के हो यौन शिक्षा ? किन लिने ?


निश्चय नै नेपालीहरूमा यौन शिक्षा लिने उपयुक्त माध्यम छैन । यौन सबैको अनिवार्य आवश्यकता हो तर यो कति आवश्यक हो भनेर हामी कहिल्यै सार्वजनिक चर्चा गर्दैनौं ।


मानव यौनिकतासँग जैविक, भावनात्मक, शारीरिक एवं आध्यात्मिक पक्षहरू हुन्छन् । जैविक पक्ष भन्नाले प्रजनन स्वास्थ्यसँग सम्बन्धित हुन्छ । भावनात्मक वा शारीरिक भन्नाले दुई व्यक्तिबीचको सामीप्यता र उसले प्रस्तुत गर्ने भावना, माया, विश्वास र हेरचाह पर्छन् । आध्यात्मिक पक्षमा दुई व्यक्तिबीच कुनै–कुनै कतै न कतै सम्बन्ध छ भन्ने बुझिन्छ ।


परम्पराअनुसार किशोर–किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन र यो विषयमा खुलेर कुरा गर्न नहुने मान्यता राखिन्छ । एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिँदैन । यौनका विषयमा धेरैजसो साथी, सञ्चार वा बाहिरी माध्यमबाट मात्र थाहा हुन्छ जसका कारण ती जानकारी अपर्याप्त हुने र त्यसले फरक मान्यता सिक्ने हुन्छ । यस्तो जानकारी किशोर–किशोरीको पहिलो चरणमा अपर्याप्त हुँदा यौनसँग सम्बन्धित विभिन्न विकृति आउन सक्छन् ।

किशोरावस्थामै यौनसँग सम्बन्धित बढी मात्रामा जिज्ञासा हुन्छन्, तर हामी जानी–नजानी त्यही बेलामा यौनका रहस्यमय विषयहरूमा किशोरावस्थामा रहेकाहरूलाई कम जानकारी दिइरहेका हुन्छौं । यसले गर्दा उनीहरूको खुल्दुली अझ व्यापक हुन्छ ।


पश्चिमा देशहरू तुलनात्मक रूपमा खुला भनिए पनि यौनका विषयमा आवश्यक र प्रभावकारी रूपमा जानकारी नदिइएका कारणले सानो उमेरमै गर्भवती हुने गरेको तथ्यहरूले देखाएका छन् । यौनजन्य रोग पनि ९० को दशकयता बढेको पाइएको छ ।

यसको कारण पनि यौनसँग सम्बन्धित प्रभावकारी र आवश्यक मात्रामा जानकारीहरूको अभाव नै हो । यिनै समस्याहरूलाई कम गर्न धेरै देशमा यौन शिक्षामा जोड दिइएको पाइन्छ यद्यपि अभिभावक एवं कतिपय धार्मिक समूहहरूले यौन शिक्षाको विरोध गरेको पनि पाइन्छ ।


यौन शिक्षाले पुरुष र महिलाको विशेषताका बारेमा अध्ययन गर्दै व्यक्तिको यौनिकताका बारेमा पनि वर्णन गर्छ । यौनिकता हरेक मानवका लागि महत्वपूर्ण हुन्छ, बालबालिका पनि यसमा समाहित हुन्छन् र उनीहरूलाई पनि आफ्नो पहिचान के हो भन्ने जान्ने उत्सुकता हुन्छ । यौन शिक्षाले सुरक्षा, प्रस्तुति, सुधार अनि विकासका बारेमा आफ्नो मूल्य–मान्यताले स्वीकार गरेको व्यवहारअनुसार वर्णन गर्छ ।


यौन शिक्षामा विभिन्न शारीरिक, मनोवैज्ञानिक एवं सामाजिक पक्षहरूलाई प्रतिक्रिया कसरी जनाउने र त्यसअनुसार प्रजनन हुने कुरा पनि पर्छ । यौन शिक्षा समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौनसम्बन्धी हरेक शिक्षा भन्ने बझिन्छ । यौन शिक्षा विद्यालय जाने बालबालिकालाई दिन सकिन्छ, जसले समाज एवं परिवारमा आउन सक्ने हरेक खतरालाई कम गर्छ ।

यौन शिक्षामा यौनिकताको शिक्षा पनि पर्छ । जस्तै, परिवार नियोजन, प्रजनन् स्वास्थ्य । –बच्चा गर्भमा आउने, राख्ने अनि पाउने– अनि आफ्नो शरीरको चित्र, यौनसँग सम्बन्धित धारणा, यौन आनन्द, मूल्य–मान्यता निर्णय लिने, संचार, सम्बन्ध, यौन रोगसँग कसरी बच्ने आदि ।


सात–आठ वर्षको उमेरदेखि नै यौन शिक्षा विद्यालय, अभिभावकबाट सुरु गर्न सकिन्छ । कतिपय देशमा यो विषयलाई विद्यालयकै पाठ्यक्रममा राखिएको छ । हेल्थ, विज्ञानजस्ता विषयमा प्रजनन् स्वास्थ्य, यौनरोग, शरीरका विषयहरूमा पढाइन्छ । हाम्रो देशमा पनि यी विषयहरू विद्यालयका केटाकेटीलाई कुनै न कुनै रूपले पढाइएको पाइन्छ ।

यी विषयहरूको सुरुवात भए पनि अझै खुलेर कुरा गर्ने, यौनिकताको चर्चा नगर्ने, अभिभावकले खुलेर भन्नेजस्ता कुराचाहिँ कमै छ । हाम्रो समाजमा यौन व्यवहारजस्तै हस्थमैथुन, विवाहअगाडिको यौन सम्बन्ध, स्वप्नदोष आदि विषयमा अझ खुलेर चर्चा भएको छैन ।


आमा–बुबालाई के भ्रम हुन्छ भने मेरा छोरा–छोरीले यौनसम्पर्क गरेका छैनन्, हस्तमैथुन पनि गर्दैनन् । अरूका सन्तानभन्दा सोझा छन् आदि । यथार्थ त्यसो होइन । समाजले यौनलाई एक किसिमको खुलेर कुरा गर्न हुँदैन भनेर मानेका कारण उनीहरू नखुलेका मात्र हुन् । यौन शिक्षाले यौन दुव्र्यवहार, यौनजन्य हिंसाजस्ता आपराधिक क्रियाकलापलाई पनि कम गर्छ ।