तीज विगत र वर्तमान

तीज नेपाली महिलाहरूको महान पर्व हो । धार्मिक र सांस्कृतिक रूपमा धेरै धनी नेपालीहरुले आदीकालदेखि नै मनाउँदै आएको यो पर्वको पौराणिक गाथा शिव र पार्वतीसँग गाँसिएको छ । परापूर्वकालमा हिमालय पर्वतकी छोरी पार्वतीले शिवजी पति पाउँ भनी सय वर्षसम्म तपस्या गर्दा पनि आफूले तपस्याको फल नपाएर एकदिन शिवलिङ्ग स्थापना गरी निराहार व्रत बसेको कारण शिवजी प्रसन्न भई चिताएको कुरा पुगोस् भनी बरदान दिएका थिए भन्ने पौराणिक किंवदन्ती छ ।


पार्वतीले बरदान पाएको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । यसै खुसीयालीमा आजसम्म पनि सम्झेर खुसीयालीका साथ नेपाली विवाहित महिलाहरुले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाहरुले सुयोग्य वरको प्राप्तिको आशा राखी तीजको व्रत बस्छन् । पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो पतिको घरमा बसी पुरै जीवन बिताउनु पर्ने हुन्छ ।
एउटी महिलाले आफू जन्मिएको भूमि आमाबाबु, भाइबहिनी, इष्ट्मित्र र आफू जन्मेको घर नै छोडी विवाह गरेर पठाइएको घरमा जीवन गुजार्ने क्रममा आफ्नो जन्मघरको सम्झनालाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा यस पर्वको धेरै महत्व रहेको छ ।


पराइ घरमा जीवनयापन गर्दैगर्दा एउटी महिलाले धेरै व्यक्तिहरूको माया स्नेह र सहयोगका साथै धेरै दुःख पीडा समस्यासँग जुध्दै अगाडि बढिरहेकी हुन्छिन् । पराइ घरमा बसेर अरुलाई खुसी पार्ने क्रममा कतिपय महिलाहरुको खुसी खोसिएको हुन्छ । विगतका धेरै दशकहरूमा नेपाली महिलाहरुले आफ्ना बाबुआमा, साथीभाइ भेट्न समेत लामो समयसम्म कुर्नुपर्ने अवस्था थियो ।
ती दशकहरूमा एउटी महिलाको खुसीको बाधक अर्की महिला नै रहेको देखिन्थ्यो । कैयौँ महिलाहरुले वर्ष दिनमा एकपटक आफू जन्मेको भूमिमा पाइला राख्न पाउँदा आफ्ना पिर व्यथा सबै भुलेर धक फुकाएर नाचेका थिए भन्ने कुरा हामी हाम्रा अग्रजहरुका कुराहरुबाट थाहा पाउन सक्छौं । यो परिवर्तित समय सँधै एउटै रहेन ।


समयसँगै महिलाहरु शिक्षित र सशक्त हुँदै अगाडि बढेर मान–सम्मान पदक प्रतिष्ठाको भागिदार हुन पुगेका छन् । हिजोका महिलाका दुख पिडा रोदन चित्कार समेटिएका तीजका बेदनाहरु आज महिला सशक्तिकरण महिला अधिकार, महिला विकास जस्ता कुराहरुमा पुगिसकेका छन् ।
आजको एक्काइसौं शताब्दीको उत्तरार्धसम्म आइपुग्दा धेरै महिलाहरुले आफ्नो माइत जाँदा तीज कुर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भइसके पनि दाईजो र सम्पत्तिको लालचमा परेर हाम्रा थुप्रै छोरी बुहारीहरुले अकालमै ज्यान गुमाउनु परेको घटनाहरूको अन्त्य भने हुन सकेको छैन । हिजोको तीजको मौलिकता आज सूचना र प्रविधिको विकासले गर्दा परिवर्तित अवस्थामा पुगेको छ ।
तीजको मौलिकता विगत भन्दा अलि फरक बन्दै गएको देखिन्छ । महिलाहरूको पर्वमा पुरुषको सहभागिता, एक महिना अघिदेखि नै पार्टी प्यालेसहरुमा दरखाने कार्यक्रम हुनु, तीजकै लागि भनेर महङ्गो गरगहना पहिरन किन्ने चलनले निम्न वर्गीय समाजमा नराम्रो असर पारेको छ ।


यस्ता तडकभडकले गर्दा तीज पर्व गाउँमा बसेर घाँस दाउरा, डोको नाम्लो, मेलापात गर्ने नारीको मौलिक तीज ओझेलमा परेको देखिन्छ । गाइजात्रे पारामा पुरुषहरुले साडी चोली लगाउने महिलाहरुले जिन्स पाइन्ट लगाएर नाच्ने, दरखाने निहुमा रक्सी खाएर उत्ताउला छाडा गीत, संगीत सहितको तीजले मौलिकताको गुमेको प्रष्ट देखिन्छ ।

यो विशेषगरी महिलाको पर्व हो । यसमा आफ्ना दिदीबहिनी आमासँग रमाइलो गर्न पुरुषहरुले पनि पाउनुपर्छ तर त्यसका नाममा जथाभाबी गीत गाएर यस पर्वको मौलिकता नै नष्ट हुने जस्ता काम गर्ने अधिकार पुरुषहरुलाइ छैन ।


तीजका भाका भनेको त मौलिक लोक संस्कृति झल्कने हुनुपर्छ । हाम्रा गाउँले दिदीबहिनीका पिर व्यथा वेदनाहरु समेट्न सक्ने हुनुपर्दछ । परिवर्तनका नाममा सस्तो लोकप्रियताका लागि पुरुष दाजुभाइहरुले साडी चोली लगाउँदैमा र पाश्चात्य संस्कृतितिर ढल्किएका नारीहरुले जिन्स पाइन्ट लगाएर तीज गीत गाउँदैमा संस्कृतिको जर्गेना हुँदैन । हामीले हाम्रो मौलिक संस्कृति र चालचलनसँगै हाम्रा भेषभुषा पनि बिर्सनु हुँदैन ।


त्यसैले तीजको मौलिकता मास्ने विकृति विसङ्गति भित्र्याउने गीतहरूलाई निरुत्साहित् गरी हाम्रो समाजको परिवेश जस्तो छ ? कलाकारहरुले आफ्ना गीत संगीतमा पनि त्यही परिवेशलाई देखाउने प्रयास गरौं । सञ्चारकर्मीले पनि राम्रा कार्यमा मात्र उत्प्रेरणा प्रदान गरौँ र हामी श्रोताले पनि गीत सुन्दा र नाच्दा हाम्रो मौलिकताको ख्याल गरौं ।


यस वर्षमा भने विगतका वर्षहरुमा जस्तो एक महिना अघिदेखि नै दर खाने चलनले स्थान पाएको छैन । विगत पाँच महिनादेखि कोरोना संक्रमणको जोखिममा रहेको हाम्रो देशमा कोरोना संक्रमणले गर्दा यस वर्ष सायद् पहिलेका तीज हरुमा जस्तो अघिल्लो दिन दरखाने प्रचलनले यसपालि चाहिँ निरन्तरता पाउला जस्तो छ ।


अहिलेको यो विषम् परिस्थितिमा हामीले हाम्रा धार्मिक तथा सांस्कृतिक पर्वहरू जहाँ जुन ठाउँमा छौं, त्यही ठाउँमा बसेर सामान्य तरिकाबाट मनाउँदा सबैको भलो हुन्छ । कोरोनाको कहरले गर्दा लामो समयसम्म आफ्नो माइती गाउँ जान नपाएका धेरै महिला दिदीबहिनीहरुले पनि यो वर्ष आफ्नै घरमा हाँसेर नाचेर तीज मनाअाैँ। माइत जाने जिद्दी नगरौं । अझै केही समय हामीले कोरोनालाइ जित्न सक्यौ भने आगामी वर्षको तीजमा पक्कै पनि कोरोनालाइ जितेकी चेलीको बेदना सुनाउँन नौ डाँडा पारीको माइती देशमा गएर रातो सारी, चुरा, पोतेमा सजिएर आमा दिदी बहिनीसँग छम्छम् नाचेर तीज मनाउँला र मनको बह पोखाँैला ।


हरितालिका तीजको सबै दिदी बहिनीहरुलाई शुभकामना ।