-पेशल आचार्यका ३ कविता
१. कुपुरुष
प्रिय कुन्ती !
महाभारतमा तिमी ठगियौ
दाग त सूर्यमा हुनु पर्ने
जसले कुन्तीलाई
कुरूप बनायो,
प्रिय सीता !
रामायणले
तिमीलाई शोषण ग¥यो
रामरावण युद्ध
तिम्रै निहूँमा भयो,
प्रिय तिलोत्तमा !
तिम्रा लागि
शिश्न मुण्ड समाएर
देवता भनिएका राक्षसहरू नै
सम्भोगातिरेक
पछिपछि दौडिए
तिम्रा सुडौल शरीर गन्धमा लठ्ठीएर,
हराम छ पुरुष
चुतिया छ समाज
जो स्त्री देहसुखका खातिर
सबैसबै लक्ष्मण रेखाहरू
नाघ्न आतुर छ ।
२. रक्सी र सेक्स
डबल स्टन्डर्ड छ
यो रक्सी र सेक्सको मामिलामा
मेरो समाज,
मान्छे
प्राकृतिक हुन्छ
रक्सीमा
पौरी खेल्दा
बाँकटे हान्दा
या डाइफमा हुत्तिँदा
सेक्स पनि उस्तै हो
साराका सारा मान्छेहरू
कम्बल ओढेर घिउ खान्छन्,
पोल खोल्दिन मन लाग्छ
रक्स्याहाहरूको
व्यभिचारीहरूको
नकाब झिकिदिएपछि
चराको प्वाँख उलेखेझैँ हुन्छ,
मेरो समाजमा
रक्सी र सेक्सको मामलामा
डबल स्ट्यान्डर्ड
मान्यता छ,
म यो मान्यता भत्काइदिन चाहन्छु ।
३. अर्थ
सल नओडेको
तिम्रो शीर्ष भाग
अन्नपूर्णझैँ उदाङ्ग रै’छ
र पनि सुन्दर देखेँ
हिउँ नभएझैँ हिमालमा
तिम्रो मुहारमा
कुनै कृत्रिम चमक थिएन
नाक, कान सबै बुच्चै थिए
हिमनदी सुकेर
डोब मात्र भएको हिमाली राहजस्तो
खूब नियालेर हेरो
तिमीमा कुनै तिलस्मी चाह थिएन,
छेकबार विनाका उन्नत्त उरोजहरू
चुली थुम्कीझैँ
या भर्खर उड्न आँटेका
परेवाका बच्चाझैँ
जीवनका कारकहरूबाट
विभक्ति खोजीमा उड्न खोज्दै थिए,
आफूलाई मन पर्नेहरू
सबैलाई यस्तै हुन्छ कि ? कसो !
जवाफमा
तिमी हाँस्यौ
हिमाल हाँस्यो
समाज सदियौंदेखि
धुम्धुम्ती रिसाएको रिसायै छ ।