ओझेलमा परेको तिल्केस्थान डाँडो

नेपालमा अहिलेसम्म कतिपय ऐतिहासिक, प्राकृतिक, कृतिम क्षेत्रहरू ओझेलमा परेका या धेरैलाई थाहा नभएका पनि छन् । यसलाई खोजी गर्नेे काम धेरै बाँकी रहेका देखिन्छन् । त्यस्ता हजारौं, लाखौं मध्येका रामेछाप, भलुवाजोरको यो “तिल्केस्थान डाँडो (थुम्को)” पनि ऐतिहासिक दृष्टिबाट ओभेलमा रहेको एक हो ।

ऐतिहासिक तिल्केस्थान गढी


यो तिल्केस्थान डाँडो साविक भलुवाजोर गा.वि.स. वडा नं.३ को शीर, छितकुण्ड (सीता कुण्ड) र सिमपानीको पनि शीरको रूपमा रहेको टाकुरो हो । हाल यो स्थान मन्थली न.पा. वडा नं.६ र रामेछाप न.पा. वडा नं.८ को सीमानामा पर्न गएको छ । यो डाँडोको उत्तरी अक्षांश २७ डिग्री २१” पूर्वी देशान्तर ८६ डिग्रीमा रहेको छ । यसको उचाई उचाइ समुद्री सतहबाट १,६४८ मिटर रहेको छ । साथै रामेछाप जिल्ला सदरमुकामबाट ४,१०० मिटरको दक्षिणी क्षेत्रमा पर्दछ ।


यो अति प्रचालिन स्थान सदरमुकामको नजिक रहेर पनि ओझेलमा पर्न गएको छ । यो एकातिर प्रकृति प्रदत्त प्राकृतिक र अर्को तर्फ देश रक्षाको लागि तयार गरिएको बनाइएको स्थान हो । दुवै प्रकारबाट यो स्थान विकासको बाटो पर्खिरहेको धेरै वर्ष भयो । लामो इतिहास बोकेर बस्दा ठूलो वनस्पति बहुरंगका गुराँस र विभिन्न प्रकारका ऐसेलु, काफल, कटुस आदिले ढाकिएको थुम्को हो । यसको वरिपरि बस्ती नभएर जंगलले ढाकिएको छ । त्यहाँ चिलाउने, फडिल, धँगेरो, अंगेरी आदि विभिन्न जातका रूखको जंगल छ ।


त्यहाँ भएका फलफूल खान र शोभा दिनका लागि सदावहार रहने र मौसम अनुसार टाढाबाट आउने बहुजातीय चराचुरुंगीहरूले आ–आफ्नो भाकामा गीत गाउने र कराउने मिठा शब्दले मेला भर्दछन् । जाडोमा घाम लाग्ने र गर्मीमा सितल हावा चल्ने स्थानको कारण वन्यजन्तुको पनि त्यहाँ वरिपरि बासस्थान रहेको छ । त्यहाँ पाइने जनावरमा मृग, चितुवा, खरायो, दुम्सीका साथै उच्च स्थानमा पाइने अन्य जनावर पनि मौसम अनुसार पाइन्छन् ।


यो स्थान दक्षिण तर्फ ढुंगे पहाड भएकोले पहरामा बस्ने खाले सबै प्रकारका प्राणी आउने जाने गर्दछन् । त्यसैले यो डाँडो चैत्र बैशाखमा “कुहु कुहु” र “काफल पाक्यो” भन्ने मीठो र सुरिलो आवाज सुनी रमाई आफ्नो लामो समय विताई रहेको छ ।


यो डाँडाको बनावट, महत्व र नामाकरण हुन गएको त्यही डाँडाको टुप्पोलाई मात्र थाहा भएको छ । त्यस स्थानको महत्व देखाउन आर्थिक, सामाजिक, वैचारिकताका लागि पनि विकास गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटकहरूको ध्यान आकर्षण गर्ने स्थलको केन्द्र बन्न सक्ने संभावना रहेको छ । यसले बोकेका सम्भावना र वरिपरि देखिने विकासका पाइला समेत त्यहाँ पुग्ने जो कोहिलाई मात्र थाहा छ । यो हाल रामेछाप न.पा. वडा नं. ८ र मन्थली न.पा.६ का बीचमा रहेकोले अझ ठूलो छिटो विकास हुन सक्ने आशा लिन सकिन्छ ।


हाल रामेछाप न.पा.का तर्फबाट प्रारम्भ कार्य र मन्थली न.पा.बाट लिफ्ट प्रणालीबाट पानी ल्याउँदै गरेको र पिकनिक आदिको व्यवस्थालाई पूर्णता दिए पछि अवश्यनै यो स्थानको कायपलट हुन सक्छ । फलस्वरूप यी दुवै क्षेत्रको विकास हुन जाने प्राय निश्चित छ । हाल त्यहाँका गाउँबाट विस्थापित भएका युवा लगायत सबै मानिस आफ्नो पाखो बारीलाई पनि विकास गरी बस्ने छन् भन्ने आशा लिन सकिन्छ । त्यसैले भविष्यको विकासको पर्खाईको आशामा रहेको छ ।


यो “तिल्के स्थान” भन्ने नाम विभिन्न प्रकारबाट भएको मान्न सकिन्छ । त्यो तिल्केस्थान भन्दा टल्कने स्थान (त्यहाँको डाँडाको टुप्पोमा पहिले ठूला ठूला टल्कने ढुंगाले ढाकेकोले वरिपरि टाढाबाट पनि बेलुकाको घाम टल्कने हुँदा तिल्केस्थान भन्ने गरेको बुढापाकाको भनाई रहेको छ ।

ऐतिहासिक तिल्केस्थान गढी गुगल तस्विर


अघि सिन्धुलीगढिमा अंगे्रजहरूको आक्रमण पछि रामेछाप र नजिकैका अन्य जिल्लाहरूका क्षेत्रहरूको विजयी गर्ने उद्देश्य राखीे खुरकोट हुँदै रामेछाप प्रवेश गर्ने संभावना भएको थियो । जब अंगे्रजहरूको प्रवेश हुन्छ भने पछि सिंधुली गढिमा र यो तिल्के स्थान डाँडाको टुप्पोमा गढि डाँडामा आएका शत्रुसँग लडाई गर्न सुरूंग बनाई सैनिकको व्यवस्था गरिएको थियो ।


तर सिन्धुली माढिबाटै लखेटेकोले अघि बढ्न सकेनन् । त्यो स्थानमा बनाइएको “सैनिक तिलङ्गा या कम्फु कोट” भन्दै गर्दा तिल्के स्थान नाम हुन गएको बलियो संभावना छ । त्यस समयमा त्यहाँ सैनिकको व्यवस्था गरेको थियो । साविक भलुवाजोर गा.वि.स.को वडा नं. ३ र ७ को तिल्के स्थान डाँडामा बनाईएको सुरुङ्ग र वडा नं. ६, कोटगाउँको बन्दोबस्ती सामान राख्ने अर्को सुुरूङ्गबाट पनि तिल्के स्थान र कोटगाउँको नामकरण भएको हुन सक्दछ ।


ती दुवै सुरूङ्ग अहिले संरक्षणको अभावमा प्राय लोप हुने अवस्थामा पुगेका छन् । त्यस्ता ऐतिहासिक स्थानहरूको सुरक्षा मात्र नभई संभार, प्रचार, प्रसार गर्नु पर्ने अति जरुरी देखिन्छ । यसको महत्व र वास्तविकताको महत्व बुझ्न अति जरुरी छ । यसबाट स्थानीय पर्यटकको साथै बाहिरी पर्यटकहरू ल्याउन सकेमा जिल्लाको नाम सहित आयस्रोत हुन सक्ने संभावना छ ।


यो स्थान खुरकोट वा सेलेघाटबाट सगरमाथा व्यस क्याम्पसम्म जाने पदयात्राको पनि ठूलो संभावना देखिन्छ । उपरोक्त विभिन्न कुरालाई ध्यानमा राखी यो ठाउँ र त्यहाँबाट अवलोकित स्थानको समेत बिस्तृत रूपमा अध्ययन अनुसन्धान गरी अझ बढि ऐतिहासिक कुरा पत्ता लाग्ने छ र लगाउन पनि अति जरुरी देखिएको छ ।


उल्लेखित ऐतिहासिक तथा प्राकृतिक महत्वको अलावा यो डाँडाको अवस्थित दृश्यावलोकन अनुसार अरू धेरै महत्व रहेको छ । यो डाँडाको दक्षिण र उत्तर पश्चिम सुनकोसी र उत्तर तर्फ तामाकोसी वहेकोले धेरै टाढासम्म रमणीय देखिन्छ । यस स्थानबाट नेपालको महत्व बोकेका हिमालहरू मध्ये सगरमाथा, चुम्लिंग, मकालु, अम्वाडव्लम आदि र दोलखा जिल्लामा पर्ने गौरीशंकर, रोल्वालिंग जस्ता धेरै हिमालका शृंखलाहरू देखिन्छन् ।


यी हिमालहरूको अलावा दुधकुण्ड, पाँचपोखरी, जटापोखरी, च्छोरोल्पा ताल र थाङ्बोचे क्षेत्र, जिरी क्षेत्र केही टाढा भए पनि आधुनिक प्रविधिहरूको प्रयोग गरी वरिपरि देख्न सकिन्छन् । खास गरी यो डाँडाबाट नजिकै देखिने सिंधुलीको ऐतिहासिक गढी डाँडो र त्यो डाँडाको पूर्व पश्चिम ढाकेर फैलिएको महाभारत लेकका धेरै सृंखलाहरू रमणीय देखिन्छन् । त्यसको साथै चारैतिर पर्ने काभ्रे, दोलखा, सोलु, ओखल्ढुंगाका केही भागहरू र रामेछापका वरिपरि रहेका ठूला ऐतिहासिक र प्राकृतिक रमरीणय भूभाग अझ बढि देखिनुका साथै त्यहाँरहेका विभिन्न देविदेवताहरूका मठन्दिरहरू पनि अवलोकन गर्न सकिन्छ । त्यस डाँडाबाट सबै भन्दा नजिकका मन्दिरमा केवलेश्वर महादेव र भलुवाजोरको कालिका देवी, ढुंगेश्वर महादेव आदि जस्ता धेरै मन्दिरहरू वरिपरि रहेका छन् । साथै विभिन्न डाँडाको टापुमा रहेका बौद्ध माने पनि देखिन्छन् ।


रणजोर, सुकाजोर तथा भटौली खोला आदिको शीरको बनावट र त्यसले विगारेको प्राकृतिक छटा नजिकै देख्न सकिन्छ ।


पहिले दोलखा र सिन्धुलीको संरक्षण र सुरक्षाका लागि रामेछापमा राखिएको सैनिकबाट नै गरिएको थियो । त्यसै सैनिकले यो डाँडाको पनि रेखदेख गर्ने गरिएको कुरा बुझिएका छ । जब नेपाल एकीकरण हुँदै गएपछि विजयी स्थानको रक्षाको लागि तत्कालिन सरकारले रामेछापका विभिन्न स्थानमा केही सैनिक या पूर्व सैनिकको जिम्मामा राखिएको थियो ।


ती मध्ये तिल्के स्थान समेतको रक्षार्थे भलुवाजोरमा पूर्व सैनिक बडा ऐमानसिंह (अहिमानसिंह) थापालाई ती किल्ला र विजयी स्थानलाई सुरक्षित राख्ने कामको जिम्मेवारी दिई तत्कालिन सरकारले नै व्यवस्था गरेको थियो । त्यसका लागि वि.सं. १८३६/३७ साल तिर त्यहाँ स्थायी बसोबास गर्ने गरी उहाँलाई तत्कालिन रीतिरिवाज, नीति तथा साँस्कृतिक व्यवस्था अनुसार ब्राह्मण लगायत सबै थरिका मानिसहरू खटाई विभिन्न स्थानमा राखिएको पनि आज सम्मको बसाईको अवस्था अनुसार सबैले बुझेको विषय हो ।

ऐतिहासिक तिल्केस्थान गढी


त्यो तिल्के स्थान डाँकाको र भलुवाजोरमा रक्षार्थ खटाइएको बारेमा धेरै इतिहास र पुरातात्विक सम्बन्धी लेख तथा तत्कालिन देश र सरकारले गरेकोे व्यवस्था अनुसार अथार्थ बस्तु स्थिति बुझ्न र जानकारी लिन सकिन्छ ।

(लेखक थापा, मन्थली नगरपालिका वडा नं. ६ का स्थानीय तथा साँस्कृतिक अभियान्ता समेत हुन् ।)
श्रोत :
१. ऐतिहासिक रञ्जै बगाले थापा वंशावली २०६६, पेज नं. ८, १४, १६ र १८, राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठान, काठमाडौं ।
२. बन्दना पुस्तक, वेदमान सिंह ।
साभार : चुडाध्वज थापा, रामेछाप ।