बेरोजगार जनशक्ति उत्पादन रोक्न प्राविधिक शिक्षालाई जोड दिने लक्ष्य पालिकाले बनाएको छ

प्रेमबहादुर तामाङ
अध्यक्ष, खाँडादेवी गाउँपालिका, रामेछाप


शैक्षिक सत्र २०७६ का काम लाई सम्झनुस् न ।
नीजि क्षेत्रको पाठ्य पुस्तक जस्तै नर्सरी एलकेजी युकेजीका पुस्तकहरू सामुदायिक विद्यालयलाई वितरण गर्यौँ । जसको लागि हामीले ९ लाखखर्च गर्यौँ । हामीले ५५ लाखको शैक्षिक सुधार कोष स्थापना गरेका छौँ । सो कोषबाट बिद्यार्थी अनुपातमा शिक्षक दिने काम गरेका छौँ । यहि कोषबाट हामीले उत्कृष्ट शिक्षकहरूलाई प्रोत्साहन गर्ने काम समेत गर्यौँ ।जसमा उत्कृष्ट विद्यालयलाई ५० हजार र प्रमाण पत्र र शिक्षकलाई १० हजार र प्रमाणपत्र प्रदान गर्दै आएका छौँ । यस्तो कार्यले विद्यालयमा अध्यापनरत शिक्षकहरुमा सकारात्मक प्रभाव पर्ने र आफ्नो शैक्षिक क्रियाकलापमा सक्रियता देखाउने अवस्था आउँदो रहेछ भन्ने मूल्याङ्कन भएको छ । जति अनुपातमा यतिबेला सुधार देखिएको छ, त्यो क्रमिक रुपमा सुधार हुने क्रममा छ । बिस्तारै रिजल्ट आउला भन्ने विश्वास छ ।


कोरोना भाईरसको संक्रमणको भय भएको अवस्था पालिकाको शैक्षिक रणनिति के छ ?
कोरोना भाइरसको कारण विद्यालयहरुमा क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने भएको कारणले हामीले कुनै पनि कक्षाहरु संचालन गर्न सकिरहेका छैनौं । जुन विद्यालयहरु खाली छन् त्यहाँ पनि प्रत्यक्ष पठनपाठन गर्ने कुरा पनि भएन । यस्तो अवस्थालाई मध्यजनजर गर्दै पालिकाले एकदमै सोचेर निर्णय गर्न पर्ने हुन्छ ।

एकातिर बालबालिकाको शैक्षिक भविष्यको कुरा छ भने अर्को तर्फ कोरोना संक्रमणको महामारी छ । यो भयको अवस्थाकै बाबजुद पनि पालिकाले ठोस कदम त चाल्नैपर्छ । यतिबेला घरमा नै थन्किरहेका बालबालिकाहरुको हकमा गाउँपालिका एकदमै संवेदनशील भएर लागेको छ । नियमित कक्षा संचालन हुन नसके पनि अनौपचारिक विधिबाट कक्षाहरुलाई अगाडि बढाउनु पर्ने भएकोले गाउँमा उपलब्ध शिक्षकहरुलाई नै खटाएर टोल कक्षा अवधारणाले टालटोलमा गएर बालबालिकाहरुलाई पठनपाठन गराउने कार्य भइरहेको छ ।

यसो गर्दा पनि कम्तिमा पढाई नै नहुनु भन्दा थोरै थोरै भए पनि बालबालिकाहरु पठनपाठनमा अध्यावधिक हुने गरेको छ । यो बन्दाबन्दी पछाडि सबै सरकारी बिदाहरू कटौती गरि पठनपाठनलाई जोड दिनुपर्ने देखिन्छ । हालका दिनसम्म पठनपाठन नहुँदाको अवस्थामा अबका दिनमा विद्यालय समान्य रुपले संचालन भयो भने कुनै पनि विदा दिने र विद्यालय रोक्ने भन्ने हुँदैन । यस्तो अवस्थामा आगामी शैषिक सत्र २०७८ का लागि हामी लक्षित गन्तव्यमा पुग्न सक्दैनौं ।


अर्कोकुरा पछिल्लो समयमा देशभरी जस्तै यस गाउँपालिकामा पनि स्थानीय पाठ्यक्रम निर्माणको गतिलाई अगाडि बढाइएको छ । यस पाठ्यक्रका लागि पनि विज्ञसँग यसको विषयमा बहस गरिरहेकोले अबको शैक्षिक शत्र अझै सुधारात्मक हुने विस्वास छ ।


यस्तो खाले पाठ्यक्रम निर्माणको मापदण्ड के के निर्धारण गरिएका छन् नि ?
हामीले पाठ्यक्रम निर्माण समिति मार्फत पाठ्यक्रम निर्माण गर्दैछौँ । समितिले विज्ञहरूसँग छलफल गर्दैहुनुहुन्छ । यहाँका भूगोल, परिवेश, प्रकृति, चालचलनलाई समेटेर व्यवहारिक शिक्षा दिनेखालको पाठ्यक्रम निर्माणमा हामी जुटेका छौँ । हामीले मातृ भाषाको पाठ्यक्रम पढाउन चाहने विद्यालयका लागि पनि बजेटको व्यवस्था गरेका छौँ । यसै विषयलाई समेट्दै आगामी वर्षका लागि पनि खाँडादेवी शैक्षिक सुधार कोष बनिसकेको छ । जसमा रकमको जोहो भइसकेको अवस्था छ । हामीले यो कोषलाई व्यवस्थित गर्नका लागि बनेको कार्यविधि अनुसार नै कामहरु हुने गर्छन् । विद्यालयमा विद्यार्थीहरुको उपलब्धता र अनुपातिक विश्लेषण गरी सुधारको काम पनि अगाडि बढाइएको छ ।


जिल्लामा भएका सबै स्थानीयतहहरुलाई नियाल्दै खाँडादेवी गाउँपालिकाको शैक्षिक अवस्था कस्तो भएको पाउनु हुन्छ ?
पढेको जनशक्ति यदि यो समाजको बजारमा बिक्दैन भने म त्यसलाई बेरोजगारी शिक्षा भन्छु । हामीले हाम्रो गाउँपालिकाको शिक्षालाई प्रविधिमैत्री र बजारमा बिक्ने खालको बनाउनु पर्छ भन्ने मेरो मान्यता छ । हामीले हाम्रो गाउँपालिकाको शिक्षाका लागि कृषि शिक्षालाई बढी महत्व दिनुपर्छ । नेपाल कृषि प्रधान देश भनिएको छ तर यहाँ कृषिका लागि आवश्यक जनशक्ति र त्यो सँग सम्बन्धीत प्राविधिक उत्पादन गर्न नसकिने हो भने त्यो पनि के काम लाग्दो भयो र ? नयाँ नयाँ प्रविधि र प्रयोगको साथमा कृषिलाई शिक्षासँग जोड्नु पर्छ भन्ने मान्यता मैले अंगालेको हो ।


कृषिमा तरक्की गर्नका लागि कृषि प्राविधिकहरुको सल्लाह र खोजको नितान्त जरुरी हुन्छ । हाम्रो देशमा कृषि प्राविधिकहरुको सहज पहुँच छैन । दक्ष प्राविधिकको अभावले गर्दा हाम्रो माटोले जति उत्पादन दिनुपर्ने हो, त्यो दिन सकिरहेको छैन । विद्यालय वा विश्व विद्यालय तहको शिक्षा जति नै लिएपनि उही अरबका पसिना बगाउन जानुपर्ने बाध्यता छ ।

त्यो बाध्यता हो, रहर हैन । किनभने हामीले पढेको शिक्षा व्यवहारवादी हुन सकेन । हामीले पढेको शिक्षा व्यवहार सम्मत हुन नसक्नुको परिणाम हो । मेरो गाउँपालिकालाई शिक्षाको आँखाले नियाल्दा अति उत्तम भन्न त नमिल्ला तर पनि सुध्रिँदै गएको शिक्षा चाहिँ पक्कै भन्न मिल्छ । विगतको तुलनामा भौतिक साधन सम्मपन्न नभएका कारणले आएका बाधाहरु पछिल्ला दिनहरुमा समाधान भएका छन् । विद्यालयको भौतिक संरचना बलियो भएको छ ।

गुणस्तरीय शिक्षाको लागि सक्षम शिक्षकहरु पनि धेरे विद्यालयमा हुनुहुन्छ । त्यसैले सुधार हुँदै छ । अन्य पालिकाको दाँजोमा हाम्रो पालिका पनि प्रवेश गर्दैछ । अन्य पालिकाहरुमा पनि उम्दा शिक्षाको गुणस्तर म देख्दिन ।


यहाँले प्राविधिक शिक्षा भन्दैगर्दा के यहाँको गाउँपालिका भित्र प्राविधिक शिक्षाको अवधारणा छ त ?
पक्कै पनि । नेपाल सरकारले खाँडादेवी गाउँपालिकाको श्री विष्णु जनज्योति माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने भनेर कार्यक्रम बनाएको छ । नमुना विद्यालयको रुपमा नेपाल सरकारले अहिले विकास गर्ने भनेता पनि हामीले विगत केही वर्षदेखि नै कृषि र पशु विज्ञानको क्षेत्रमा पठनपाठन सुरु गरिसकेका थियौं । हाम्रो गाउँपालिकालाई अवाश्यक पर्ने कृषि र पशुका प्राविधिकहरु यही उत्पादन गर्ने र पालिकाका नागरिकहरुको आयस्तर वृद्धि गर्ने लक्ष्य राखेर हामीले काम सुरु गरिसकेका छौं । त्यसका लागि चाहिने सम्पूर्ण संयन्त्रको व्यवस्था गाउँपालिकाले गर्ने भनेका छौं ।


पछिल्लो समयले माग गरेजस्तो शिक्षा प्रदान गर्न हाल भइरहेका पुराना शिक्षकहरुबाट त्यो सम्भव छैन । यस्तो अवस्थामा नयाँ र युवा शिक्षकहरुको व्यवस्था गर्न कुन पक्षले कस्तो कुरामा ध्यान पु¥याउनु पर्ला ?
हो, यहाँको प्रश्न निकै सान्दर्भिक छ । हामीले नयाँ युवा जनशक्ति शिक्षामा भित्र्याउँदा मात्रै अबको शिक्षा समय सुहाउँदो हुन्छ । तर आज हामीसँग भएका शिक्षकहरु भनेका यनकेन जागिर पकाउने सोचमा भएको जस्तो आभाष मलाई पनि हुने गरेको छ । यस्तो प्रवृत्तिले अहिलेको शिक्षा सुधार गर्न कठिन छ । पुराना शिक्षकहरु पनि नजान्ने हुनुहुन्छ भनेर मैले भन्न खोजिँन, तर उहाँहरुबाट अपेक्षित शिक्षामा सुधार हुन सक्दैन ।

हामीले गाउँपालिका स्तरबाट नै प्रोत्साहन दिएर पेन्सनमा बस्ने वातावरण सिर्जना गर्ने उहाँहरुको ठाउँमा नयाँ र अपडेटेड युवा शक्तिलाई विद्यालयमा प्रवेश गराउने भन्ने अभियान थालेका छौं । पुराना शिक्षकहरुले विद्यालयको पठनपाठनलाई छोडेर कुनै नयाँ उद्यमसँग गाँसिने हो भने उहाँहरुलाई पनि सजिलो हुने म देख्छु ।


निजामती कर्मचारी जस्तो कार्यसम्पादनको सिलसिलामा शिक्षकहरु देश घुम्न पाएका हुँदैनन् । एउटा सत्य के हो भने शिक्षकहरु घरपायकमा नै २५ औं वर्ष सम्म बस्नै रुचाउने प्रवृत्ति फेरि शिक्षकमा नै बढी हुन्छ । जब देश, काल र परिस्थितिलाई नियाल्न सकिँदैन तब सम्म शिक्षकहरुले नयाँनयाँ सोच र खोजको विकास गर्नै सक्दैनन् ।

फेरि उहाँहरुको नै धारणा के हुन्छ भने निजामति कर्मचारीले जस्तो हामीलाई सेवा सुविधा भएन भनेर उहाँहरु नै भन्नु हुन्छ । अब शिक्षकहरुले एउटा विद्यालयमा ५ वर्ष सेवा गरिसकेपछि खुशीखुशी अर्को विद्यालयमा गएर म सेवा गर्छु भन्ने भावनको विकास शिक्षकहरुमा नै हुनुपर्ने देखिन्छ ।


हामी भाषण गर्दा शिक्षामा प्रविधिको प्रयोग भनिरहेका हुन्छौं तर व्यवहारमा हामी कति प्रविधि मैत्री भयौं त ? भनेर आफैंलाई सोध्ने हो भने त्यसको जवाफ आफैं पाउन सक्दैनौं । अब हामीले शिक्षामा प्रविधि भित्र्याउनु पर्छ, हालका दिनसम्म जति भित्रिएको छ, त्यो भन्दा बढी नै अबका दिनमा भित्र्याउन सकियो भने मात्रै हामी शिक्षामा प्रगति गर्न सक्छौं । वर्तमान अवस्थामा नन्अपडेटेड शिक्षकहरुबाट प्रविधिलाई आत्मसाथ गर्ने अवस्था छैन । त्यसैले उहाँहरुले गाउँपालिकाको स्कीमलाई स्वीकार गरेर नयाँ पुस्ताको लागि ठाउँ छोड्ने तर्फ मेरो सबै पुराना शिक्षकहरुलाई आग्रह रहेको छ ।


सामुदायिक विद्यालयमा विद्यार्थी दर घट्दो छ, यो सन्दर्भमा पालिका के गर्दैछ ?
यो हाम्रो पालिकाको मात्रै समस्या नभएरसमग्र देशकै आम समस्या हो । देशकै समस्या हो भन्दैमा पालिका चुपचाप भने बसेको छैन । विपन्न तथा जनजाति दलित विद्यार्थीहरूलाई विद्यालय सम्म ल्याउन विद्यालय ल्याउँ, विद्यार्थी टिकाउँ भन्ने कार्यमा हामी निरन्तर लागिरहेका छौं । विद्यालयको पहुँचमा नआएका बालबालिकाहरुलाई विद्यालयसम्म ल्याउन र पठनपाठन कार्यसमा सहभागी गराउनका लागि हामीले विशेष छात्रवृत्तिको व्यवस्था गरेका छौं । के योजना बनायो भने उनीहरु विद्यालयमा नियमित रुपमा आउन सक्छन्, भन्ने बारे हामीले सोचिरहेका छौं ।


अन्त्यमा, आफ्नो गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका शिक्षकहरुप्रति यहाँको आग्रह के रहेको छ ?
एउटा कुरा मैले भन्ने पर्छ, जुनजुन विद्यालयमा युवा जनशक्तिहरु शिक्षकको रुपमा हुनुहुन्छ । उहाँहरु भएको ठाउँमा विद्यालयको शैक्षिक अवस्था ह्वात्तै परिवर्तन भएको छ । हालका दिनका नतिजाहरुलाई मूल्याङ्कन गर्दा पनि प्रथम, द्वितीय र तृतीय स्थानमा आउन सफल विद्यालयमा हेर्दा युवाकै नेतृत्व भएको देखिएको छ । भौतिक स्रोत साधन सम्पन्न भएको ठाउँमा पनि शिक्षक नेतृत्व पुरानो भएको ठाउँमा अपेक्षित परिवर्तन र शैक्षिक उपलब्धी हासिल हुन सकेको छैन । आगामी दिनमा खाँडादेवी गाउँपालिकाको योजना र लक्ष्यलाई आत्मसाथ गर्दै विद्यालयको शैक्षिक सुधारको बाटोमा सबै शिक्षकहरुलाई लाग्न मेरो अनुरोध छ । आज गाउँपालिकाले अवलम्बन गरेको शिक्षाको अवधारणालाई यही समाज रुपान्तरणका लागि खर्च गर्ने हो । भोलि दक्ष जनशक्ति उत्पादन भएपछि फाइदा यही पालिकालाई हुँदै समग्र नेपालको विकास गतिलाई थप साथ दिने हो । तसर्थ सबै आफ्नो आप्mनो ठाउँबाट शैक्षिक सुधारका लागि लागिपरौं भन्ने मेरो विशेष आग्रह छ ।