कोरोना भाइरसलाई बालबालिकाहरुले कसरी लिने ?

संसारमा सबै किसिमका समस्याहरु आइरहन्छन् । जस्तै बाढी, पहिरो, झाडाबान्ता, स्वाइनफ्लु आदिआदि । विगतको इतिहासलाई हेर्दा यो भन्दा बाहेक विश्वमा नै नयाँ समस्या अर्थात् महामारीको रुपमा कोरोना भाइरस (कोभिड १९) देखापरिरहेका छ । यो जब देखा प¥यो, तब यसले संसारलाई नै त्राहित्राही बनाइ नै रहेको छ हालका दिनसम्म ।


कोरोना भाइरस एकप्रकारको फ्लु हो । अर्थात् समान्य भाषामा भन्दा यो एक प्रकारको रुघा बुझ्न सकिन्छ । यो सरुवा रोग हो, जो एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रवाह हुन्छ । सुरुका दिनमा अघिल्लो वर्षको डिसेम्बर अन्त्यमा चीनको वुहान शहरमा देखा परेको यो रोगले सुरुआतिका दिनमा निकै ठूलो तहल्का मच्चाउन सफल भयो । चीनको परिभ्रमण पछि युरोप हानिएको यस भाइरसले त्यताको परिवेशलाई पनि झनै कहालीलाग्दो बनायो र हालका दिनमा नेपाल सम्म पनि यो महामारी फैलिइरहेको छ ।


समग्रमा हेर्दा यो निकै खतरनाक भाइरस हो । भाइरस मार्न नमिल्ने चिकित्सकहरुको भनाई छ । यसलाई मात्रै रोक्नको निम्ति पहल गर्ने सम्म मात्रै हो । विगत लामो समयदेखि मानिसमा संक्रमण ल्याउन सफल एचआइभी पनि एउटा भाइरस नै हो, जो हालका दिनसम्म पनि विश्वमा जरा गाडेरै बसेको छ । कोरोना भाइरसले मानिसको श्वासप्रश्वास प्रणालीलाई सिधै असर पु¥याउँछ । कोरोना भाइरसको संक्रमण हुँदा बिरामीमा रुघालाग्ने, बान्ताहुने १००.४ डिग्रीभन्दा बेसी ज्वरो आउने लगायतका लक्षणहरु देखिन्छन् । कोरोना भाइरसको मृत्युदर हालसम्म को विश्व रेकर्डलाई नियाल्दा २ देखि ३ प्रतिशत भन्दा बेसी हुन सकेको छैन । ‘वल्डोमिटर’ को तथ्याङ्कलाई नियाल्दा यसबाट संक्रमित यो लेख तयार पार्दा सम्म १ करोड ४७ लाख १३ हजार १ सय ७२ जना संक्रमित भइ सकेका छन् भने ६ लाख १० हजार २ सय ५१ जनाको ज्यान समेत गइसकेको छ ।


कोरोना भाइरस संक्रमण भएको व्यक्ति मरिहाल्छ भन्ने छैन । माथि उल्लेखित संक्रमितहरुमा ८७ लाख ७५ हजार ७ सय ३१ व्यक्ति निको भएर घर समेत फर्किसकेका छन् । यो तथ्याङ्कलाई हेर्दा कोरोना भाइरसका बिरामीहरु निको भएर घर फर्कनेको दर पनि कम चानचुने छैन ।
यस भाइरसको प्रभाव विश्वका धेरै मुलुकहरुमा परेको छ । यसको प्रभावबाट बच्न र यसको असरलाई न्यूनिकरण गर्न नेपाल सरकारले गत वर्षको चैत्र ११ गतेदेखि बन्दबन्दी (लकडाउन) को घोषणा देशैभरको लागि घोषणा गरिसकेको छ । यो लकडाउनले मानिसहरुमा विभिन्न क्षेत्रमा असर परिरहेको छ । विशेषगरी नियमित विद्यालय जाने बालबालिकाहरुलाई प्रत्यक्ष असर परेको छ ।

विद्यालयको वातावरणमा रमाउँदै साथीसंगीसँग हाँस्दै, खेल्दै, लेख्दै, पढ्दै गर्ने बालबालिकाहरु यो सघन समयले निकै सास्ती दिएको छ । घरमा बस्नुपर्दा र बाहिरी वातावरणमा घुलमिल हुन नपाउँदा नरमाइलो महसुस भइरहेको छ । विश्वमा भएका करोडौं विद्यार्थीहरुका लागि यो एउटा ठूलो समस्या भएको छ ।


शिक्षा हरेक मानिसका लागि निकै मत्वपूर्ण हुन्छ । साथै विद्यार्थीलाई त यसको समयको सन्दर्भ सँगै निकै आवश्यक पनि हुने गर्दछ । कोरोना भाइरसले शिक्षाको क्षेत्रमा मात्रै नभएर अनेकौं क्षेत्रमा बाधा पु¥याएको छ । व्यापारको क्षेत्रलाई हेर्ने हो भने यतिबेला महंगीले सीमा नाघेको छ । दैनिक सवारी चलाएर गुजारा टार्ने सवारी मजदुरहरुमा सवारी चलाउन नपाउँदा भोकभोकै हुनुपर्ने अवस्था आएको छ । आज खाए भोलि के खाने भन्ने चिन्ताले आत्महत्या गर्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ नेपालको सन्दर्भमा । कोरोना भाइरसको कारणले भएको बन्दाबन्दीले एकठाउँबाट अर्को ठाउँमा जाने यात्रुहरुलाई समस्या परिरहेको अवस्था यतिबेला सम्म छँदै छ ।


बालबालिकाहरुको हकमा लकडाउन निकै महंगो पर्नेवाला छ । आफ्नो दीर्घकालीन भविष्य निर्माणको दिशामा लम्किएका बालबालिकाहरुले पढ्नलेख्न नपाउँदा उनीहरुको अन्धकार भविष्यको जिम्मेवार स्वयं हुनुपर्ने देखिएको छ । यो समय नै सघन समय हो । यस्तो बेलामा दोष कसलाई दिने ? घरको वरिपरी मात्रै सीमित भएर बस्नुपर्दाको पिडा वास्तवमा नै बालमनोविज्ञानमा निकै चुनैतिपूर्ण देखिएको छ । आप्mना परिवारसँग भेटघाट रमाइलो गर्ने र विदाका दिनहरुमा मठ मन्दीर जाने बालबालिकाहरु विगत ५ महिनादेखि त्यत्तिकै घरमा थन्किएर बस्नुपर्दा उनीहरुको पिडा पनि दिक्दारी छ ।


प्राकृतिक प्रकोप र महामारी भन्ने कुरा कसैको रहरले आउने र कसैको करले नआउने भन्ने हुँदैन । स्वभाविक रुपमा आउने समयमा यस्ता महामारीहरुले विश्व विचरण गरेको तथ्यहरु सबैका सामु छर्लङ्गै छ । इतिहासले पनि यस्ता विभिन्न महामारीहरुलाई सुरक्षित गरिसकेको छ । महामारी भन्ने चिज आफैँमा डरलाग्दो विषय पनि हो । यसबाट बच्न र यसलाई स्वीकार्न हामी सदैव तयार रहनु पर्दछ । वर्षात्को मौसम भएकाले यतिबेला बाढी पहिरो आउने डर पनि उत्तिकै रहने नै भयो ।
कोरोना भाइरसबाट बच्ने धेरै उपायहरु छन् । ती उपायहरुलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले पनि बेलाबेलामा सार्वजनिक गरि नै रहेका हुन्छन् ।


हामीले विद्यालय जान नपाए पनि घरमा नै बसेर अनौपचारिक शिक्षा हासिल गर्न सक्छौं । अहिले विद्यार्थीका लागि भनेर लकडाउनमा टेलिभिजन, इन्टरनेट जस्ता माध्यमहरुबाट शिक्षा प्रदान गरिरहेको छ । हामीले त्यहाँबाट पनि शिक्षा लिन सक्छौं । आफ्नो आमा बाबुलाई सोधी विद्यालयको जस्तै गरी घरमा बसेर पढ्न सक्छौं । समय तालिका बनाएर त्यसलाई पालना गर्दै हामी आफ्नो पढाईलाई अगाडि बढाउन सक्छौं । हामीले विभिन्न लेखकका पुस्तकहरु पढेर त्यसमा भनिएको ज्ञान प्राप्त गर्न सक्छौं । धार्मिक किताबहरु पढ्न सक्छौं । विद्यालयको किताब मात्रै हामीलाई चाहिने ज्ञानको लागि पर्याप्त हुँदैन । पाठ्यपुस्तक भन्दा बाहेकका किताबहरुबाट पनि सकेसम्म अध्ययन गर्नुपर्छ । जसबाट हामीले नयाँ नयाँ कुराहरु थाहा पाउन सक्छौं ।


लकडाउनको अवस्थामा हामीले विभिन्न कलाहरु पनि सिक्न सक्छौं । जस्तै चित्र बनाउन, नाच्न, कथा कविताहरु लेख्न आदिआदि । हामीले भान्सामा गएर आमालाई खाना बनाउन समेत सहयोग गर्न सक्छौं र अन्य घरायसी काममा समेत सहयोग गर्न सक्छौं । नेपाल कृषि प्रधान देश भएकोले हामी सबैजना कुनै न कुनै तरिकाले कृषिमा जोडिएका हुन्छौं । खेतमा धान रोप्न, तरकारी खेती गर्न लगायतको काम सिक्न र सहयोग गर्न सक्छौं । हामीले हामी सँग भएको समयलाई सँधै सदुपयोग गर्नु पर्दछ । कोरोना भाइरसको कारणले भएको लकडाउनमा हामी कतै घुम्न जान नपाए पनि घरकै वरपर करेसाबारी, खेत बारीतिर घुमेर काम गरेर पनि आनन्द लिन सक्छौं । आफ्नो घर वरपर फूलहरु रोपेर त्यसलाई गोडमेल गरेर आफ्नो दिनाचार्या बिताउन सक्छौं । जसले गर्दा घर वरपरको वातावरण हेर्नलायक हुन्छ । सफा हुन्छ र हाम्रो समयको सदुपयोग समेत हुन्छ ।


लकडाउनका कारणले हामीलाई धेरै असर पु¥याएको छ तर यो समयलाई अवसरको रुपमा लियौं भने जीवनोपयोगी ज्ञान प्रशस्त सिक्न सक्छौं । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारले भनेजस्तै नियमित साबुन पानीले हात धुने, आमाबाबु या आफूभन्दा ठूला मान्यजनले भनेको कुरा नमानी अनावश्यक बाहिर डुल्न हिँड्नु हुँदैन । अत्यावश्यक कामले बाहिर निस्किहाल्नु परेपनि मास्क तथा स्यानिटाइजर प्रयोग गर्नु पर्छ । हाम्रा खेत बारीमा नै फलेका हरिया सागपात, तथा अन्य अर्गानिक तरकारीहरु सफा गरी पकाएरै खानुपर्छ । जसको कारणले हामी कोरोना भाइरसको संक्रमणबाट बच्न सक्छौं ।

लेखिका घिमिरे लिट्टिल स्टार मन्थलीमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन्।