सुर्तानमा ३ घर , वडा नम्बर ५ तिनेखुका ९ र वडा नम्बर ७ गुरुङबारीमा २ घरपरिवार पहिरोको जोखिममा परेको गाउँपालिकाका अध्यक्ष स्वयम् बहादुर खड्काले जानकारी दिनुभयो ।

वडा नम्बर ८ मा ४ घरपरिवार , वडा नम्बर ९ मा ३ घरपरिवार पनि पहिरोको जोखिममा परेको उहाँको भनाई छ ।
भिमेश्वर नगरपालिकामा पनि हालसम्म ३ घर परिवार पहिरोका कारण विस्थापित भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नम्बर ७ साखिनेमा ३ घरपरिवार विस्थापित भएको भनिएपनि अन्य स्थानहरुमा कति घरपरिवार पहिरोको जोखिममा छन् भन्ने जानकारी प्राप्त भइनसकेको नगरपालिकाका विपद् व्यवस्थापन समितिका फोकल पर्सन सुरेश राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल वडास्तरबाट पहिरोका कारण जोखिममा परेकाहरुको विवरण संकलनको काम भइरहेको छ । जिरी नगरपालिकामा पनि २ घरपरिवार पहिरोबाट विस्थापित भएका छन् भने ६ घर जोखिममा परेका छन् । नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकीका अनुसार नगरपालिकाको वडा नम्बर ५ मा २ घरपरिवार पहिरोका कारण विस्थापित भएका हुन् । वडा नम्बर ३ मा ५ घरपरिवार तथा वडा नम्बर ८ मा एउटा घर पहिरोको जोखिममा रहेको नगरपालिकाले जनाएको छ ।

यस्तै वैतेश्वर गाउँपालिकाको मैनापोखरी बजार क्षेत्रमै २ वटा घर पहिरोका कारण विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिएका छन् ।

यसैगरी निरन्तरको वर्षाका कारण शैलुङ गाउँपालिकामा हालसम्म सबैभन्दा धेरै सय घरपरिवार पहिरोको जोखिममा परेका छन् । गाउँपालिकाका अध्यक्ष भरत दुलालका अनुसार पालिका भित्रका विभिन्न वडाहरुका सय घर पहिरोका कारण जोखिममा परेका हुन् । जोखिममा परेकाहरुलाई गाउँपालिकाले क्षतिको अवस्था हेरेर ५ देखि १० हजार राहत समेत वितरण गरिसकेको अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

पहिरोबाट जोखिममा परेका घरहरुको वडातहबाट क्षतिको विवरण संकलन भएर आएसँगै सोही आधारमा राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । मेलुङ गाउँपालिका पनि हालसम्म करिब १५ घरपरिवार पहिरोको जोखिममा परेको जानकारी आएको गाउँपालिकाका प्रवक्ता हिरा थोकरले जानकारी दिनुभयो । उहाँका अनुसार हाल वडाहरुमा विवरण संकलन भइरहेका कारण कुन र कुन वडामा कति घरपरिवार जोखिम छन् भन्ने एकिन हुन बाँकी छ ।

यस्तै तामाकोशी गाउँपालिकाको शहरेमा १ घर जोखिममा परेको जानकारी आएपनि हालसम्म पहिरोका कारण कति परिवार जोखिममा परे भन्ने कुनै विवरण प्राप्त नभएको उपाध्यक्ष उर्मिला खड्का केसीले बताउनुभयो । विगु गाउँपालिकामा पनि वडा नम्बर ७ बाहेक सबै वडाहरुमा पहिरोको जोखिम रहेको गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नम्बर ७ बाहेकका सबै वडामा पहिरोको जोखिम भएपनि कति घरपरिवार जोखिममा छन् भन्ने विवरण संकलन भइनसकेको र संकलन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।