हामी त मात्र यत्ति भन्न सक्थ्यौँ की ? ‘हामीले भने जस्तो गर, हामीले गरे जस्तो नगर’

सशस्त्र द्वन्द्व–शैक्षिक संकट एक स्मृति (शिक्षक लक्ष्मण बराल सँगको कुराकानीमा आधारित)


अल्बर्ट आइस्टिनले भन्नुभएको छ, ‘आफ्ना विद्यार्थीमा सिर्जनात्मक भावना र ज्ञानको आनन्द जगाउनु नै एक शिक्षकको महत्वपूर्ण गुण हो ।’ आध्यात्मिक परिभाषा हेर्ने हो भने त शिक्षक शब्द अझै अपूर्ण हुन्छ ।
अध्यात्ममा गुरु (शिक्षक) अर्थात् गु–गुण, रू–रूप ‘अन्धकारबाट उज्यालोतर्फ लैजाने’ भनेर व्याख्या गरिएको छ, जसको अर्थ विशाल छ । प्राचीनकालमा गुरु–शिष्यको सम्बन्ध पिता–पुत्रको जस्तो हुन्थ्यो । विश्वामित्र र द्रोणाचार्य यस्ता गुरु थिए, जसको चरणमा भगवानले पनि शिर झुकाउँथे रे ।
वर्तमान परिप्रेक्ष्यमा शिक्षक–विद्यार्थीको यस्तो आदर्श सम्बन्ध हुन्छ कि हुँदैन सोचनीय नै छ । वर्तमान समयमा कस्तो सन्देश गएको छ भने शिक्षक अरू केही नपाएपछि मात्र अँगाल्ने पेशा हो ।
हो, आज त्यही शिक्षण पेशामा जीवनका २५ वसन्त बिताई सक्नु भएका शिक्षकका कथा व्यथा पस्कने जमर्को गरिदैछ । बालबालिकाको भविष्यलाई हरेक बाबुआमाले शिक्षकको हातमा सुम्पिएका हुन्छन् । तर ती शिक्षकले आफ्नो शैक्षिक कर्ममा कैयौँ आरोह अवरोह पार गर्नु पर्ने हुन्छ । शसस्त्र माओवादी द्वन्दकालका बेला ज्ञानको ज्योती फैलाउने शिक्षकको कथा व्यथा डर त्रास बेग्लै थियो ।
२०७७ साल साउन ४ गते ।
समय बिहानको ८ बजे । एक प्रौढ उन्मुख पुरुष । मन्थली स्थित गौरीशंकर कोल्ड स्टोरमा उनले चियाको चुस्कीसँगै तनावका बेगहरूलाई ब्रेक लगाउँदै गरेको महशुस हुँदै थियो मलाई । हल्का निधारका छाला चाउरिएका, तीलचाम्ले केश, उनी भित्रको छटपटाहट् । मैले कौतुहलताका साथ नमस्कार टक्राएर बोल्न सुरु गरेँ । नाम – लक्ष्मण बराल । वतन – सिन्धुली ग्वालटार । पेशा – शिक्षक । विद्यालय – श्री नीलकण्ठेश्वर माध्यमिक विद्यालय ।


जब मान्छे तनावमा हुन्छ । समस्याको समाधान खोज्दै हुन्छ तब उसले साथ खोज्छ । साथी खोज्छ । म उनको त्यहीँ साथी बनिरहेको थिएँ । कोरोना भाइरसको महामारीले विश्व ग्रस्त बनाएको बेला पनि हाजिर हुन जान पर्ने बाध्यात्मक व्यथा सुनाउँदै थिए उनी । उनको कुरा सुन्दै गर्दा म भित्र पनि एउटा छुट्टै कौतुहलता जागिरहेको थियो । म सुन्दै थिँए । सोध्दै थिँए । उनि अल्छि नगरी जवाफ दिँदै थिए ।
२०५२ साल । उनी करार शिक्षकमा जागिरे हुन हिँडेको पहिलो दिन । गन्तब्य थियो रामेछाप जिल्लाको तत्कालिन दोरम्बा गाउँ विकास समितिमा रहेको काकलिङ माध्यमिक विद्यालय । त्यो बेला न कुनै सवारी साधन नै थियो । १४–१५ कोशको यात्रा त्यो पनि पैदल । यी कुराहरूगर्दै गर्दा उनी भावुक देखिन्थे ।

शिक्षक :लक्ष्मण बराल

एक छिन् चुप्चाप लागेर बसे र भने ः
‘यी कुराहरू सम्झदै गर्दा मलाई मेरो आमाबाबुको खुब याद् आउँछ । जब आमाको मायाको खाँचो थियो तब आमाले छाडेर स्वर्गको सयर गर्नु भयो । जब बाबाको साथको खाँचो थियो, तब पनि बाबाले एक्लै संगर्षको मैदानमा छाडिदिनु भयो र उहाँ पनि आमालाई भेट्न जानु भयो ।
भटौली हुँदै दोरम्बाको यात्रामा म धेरै दुखेको छु । धेरै पटक फर्किन मन लागेको थियो बाटो बाटै । लोक सेवा भन्दा शिक्षक सेवामा दिलचस्पी भएकोले मैले गन्तव्यतिरै पाईला चालेँ । फर्केर घर जाउँ भने पनि घरमा न आमा हुनुहुन्थ्यो न त बाबा नै हुनु हुन्थ्यो । आफूसँगै खेली खाई गरेका सखीहरूलाई खुब सम्झेँ ।


मैले त्यो सम्झनालाई धेरै बेर मनमा रहनै दिइँन । मलाई थाहा थियो मैले यस्तो सोचेँ भने मेरो शिक्षक सेवामा जीवन समर्पण गर्ने प्रण हार खानेछ ।
ग्वालटारको गर्मी र दोरम्बाको चिसो कहिँकतै मेल नखाने । हुस्सु तुवाँलो लागिरहने । पानी परिरहने । अग्लोअग्लो डाँडा । भिरै भिरको बाटो । यसो तल हेर्दा पाईला चिप्लियो भने पनि जीवन सकिने उस्तै खतरा । चोक्टा पनि नभेटिने डर । पछि थाहा भयो त्यो अग्लो डाँडाको नाम अग्लेश्वर रहेछ । जुन रामेछापको प्रख्यात ठाउँ हो ।


सुरुसुरुका दिनहरूमा त हावापानी, मौसम, साथीभाइ, विद्यार्थी कसैसँग घुलमिल हुनै सकिन । केही समय पछि भने आफ्नो करियर सम्झेर मन बुझाउँदै गएँ । सबैसँग घुलमिल हुँदै गएँ र सुरु भयो मेरो शिक्षण पेशाको जीवन । त्यस पश्चात त्यहाँको पहाड, झरना र प्राकृतिक मनोरमसँग रमाउन सिकेँ । लाग्यो, अब म सक्छु यो ठाउँमा बस्न । म सक्छु सदरमुकामबाट धेरै टाढा रहेको यो दूरदराजमा शिक्षा प्रदान गर्न ।


यी कुराहरू गर्दै गर्दा उनको मुहारमा छुट्टै चमकता थियो । कुनै युद्ध जितेको सिपाहीको जस्तो चौडा छाती, मन्द मुस्कान, जोशिलो हाउभाउले उनी उत्साहित भएको प्रष्टै अनुमान लगाउन सकिन्थ्यो । उनलाई केहीक्षण मैले केही नसोधी मुस्कुराई रहन दिँए । मेरो मानस्पटलमा एउटा प्रश्नले झड्का हान्यो । त्यो प्रश्न थियो– २०५२ साल फागुन १ गते ?


२०५२ सालमा नै थियो माओवादीले शसस्त्र जनयुद्धको घोषणा गरेको । जुन युद्धबाट कैयौँ जनधनको क्षति भएको थियो । कैयौँ आमाले छोराछोरी गुमाएका थिए । कैयौँ छोराछोरी टुहुरा भएका थिए । कैयौँ दाजु तथा बाबाहरू शहिद हुँदा कैयौँ दिदी तथा आमाहरूको सिउँदो पुछिएको थियो । त्यही द्वन्दको सुरुवातमा सुरु भएको बरालका शिक्षण पेशाका कथामा पनि त्यो द्वन्द्वले प्रभाव नपार्ने कुरै थिएन । मैले लक्ष्मण बरालको आँखामा आँखा जुधाएरै भनेँ – “माओवादीको शसस्त्र द्वन्द्वकालको बिर्सिनै नसक्ने, सम्झनै नचाहने घटना छैन ?”


युद्ध जितेर आएको सिपाहीको जस्तो देखिने अनुहार एक्कासी देशको सीमानामा हार ब्यहोर्नु परेको सिपाहीमा परिणत भयो । उनले लामो सास फेर्दै भने – “युद्धमा राज्य तथा विद्रोही दुवै पक्षबाट युद्धमा संलग्न रहेका तथा संलग्न नरहेका सर्वसाधारणलाई समेत सताउने, यातना दिने, बेपत्ता पार्ने, तथा मार्ने समेतका घटना भएका थिए । युद्धकालमा दबै पक्षबाट मानव अधिकारको गम्भिर उल्लंघन भएको थियो । यो द्वन्द्वबाट कुनै नेपाली अछुतो छन् जस्तो मलाई लाग्दैन । राज्यपक्ष र माओवादी पक्ष । यी दुबै पक्षबाट नागरिकलाई भने सास्ती नै थियो । माओवादीलाई चन्दा दिइस् भनेर राज्यपक्षले यातना दिन्थ्यो । सैनिकलाई सहयोग गरिस् भनेर माओवादीले यातना दिन्थ्यो । वास्तवमा भन्ने हो भने त्यतीबेला नागरिक भनेको दुई ढुङ्गा बीचको तरुल जत्तिकै थिए । जताबाट पनि चेपिने र पेलिने ।


द्वन्द्वकालका धेरै घटनाहरू छन् । आफूनै डर त्रासमा रहेर बालबालिकालाई हौसला जगाएर राष्ट्र र राष्ट्रियताको पाठ सिकाउनु सहज थिएन । सशस्त्र द्वन्द्वले छपक्कै ढाकेको बेला खुकुरीको धारमा जीवन राखेरै बाँचेका थिए सबै नेपाली । हामीले चन्दा न दिए घरमा शरण नदिए माओवादीले मार्छु भन्थ्यो । चन्दा दिएको घरमा शरण दिएको थाहा पाए राज्यपक्षले सिधै गोली ठोक्थ्यो । हामी हाम्रा विद्यार्थी भाइ बहिनिहरूलाई के सिकाउन सक्थ्यौ र त्यो बेलामा राष्ट्र र राष्ट्रियता ? हामी त मात्र यत्ति भन्न सक्थ्यौँ की ? ‘हामीले भने जस्तो गर, हामीले गरे जस्तो नगर’


उनी अगाडी थप्छन् ः
समय त ठ्याक्कै थाहा भएन । माओवादीकोहरू गोलीगठ्ठाका साथ चन्दा संकलनका लागि आए । हामी सबैले एक एक दिनको पारिश्रमिक मुटु भारी पारेर दान गर्यौँ । उनीहरूको भाषामा भन्न पर्दा देशको बलिदानका लागि खर्चियौँ । नदिनु पनि कसरी ? कसलाई मन हुन्छ र केटाकेटी पढाएर कमाएको पैसालाई अरूको हातमा थमाउन । त्यही एकदिनको पारिश्रमिकका लागि एउटा शिक्षक बिहान १० बजेदेखि दिउसो चार बजे सम्म उभिई रहन्छ, चिच्याई रहन्छ । चन्दाका लागि त्यहाँ अनुरोध आएको थिएन नदिनका लागि, त्यहाँ त आदेश आएको थियो । नदिईकन धरै थिएन । उनीहरूले थर्काएरै चन्दा मागे, हामीले दियौँ, उनिहरू लागे जंगलतिर ।


केही समय पश्चात् बोलावा आयो । बराल भन्ने को हो ? को हो बराल भन्ने ? सशस्त्र द्वन्द्वको समय । ठूलाठूला आवाज । मनमा डरले डेरा गाड्न बेरै लागेन । अझ भन्दा मनमा डरले पिल्लर नै गाड्यो । त्यहाँबाट भागेर उम्कौँला भन्ने चान्स नै थिएन । त्यहाँ सैनिकहरू आएका रहेछन् । उनीहरू पनि गोलीगठ्ठा, बमबारुदको साथमा थिए जसरी माओवादीहरू आएका थिए ।


म डरले कालोनिलो भई सकेको थिएँ । केही समय अगाडि माओवादीलाई चन्दा दिएर पठाएको थिएँ । सोचेँ, अब यही मेरो अन्तिम दिन हो । शिक्षक सेवामा लामो समय योगदान गर्ने मेरो सपना, कलिला बालबालिकालाई सक्षम बनाई देश निर्माणमा जान योग्य बनाउने मेरो लक्ष यही पूर्णविराम लाग्दैछ । मेरो गाउँ, मेरा सखी मेरो रहरहरू सबै बली चढ्नेवाला थिए । लाग्यो, म आज आमाबाबाको समिपमा पक्कै पुग्नेछु । आमाबाबालाई भेट्न मिल्ने त्यो सुवर्ण अवसर मलाई कताकता अधुरो लाग्दै थियो । बाबाले सँधै भन्ने गर्नु हुन्थ्यो, ठूलो मान्छे बन्नु, समाजका लागि केही गर्नु । आमाले दिनु भएको उपदेश त मलाई खासै याद् भएन तर आमाले पनि त छोरा सफल व्यक्ति बनोस् भन्ने नै त चाहनु भएको थियो होला ।


सैनिकहरूले वरिपरी घेरे । दुईचार लबटा लगाए । डरले हातगोडा लगलग कामिरहेको थियो । उनीहरूले दिएको मानसिक तथा शारिरिक यातनाले प्राण छ कि छैन म मा ? म सोच्न सक्ने अवस्थामा नै थिइन । अर्को सैनिकले के ले हान्यो, स्वाद फेरेर हान्यो – तँ आतङ्ककारीहरूलाई चन्दा दिने भन्दै ? मैले एउटा नाबालक भर्खर बोली फुटेको बच्चा जस्तो हुँदै भने – मैले चन्दा दिएकै छैन हजुर । मेरो विस्वास गर्नुस् । मलाई थाहा थियो कि मेरो पेशाले झुट बोल्नु हुँदैन तर म नै रहिँन भने सत्य कसले सिकाउँछ ती साना लालाबाला हरुलाई । मैले मनमनै माफ मागेँ मागिन त्यो बेला सत्यता सँग । तर अहिले माफी चाहन्छु । मलाई त्यो बेला बाँच्नु थियो, केवल बाँच्नु मात्रै । केही समय उसले मेहनत गरेरै मलाई कुट्यो । रत्तिभर अल्छि गरेन । मैले एउटै रटान लिएँ । मैले चन्दा दिएकै छैन । सायद उनीहरू थाकेछन् । सायद मेरो सुगा रटान जवाफलाई पत्याएँ । अब ती आतङ्ककारी आए भने पनि चन्दा नदिनू । हामीलाई खबर गर्नू भन्दै बाटो लागे ।


यो घटना २०६० सालको हो । २०६० को सुरुवाती समयको । यो घटनाले मलाई क्षेत्र विच्छेद बनायो । म त्यहाँ रहनै सकिँन । दिमागमा डरले जरो किल्लो गाड्यो । म मन्थली झरेँ ।


कतैबाट आवाज आयो । बराल सर जाउँ । म पनि स्कुल जाने हो । त्यही विद्यालयका शिक्षक हुनुहुँदो रहेछ । उनले ल अब म जान्छु भने, कहाँ ? मैले सोधे । श्री नीलकण्ठेश्वर माध्यमिक विद्यालय, उनको जवाफ । अनि बाँकी जीवन कथा भन्ने प्रति प्रश्नमा उसले मुस्कुराउँदै जवाफ दिए फेरि कुनै दिनको जम्काभेटमा ।