पार्कलाई सुन्दर बनाउन १ करोड सम्म बजेट दिन्छु – मन्त्री ढुङ्गेल (भिडियो सहित)

रामेछापका सहयोगी मन, रासमले लकडाउनको अवधिमा अहोरात्र खटिएर निर्माण गरेको बिटार पार्कको युवा दिवसको अवसर पारेर बुधबार झण्डोत्तोलन भएको छ । रामेछाप र मन्थली नगरपालिकाको सीमाना अन्र्तगत रामेछाप नगरपालिका वडा नं. ८ मा निर्माण भएको बिटार पार्क यतिबेला, गुम्सेर बसेका मन्थलीका नागरिकहरुका लागि सुस्ताउने थलो बनेको छ ।


यस कार्यका लागि रामेछापका विभिन्न व्यापारी तथा मनकारीहरुले ठूलो मन बनाएर निर्माण तथा आवश्यकीय सामग्रीहरुको सहयोग गरेका छन् । पार्क यतिबेला झिलिमिलि भएको छ । पार्कमा सुस्ताउन र बालबालिकाहरुलाई खेल्नका लागि विविध सामग्रीहरु राखिएका छन् । जुन सामग्रीहरु पार्क निर्माणको मूख्य कार्यमा जुटेको रासमलाई सहयोग स्वरुप प्राप्त भएको हो ।


मन्थलीका हार्डवेयर तथा ग्रिल उद्योगहरुले यस पार्कको निर्माणमा उदार भावनाले उल्लेख्य सहयोग गरेका छन् । मन्थलीका ख्यातिप्राप्त हार्डवेयरहरु शुभलक्ष्मी हार्डवेयर, नवमी हार्डवेयर, दीपज्योति हार्डवेयर, लक्की हार्डवेयर र बख्रेल हार्डवेयरले विभिन्न निर्माण सामग्रीहरुको सहयोग गरेका छन् । जस मध्यमा पार्कको संरचना र बोटविरुवाहरुको फेद रंग्याउनका लागि मन्थलीमा रहेको शुभलक्ष्मी हार्डवेयरले विभिन्न रंगहरु साथै निर्माणका लागि आवश्यक ५ बोरा सिमेन्ट, रंग तथा आवश्यक ब्रसहरु मन्थलीको नवमी हार्डवेयरले सहयोग गरेको छ ।

त्यस सँगसँगै पानी संकलनका लागि लक्की हार्डवेयरले हिलटेक ड्रम सहयोग गरेको छ । यतिमात्रै होइन तामाकोसी सहकारी अस्पताल नजिकै रहेको दीपज्योति हार्डवेयरले पनि हिलटेक ड्रम तथा धारा फिटिङ्का सामग्रीहरुको सहयोग गरेको छ । मन्थलीकै बख्रेल हार्डवेयरबाट ३ बोरा सिमेन्टको सहयोग प्राप्त भएको छ ।


पार्कलाई सुन्दर तथा व्यवस्थित बनाउनका लागि विभिन्न सामग्रीहरुको सहयोग गर्नेहरुमा मन्थलीका ग्रील पसलहरु पनि बिनास्वार्थ लागेका छन् । जसमा जाल्पादेवी ग्रिल उद्योगले पार्कमा खेल्न प्रयोग हुने पिङ्, गणेश ग्रिल उद्योगले पानीका ड्रम राख्नका लागि ड्रम स्ट्याण्डको सहयोग गरेका छन् ।
बिटार पार्क निर्माणका लागि विभिन्न व्यक्ति तथा व्यापारिक प्रतिष्ठानहरुको सहयोग पनि कम उदार छैन । पार्कमा रमाउन विशेष गरी बालबालिकाहरुलाई आवश्यक पर्ने पिङको व्यवस्थापनमा प्रथमा मनी ट्रान्स्फर र चिप्लेटीका लागि स्थानीय गोविन्द मगरले सहयोगको व्यवस्था गरेका छन् । व्यक्तिगत रुपमा बिटार पार्क व्यवस्थापन समितिलाई नेपाली काँग्रेसका जिल्ला नेता तथा समाजसेवी भरत चौलागाईले सो पार्कमा भ्यू टावर निर्माण गर्नका लागि १ लाख रुपैयाँको सहयोग गरिसकेका छन् ।


पार्कमा जाने आगन्तुकहरुका लागि फोटो खिच्दै रमाउनलाई ज्योति लाईफ इन्स्योरेन्सले लभ आकारको फ्रेम बनाउने जिम्मा लिएको छ । कोरोना भाइरस कोभिड १९ का कारण संक्रमणलाई न्यूनिकरण गर्नका लागि मन्थलीमा रहेको दीलश्री मेडिकलले मास्क, स्यानिटाइजर र पार्कमा आवश्यक पर्ने फिटनेशका सामग्रीहरुको सहयोग गरेको छ ।


यतिमात्र कहाँ हो र ? यस पार्क निर्माणका लागि विभिन्न व्यक्तिहरुले समेत निकै फराकिलो मन बनाउँदै विविध प्रकृतिको सहयोग गरेका छन् । जसमा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशबप्रसाद घिमिरे र स्थानीय शमशेर थापाले क्रमसः ५ बोरा सिमेन्ट, स्थानीय राजनीतिक व्यक्तित्व होतराज ढकालले ५ बोरा सिमेन्ट र आधा टयक्टर बालुवाको सहयोग गरेका छन् । त्यस्तै वातावरण संरक्षण परियोजनाले पार्कमा रोपण गर्नका लागि विभिन्न जातका विरुवाहरुको सहयोग गरेको छ भने मन्थलीकै शैलुङ वाटर उद्योगले पार्क निर्माण गर्दाताका कामदारहरुका लागि पिउने पानी र सुनापति बेकरी उद्योगले खाजा स्वरुप बिस्कुट तथा शुभश्री किचनले विभिन्न समयमा काम गर्नेहरुका लागि खाजा सहयोग गरेको छ ।


पार्क निर्माणका लागि रामेछापका सहयोगी मनहरु अझ विशेषगरी बिटार पार्क व्यवस्थापन समितिलाई स्थानीय सरकारको तर्फबाट रामेछाप नगरपालिकाले तार जाली खरिद गर्न भनि ४ लाख रुपैयाँको सहयोग गरेको छ । जसको कारण यतिबेला बिटार पार्कमा तार जालिले घेरिएको देख्न सकिन्छ ।


रामेछापका सहयोगी मनहरुको तदारुकतामा निर्माण भएको बिटार पार्कको व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । स्थानीय सुनिलकुमार रायमाझीको नेतृत्वमा हस्तान्तरण गरिएको उक्त पार्कलाई थप व्यवस्थित र भ्रमणयोग्य बनाउका लागि आफूहरुलाई चुनौति रहेको रायमाझी बताउँछन् । आगामी दिनमा सडकका कारणले बिचमा चिरिएको जमिनलाई २ तर्फबाट जोड्नको लागि पुलको निर्माण तथा पार्कको जग्गाको हक हस्तान्तरणका विषयहरु चुनौतिपूर्ण रहेको उनको बुझाई छ ।


आफूहरुले पार्कको निर्माणगरी व्यवस्थापन समितिलाई बुझाए पनि आफूहरुको दायित्व अझै नसकिएको रामेछापका सहयोगी मनहरुका सदस्यहरुको बुझाई रहेको छ । विगतका दिनमा पार्क निर्माणका लागि गरेको संघर्ष र त्यसको प्रतिफलमा बिटार पार्कमा भएको झण्डोत्तोलनले आफूहरुलाई निकै खुशी बनाएको रासमका सदस्यहरुको बुझाई रहेको छ ।
रामेछापका सहयोगी मनहरुद्वारा निर्मित बिटार पार्कमा झण्डोत्तोलन पछि मन्तव्यका क्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी फागुन महिना सम्म प्रभावकारी योजना र लक्षित कार्यक्रमहरुको साथमा आए आफूले १ करोड सम्म बजेट विनियोजन गरी पार्कलाई थप सुन्दर बनाउन सहयोग गर्ने बताए ।