संस्कारी बुहारी खोज्ने घरमा छोरालाई संस्कार किन सिकाइएन ?

यस वर्ष पनि विस्तारै मंसिर महिना आउँदैछ, अबको दुई महिना पछि मसिंरले चर्चा पाउँदैछ ।
मसिंर महिना विशेषतः लगनको महिना पनि भन्ने गरिन्छ ।


विवाह गर्न उत्तम ठानिएको महिना पनि । कतिको चाहिँ दिल र दिमाग खाने महिना भन्दा फरक नपर्ला । जे अर्थ लगाए पनि मंसिर, मंसिर नै हो । मंसिर भन्ने बित्तिकै बिवाहेत्तर मौसम, अविवाहितहरुलाई बारबार दोहोरीरहने एउटै प्रश्न : मंसिर लाग्यो त, खै ?
के छ विचार, यो मंसिर चाहिँ नकटोस् है ।
यस्तै–यस्तै अनेक–अनेक ।


हो, यही सर्वाधिक जिज्ञासामा तपाइँ मध्ये धेरै जना पर्नुभएको छैन भन्न म सक्दिन । तावा नताती बिँड तातेर हैरान’ त हाम्रो समाज छ । फलानोको छोरो बिग्रियो बिहे गरिदिए, बुहारीले सुधार्थी । छोरी हुर्किइ, कतै नाक काट्ली ।


बिहे गर्दिए ढुक्क हुनेथ्यो । अब कसैको छोराको बानी–व्यवहार सुधार्नकै लागि कस्को छोरी ठिक्क परेर बसेकी होेला र ? आफ्नो छोराको बानी सुधार्न कै लागि भनेर किन कसैको छोरीलाई प्रयोग गर्ने ? तपाईं हामी बाँचेको समाजको वास्तविकता यही होइन र ?


विषेश गरी छोरीहरु २० वसन्त कटेपछि समाजको टाउको दुख्ने प्रमुख कारण बन्छन् । सबैको चासो र चिन्ताको केन्द्रविन्दु बन्न पुग्छन् छोरीहरु ।

मामाको ससुराली तिर होकी फुपुको बुहारीको माइत तिर, खोज्न सुरु हुन्छ योग्य वर । आमा, दिदी, भाउजूहरु व्यस्त हुन्छन् फोटो देखाउन । फोटोमा भएको मान्छेको गुनगान गाउँन । इन्कार गरे सुरु हुन्छ केरकार गर्न कोही छ भने भन्, होइन भने हामीले भनेको केटासँग बिहे गर्नुपर्छ ।


कस्तो अचम्म, कस्तो दोधार, कति विडम्वना ? विहे भन्ने कुरो पनि आफ्नो रोजाईमा नहुनु, आफ्नो निर्णयमा नहुनु ? करकापमा गरिएको निर्णय कसरी स्वविवेकीय भयो ? यो कस्तो खालको सम्झौता ? र के का लागि ?

जन्मघरको यो लिला पछि कुरा रह्यो कर्मघरको, बुहारी सुशिल हुनुपर्छ, शिल–स्वभावकी हुनुपर्छ, संस्कारी हुनुपर्छ, घर समाज र परिवारको इज्जत राख्ने खालकी हुनुपर्छ । हाम्रो समाजमा अनि बुहारी हुन अनेकौँ चरणहरु पार गरेको हुनुपर्छ । बिहे भएको दिनदेखि नै कस्तो लगाउने, कस्तो खाने, कसरी हिँड्ने सबै कुराको मापदण्ड हुन्छ ।


हँसिलो भएर बस्नु पर्ने, बोल्दा नम्र भएर बोल्नुपर्ने, आफूभन्दा निक्कै साना मान्छेहरुलाई तपाईं भनेर सम्बोधन गर्नुपर्ने, सबैलाई खुवाएर आफूले खानुपर्ने, परिवार सबैको स्वास्थ्यको जानकार हुनपर्ने, सेवा गर्नुपर्ने आदि इत्यादि यो सामान्य नियम हो । अरु धरै छन् जुन बयान गरेर साध्य नै छैन ।
बुहारी संस्कारी खोज्ने समाजले कहिल्यै सोचेन, आफ्नो छोरा पनि संस्कारी हुनुपर्छ भनेर । छोरा जस्तोसुकै होस्, मतलब भएन । यद्यपि बुहारी भने जस्तै चाहिन्छ ।


त्यस्ता धेरै बा–आमा छन् जो छोरालाई सहि बाटोमा ल्याउनकै लागि बिहे गरीदिन्छन् । किनकी, बुहारीले सुधार्छे रे । बिहे पछि बुहारीको जिम्मा लगाइएका ती कैयाँै छोराहरु मध्ये कति चाँही घरको न घाटको भएको पनि थुप्रै उदाहरणहरु छन् ।


जसलाई हिजो संस्कारको नाउँमा केही पनि सिकाइएन र बुहारी पनि तालिम लिएर संस्कार सिकाउन आइनन्, र उ बिग्रीयो समाज यही भन्छ : गतिली बुहारी परिन ।


कहिलेकाँही अचम्म लाग्छ, किन यो समाजले महिलालाई सँधै दोस्रो दर्जामा राखेर सोच्छ होला ? किन सबै भूमिकामा रहँदा रहँदै पनि सहयोगीको रुपमा मात्र हेर्यो होला ?


मलाई मेरै आमा देखेर पनि अचम्म लाग्छ कहिलेकाँही । किनकी थोरै भएपनि पढेलेखेकी मेरी आमालाई किन लाग्दैन होला भाइ र मेरो जिम्मेवारी एउटै हो भनेर ? रातसाँझ मेरो भाइ कतैबाट फर्किँदा वा जाँदा किन त्यत्ति आँत्तिएको पाउँदिन ।


उता कतैबाट घर फर्किदा थोरै रात पर्यो भने किन अत्यास लागेको होला उनलाई ? के मेरी आमा भाइलाई भन्दा बढी माया मलाई गर्छिन् त ? जम्मा ५ वर्षको सानो भाइ लिएर साँझमा निस्कँदा म कसरी सुरक्षित हुन्छु होला त ? कैयौँ यस्ता प्रश्न लिएर दिनहरु गुजारिरहेकी छु म, नाजवाफ रातहरु काटिरहेछु ।

म भित्र कैयौँ ढंग खोज्ने मेरी आमा खै किन मेरो भाइमा त्यो ढंग अर्थात् संस्कार खोज्दिनन् होला ? भोलि विहे गरेर अरुको घरमा जानका लागि भनेर म तालिम प्राप्त भैरहँदा, मसँग जोडिने पुरुष पात्रले के मैले जस्तै गरी संस्कार सिक्दै होला त ? अनि मैले मेरो लागि संस्कारी केटा चाहिन्छ भन्दा के यो समाजले स्वीकार्ला त ? यस्को जवाफ मेरी आमासँग छ होला ? के यस्को जवाफ यो समाजले दिने हैसियत राख्ला या नराख्ला ?