जिर्ण शालकिसँगै हराएको विपिको समाजवाद, समाजवादका धरोहरको शालकिकै कन्तविजोग (भिडियाे सहित्)

भदौ २४ । जनता भ्वाइस संवाद्दाता, रामेछाप ।


आज जन नायक विश्वेश्वरप्रसाद कोइरालाको १ सय ७ औं जन्म जयन्ती ।

यसवर्षको भदौ २४ गते पनि रामेछाप काँग्रेसले विश्वेश्वरलाई मनैदेखि सम्झिएको छ । सदरमुकाम मन्थलीमा रहेको कोइरालाको शालिकलाई खादाको माला लगाएर मनैदेखि रामेछाप काँग्रेसले उनलाई सम्झिएको हो ।


१ सय ७ औं वर्ष अघि आजैका दिन कोइरालाले यो माटोमा आफ्नो पाइला टेके । विचारको विज रोपे, फुलाए र फलाए । फल गतिलोसँग पाक्न नपाउँदै उनी यो संसारबाट अलविदा भए ।


उनले भन्ने गर्थे, ‘प्रजातन्त्र त बडो सन्तुलित, विरोधीहरूको पनि कुरा सुन्ने, सहनशील, तर सुन्ने मात्र होइन, विरोधीहरूले भनेको ठीक छ भने हो पनि भन्ने किसिमको पद्धति हो ।’


यो भनाई उनको आदर्श थियो । उनी यस संसारबाट विदा भएपछि उनीसँगै यो भनाईले पनि नेपाली माटो बिर्सियो ।
वर्षमा एक दिन विश्वेश्वरलाई नेपाली काँग्रेसले घनिभूत भएर सम्झिन्छ । तुरुक्कै आँशु समेत झार्छ । शालिकमा माला लाउँछ, भजन गाउँछ र भोलिपल्ट विपिको छाया छवि समेत कसैको मानस्पटलमा आउँदैन ।


रामेछापमा एउटा संस्था छ, विपि फउण्डेशन । यस फाउण्डेशनको नाकैको टुप्पोमा विपिको शालिक मजाकको पात्र भएर उभिएको छ । मन्थलीको तामाकोसी अस्पतालको छेवैको सडकमा उभिएको यो शालिक वर्षौंदेखि उभिएको उभियै छ । यो शालिकलाई छेकटो मारेर चिल्ला गाडीमा विपिकै समाजवादी नर्सरीबाट बुट्यान बनेकाहरु हुँइकिए । कसैले यो शालिकको दुर्दशा देख्दै देखेनन् ।


बिचरा, देखुन् पनि कसरी । विपिको समाजवाद भित्र जकडिएको पुँजीवादी सोचले कहाँ समाजवादको सुसेली सुन्न सकिएला र ? समाजवादको व्यापारबाट आएको नाफामा महलवादको सपना देख्नेहरुलाई हिजो राजा महेन्द्रसँग मुसो बिरालोको खेल खेल्दै जन्मिएको विपिको समाजवाद् यही कालो अरिमुष्ठे सालिकभित्रै छ । यो शालिकमा भएको समाजवाद न यो समाजमा आयो, न समाजवादीहरुको सोचको परिधिमा । आउन त आयो तर त्यो आएको अन्तर्य न कसैले बुझ्न सक्यो न बुझ्न नै चाह्यो ।


तीसको दशकको अन्त्यमा जब बिपी यो संसारबाट बिलाए तब विपिको सोचमा रहेको समाजवाद् उनको पार्थिव शरीरबाट निस्किएको धुवाँको मुस्लो सँगै हावामा उडेर अनन्तमा कतै बिलायो । उनका समकक्षी र अनुयायीहरुले यसलाई कहिल्यै बुझ्दै बुझेनन् । अझ भन्दा जतिले बुझे, त्यसलाई व्यवहारमा उतार्नै चाहेनन् । आज सम्म जसरी मदन भण्डारीले जन्माएको जनताको बहुदलीय जनवाद् अस्पष्टताको गुम्राहमा फसाइएको छ, त्यसरी नै विपिको समाजवादलाई बुभ्mनै चाहिएन ।
विगतका वर्ष जस्तै आज यो शालिकले रातो माला लगाउन पाएको छ ।

कालो शालिकमा रातो माला ओडाउँदा विपिले जन्माएको समाजवादको सर्को कसरी सुर्कियो भन्ने बारे विपिको समाजवाद्का प्रचारकहरुले रामेछापको हकमा बुझेकै रहेनछन् । हरेक चुनावमा आफ्नो पक्षमा मत तान्नका लागि ब्रिफकेशको भारी बोक्ने रामेछापका समाजवादीहरु विपिको यो शालिकको दुर्दशामा किन मौन छ ? यो सवालको जवाफ विपि फाउण्डेशनका अध्यक्ष रामकृष्ण खड्का सँगै छैन । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका जिम्मेवार पदाधिकारी एकले अर्कोलाई औंला सोझ्याउनमा नै व्यस्त छन् ।


विपिलाई नेपाली काँग्रेसले आफ्नो आदर्श र विचारको टेण्डरमा अत्यन्तै विलो दरमा ठेक्का पारेको छ । विपिलाई नेपाली काँग्रेसको मात्रै कूलका देवता मानिनु नै यो शालिकको आजको दुर्दशा हो । यो भ्रम बाट बाहिर आउनु पर्नेहरु नै बाहिर आउन नसक्नुको परिणाम हो भन्नेकुरा यही शालिकको हास्यास्पद उभ्याइले देखाएको छ ।


इतिहासको पाना पल्टाएर थोरै विगतलाई पनि नियालौं है त । त्यो बेला, जुन बेला नेपालमा राजाको शासनले मृत्युदण्डसम्म दिनसक्ने सम्भावना हुँदाहुँदै आठ वर्ष लामो प्रवास बसाइपछि बिपी कोइराला २०३३ पुस १६ मा भारतको पटना हुँदै नेपालको त्रिभुवन विमानस्थलमा अवतरण भएका थिए । उनको यो अनपेक्षित र अकस्मात् नेपाल फिर्तीले नेपाली कांग्रेसका समर्थकलगायत अन्य सबैलाई आश्चर्यमा पा¥यो । उनको त्यो स्वदेश पुनरागमनका बेला भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर विरोधीहरूलाई गिरफ्तारी गर्दै थिइन् । गान्धीको त्यस्तो कदमको विरोध गर्नेमध्येमा भारतका एक समाजवादी नेता जयप्रकाश नारायण पनि पर्दथे । बिपीबारे जानकारहरू अझै पनि भन्छन् जयप्रकाश र बिपी कोइरालाको सम्बन्ध यति घनिष्ठ थियो कि उनीहरू आफूलाई रुचि लागेका सबै कुरा निसंकोच सेयर गर्दथे ।

हो, बिपीलाई एक हदसम्म उनै जयप्रकाशले नै शरण दिएका थिए । जयप्रकाश गान्धीको तारो हुँदा उनीसँग निकट राजनीतिक सम्बन्ध भएका कोइरालालाई पनि असर पर्नु स्वाभाविक थियो । र, जयप्रकाश नारायणलाई पनि अप्ठ्यारो उत्तिकै थियो । संकटकालीन विशेषाधिकार प्राप्त गान्धी सरकारले यो बेला जे पनि गर्न सक्ने अवस्था थियो । यसले जयप्रकाशलाई पनि दबाब परेको हुन सक्छ । अन्त्यमा उनकै सल्लाहमा कोइरालाले पञ्चायती राजासँग जस्तोसुकै खतरा मोलेर भए पनि नेपालमै आउने निधो गरे ।


कोइराला नेपाल आउँदा ‘इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार र त्यहाँको अन्योलपूर्ण वातावरणबाट मुक्त भएकाले हलुंगो’ भएको आत्मानुभूति गरेका कुरा बिपी आफैँले उनको सुन्दरीजल जेल बस्दाको ‘जेल डायरी’मा सकारेका छन् । त्यसो भएको हुँदा भारतमा गान्धीले संकटकाल लगाउनु र कोइराला नेपाल आउनुमा कुनै संयोग नै हो भनिहाल्ने अवस्था देखिन्न । यद्यपि, बिपीको यो नेपाल आगमनलाई ‘राष्ट्रिय मेलमिलाप’को सैद्धान्तीकरणको जलप लगाइयो । तर, जेहोस्, बिपीको यस्तो कदमको सन्देश सर्वसाधारण नेपालीमा सकारात्मक रूपमा नै सञ्चार भयो । यसले बिपीलाई सच्चा नेपाली राष्ट्रवादीका रूपमा चिनायो । राष्ट्र र राष्ट्रियताका लागि जीवनसँग खतरा पनि मोल्न सक्ने नेताका रूपमा उनी कहलिए ।

यसले उनको राजनीतिक उचाइसँगै विदेशी जोखिमभन्दा स्वदेशी जोखिमको सिकार हुनु नै गौरव र प्रतिष्ठाको विषय हो भन्ने सन्देश दियो । उनले जुन तरिकाले राजासँग घाँटी जोडिएको छ भने त्यसले पनि राष्ट्रियताको परिभाषामा अर्को आयाम थप्यो । त्यो भनेको राष्ट्रियताजस्तो कुरा प्रजातान्त्रिक शक्तिहरूसँग मात्र नभई राजसँग पनि छ भन्नु हो । नेपालको सार्वभौमिकता रक्षा गर्नु सबैको कर्तव्य हो । जो जहाँ जसरी रहे पनि नेपाली राष्ट्रियताको बिन्दुमा सबै मिल्नुपर्छ भन्ने अर्थ उनको स्वदेश फिर्ताले आजसम्म दिएको छ ।


इतिहासको यो विषयलाई नियाल्ने हो भने विपि नेपाली काँग्रेसका मात्रै थिएनन् । उनी समग्र नेपाली नगारिकहरुका विपि थिए र विपिको त्यो समाजवादले पनि नेपाली काँग्रेसका ओठे भजनका रुपमा गाउन मात्र त्यो वाद जन्माइएको थिएन ।


भौतिक रुपबाट जिर्ण भएको मन्थलीको विपिको यो शालिकको मर्मत तथा संभारका लागि पहल भइरहेको छ रे । यो जवाफ दिन्छ नेपाली काँग्रेस रामेछाप ।


शालिक मर्मत तथा व्यवस्थापनका लागि पहल भइरहेको कुरा भनेको पनि वर्षौं करिब हुन लागिसक्यो । तर त्यो पहलको पहल कदमी अझै सकिएको छैन ।


यसबाट के कुरा आम रामेछापेलीले बुझ्न सक्छन् भने रामेछाप काँग्रेसलाई विपिको समाजवादले दूध दिउन्जेलसम्म दूध दिने गाईको स्याहार सुसारमा समय दिनुपर्छ भन्ने लागेकै छैन । यो कुरा रामेछाप काँग्रेसले नबुझेको भए कसैले बुझाउँदा बुझ्न सक्थ्यो तर यहाँ विल्कुल बुझ् पचाइएको छ ।