फेसबुकमा किन छाडा बन्दै आजका पुरुष ? के यहि पुरुषार्थ हो ?

लेखिका : सम्झना श्रेष्ठ


पछिल्लो पुस्ताको दैनिकि सामाजिक संजालमा चुर्लुम्मै डुबेको छ, भन्दा फरक नपर्ला । फेसबुक अकाउन्ट नहुने, टिकटक नचलाउने मान्छे पाउन मुस्किल छ । बच्चा जन्मेपछि उसको नामको फेसबुक अकाउन्ट खोलेर उसका हरेक दिनको, हरेक महिनाको फोटो तथा भिडियो बनाएर अपलोड गर्ने एकखालको चलन जस्तै भैसकेको छ । सामाजिक संजाल तेसमा पनि फेसबुक निकै लोकप्रिय बनेको एउटा चौतारो हो । यहाँ हजारौँ सोच विचार लिएर हिँड्नेहरु भेटिन्छन् । फेसबुक यति घनिष्ट बनिसकेको छ कि तपाइँलाई ए, तपाइँलाई कसैसँग बेस्सरी रिस उठेको छ वा तपाइँ कुनबेला कस्तो महसुस गर्दैहुनुहुन्छ । त्यो सबै फेसबुकमा सेयर गर्न सक्नुहुन्छ तर, तेहि कुरा नजिकका कोही कसैलाई सुनाउन फुर्सद मिल्दैन ।


सँगै सुतेका जोडीमा एकले अर्काको फिलिङ्स था पाउन मोवाइलमा फेसबुक चेक गर्नु पर्ने दिन नआउला भन्न सकिन्न । कतिपय मान्छेहरुले तनाव कम गर्ने भाँडोको रुपमा फेसबुकलाई प्रयोग गरिरहेछन् । कतिपयले रमाइलोको लागि । र तपाइँ हामी मध्ये धेरैलाई चाँहि फेसबुक अकाउन्ट किन खोलेको भन्ने प्रश्नको जवाफ नै छैन । सुख, दुख, पिडा, जन्म, मृत्यु, विवाह, पास्नि, जन्मदिन, कुनै सुचना, समाचार लगाएत यावत् खवर था पाउन एकदम सजिलो माध्यम फेसबुक बनेको छ, अझ भन्दा बनाइएको छ । आजभोलीका चाडपर्वहरु फेसबुकबाटै मनाउने चलन जस्तै भएको छ ।


सन् २००४ मा मार्क जुकरबर्गले हावर्ड बिश्वबिध्यालयमा हुँदा उनका कलेज कोठामा सँगै बस्ने साथीहरू केही कम्प्युटर विज्ञानका विद्यार्थीहरू एडवार्डो साभरिन, डस्टिन मोस कविट्ज रक्रिस ह्यूजेसको साथ फेसबुकको स्थापना गरेका हुन् । वेबसाइट सुरुमा हावर्ड बिश्वबिध्यालयका बिध्यार्थीहरू माझ मात्र सिमित रहे पनि पछि बोस्टन क्षेत्रको आइवी लीग र स्टैनफोर्ड विश्वविद्यालयमा पनि फैलाइएको थियो । सन २०११, अगस्ट ९ का दिन आइफोन र एन्डरोइडको लागि यो सुबिधा शुरु गरिएको थियो । पछी अक्टोबर ११ देखी ब्ल्याकबेरीमा पनि सुरु गरियो । अहिले फेसबुक मेसेन्जर एपमा झन्डै ८० करोड भन्दा बढी मासिक प्रयोगकर्ता छन् । फेसबुक मेसेन्जरमा बिभिन्न सुबिधा छन् । तर मार्क जुकरबर्गले फेसबुकको जे जसरी स्थापना गरे नि, यसमा नियमन गर्ने निकाय खै ? जसले जतिवटा पनि फेसबुक अकाउन्ट खोल्न पाउने कति गज्जवको काइदा ? हुन त यहाँ सरकारको कुन चाँहि निकायको आश कुन जनताले गरेको छ होला र ? सरकार आफैँ त कयाँै पटक आफु असुरक्षित भएको दलिल पेश गरिरहेछ ।


केहिदिन अघि एउटा फोटो फेसबुकको स्टोरीमा राखेको थिँए । केहि केटा साथीहरुले यस्तो कमेन्ट गर्नुभयो कि ति कमेन्टहरुलाई नियालँे मात्र, र दोहोर्याई–तेहेर्याई तेही फोटो हेरेँ । किन–किन आफ्नै फोटो भएर हो पो होकि, मैले तेस्तो केहि पनि देखिनँ । आएका सबै कमेन्टहरुलाई मात्र सकारात्मक रुपमा लिएँ, कसैलाई केहि नभन्नु मेरो बाध्यता होइन । अव त जस्ता सुकै कुरा हुन् सकारात्मक बनाएर पचाउने बानी लागिसक्यो । किनकि ति सबै नकरात्मक दृष्टि, टिक्काटिप्पणी सबैसँग जुधेर बस्ने, कस्ले के भन्छ तेसको जवाफ फर्काएर बस्ने फुर्सद नभको मात्र नभई नालीमा ढुङ्गा हान्न रहर नभको पो हो त । किनकि आफ्नै मुखमा नालीको छिट्टा परेको कस्लाई पो मन पर्ला र । कहिले–कसो यस्तो पनि लाग्छ, छोरी मान्छेहरु समाजमा, चोकहरुमा, विद्यालय, कलेज अथवा बाटो दोबाटोहरुमा मात्र नभई सामाजिक संजालहरुमा पनि सुरक्षित छैनन् । त्यो चाँही कसरी भने फेसबुकमा एउटा फोटो अपलोड गर्नुपर्छः तिमि कति सेक्सि, कति हट देखिएको, आउ तिम्रो बडी, आम्मामा क….त्रो आदि–आदि, कमेन्टहरु । के यि सब फेसबुकको भित्ताबाट चियाउने एकखालको गिद्धे नजर होइन र ?


चोकमा बसेर अर्काको दिदिबहिनीलाई क्या ‘माल’ भन्न सक्ने एउटा पुरुषले आफ्ना दिदिबहिनीलाई अरुले ‘आई लभ यू’ भनेको किन सुन्न सक्दैन होला । आफु कसैको दिदिबहिनिसँग घण्टौ बोलेर नथाक्ने एउटा दाई, बहिनीलाई आएको दुईवटा कलमा किन आँखा तर्छ, किन झम्टिन्छ होला ?


आफ्नो बाउ सम्मको मान्छेले मेसेजमा ‘रात कसरी बित्छ त, गाह्रो हुन्न एक्लै’ भनेर सोध्न सक्नु, तिमिसँग एकान्तमा भेट्न मन छ मलाई, लगाएतका भन्न सक्ने हैसियत राख्नु के एउटा पुरुषको बहादुरी हो ? कि म पुरुष हो तेसैले जे बोले पनि हुन्छ भन्ने मान्यता राख्नु हो ? कि दिनहँु जसो अफिसियल काममा भेटिने, सामाजिक प्रतिष्ठा बोकेर हिँडेको मान्छेसँग खुलेर बोल्नु चाँहि गल्ती हो ? फेसबुकमा साथी बनेपछि आफ्नै आमाले जन्माएका बाहेक कोहि पनि दाईभाई नहुने रैछन् । सँधै दाईको दर्जामा राखेर बोलेको मान्छे, फेसबुक स्टोरीको भित्रि मेसेजका गएर ‘आम्मामा कत्रो’, ‘सेक्सि’ जस्ता शब्द किन प्रयोग गर्छन् होला ? यदि यस्तो मेसेज तथा कमेन्टहरु तिनका दिदिबहिनीले देखाए भने कस्तो प्रतिक्रिया दिन्थे होला ? बडो जान्न मन लाग्छ मलाई ।


जुन शरिरभित्र बसेर यो धर्तिमा आए, हो, दुरुस्तै तेस्तै शरिरलाई हेरेर अनावश्यक धारणा बनाउन वा मुल्यांकन गर्न अलिकित पनि लाज नलागेका होला यो पिढिका केहि तत्वहरुलाई ? छोरीमान्छेको शरिरलाई समाज र परिवारको इज्जत ठान्ने हाम्रो नेपाली समाज, तेहि शरिरलाई हेरेर अनेक धारणा बनाउन, टिक्काटिप्पणी गर्न अलिकति पनि नहिच्किचाउने केहि पात्र छन्, जसलाई हार्दिक श्रद्धाञ्जली भन्न मन छ, यहि फेसबुकबाटै तर, हतार गर्न मिल्दैन । केहि पात्रहरु छन्, जो शरिर हेरेरै नारीर्को मुल्यांकन गर्ने गर्छन् । कतिपय पात्र तेस्ता छन्, जो शिर ठाडो पारेर हेर्न नसक्ने अवस्थामा पुगेका छन् हो, उनीहरुको इज्जत कति प्रतिशत छ भनेर मुल्यांकन कुन चाँहि गणितले गर्ने होला ?


यि सब कुरा त हाँसेर पचाइदिएको मात्र हो । हैन भने त तेसको हिसाव राख्ने निकाय कस्तरी थला पथ्यो होला । यदि यो सबैै कुरा बाहिर ल्याउने हो भने अदालतहरुले कम्ताको सास्ती पाउँथे होला र ? कारागारहरुले मान्छेहरुको घुँइचो कसरी थाम्थ्योे होला, सम्झेर पनि अहो !
आफ्नै हातका औँला त बराबर छैनन्, यो संसारमा फरक फरक भुगोलमा जन्मिएका, फरक–फरक संस्कृतिमा हुर्किएका, फेसबुकमा भेटिएका मेरा सबै मध्ये केहि थान साथीको नाता लागेका व्यक्तिहरु कसरी एकै हुन्थे त ।


मेरो त्यो फोटोमा अनेक खालको कमेन्ट आउनुमा एउटै कारण थियो । फिटिङ् अर्थात् शरिरमा मिलेको टि–सर्ट थियो । उमेर बढ्दै जाँदा छोरा मान्छे र छोरी मान्छेको छात्ती फरक–फरक देखिनु स्वभाविक हुन्छ, भन्ने सम्म पनि था नपाएका बुज्रुक मानसिकता भएकाहरुलाई अरु के नै भन्न सकिन्छ र ।


यत्ति, हो कसैले कसैलाई पनि सामाजिक संजालमा गर्ने कुनै पनि रियाक्ट, मेसेज अथवा कमेन्टले उसलाई कस्तो खालको असर पर्ला, सोच्ने हिम्मत गर्ने हैसियत बनाउनुपर्छ । के था तपाइँले गरेको सानो कमेन्टले, तपाइँलाई लाग्ने सरल भन्दा सरल शव्दले कोही कसैलाई साँच्चै आघात पुग्छ भने के तपाइँ स्वयम्लाई चाँहि सँधै आनन्द मिल्ला र ? सामाजिक संजालहरुमा कोहि कसैलाई पनि वाक्क लाग्ने कमेन्ट मेसेज नगराँै, के था कतिबेला तपाइँले गरेका मेसेज र कमेन्टले तपाइँलाई नै नराम्ररी झापड हान्ने हो । तेसैले सचेत रहाँै, मान्छे राम्रो बन्ने अनुहारले होइन उसका व्यवहारले हो, उसको दृष्टिले हो । नजरबाट गिर्नु भनेको, पात रुखबाट झरेपछि पतिंगर बन्नु जस्तै हो । सके सबैको इज्जत गराँैैँ, नसके कसैको पनि वेइजत नगरौँँ ।