सजना वाईवा सन्ध्याका ३ गजल

गजल १

जुन दिन बुवाको गोजि रितियो बचत सकियो
त्यही दिन देखि छिमेकीको पनि मदत सकियो

लहैलहैमा खेलियो हिजो रहरमा खेलियो
त्यही रहरले जुवामा आज बिरासत सकियो

आगोले आगो निभाउन सक्दैन बुझ्न जरुरी छ
मौन छु, नसोच्नु कि बोल्ने मेरो हिम्मत सकियो

तिमीले अर्कैको सिउँदो भरेको देखे पछि
यस्तो लाग्यो अब आँखाको पनि जरुरत सकियो

जसले छोएको समेत खान नहुने सोच राखियो
उसैले बचायो जब दुर्घटनामा रगत सकियो ।

गजल २

पटकपटक आयौ तिमी जिन्दगीमा सुनामी भएर
अब आउनु प्रिय अन्तिम पटक मलामी भएर

तिमी तिमी नै रहिरह्यौ सधै म ‘म’ नै रहिरहे
बाँच्न सकेनौ कसै गरि पनि हामी भएर

देशले मुहार फेर्न खै किन सकिएन अझै
जनता होकि हो खै सरकार हरामी भएर

सोच गरिब नबनाउनु झुप्रोमै जन्मे के भो
छोरी डाक्टर पढायो उस्ले आफू ज्यामी भएर

गजल ३

मैले दुश्मनलाई पनि प्यार गरेर मुटुमा राखेको छु
हो आफ्नै जस्तो व्यवहार गरेर मुटुमा राखेको छु

म त्यही कारण देवताहरु खोज्दै मन्दिर धाउँदिन
बृद्ध बा आमाको सत्कार गरेर मुटुमा राखेको छु

अक्सर चोटहरु आफ्नाले नै त दिने गर्छन् यहाँ
एकपछी अर्को लगातार गरेर मुटुमा राखेको छु

यो माटो रोए रुन्छ मन हाँसे हाँसी दिन्छ मन
देशको सुखदुःख साभार गरेर मुटुमा राखेको छु