“आमा”

दोभान चौरको फाट्मा घास् काटेर
एउटा ठुलो बिटो बाधेपछी
हसियाको चुच्चो भुइमा खोपेर
सकि नसकी उठी
र त्यही बिटोको माथी राख्थिन
घरमा एक्लै छोड्दा भोकले
“आमा” “आमा” भन्दै रोला भनेर
सङै ल्याएको मेरो छोरो ।

शनिवारे हाट भर्न जादा
मिठाइलाल भैयाले पकाउदै गरेको परिकार
एकोहोरिएर हेरी
देखेरै अघाएर रु एकमा दुइ ओटा
जेरी ल्याइ हातमा थमाउदा
उसमा देखिएको उमङग
अनी छोरोको त्यो खुशी
टन्न आफैले खाएको भान हुन्थ्यो।

कवि : निर्मल घिमिरे

अरुको खेत अधिया जोतेर
उब्रीएको अलिकति धान बेचेर
जम्मा गरेको थोरै पैसा
उसको बालाइ थाहै नदिइ खुसुक्क झिक्थे
र उसलाइ दिन्थे उसको खुसिको लागि
उसको बाले जति गाली गरेपनी
जब ‘आमा’ भन्दै
मेरो पटुकामा परेको स्यानो गाठो समाउथ्यो।

गोठालो जादा कहिले भिरै भिर
कहिले जङ्गलै जङ्गल
बर्कोले दिन्भर पिठ्युँमा बोकिरहदा पनि
कहिलै थकाइको महसुस भएन
जब थाके जस्तो हुन्थ्यो
उसका कोमल आखाहरुमा हेर्थे
मायाको सिङो विरासतले छोपिदिन्थ्यो
सारा थकाइहरु ।

अर्म-पर्म मेला-पात
बिहे, पुजा, सराद्दे, सुदद्याइमा काम गर्न जादा
टपरीमा पोको पारी ल्याएको बचेको खाना
उसको रुदा थाकेको ध्वासे अनुहार धोएर
फरियाको फुर्कोले मुख पुछिदिन नपाइ
हतार-हतार मैलो हातैले खाएको त्यो बचपना
स्तनपान पछी उसले देखाउने त्यो लाडेपना
अनी बाल सुलभ देख्दा
भुल्थे दिनभरीका थकान ।

गाइभैसीलाइ दुइ दिन पुग्ने घास
एकै दिन काटेर
अर्को खाली दिन उसलाइ बोकेर स्कूल जान्थे
न्यास्रो मान्ला भनेर
दिनभर स्कूलको गेट बाहिर बस्थे
उसलाइ स्कूलको बानी नपरुन्जेल सम्म ।

त्यो मेरो छोरो अचेल ठुलो भैसकेको छ
उसले धेरै पढिसकेको छ
गाउको मास्टर भैसकेको छ
धेरै बुझिसकेको छ
धेरै जानेको छ
तर एउटा कुरा बिर्सेको छ
मलाइ “आमा” भन्न बिर्सेको छ
अन्तिम चोटी उसले कहिले आमा भनेको
मलाइ त्यो याद छैन
तर एकपटक आमा भन्देवस भन्ने
रहर जागेको बर्शौ भैसक्यो।

बिहे गरेर छुट्टै घरजम बनायो
छुट्टै सन्सार बनायो
घरमा बाकी रहेकी एउटी आमासङ पनि
चुलो छुट्ट्यार बस्यो
त्यसपछि म पल्लो घरबाट हेरिरहन्थे
छोराले केहि खायो कि खाएन
तर उसले कहिलै फर्केर हेरेन
आमाको चुलोमा आगो बल्यो कि बलेन ?

बुढेसकालमा पानी र दाउरा जुटाउन नसकेर
पटुकामा राखेको काचो चामल
चपाएर कति दिन बिताए
घर पछाडी फलेको आपको बोट्मुनि
काचा आप खाएर सिङै असार बिताए
छोराले कहिलै सोधेन
आमा खायौ कि खाएनौ भनेर?

रोगले ग्रस्त भए पछि
खकार सङै मुखबाट आउने रगत
छोराले देखोस र सोधोस भनेर
उसकै आगनको सेतो ढुङ्गामा धेरै पटक थुके
उसले थुक् त देख्यो
तर कहिले सोधेन आमा के भएको छ भनेर
त्यसैले यो बुढो मन
अलिकती अमिलो मात्र भएको हो
उ खुशी रहोस सूखी रहोस
इच्छा एउटामात्र बाकी छ
म मर्नु भन्दा अगाडि छोराले “आमा” भन्देओस !
मर्नु अगाडि छोराले केवल एक पटक “आमा” भन्देओस !

  • कवि : निर्मल घिमिरे
    जापान