ट्रक साहित्यमा प्रेम र देशप्रेम

‘हाम्रो देश नेपालमा हिमाल छ ताल छ ।
बुद्ध जन्मेको यो देशमा बुद्धिको अनिकाल छ ।’

– यो त्यही सायरी हो । जुन कुनै ट्रकको पछाडिपट्टि लेखिएको थियो र जसमा कवि तथा गजलगो सुविद गुरागाईंका सिर्जनात्मक र जिज्ञासु आँखा परे । अनि त्यसको केही वर्ष उनी ट्रकका पछाडि लेखिएका कविता, सायरी र जीवन्त भनाइलाई टिपोट गर्नतिर लागे । केही वर्षको अन्तरालमा तयार भयो एउटा किताब –ट्रक साहित्य ।

‘कलम रोए अक्षर बन्छ, कवि रोए कविता, धनी मरे श्रद्धाञ्जली, गरिब मरे रमिता’ ना.५ ख – २५१० को ट्रक पछाडि लेखिएको यो सायरीले ‘गरिब र धनीका मृत्युका सम्बन्धमा र अक्षर तथा कविताको जन्मका बारे’ भन्छ । भे.१. क –४६९ मा लेखिएको छ –‘मात्र समस्या छ समाधान कहाँ छ ?

विकासको सुनौलो विहान कहाँ छ ?’ समास्या र समाधान तथा विकासको सुनौलो विहानलाई चित्रण गर्ने यो सायरीले समाजवादी दृष्टिकोण प्रस्तुत गरेको छ ।


त्यसैगरी स.१.ख – २२३ मा भने ‘पूर्वेली गाडी पश्चिमे तेल, दुःख र सुख भाग्यको खेल’ भनेर जीवनको समालोचना नै गरिएको छ । ना.ग.ख –७८०३ मा भने ‘उकालो लागे शत्रु बढ्छन्, ओरालो लागे आफन्त घट्छन्, धनदेखे नाता जोड्छन्, गरिबदेखे साथ छोड्छन् –यही हो जिन्दगी ।’भनेर हामी मानिसको स्वार्थी प्रवृत्ति र सामाजिक भावनाको उहापोख व्याख्याका रुपमा गरिएको छ ।


सन्धान गर्दै जाँदा कवि सुविद गुरागाई यस्तो सम्म खोज्न पुग्छन् –‘ना.५.ख–५०६ मा लेखिएको मजबुन सहितको सायरीले यसो भन्दो रै’छ –‘गाह्रो छ जिन्दगी आफूले सोचेको जस्तो हुँदैन, मनमा त्यो बस्छ जो भाग्यमा हुँदैन ।’ मन पर्ने हजारौं हुन्छन् तर जुनी काट्ने एउटै हुन्छ भनेजस्तो भाव यहाँ पाइन्छ । मानिसले देख्ने र भेट्ने मायालुका बारेमा लेखिएको जीवनोपयोगी सायरीले साँच्चै मानिसलाई भाग्यको भरमा जिउने सल्लाह दिएको छ ।


नम्बर प्लेट मेटिन लागेको ना.२ ख ९४९४ को ट्रकमा भने बढो मिजासिलो पाराले लेखिएको थियो –‘जीवनको गोरेटोमा बेवारिसे फूल भएँ, जसलाई बेसी माया गर्थें उसैका लागि भूल भएँ’ भनेर मायाको संसारबाट सामाजिक संसार चिहाउने काम गरिएको छ ।


जीवनमा माया प्रेम मात्र हुँदैन । हास्य र विसंगति पनि हुन्छ । यस्तै कुरा यहाँ लु.२ ख –२७८ को ट्रकमा लेखिएको पाइन्छ । यहाँ लेखिएको छ –‘बूढो विदेशको खाडीमा, बूढीचाहिँ अर्काको गाडीमा, फुल्यो मनमा निमको पत्ता, घर आउँदा बूढी बेपत्ता’ चालकको जीवन बास्तवमा कोलाहलपूर्ण हुन्छ । घर छाडेको वर्षौं दिनमा कोही त बल्ल घर पुग्छन् । नेपालमा त्यो होला कि नहोला तर भारतमा चाहिँ हुन्छ । मुम्बईदेखि कलकत्तासम्म जाने हाइवेका ट्रकहरूमा महिनौंसम्म पनि चालकहरू सडकै हुन्छन् । कति निरीह छ विचराहरूको जीवन पनि । नम्बर नभएको एउटा ट्रकमा लेखिएको कुराचाहिँ हृदयमै छाप पार्ने खालको छ –‘जिन्दगीले छिचोल्नु छ अझै थुप्रै गल्छीहरू, आकास छुने कुरा गर्छन् धर्तीका यी अल्छीहरू’ बास्तवमा कुनै छुपेरुस्तम या लुकेका कविहरूका भावना पनि यस्ता गाडीहरूमा लेखिएका हुन सक्छन् । यो सायरीले गहिरोगरी जीवनका भावलाई समातेर सबै यात्रुका नसनसामा पु¥याउने काम गरेको छ ।


त्यसैगरी बा.३ –ख ६५६४ मा यस्तो लेखिएको छ –‘तिम्रो मन पनि काठमाडौँको लोकल बसजस्तै रहेछ प्रिय, जति जना पनि अटाउने’ कति गहिरोसँग धेरैसँग बेसारे माया गर्ने शैलीका केटीहरूलाई यहाँ दह्रोगरी व्यङ्ग्य हानिएको छ । हामीले एकजनासँग मात्र माया गर्ने र दिगो माया गर्नु पर्ने सन्देश यो ट्रकमा लेखिएको सायरीले बुझाउँछ ।


ना.६ अ २८१२ ‘सत्य सत्य नै हो कसैले नमाने पनि, असत्य असत्य नै हो सबैले माने पनि’ भनेर सामाजिक दर्शनको व्याख्या गर्न खोजिएको छ । बास्तवमा यी कुरा जसले अजमाउन या कथुन ती सामाजिक भावनालाई कवितांशमा खर्लप्पै उतार्न सक्ने खूबी भएका प्रौढ कविहरू पक्का हुन् ।
ना.३ ख ६७८२ मा लेखिएको बोल्ड आवाजले झन नेपाली समाजमा भएको महिला हिंसालाई नै बोल्ने काम गरेको छ । यहाँ भनिएको छ –‘महिला हिँसा बन्द गरौं गरौं, महिला र पुरुष मिली आवाज उठाऔं ।’ सबैभन्दा बढी समाजमा महिला हिँसा गर्ने पेसा भनेकै चालकको हो भनेर हाम्रो समाजले भनेको छ ।


भनाइ नै छ –‘लुगामा फोहर फाइबर, मानिसमा नराम्रो ड्राइभर’ पुरातनपन्थी भावना भए पनि यो भावनाको विपक्षमा गएर सो ट्रकले बास्तवमा समाजमा महिला अधिकारका लागि आवाज बुलन्द गरेको पाइयो । वाह ! सोच जस्को र जसरी आए पनि क्या दामी ।
ना.४ ख ७८८१ नम्बरको तेल बोक्ने ट्याँङ्करमा भने जोडले मायाले मात्र काया नथेग्ने कुरालाई ओकलिएको छ । यहाँ भनिएको छ –‘मायाले मात्र संसार चल्ने भए, मुनालाई छाडी मदन भोट किन गए ?’


अहिलेसम्म हामीले यत्तिको मात्रामा आलोचनात्मक भएर समाजलाई प्रश्न गरेका थिएनौं । मानिसको दिमाग सबैको एकै हुँदैन । हरेक मानिसले उही विषयलाई फरकफरक किसिमले सोचेको र हेरेका हुन्छन् भन्ने कुरालाई यहाँ देवकोटाको काव्य मुनामदनसँग तुलना गरी लेखिएको छ ।


अन्त्यमा, हुँदाहुँदा राजनीतिक छेड हान्न पनि भ्याएको देखियो । यो कार्य ना २ ख ८४५१ मा देखियो । यहाँ यस्तो रहेछ –‘युवा नेता सेतै कपाल, पुराना नेता नयाँ नेपाल, कति हाँस्नु ।’ यी बास्तवमा बोल्ड अर्थ बोकेका वाणीहरू हुन् । यिनीहरूले पत्रिपत्रिका र अनलाइनहरूमा प्रकाशित र पोष्ट हुने अवसर पाएका नहोलान् तर जतिजति चालक महोदयले आफ्नो यात्रा अघि बढाउँछन् यी सायरीले सयौं, हजारौं र लाखौं मानिसहरूसम्म पुग्ने अवसर पाउँछन् ।


नेपालमा कसले यो चलन चलायो त्यसको खोजी भने हुन सकेको छैन । कवि तथा गजलगो सुविद गुरागाईले भने ट्रक साहित्यका नाममा मुक्तक र सायरीका संकलनलाई २०६८ सालमा प्रकाशित गरेका थिए । पहिलो संस्करण ११ सय प्रति निकै रुचाइएको थियो । जो सबै प्रति बिक्यो लेखक तथा सम्पादक भन्छन् ।


अब बाँकी रहेको समाजले पनि खोजी गर्ने बेला आइसकेको छ ।