बाबुकाे मुख हेर्न पर्खिएका वर्ष दिन

लेखिका : सानु शाही ठकुरी

हुन त म शास्त्रको कुरामा पोख्त छैन ।


मैले यि धर्तीमा पहिलो चोटी आँखा खोले र बाबा आमा भन्न सिके त्यहीँ बेलादेखि भण्डारी थर भएको मेरो हजुरबुवाले पुज्नु हुने पण्डित बाजे बिहान बिहानै कुश लिएर आउनु हुन्थ्यो । अनि आमा बिहानै उठेर घर लिप्नु हुन्थ्यो । आज त माछा मासु केही पनि खानु हुन्न । नुहाइ धुवाइ गरेर चोखोनितो खानुपर्छ भन्नू हुन्थ्यो । अनि हुन त आज बुवाको मुख हेर्ने दिन हो तर मेरो त बुवा त जन्मेकै साल बित्नु भएको भनेर लामो सुस्केरा हाल्नु हुन्थ्यो । वर्षमा एक दिन भए पनि आफ्नो हातबाट बुवालाई खुवाउन पाइन के गर्नु ? उहाँको आयु नै छोटो रैछ भनेर आँसु झार्नु हुन्थ्यो ।


अहिले विज्ञान र प्रविधिले विश्वलाई एक घर बनाई दिएको छ । जतिसुकै टाढाटाढा भए पनि अलिकति सुबिधा सम्पन्न ठाँउमा बस्ने धनीमानी बुवा र ठूला ठालु छोराछोरीले बृद्धअवस्था भएका बाआमालाई बृद्दाआश्रम मै राखेको भए पनि आज खुबै माया देखाएर फेसबुकको भित्ताभरी आआफ्नो अझ सकेसम्म बा नाता पर्ने सम्झे जतिका फोटो राखेर फेसबुकको भित्तामै बुवाको मुख हेरे । कसैको भिडियो फोन गरेको, भिडियोमै म्वाँइ खाएको फोटो पनि सामाजिक संजालमा राखेर संसारकै सबैभन्दा माया गर्ने सन्तानको रुपमा आफूलाई प्रदर्शन गरे ।


वर्षभरि बुवालाई एक पटक पनि सम्झन फुर्सद नहुने यन्त्रवत् पैसाको खातिर कुद्ने छोराछोरीले पनि आज बुवाको फोटो राखेर ‘ह्याप्पी फादर्स डे’ भनेर सामाजिक संजालमा माया देखाए । माया अरुलाई देखाउन जरुरी छ जस्तो त मलाई लाग्दैन । तर दुनियाँको सिको गरेर दुनियाँलाई देखाउन मैले पनि त्यही पोस्ट गरे ‘ह्याप्पी फदर्स डे’ ।


मेरो कालो अक्षर भैंसी बराबर भएको बुवालाई के थाहा ‘ह्याप्पी फादर्स डे’ । अनि के हो फेसबुक ? उहाँलाई थाहा पनि छैन आज छोराछोरीले मेरो फोटो फेसबुकमा राखेका छन् भनेर ।


एक दिन फोटो फेसबुकमा राखेर ‘ह्याप्पी फादर्स डे’ भनेर पोस्ट गर्दैमा बुवाले छोराछोरी माथि गरेको त्याग, तपस्या र लगानीको ऋण तिरिन्छ त ? छोराछोरीको खुसी र प्रगतिको लागि बुवाले बगाउनु भएको पसिना जम्मा पार्ने हो भने हजार पटक ढुब्न पुग्छ । बुवाको फुटेको खुट्टा र च्यात्तिएको भोटो हेर्न लाज मान्ने छोराछोरी पनि खुव बुवाको फोटो हालेर मायाको खोलो बगाएर तमासा गर्दै छन् । मेरो बुवा अझै पनि ८७ वर्षका हजुरबुबाको आफैसङ्ग राखेर स्याहार गर्दै हुनुहुन्छ । उहाँले ‘ह्याप्पी फादर्स डे’ भनेर पोस्ट गर्नु भएको छैन । उहाँलाई यसको अर्थ पनि थाहा छैन ।
के मेरो बुवाले हजुरबुवाको आज मुख हेर्नु भएन त ? के मेरो बुवाले बुवालाई माया गर्नु हुन्न त ? ३ सय ६५ दिनमा ३ सय ६५ दिन नै आफ्नो बुबाको स्याहार गर्नु हुने मेरो बुवा ठिक कि ३ सय ६५ दिनमा १ दिन बुबाको फोटो राखेर ‘ह्याप्पी फादर्स डे’ भनेर पोस्ट गर्ने म असल बुझ्न सकिँन ।


अनि मैले नबुझेकी कुरा आफुलाई जन्माइहुर्काइ सक्षम बनाउने बुबाको मुख हेर्ने दिन चाहिँ जम्मा एक दिन ? आफ्नो बुवाको मुख त छोराछोरीले बाचुन्जेलसम्म हेर्नुपर्छ । एक दिन मिठो खान दिएर मात्रै बुवा प्रतिको कर्तव्य पूरा भयो त ? बुवाले कुनै एक दिन पनि छैन होला आफ्नो छोराछोरीलाई नसम्झेको । अनि छोराछोरीले चाहिँ बुवालाई सम्झिने दिन जम्मा एक दिन ? म बुझ्न सक्दिन बुवाको मुख किन एक दिन मात्रै हेरिन्छ ? म अहिले बुवाकै त्याग र बलिदानको कारण यो ठाँउमा पुगेको छु ।


मलाई मेरै अक्षरसङ्ग अपरिचित बुवाले एउटा सक्षम छोरी बनाउनु भयो । मेरो बुवा अहोरात्र पसिना बगाउनु हुन्छ । बुवाले भन्दा मैले अहिले निकै सुखी जीवन बिताएको छु । यो मलाई राम्रोसँग थाहा छ । तर मेरो बुवाले जहिल्यै पनि बिहान खाना खाने बेलामा खाना खायौ ? भनेर सोध्नु हुन्छ । बुवाको थालमा भन्दा बढी स्वादिष्ट परिकार मेरो थालमा हुन्छ । त्यही पनि बुवा के खायौ भनेर सधै सोध्नु हुन्छ । के बुवाले हामीलाई माया गर्न, सम्झन कुनै दिन, गते, बार, तिथि पर्खनु हुन्छ ? मैले आज बिहान बुवालाई सम्झिन फोन गरे । आमा सायद भान्सामा चिसो दाउरा फुक्दै हुनुहुन्थ्यो होला ।


३ पटक फोन गरेपछि उठाउनु भयो । मैले भने “आमा आज त बुवाको मुख हेर्ने दिन बुवा खोइ ?” आमाले उताबाट भन्नुभयो “बुवा त बिहानै खेतमा पानी लाउन जानु भएको छ । भरे आएपछि फोन गर्न लगाउँछु । ” बुवा १० बजे आउनु भएछ । अनि सदा झै भन्न भयो, नानी खाना खायौ ? “मैले भने खाए अनि बुवा आज त बुवाको मुख हेर्ने दिन ।” बुवाले भन्नु भयो “हो र मैले त बिर्सेछु । हजुरबुबालाई दिसा गरेको लुगा फेराएर मुख धोइधाइ पारेर दूध खुवाएर खेतमा गएर भर्खर आको ।”


मैले मन मनै भने मेरो बुवा कति महान हुनुहुन्छ अनि मेरो हजुरबुवा कति भाग्यमानी । मैले फेसबुकमा फोटो राखेर संसारलाई बुबाको माया देखाए । फोनमा बुवाको मुख हेरेँ । मेरो बुवाले बुवाको स्याहार सुसार र कामको चटारोले बुवाको मुख हेर्ने तिथि बिर्सनु भयो ।


हामी अहिलेका छोराछोरी देखावटी माया गर्ने रहेछौ जस्तो लाग्यो । अनि मनमनै भने म कस्तो सन्तान आफ्नो साठी लागेको बुवाले सतासी लागेको हजुरबुवाको जीवनभरी मुख हेरिरहनु भएको छ । अनि म चाहिँ साठी लागेको बुवाको मुख हेर्न गोकर्ण औंसी र कुसे औंसी पर्खिराखेको छु ।
मन मनै आफैलाई एक चोटी धिक्कारेँ । जीवनमा बुवाको लागि केहि गर्न सकिँन । आफू सुखमा भएर र पनि बुवालाई सुख दिन सकिँन । साठी वर्षको बुवाको हातको लौरी हुन सकिँन ।

आधुनिकतासङ्गै आधुनिक बनेको जीवनले आफ्नो कर्तव्य पूरा गर्न सकिँन । मौलिकता र संस्कृति जोगाउन सकिँन । संस्कृति जोगाउने नाममा आफ्नो मौलिकता बिर्सन पुगेको भान भयो । आफू खुसी र सुखी हुने दौडधूपम लागेर युरोप, अमेरिका पुगेका छोराछोरी र उनीहरूका बृद्धावस्थाका वृद्धाश्रममा भएका बा आमालाई सम्झेँ । अनि मेरो बुवा र हजुरबुबालाई सम्झेँ । मेरो हजुरबुबा जति भाग्यमानी मेरो बुवा हुनहुन्न रहेछ भन्ने भान भयो । भावनामा ढुब्दाढुब्दै आँखाबाट आँसु खसेछन् ।


१२ वर्षको मेरो छोरो टेलिभिजनमा मोटु र पत्लु हेर्दै थियो । उसले मेरो आँखामा हेर्दै भन्यो, “मामु के भयो?” म अवाक भएँ । के भनेर उसको बाल मस्तिष्कले बुझ्ने गरि जवाफ दिउ ?

महाेत्तरी, बर्दिबास ।