यस्ताे छ जिल्लामा हालसम्मकाे स्वाब सङ्कलन रिपाेर्ट, मन्थली नगरपालिकमा सर्वाधिक जाँच

भदौ ११ । जनता भ्वाइस संवाददाता, रामेछाप ।


रामेछाप जिल्लामा हालसम्म जम्मा १ हजार १ सय २५ जनाको स्वाव संकलन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले जानकारी दिए अनुसार जिल्ला अस्पताल रामेछापमा ८०, तामाकोसी अस्पतालमा ४९, रामेछाप नगरपालिकाबाट १ सय २०, उमाकुण्ड र खाँडादेवी गाउँपालिकाबाट ६५–६५, गोकुलगंगा गाउँपालिकाबाट १ सय ९२ व्यक्तिहरुको स्वाब संकलन गरिएको छ ।


त्यस्तै दोरम्बा गाउँपालिकाबाट ४०, लिखु तामाकोसी गाउँपालिकाबाट १ सय ३१, सुनापति गाउँपालिकाबाट ५७ र जिल्लाकै सर्वाधिक संख्यामा मन्थली नगरपालिकाबाट ३ सय २६ जना गरी जम्मा १ हजार १ सय २५ जनाको स्वाब संकलन गरिएको जानकारी प्राप्त भएको हो ।
आज बिहिबार सम्मको तथ्याङ्कानुसार जिल्लाका सबै पालिकाहरुमा क्वारेन्टिन शैया संख्या ५ सय रहेको छ भने सर्वाधिक बढी क्वारेन्टिन शैयाको क्षमता मन्थली नगरपालिकासँग १ सय १९ जनाको रहेको छ ।


हालसम्म जिल्ला अस्पताल रामेछाप, तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा क्वारेन्टिन शैया छैन । क्वारेन्टिन भएकाहरुमा रामेछाप न.पा. १ सय, उमाकुण्ड ५८, खाँडादेवी १२, गोकुलगंगा ४९, दोरम्बा ३१, लिखु तामाकोसी १ सय ५ र सुनापति गाउँपालिकामा २६ शैया रहेको छ ।


उल्लेखित सबै पालिकाहरुका क्वारेन्टिनहरुमा जम्मा १ जना महिला र १५ जना पुरुष गरी कूल १६ जना बसिरहेका छन् ।


जिल्ला विपद् व्यवस्थापन समिति मार्फत जिल्ला अस्पताल रामेछापले आज जारी गरको प्रेस विज्ञप्ती अनुसार जिल्लाभर हालसम्म आइसोलेशन शैया संख्या १ सय ४ रहेको जनाएको छ । हालसम्म उमाकुण्ड गाउँपालिकाले आइसोलेशन बनाएको छैन भने मन्थलीमा जिल्लाकै सर्वाधिक २०, रामेछाप नगरपालिकामा ३ शैया रहेको छ ।


त्यस्तै जिल्लाका अन्य गाउँपालिका भित्र भएका आइसोलेशन शैयाहरु क्रमसः खाँडादेवी ७, गोकुलगंगा र दोरम्बा ५–५, लिखु तामाकोसी ६ र सुनापति गाउँपालिकामा ४ शैया रहेको जनाइएको छ । त्यस्तै जिल्ला अस्पताल रामेछाप र प्राथमिक स्वास्थ्य केन्द्र, मन्थलीमा १८–१८, रामेछाप सामुदायिक अस्पताल ४, तामाकोसी अस्पताल १४ शैया रहेको छ ।


रामेछाप जिल्लामा हालसम्म ७ सय ७ पुरुष र १ सय ८५ जना महिलाहरु गरी कूल ८९२ जनामा आरडिटी परीक्षण गरिएको छ भने स्वाब संकलन गरिएको १ हजार १ सय २५ जना मध्ये १ हजार १२ जनाको स्वाब परीक्षण नतिजा नेगेटिभ आएको, जिल्ला भन्दा बाहिरबाट जिल्लाबासीहरुले गराएको कोरोना स्वाब परीक्षण कूल २८ जनाको भएकोमा सो संख्यामा पुरुष १९ र महिला ९ रहेको जिल्ला विपद् व्यवस्थापन समिति अन्तर्गत जिल्ला अस्पताल रामेछापले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।