‘हिसी’ हराएको राजनीति

मानिसको मुहारमा सबैभन्दा अनिवार्य तत्व भनेकै हिसी हो । जतिसुकै सुखी र खुसी मानिस भए पनि उसको अनुहारमा हिसी छैन भने त्यस्तो अनुहारको कामै छैन । अनुहारको चमक हिसीले नै ल्याउने गर्छ । मुहारमा हिसीको अनिवार्यता भएझैँ अहिले यो राजनीतिमा खोज्न थालिएको छ । खासगरी दक्षिण एसियाको राजनीतिमा ।


राजनीति सबै नीतिहरूको राजा हो । सबै नीतिहरूलाई डोहो¥योउने तत्व भनेकै राजनीति हो । अहिले दक्षिण एसियाका केही अपवादका देशहरूलाई छाडेर अन्य सबै देशहरूमा राजनीति बिग्रेको छ ।


राजनीति बिग्रेकाले देशका अन्य सबै क्षेत्रहरू बिग्रेका छन् । कहीँ प्रजातन्त्रका नाममा, कहीँ गणतन्त्रका नाममा र कहीँ चाहिँ उग्रराष्ट्रवादका नाममा राजनीतिले लिनु पर्ने बाटो अवलम्बन नगरेर अर्कोअर्कोबाट लिएको पाइन्छ । जसका कारण जनतामा यतिखेर घोर निराशाका बादलहरू छाएका देखिन्छन् ।


राजनीतिको हिसीले धेरै गहिरो अर्थ राख्छ । जनताले राज्य सत्तासँग आफूले तिरेको करको बद्लामा गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र विकास मागेका हुन्छन् । फेरिँदो राजनीतिक परिदृश्यका सामु यतिखेर राजनीतिज्ञहरू कुनै वाद, दर्शन, विचार र कार्यक्रम बोकेका राजनीतिक पार्टीका सञ्चालकहरू र तिनीहरूका कार्यकर्ता तथा समर्थकहरू नै हुन् ।


सामान्य अवस्थामा भन्दा दुसाध्य रोगहरू फैलिएको अवस्था र महामारीले गाउँ, समाज, देश र विश्व नै पिरोलेको बेलामा राज्य र तिनका सञ्चालकहरू पनि इमान्दार, भिजनेबल र जनताका तमाम समस्याहरूलाई सम्बोधन गर्न सक्ने हुनु पर्दोरहेछ । यो अवस्थाले मात्र तिनीहरूलाई राज्यका व्यवस्थापकको भूमिकामा देख्न सक्छ । अबको जमानामा जनताले नेतालाई शासकको भूमिकामा मात्र होइन व्यवस्थापक अझ भनौं प्रबन्धकको भूमिकामा देख्न खोजेका छन् ।


जनताको अपेक्षा र राजनीतिज्ञहरूको कार्यशैलीमा कहिलेकाहीँ मेल खाँदैन । हो, त्यो बेलाचाहिँ जनता आफूले दिल र दिमागले माया गरेका राजनीतिज्ञदेखि दिक्क हुन्छन् । बहुश जनता गरिखाने वर्गका भएको ठाउँमा अमूर्त दर्शनको रटान गरेर दिनरात पत्रपत्रिकामा शीर्षकमा मात्रै छाउने र जनताका भावनालाई व्यवहारमा मूर्त रुप नदिने नेताहरू अबको दुनियाँमा काम पनि छैन ।


खेती किसानीका बेलामा मलको जोहो नगर्ने कृषि मन्त्री, महामारीमा उचित तबरले शिक्षाको मेन स्ट्रिममा रहेर वागडोर सञ्चालन गर्न नसक्ने शिक्षा मन्त्री, महमारीमा जनतालाई रातदिन लकडाउनको पासोभित्र राखेर पद, पावर र पैसा हुनेहरूलाई चाहिँ रातदिन हिँड्न दिने गृह मन्त्री र गरिब जनताहरू भोकभोकै मर्दा पनि एक रुपियाँ नगद राहत दिन नसक्ने तर आफन्त सुमर्नका लागि चकलेटमा कर छुट दिने, पुस्तकमा र विद्युतीय गाडीमा भने अचाक्ली कर बढाउने अर्थ मन्त्री पक्कै पनि हिसी नपरेकै हुन् ।


भनेका बेला मल ल्याउन नसक्ने ठेकेदारहरूको कम्पनी खारेज गरी तिनीहरूको धरौटी रकम जफ्त गर्छु भन्दै हिँड्ने कृषि मन्त्री घनश्याम भुसाललाई अहिले आफ्नै पार्टी भित्रका टाउके नेताहरूले ठेकेदारहरूको पक्ष लिएर ‘उल्टा चोर कोतवालको डाँटे’ शैलीमा धम्क्याउन थालेका छन् भन्ने गाइँगुइँ सुन्नमा आएको छ ।


अब जनताले हेर्नु छ कि मन्त्री हार्ने हुन् या ठेकेदारहरूका अदृश्य टाउकेहरू ? पक्कै पनि टाउकेहरूले जित्नेछन् अनि मन्त्रीलाई दुईचार फत्तुरहरू लगाएर पदबाट बर्खास्त गरिने छ ।
राजनीतिको नेक्सस कतिसम्म गहिरो हुन्छ भने सफल देखिएका केही क्याबिनेट मन्त्रीहरूलाई अघिल्लो मन्त्रिपरिषद्को पुनर्गठनमा हठात निकालिएको देखेर जनाद्र्धन नै अवाक परेका थिए । लालबाबु पण्डित र गोकर्ण विष्ट जस्ता जनताको मनमा बसेका र जनउपयोगी काम गरेका मन्त्रीहरूलाई एक्कासी बहिर्गमन गराएको देख्दा र केही उपलब्धी नदेखाएका अथवा कार्य सम्पादन मूल्याङ्कनमा राम्रो अंक प्राप्त गर्न नसकेका खानेपानी मन्त्री विना मगर, चौतर्फी विरोधका बाबजुद पनि सत्तामा लिसोझैँ टाँसिरहने रक्षामन्त्री ईश्वर पोखरेल, वनमन्त्री शक्ति बस्नेत र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलहरूले ‘नन इथिक्स पाोलिटिक्स’ लाई बढावा दिइरहेका छन् । यसले जनताको मनमा पक्कै पनि बेखुसी भरेको छ ।


अविजित शक्तिका रुपमा पुजिने जनताका मन मन्दिरमा बस्नका लागि त नेताहरूले गर्ने जुनसुकै कामहरू पनि जनताप्रति उत्तरदायी हुने खालका हुनु पर्छ । अनि आफूबाट सम्पादन भएका र गल्ती कमि कमजोरीमा तुरुन्तै माफी मागेर राजीनामा दिनु पर्छ ।
त्यो संस्कार भने नेपालका बहुदलीय सरकारको ३० औं वर्षको यात्रामा पनि आउन सकेन । यो कार्यशैलीले जनतामा कहिलेकाहीँ नेतामात्र होइन व्यवस्थाप्रति नै असन्तुष्टि जगाउने काम गरेको छ ।
जनता सूक्ष्म तवरले सबै प्रकारका मूल्याङ्कन गरिरहेका हुन्छन् । शासन, प्रशासन, शिक्षा, स्वास्थ्य, सञ्चार, न्याय, बन्दबेपार, साहित्य, कला, खेलकुद, सिनेमा र सामान्य जनजीवनलाई पनि चाहे बढेलेखेका जनता हुन् या अशिक्षित जनता उनीहरूको न्यायको तुलोले हर पल, हर क्षण र हल घडी मूल्याङ्कन गरिरहेका हुन्छन् ।


त्यसैले त राजनीतिमा प्रायःजसो भनिन्छ –‘जुन नेताले जन उत्तरदायित्वको राजनीतिलाई अघि बढाइरहेका हुन्छन् ती राजनीतिज्ञलाई आफ्नो पक्षका जनताले मात्र नभएर अर्को प्रतिपक्षका जनताले पनि अधिक सन्तुष्टिका साथ मूल्याङ्कन गरिरहेका हुन्छन् ।’


यसरी हेर्दा अहिलेको स्थितिमा भारतका मोदी, नेपालका ओली, पाकिस्तानका इमरान खान, श्रीलंकाका विक्रम सिङ्घे र भुटानका शासकहरूको तुलना गर्ने हो भने पाकिस्तानका इमरान खान यो जोनमा केही आसा छर्ने शासकका रुपमा देखिन्छन् । भारतमा पनि मोदीको दोस्रो कार्यकालमा धेरै विरोधहरू भैरहेको छ । कोभिड –१९ को महामारीले मोदी र नेपालका ओलीलाई पनि सामान्य शासन व्यवस्थामा फर्किनका लागि हम्मे हम्मे परिरहेको अवस्था छ ।


देशीय अवस्थालाई हेर्दा सरदर सामान्य अवस्थाको शासनभन्दा फरक अवस्थाको शासन सञ्चालन गरिरहेका यी दुई छिमेकी देशका सत्ताका नायकहरूले अब पनि हिसी देखाएर राजनीति गरेनन् भने तिनीहरू त पूरा कार्यकाल उनीहरूको शासनमा बस्लान् तर उनीहरू पछि आउने उत्तराधिकारीहरूलाई भने आगामी दिनहरू फलामका च्युरा चबाएझैँ हुने छ ।


हिसी ल्याउने काम जनताको होइन – राजनीतिज्ञको नै हो । जनता त अजेय दुवो हुन् जो कहिल्यै मर्दैनन् । जसरी तसरी बाँचिरहनेछन् ।