भदौ २९, काठमाडौं ।
कोरोना महामारीको विषम स्थितिमा बालबालिकाको मनोसामाजिक पक्ष, वैकल्पिक सिकाइको निरन्तरता र उपर्युक्त आहार विहारमा विज्ञले जोड दिएका छन् ।
मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा ‘बाल विकासमा कोरोना महामारीले पारेको असरबारे विषयगत विज्ञ र बालबालिकासँग आज आयोजना गरेको संवादमा अभिभावकले सहयोगी वातावरण दिनुपर्ने र बालबालिकले कोरोनालाई त्रासका रुपमा नलिइ सुरक्षित रही शैक्षिक क्रियाकलापमा सम्पग्न हुनुपर्ने सुझाव उनीहरुले दिए ।
अनलाइन सिकाइका क्रममा धेरै समय मोबाइल र ल्यापटपमा पनि झुम्मि रहन नहुने विज्ञको राय छ । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकारको संरक्षणका लागि आवधिक नीति र कार्यक्रम तर्जुमा गरेको बताउँदै वैकल्पिक सिकाईको प्रभावबारे मूल्याङ्कन गरेर अघि बढ्न सम्बन्धित मन्त्रालय बीच परामर्श भइरहेको जनाए ।
शिक्षाविद् प्रा.डा. वासुदेव काफ्लेले बालबालिकालाई उनीहरुकै सहभागितामा सिकाई निरन्तरता दिनुपर्ने सुझाव दिँदै लामो समयसम्म यस्तो अवस्था नहरने भएकाले विद्यालय खोल्ने समय आउने अपेक्षा व्यक्त गरे ।
जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले तयारी तथा बजारु खाना नखान र सरसफाईमा ध्यान बालबालिकालाई आग्रह गरिन् । मनोविज्ञ डा. गङ्गा पाठकले लामो समय घरमै रहँदा बालबालिकाले एक्लोपन महसुस गर्ने र झर्किने खालको हुन सक्ने भएकाले तिनको भावना बुझेर अभिभावकले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।