विगत् र वर्तमानको तीज अनि दर

लेखिका : सानु शाही ठकुरी

हिन्दू नारीहरूको महान् चाड हरितालिका अर्थात् तीज । यसको, पौराणिक, धार्मिक र साँस्कृतिक महत्व आफ्नै प्रकारको रहेको पाइन्छ । हिन्दू धर्मशास्त्र अनुसार हिमालय पुत्री पार्वतीले महादेवलाई स्वामी बनाउन पाऊँ भनी निराहार वर्त बसेको कथानुसार भाद्र शुक्ल द्वितीयाका दिन नेपाली हिन्दू अविवाहित नारीहरूले आफूले योग्य वर पाऊँ र विवाहित नारीहरूले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गरी निराहर व्रत बस्ने गरेको परम्पराबाट यो पर्व मानिदै आएको देखिन्छ ।


हिन्दू नारीहरू यस दिनको अघिल्लो रात मिठामिठा परिकारहरू बनाई खाने र भाद्र शुक्ल द्वितीयाका दिन पानी पनि नखाई निराहार व्रत गर्ने गर्दछन । मैले थाहा पाउँदा तीज एकदम सरल र साधारण तरिकाले मनाइन्थ्यो । दूधबाट बनेको परिकार राति घडी त हजुरामाको हातमा त थिएन तर जुन हेरेर, तारा, घाम हेरेर समय अड्कल गर्ने तागत हुने मेरी हजुरामा सायद् १२ “बजे राती उठनु हँुदो हो खूब मेहनत गरेर पकाउनु हुन्थ्यो । खिर, पुरी, दही, कुराउनी, चाम्रे आदिआदि परिकार । हामी पनि खानको लोभले फुपूसँगै सुत्थ्यांै । फुपूले उठाउनु हुन्छ भनेर ।


हजुर आमा वर्ष दिनमा एक दिन सासू, ससुरा र लोग्ने, नन्द, देवर, जेठाजु, जेठानी आदिको स्याहार गरेर आएकी छोरीलाई दर पकाएर खुवाउन पाउँदा निकै खुसी हुनुहुन्थ्यो । अनि फूपू पनि ३६५ दिनमा जम्मा ३ दिन बिदा पाएर माइत आई आमाले पकाउनु भएको मिठो खानेकुरा खान पाउँदा कति दङ्ग हुनुहुन्थ्यो । उहाँहरू रातभर खुसुखुसु सासू, ससुरा, लोग्ने, नन्द आमाजु, देवर जेठाजु, छोरा बुहारीको बारेमा खासखुस कुरा गर्नु हुन्थ्यो । म पनि बिस्तारै कान थापेर कुरा सुन्थे । सबै कुरा त मेरो बाल मस्तिष्कले बुझ्दैनथ्यो । तर केही कुरा बुझ्थे । त्यति बेला मैले सारमा बुझेअनुसार सासू र लोग्नेले दिएको शारीरिक र मानसिक यातना, पीडा र घरमा बुहारीले व्यहोरेका बुहार्तन आदिकै गफ हुन्थ्यो ।


म मनमनै सोच्थेँ मेरी आमालाई पनि यही पीडा छ । उहाँ पनि यस्तै कुरा हजुरआमासँग गरिरहनु भएको होला । म त्यो बेला यही र यस्तै बुझ्थे तीज र तीजको दर र यसको महत्त्व ।


तीज भनेको महिलाहरूले आफ्नोआफ्नो माइतमा गएर दुःखसुख साटासाट गर्ने दिन । वर्षभरिको थकान माइतमा गएर बिसाउने । साथीसँगी, दिदीबहिनी, आमाछोरी मिलेर मिठो मसिनो खाने । एकदिन भए पनि आफ्नो घरको काम धन्दाबाट मुक्त भै जन्म घरमा रमाउने अनि गीत पनि त्यस्तै दुःख सुखका गाइन्थ्यो । एकदमै मौलिकता मिसिएको । खासगरी सासूले दिएको यातना, लोग्नेले दिएको यातना, माइती घरको सम्झना आदिआदि भाव झल्काउने गीतहरू गाउँदै नाच्दै गरिन्थ्यो । त्यसमा कति पनि आधुनिकताको धूँवा मिसिएको थिएन । गीत गाउने र नाच्ने दुवै महिला नै हुन्थे ।
केटाहरूले तीजमा दर खान हुदैन अनि नाच्न गाउन हुँदैन भनिन्थ्यो । राति भाइ र दाइलाई दर केटाले खानु हुँदैन भनेर हजुरामाले दिनु हुन्थेन । म, भाइ र दाइलाई आफूले खाई नसकेको दर थोरै लुकाएर बिहानै दिन्थे । भाइ यस्तो मिठोमिठो खान पाइने रै’छ र पो व्रत बस्दा रै’छन् फुपूहरू – भन्थ्यो ।


म पनि छोरी भएको भए दर खाएर व्रत बस्थे भन्थ्यो । त्यो बेला र अहिले आकाश जमिन फरक पाउँछु । म पनि दर खानकै लागि व्रत बस्थेँ ।


अहिले जमाना फेरियो, मान्छेको आकार नफेरिए पनि, विचार फेरियो, रीतिरिवाज फेरियो, नेपाली पहिरन, चालचलन, लवाइखवाइ सबै फेरियो, आफ्नो मौलिकता बिर्सिएर विदेशी रीतिरिवाज र पहिरन भित्रियो । यसै सिलसिलामा तीज मान्रे, दर खाने र व्रत बस्ने परम्परा सबै फेरिए ।
हुन् त सबै चाडपर्वले आफ्नो रूप रंग र ढङ्ग नफेरेको हैन । तर तीज र दर चाहिँ मेरो बुझाइ हो कि फेरिएकै हो प्रष्ट हुन सकिन । द्वितीयाको अघिल्लो रात आमाले पकाउनु भएको दूधबाट बनेको परिकारले पूरै पाँच तारे होटेल, पार्टी प्यालेस, क्याफेमा ह्वीस्की, वाइन, सुकुटी, सेकुवा, पकुआ, रोस्ट, छोइला, साँप्रा, तास खै केके जाति नाम हुन् त्यसमा गएर काँचुली फेरेको छ तीन महिना अगाडिदेखि नै ।


ल अब आफैँ बुझ्नुहोस् कति परिवर्तन भएको छ तीजको दरमा ? अनि म पनि त त्यही समुदायमै छु आफँै सोच्नुहोस् । तपाईं, म र हामी कहाँ र कतातिर जाँदैछौँ । कतिपयलाई मेरो भनाइ र बुझाइ चित्त नबुझ्न पनि सक्छ । सोचाइ आफ्नोआफ्नो, भोगाइ आफ्नै (आफ्नै,अनि जीवन पनि तपाईंको आफ्नै । जे राम्रो लाग्छ गर्नुहोस् अनि तँलाई के चासो खायौं त खायौं आफ्नै खायौं तेरो खा’को छैन भनेर पनि भन्न सक्नुहुन्छ । किनकि खानु त तपाईंले आफ्नै खानु भएको छ । खानुहोस् खुब खानुहोस् तपाईंले खानु भएकोमा कदापि रिस डाहा ईश्र्या त गरेको हैन तर तपाईंको खुवाइले समाज नभड्कियोस वर्षमा एक छाक पनि दरको नाममा मिठो मसिनो खान र खुवाउन नपाएका अनि वर्षमा एक झुम्रो लाउन नपाएका आमा दिदीहरू तपाईंको तड्कभड्क देखेर अकालमै प्राण फ्याँक्न बाध्य नहुन । मिठो खान र राम्रो लाउन सबैलाई मन लाग्छ मात्रै समय र परिस्थितिले मान्छेलाई कैद बनाउछ पिठो र आटो आधा पेट खाएर बाच्न ।


वर्षभरिमा एक जोर लुगा किन्न नसक्ने आमा दिदीबहिनी कति मन दुखाउँदा हुन् आफ्नो आँङको फाटेको लुगा देखेर । हुने खानेले प्रत्येक दर कार्यक्रम नयाँ लुगा र नयाँ गहना पहिरन्छ्न । लाग्छ यो तीज र दरचाहिँ लुगा र गहनाको प्रदर्शन हो जस्तो लाग्छ । अनि कहिलेकाँही कुनै बेला त लाग्छ सबैले आफ्नोआफ्नो लोग्नेको हैसियत प्रदर्शन गरिरहेका छन् । गहना र पहिरनले सजिएर एकले अर्काको आँङतिर हेर्दै खिसी टिउरी गर्ने अनि आफुले भन्दा बदी अरूले पहिरेको देखे भने आफ्नो लोग्नेलाई मनमनै लोग्नेलाई सराप्छ्न ।


मलाई केही पनि गर्न सकेन आफ्नो त लोग्नेको गतिलो कमाइ भए पो ! वा क्या आधुनिक जमाना । अर्काको देखासिकी गर्न सिकायौ । अरूले घोडा चढे धूरी चढ्न सिकायौ । ‘घाँटी हेरेर हाड निल्नु पर्छ’ भन्ने उखानले सिँढी चढेर हाड अनुसारको घाँटी बनाउनु पर्छ भन्ने भनाइ धारण गरेको देखिन्छ । परिवारमा कोलाहल मच्चिएको छ । लुगा र गहनाको कारण लोग्ने स्वास्नीको सुमधुर सम्बन्धमा दरार आ’को छ ।


सासुको लोग्नेको, यातनाको गीत गाउँथे पहिला पहिला अहिले त्यसको ठिक विपरीत सासुले बुहारीको यातना भोग्नु परेको छ । बुहारीले गरेकी अपहेलनाको गीत खुलेर त हैन कानेखुसी गर्दै गाउँदै हिँड्नु परेको छ । अनि श्रीमान् हूँ म सधैँ शिरमै हुनुपर्छ, मैले स्वास्नीलाई दबाएर राख्नु पर्छ भनेर श्रीमतीलाई पैताला मुनि राख्ने त्यो बेलाका श्रीमान् र पतिहरू अहिले पत्नीपीडित भएका छन ।
विकास भनौ कि विकृति ? संकार भनौ कि संस्कृति अलमलमा छु । कहिलेकाँही त कहिले सासूको पालो कहिले बुहारीको पालो भन्ने उखान चरितार्थ भएको हो कि जस्तो पनि लाग्छ । ‘पृथ्वी गोलो छ सबैको पालो आउँछ’ भन्ने भनाइले पनि मेल खाएजस्तो लाग्छ । तीजको गीत र नृत्यले पनि आफ्नो रूप ,रङ र ढङ्ग फेरेको छ । कतै “पोइल जान पाम“, कतै पोइल जान पाम भन्ने बुढीकन्यालाई मैले लान पाम, कतै बिच बिचमा, कतै छेउछेमा, कतै नो व्रत नो तीज, कतै केटा हो अब साइड लाग, डिस्कोमा तीज, बरिलै, गितार हालेर केके हो केके ? सुनेर आनन्द आउने हैन खाएको दर जति सबै निस्केला भन्ने पिर ।

सूर, ताल केही छैन ।


पÞmेरि कसैको चित्त दुख्यो भने यही लेखबाट क्षमा चाहन्छु । देखेको र आफूलाई लागेको कुरा लेखेको मात्रै हो । अनि फेरि एउटा कुरा थप्न मन लाग्यो । छोराले नाच्न र गाउँन हँुदैन तीजमा भन्न्नु हुन्थ्यो हजुर आमा । अहिले त छोरा पनि सारी र चोलो लाएर पो नाच्दैछ्न । के भनौं हजुर आमालाई देखाको रामराम यो त हिँजडा रैछ । अनि मैले भने “हजुरआमा हिँजडा हैन केटाले आइमाईको लुगा लगाएर नाँचेको ।“


हजुर आमाले जिब्रो निकाल्दै भन्नू “भयो लौ के जमाना आएछ ।“ पÞmेरि हिँजडा शब्दले कसैको मन दुखे क्षमा चाहन्छु । यो शब्द हजुर आमाको हो । उहाँहरूको पालामा यस्तै भन्थे होला मैले हजुर आमाको तर्फबाट माफी मागे ।


वर्षभरि विदुहीजस्तै देखिने महिला पनि एक दिन सिउँदो भरी सिंदुर र गलाभारी रातो, पहेँलो, हरियो पोते रातै सारी र चोलोमा सजिएर संसारकै सती सावित्री बनेर देखाउछ्न । रातभरि लोग्नेसँग कुस्ती खेलेर दिउसभरि पानी पनि नखाई व्रत बस्छन् । यो हेर्दा लाग्छ । कुनै एक रमाइलो नाटक रंगमंचमा हेरिरहेको छु ।


चाडपर्व हो सबैले मनाउनु पर्छ । संस्कृति जोगाउनु पर्छ तर चाडपर्व मनाउने, संस्कृति जोगाउने नाममा कसैले कसैको मन नदुखाउ । घाँटी हेरेर हाड निल्ने बानीको विकास गरौं । एकले अर्काको सम्मान गर्ने बानीको विकास गरौं । कसैले कसैलाई अपहेलना गर्ने दुःख दिने बानीको अन्त्य गरौं । चाडपर्व भड्किलो नबनाऊ, आफूसँग जे छ जस्तो छ त्यसमै खुसी होऊँ । आधुनिकताको नाममा अहम् नभित्र्याऊँ ।


घर परिवार, माइती, मावली, छरछिमेक सबैमा एक आपसमा खुसी साटौं । यसपालि कोरोना माहामारी छ । आआफ्नै घरमा बसौं, सुरक्षित रहौं । माइत जान पाइन भनेर चित्त नदुखाऊँ । जिउ बाँचे घिउ खाइन्छ । आफ्नै घरमा रमाऊँ जे छ घरमा त्यही खाऊँ सबै नेपाली आमा, दिदी, बहिनी, भाउजू, बुहारी, छोरी नातिनी र दाजुभाइलाई तीजको शुभकामना ।

महाेत्तरी बर्दिबास ।