एउटा यस्तो सादगी जीवन, जसले कहिल्यै गुनासो गरेन

बाल्य जीवन
‘वि.सं.२०१४ सालको वसन्तले मलाई यो पृथ्वीमा पहिला स्वागत् गरेको हो । तत्कालीन नामाडी गाउँ पञ्चायत वडा नं. ३ मा ।’


उनी यसरी आफ्नो बाल्यजीवनलाई सम्झन्छन् ।
जीवनको एउटा अलग्गै घडी हुन्छ, त्यो उल्टो घुम्छ कि सुल्टो ? कसैका जीवनवादी अनुभूतिहरु यसमा जडित घडी उल्टो घुम्छ भन्ने मतमा आधारित हुन्छ भने कसैकसैका सुल्टो हुन्छ भन्ने छ । जुन जता घुमेपनि जीवनवादीहरुका अनुभूतिमा घडी घुम्छ, त्यो नै वास्तवमा जीवनमा अनूभूतिले सिकाएको पाठ हो ।


मान्छे जीवनको घोडा हो । जीवन आफूमा जब चढ्छ, चढेपछि त्यसको लगाम आफूसँग हुँदैन । लगाम जीवनकै हातमा हुन्छ बस्, आफू त्यो लगामअनुरुपको यात्रामा हान्निनै पर्छ ।
महान् वैज्ञानिक स्टेफेन हकिन्स्ले पनि आफ्नो जीवनको लगाम आफूसँग कहिल्यै नआएको भन्ने जीवननुभूति आफू अस्ताउने बेलामा भनेका थिए ।


‘सानोमा आमा गुमाएर एक्लो बनेको ‘म’ । बाबुसँग असाध्यै डराउँथें । आमाको माया जीवनको ६ कार्यकाल मात्रै अनूभूति गरेँ । माया त मेरी आमाको अति धेरै पाएँ, तर वास्तविक अनूभूति कमै गरेँ । २०२१ सालमा आमाको अन्तिम विदाइ गर्दा पनि मलाई धेरै भोक लागि रहेको आज सम्झन सक्छु–भोक अर्थात् आमाको मायाको भोक ।’


उनी विह्वल मुद्रामा यो पनि सम्झिन्छन् ।
चौध सालमा जन्मिएको म, सायद २० सालतिरको समय हुनुपर्छ, नामाडी गाउँमा रहेको मेरो घरकै परिसरमा सानो सिमसार ठाउँ थियो । म सानै भएपनि मैले घरका गाईहरु चराउन लैजानु पथ्र्यो । सदाजस्तै त्यो दिन पनि मैले गाई चराउन लगेँ । चरनक्षेत्रमा छोडिदिएर केही पर गएर बसेपछि बेलुका गाई अघाएर सधँै फर्किन्थ्यो । तर त्यो दिन फर्केन । बेलुकासम्म गाई फर्केंला भनेर कुरेर बसें । साँझैसम्म पनि गाईको गोहो समेत फेला परेन ।


छिमेकमा हल्लाखल्ला भो । सधँै फर्किने गाईले आज बाटो मोडेछ । छिमेकीको बालीमा छिरेर फल्दै गरेको बाली स्वाहाः बनाएछ ।
म सानो फुच्चे ! मलाई गाईले धोका दियो । म गाईप्रति मन दुखाई रहेको थिएँ । तर गाई खुशी थियो, किनभने आज उसले मज्जाले खान पाएको थियो । कसैको खुशीसँग कसैको दुःख घोलिएको हुन्छ भनेर मैले धेरै पछि बुझेको बुझाई त्यो बेला पनि लागु भएको रहेछ भनेर पछि मात्रै बुझेंँ । बालीको धनीले अर्मल तिराउने कुरा ग¥यो । त्यो स्वभाविक पनि थियो । बालीधनीले गाली गर्दै भन्यो, ‘तँलाई बाहुन, गाई हेर्न छोडेर कहाँ गएको थिइस् ? तेरो गाईले मेरो यत्रो बाली नष्ट पा¥यो । पख् ! तेरो आमालाई भनिदिन्छु । अब यो कसले तिर्छ ?’

सानो फुच्चे भुरो म । कसले तिर्छ मलाई के थाहा ? मैले खाएको हो र ? गाईले खाएको हो । खाने गाई, मैले तिर्ने किन ? मनमा यस्तो प्रश्नहरु पनि आएहोलान् जस्तो लाग्छ अहिले । बेलुमा घरमा जाँदा आमाले पाँडे गाली गर्नुभो । त्योसम्म मलाई याद् छ । पछि के भयो अहिले बिर्सिएँ ।’
उनी अर्थात् पवनराज पौडेल ।


रामेछाप लिखुतामाकोसी ६ का पवनराज पौडेलको जीवन परिधिलाई यहाँ उतार्न खोजिएको छ ।
आमा २०२१ सालमा गुमाएपछि बाबासँगै म पनि काठमाडौं लागेँ । बाबा तत्कालीन शाही नेपाली सेनामा जागिरे हुनुहुन्थ्यो । काठमाडौँको शान्ति निकुञ्ज मा.वि.भगवतीबारी, काठमाडौंबाट कक्षा ४ मा उनी भर्ना भएर पढ्न थाले । कक्षा ४ मा पढिसकेपछि कक्षा ५ नपढी उनले कक्षा ६ को प्रवेश परीक्षा नजिकै रहेको परोपकार हाइस्कुल भीमसेनथानमा दिए । त्यो प्रवेश परीक्षामा उनी उत्तीर्ण भए र सिधै कक्षा ६ मा पढ्न थाले ।

सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरिसकेपछि २०३६ सालमा महेन्द्र रत्न क्याम्पस ताहाचलबाट प्रवीणता तह (सिएड) उत्तीर्ण गरे । त्यसपछि कीर्तिपुर बहुमुखी क्याम्पसबाट स्नातक तह (बिएड) उत्तीर्ण गरेपछि उनी खिम्ती अध्यापनका लागि झरे र पछि २०५३ सालमा स्नातकोत्तर तहको स्वाध्ययनबाट पढाइ पूरा गरे ।


वैवाहिक र यौन जीवन
पौडेलले २०४१ सालमा कठजोरकी मिरासँग वैवाहिक लगनगाँठो कसे । कलेजमा पढ्दा आफ्ना समकक्षी केटीसाथीसँग केही क्षण हेराहेर मात्रै भएको उनी बताउँछन् । युवावस्थाको प्रेमको कुरा कोट्याउँदा उनी केही असहज भावमा देखिए । तर पनि प्रश्नहरुले केही जिकिर गरेपछि उनले आफ्नो कुराको गुदी यसरी केलाए, ‘खासै कलेज जीवनमा प्रेम परेन ।

समय पनि अहिलेकोजस्तो खुलमखुला थिएन । केटा र केटीमा समदूरी हुनु त परैजावस्, निकै लामो सामाजिक दूरी कायम थियो । फेरि प्रेम गर्नुपर्छ भन्ने भन्दा पनि आफूले कसरी आफूलाई राम्रो बनाउने भन्ने ध्यान हुने भएकोले प्रेमात्मक सोच कहिल्यै पलाएन । समकक्षी केही केटीसाथीहरुलाई थोरै नजिकबाट नियाल्ने भन्दाबाहेक केही गरिएन । खै, त्यहाँ प्रेम थियो, थिएन मैले अनुभूति गर्नै पाइनँ भने उनी (अमुक पात्र) ले अनुभूति गरिन् कि गरिनन् मैले कहिल्यै सोध्दा पनि सोधिनँ र उनले पनि कहिल्यै बताइनन् ।’


मीरासँग उनले सामाजिक परम्परा र सहजताका साथ विवाह गरे । पहिलोपटक उनले आफ्नी हुनेवाली अर्धाङ्गिनीलाई देख्दा आफूले सम्भावित जीवनको परिकल्पना गरिसकेको बताउँछन् ।
‘सबैकुरा मिल्यो । शैक्षिक, व्यवहारिक, सामाजिक सबैसबै विषयहरु हाम्रालागि ‘ओके’ भए भने केटी पक्षका लागि पनि सबै राजी भए । विवाह भएपछि आफू नियमित शिक्षणकै क्रममा लागें । ‘त्यो बेलाको समयलाई नियाल्ने हो भने विवाह पछिको यौन जीवन नै बढी सामाजिक र व्यक्तिगत रुपमा सान्दर्भिक हुँदो रहेछ । मैले पनि विवाहपछिमात्रै यौनजीवनलाई वास्तविक अनुभूति गर्न पाएँ । त्यो बेला विवाह अघिको यौन वर्जित पनि थिएन र म विवाह अघिको यौनको पक्षपाती पनि थिइनँ । अहिले त समय निकै परिवर्तन भइसक्यो । समाज निकै खुला र उदार भइसकेको अवस्था छ । तर हाम्रो पालामा विवाहअधिको यौन अनुभूति र त्यो जीवन सामाजिक कानुनले त्यसलाई कुनै पनि हिसाबले मान्दैमान्दैन थियो ।


शिक्षण र सेवानिवृत्त जीवन
विगत जीवनका तिता मिठा पलहरुको पोको निकै खुकुलो परिसकेका थिए उनले ।
पौडेलले जीवनमा समाजका लागि धेरै गुन लगाएका कुरा उनकापछि कुरा काट्नेहरु बताउँछन् । तत्कालीन नामाडी गाउँ पञ्चायतमा जन्मिएका उनी निकै लामो समय शिक्षण जीवनमा लागे । अक्षरसँग निकै लामो फेरो लगाए । कति हजार शब्द बोलेहोलान् जीवनभर ? उनलाई यो प्रश्नले निकै लामो हाँसो हँसायो र उनले भने, ‘हजारौं । होइन लाखौं । लाखौं पनि होइन करोडौं शब्दहरु बोलें होला अहिलेसम्म । मेरा करोडौं शब्दमध्ये लाखौंले कतिका जीवनको रुप परिवर्तन गरिदियो होला त कतिका मनका कन्दरामा खोपिदिएको पनि हुनसक्छ ।’ उनी फेरि लामो हाँसो हाँस्छन् ।


२०३९ सालको घाम एकजुवा मात्रै बाँकी हुँदाको समयमा उनी शिक्षण जीवनमा सर्वप्रथम तामाकोसी जनजागृति मा.वि.खिम्तीमा प्रवेश गरे । समाजले शिक्षामा खासै उम्दा नजर नलगाएको समयमा समाजमा शिक्षाको प्रकाश बोकेर खिम्ती झेरेका पौडेलसँग उँचो जोश पनि सँगै गएको थियो । २०४१ सालमा सर्वप्रथम एसएलसीको व्याच संहाल्न पाएका पौडेललाई त्यो बेलाको विद्यालय प्रशासनले कक्षा नौ मा ‘शिक्षा’ विषय पढाउन लगाएको कुरा निकै घत मानेर उनी सुनाउँछन् । ‘मैले जब खिम्ती स्कुलमा कक्षा ९ को शिक्षा विषय पढाउन शुरु गरें, त्यो मेरो पहिलो दिनको घटना मलाई आजतक याद् छ । त्यो बेला त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले मेरो पहिलो दिनको कक्षा र मेरो सानो कद (उचाइ) देखेर धेरै प्रश्न प्रतिप्रश्नहरु गर्नुभएको थियो ।

प्रश्नप्रति प्रश्नले मलाई मेरो सिकाइ र मेरो बुझाइको एउटा अग्निपरीक्षा थियो भन्ने लाग्छ । किनभने मैले पढेको थिएँ, तर मेरो औपचारिक अध्यापन कालको पहिलो अनुभूति थियो । मलाई अहिले पनि त्यो बेला ढालबहादुर खड्का, जो २०४१ सालको एसएलसीको पहिलो ब्याचको विद्यार्थी हुनुहुन्थ्यो । वहाँहरुलाई मैले शुरुमा पढाउन पाएको थिएँ । उहाँहरुले मलाई कक्षामा सामान्य परिचयको साथमा विभिन्न प्रश्नहरु सोध्नु भएको मैले बिर्सेकै छैन । तर उहाँ मेरो शिक्षण जीवनको सेवानिवृत्त हुनु भन्दा अघिसम्म सहकर्मी हुनुभयो र अहिले आएर उहाँहरुले त्यो बेला मलाई सोध्नु भएको प्रश्नलाई यतिबेला सम्झन्छु । आफूलाई ती प्रश्नहरुले मेरो जीवनको एउटा अग्नि परीक्षाको अवस्था थियो भन्ने लाग्छ । यद्यपि त्यो कार्यकालदेखि हालसम्म को अवस्थामा जीवनको नयाँ गति पार गरिएछ भन्ने लाग्छ ।’


आफूले जीवनका धेरै रंगहरु नियालेको उनी बताउँछन् । जीवन सुखद् र दुःखद् अनूभूतिहरुको घोल रहेको उनी स्वीकार्छन् । आपूmलाई शिक्षण जीवनले दिएको ज्ञान अर्थात् शिक्षालाई उनले बडो दर्शनपूर्ण अनुभूतिको पाँजो भएको बताए । आफूले शिक्षणबाट पाएको जीवन के हो भन्ने जिज्ञासामा पौडेलले यसरी पाँजो फुकाए ।


‘शिक्षण जीवन अरुको जीवन भन्दा निकै सार्थक र उपलब्धिमूलक भएको पाएँ । प्रत्यक्ष र परोक्ष रुपमा हेर्ने हो भने शिक्षण जीवनको जस्तो आनन्द अरू अरुको जीवनमा कहिल्यै पनि पाउन सकिँदो रहेनछ । मैले जुन ढंगले मेरो शिक्षण जीवनलाई रचनात्मक र उल्लासपूर्ण बनाउन सकेँ, त्यसलाई नै म मेरो जीवनले दिएको शिक्षा हो भन्ने ठान्दछु । शिक्षण जागिर मात्र होइन, शिक्षण सेवा पनि हो । यही सेवालाई हामीले हाम्रो जीवनमा उतार्न सक्नु नै जीवनको ठूलो शिक्षा रहेछ भन्ने कुरा मैले लामो समयको जीवन भोगाइकाबाट सिकेको यथार्थ हो । यसले मेरो जीवनमा धेरै कमाउनुपर्छ भन्ने कुरा सिकाएन परन्तु कमाउनुपर्छ भन्ने कुरा सिकायो । त्यो कमाई भनेकै सामाजिक प्रतिष्ठा र साथीभाइहरूको माया हो भन्ने कुरा मैले प्रष्ट आफू सेवा निवृत्त भएपछिका दिनहरुमा आरम गरिरहँदा फिल गर्ने गरेको छु ।


जीवनका धेरै शिष्यहरुलाई आफूले गुरु मान्ने कुरालाई पौडेल निर्धक्क स्वीकार्छन् । आफूले पढाएका चेलाचेलीहरु आज समाजको प्रतिष्ठासँग प्रत्यक्ष जोडिएर आइरहनु भएको छ । उहाँहरुलाई म सेवा निवृत्त जिन्दगीबाट पनि अझै केही गर्नुपर्छ भन्ने कुरामा खडाहुन सक्ने उनको दावी छ । आफूलाई आफ्ना चेलाचेलीहरुले गरेको जीवन संघर्ष र उहाँहरुको उर्जाको प्रतिच्छायाँ आफूमा अनुकरण हुन सक्ने उनको बुझाइ छ ।


पैडेलले आफूले पढाएका धेरै विद्यार्थीहरु मध्ये केहीको नामै लिएर सम्झन खोज्छन् । जीवनका वसन्तहरुको धेरै पाना पल्टिएको हुनसक्छ । यस बेला उनी केही घेरिएका थिए । करिब २ मिनेटको सोचाइसँग उनले आफ्ना गुरुरुपि चेलाहरुको नाम लिए ।


‘मैले मेरा जीवनका विविध रङ्गीविरङ्गी कालखण्डमा धेरै विद्यार्थीहरुलाई नाउमा राखेर नदी पार गराएँ । कतिपय विद्यार्थीहरुलाई मैले बिर्सिएँ पनि होला । (पुकलित हाँसो हाँस्दै) अब त बुढो भएँ नि ! टंकप्रसाद दाहाल, ढालबहादुर खड्का, झम्क बस्नेत, डोरबहादुर खड्का, हेमन्त बुढाथोकी लगायतका धेरै पात्रहरु हुनुहुन्छ, जसले मलाई गुरु मात्र मान्नु भएन, उहाँहरुले मलाई पनि चेला बन्ने अवसर दिनुभो । उहाँहरुलाई आज भेट्दा पनि म उस्तै ऊर्जा पाउँछु, जुन बेला उहाँहरुको जीवनको लागि ऊर्जा, उर्जावान् बन्दै थियो । उहाँहरु आज समाजका लागि ऊर्जा प्रदान गरिरहनु भएको छ ।’


पौडेलको जीवन आज ६० दशक भन्दा अघि उकालो लाग्दै छ, अपरान्हको सूर्यजस्तै । तर उनको जीवनले अर्कैै आभा दिइरहेको छ । जस्तै अपरान्ह सूर्यले शिशिरमा निकै न्यानो प्रदानगर्ने गर्दछ । हाल पौडेलको जीवन भनेको समाजप्रतिको न्यानोपना हो । जीवनको छैटौं आधार शिविरबाट आफ्नो विगतलाई अक्षरमा तौलिरहेका छन् उनी । आफ्ना विगतका बैजनी जीवनवृत्तलाई नियाल्दै कलमका निभहरु घोटिरहेका छन्, कागजका निर्दोश पानाहरुमा । यस्तै बताएका थिए उनले मन्थलीमा रहेको महाकवि देवकोटाको शालिकलाई साक्षी राखेर ।


भावि दिनहरुमा आफ्नो समाज प्रतिको जिम्मेवारीको ठ्याक्कै कस्तो खाका हो ? भन्ने विषयमा आपूm अन्योल रहेको उनी गुनासो गर्छन् । समाजले आफूलाई चिनेन या आफ्नो बुझाइमा समाजको वास्तविकता धमिलो परेको हो ? भन्ने बारेमा उनी अझै प्रष्ट हुन नसकेको बताउँछन् । पौडेल चम्किएका हीरा हुन् तर उनको चम्काइको ज्योतिलाई खिम्तीको समाजले बुझ्ने कसर बाँकी राखेको छ भन्न सजिलै सकिन्छ ।