सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना पुष्टि,

सम्झना श्रेष्ठ,
श्रावण ३० सिन्धुली ।

सिन्धुलीमा आज एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८८ जनाको स्वाव संकलन गरि प्रादेशिक अस्पताल हेटौँडा पठाइएको मध्ये १३ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । संक्रमित हुनेहरुमा एक जना सिन्धुली अस्पतालमा कार्यरत ३५ वर्षिय महिला, २ जना महोत्तरीका पुरुषहरु छन् ।

उनीहरुको कन्ट्रयाक टे«सिङ गरिएको हो । यस्तै २ जना नेपाली सेनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ पाईएकाहरु अन्य विदेशसबाट फर्किएका कमलामाई नगरपालिका–६ माझिटारस्थित क्वारेन्टाईनमा बस्दै आएका २१ देखि ३६ बर्षका ७ जना पुरुष छन् । उनीहरुमध्ये चार जना कमलामाई नगरपालिकाका र तीन जना तीन पाटन गाँउपालिकाका रहेका स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।

यस्तै कमलामाई नगरपालिका –७ का एक १७ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको समाचार छ । एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ ।


आज संक्रमण देखिएकाहरुलाई सिन्धुली अस्पताल र कमलामाई नगरपालिका ६ मा रहेको एपोलो हस्पिटलमा राखिने बताइएको छ । अहिले सिन्धुली अस्पतालमा ४ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।