जगदम्बा प्रा.लि.का सिइओको कोरोनाबाट निधन

साउन १६, वीरगञ्ज ।
जगदम्बा इन्टरप्राइजेज प्रा.लि. बीरगञ्ज प्रमुख कार्यकारी अधिकृत नेवाराम शर्माको कोरोनाबाट बिहीबार राती निधन भएको छ । ५६ वर्षीय शर्माको राती साँढे ११ बजे गण्डक अस्थायी कोभिड अस्पतालमा निधन भएको हो ।
भारतमा घर भएका उनी मुटुरोगबाट पीडित भई रहेको अस्पतालले जनाएको छ । साउन ७ गते अस्पताल भर्ना गरिएका उनलाई दिउँसोदेखि रोगले बढी च्यापेको थियो । शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । सक्दो प्रयास गर्दा पनि उनलाई बचाउन नसकेको गण्डक कोभिड अस्पतालका डाक्टर नीरजकुमार सिंहले बताए । उनको शव अस्पतालमै राखिएको छ । वीरगंजमा बिहिबार थप दुई पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । यसअघि बुधबार पनि यहाँ कोरनाबाट दुईजनाको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरनाबाट ज्यान गुमाउनेको संख्या ५५ पुगेको नेपाली पत्रिकामा खबर छ ।