मौलिक चँदारो पेशा संकटमा पर्दै (भिडियो सहित)

असोज ४ । जनता भ्वाइस संवाददाता, रामेछाप
नेपाली समाजमा विगतदेखि चर्चा कमाउन सफल पेशा ‘चँदारो’ संकटमा पर्दै गएको छ । नेपालको पश्चिम क्षेत्रमा ‘चँदारो’ शब्दले नेपाली समाजमा दलित भनिएका वि.क.समुदायलाई बुझाउने भएको भएपनि सोही समुदायले अपनाउँदै आएको ठेकी भाँडा बनाउने पेशा संकटमा पर्दै गएको हो ।

विशेषगरी बागलुङ् जिल्लाका वलेवा क्षेत्रमा बसोबास गर्ने चँदारो समुदाय हालसम्म नेपालको सन्दर्भमा अस्तित्वमा भएपनि उनीहरुले अपनाउने पेशा रामेछापका अधिकांश क्षेत्रमा अपनाइदै आएको थियो ।

चँदाराेमा ठेकी बनाउँदै विश्वकर्मा


विगत लामो समयदेखि रामेछापको फुलासीमा समेत यो पेशा जीवित पेशा हो । तत्कालिन फुलासी गाविस वडा नं. १ को आरुबोटे हाल मन्थली नगरपालिका वडा नं. १३ का वि.क. समुदायले अपनाएको पेशा ठेकी भाँडा बनाउने गरेको भएपनि दोस्रो पुस्तामा यसको रौनक नभएकोले सो पेशा मर्कामा परेको स्थानीय धनबहादुर विश्वकर्माको कथन छ । आफू सहित् ३ पुस्तादेखि अपनाउँदै आएको पेशा आफ्नो पारिवारिक तथा अन्य विभिन्न कारणले संकटमा परेको विश्वकर्मा बताउँछन् । जनता भ्वाइससँग कुराकानी गर्दै उनी भन्छन्, ‘आफूले अपनाएकै पेशा आफ्ना छोरा पुस्ताले नअपनाइदिँदा आफूले गर्दै आएको पेशा संकटमा परेको हो ।’


विगत ५६ वर्षदेखि विश्वकर्माले ठेकी कुँदाउने पेशा अपनाएको बताउँछन् । विश्वकर्माकै अनुसार आप्mना बाबुले आफू ८ वर्षको हुँदाताकादेखि यो कार्य गरेको देखेको र बाबुले गरेको हेर्दै सिक्दै गर्दा आफूले पनि जानेको उनको भनाई छ ।

चँदाराेमा ठेकी बनाउँदै विश्वकर्मा


पछिल्लो समयमा ठेकी भाँडा बनाउनका लागि काठको समेत अभाव हुने गरेको छ । विशेषगरी दही दूधका लागि प्रख्यात मानिएका ठेकीहरु रुख कटहर र दार प्रजातिको काठबाट बनाउने गरिन्छ । सो प्रजातिका रुखहरुमा हाल लोपप्रायः भएको दार हो भने अझै पनि रुख कटहर भने रामेछापको गढतीर तिर पाइँदै छ । प्रयोगकर्ताहरुका अनुभवलाई हेर्ने हो भने दार काठबाट बनाइएको ठेकी बढी टिकाउ हुने र हेर्दामा राम्रो साथै त्यसमा साँचेको दही बढी मिठो हुने भनाई छ ।

दारको तुलनामा रुख कटहरको काठबाट बनाएका ठेकीहरुको प्रभावकारिता कम पाइन्छ ।
राज्य पुर्नसंरचनाको फलस्वरुप तत्कालिन गाविसहरु स्थानीय पालिकामा रुपान्तरण भएपछि आप्mना आफ्ना नियमहरुका कारण एक पालिकाबाट अर्को पालिकामा काठहरु ओसार पसारगर्दा लाग्ने कर पनि आफैंमा बोझिलो भएको विश्वकर्माको भनाई छ ।

चँदाराेमा ठेकी बनाउँदै विश्वकर्मा

उनी भन्छन्, ‘पहिला पो जहाँ जताबाट काठ ल्याए पनि केही हुँदैनथ्यो, तर पछिल्लो समयमा त एउटा पालिका बाट अर्को पालिकामा काठ ओसार पसार गर्दा लाग्ने कर नै महंगो भएकोले यस्तो समस्या देखिएको हो ।’


करको करकर त आफ्नै ठाउँमा बोझिलो हुने नै भो । त्यो सँगसँगै चँदारो पेशालाई मुख्य पेशा अपनाएकाहरुका पुस्ताले समेत वास्ता गर्न छोडेको कारण समेत संकटमा पर्दै गएको मन्थली १३ मिल्ती बजारका व्यवसायी शिवहरि भण्डारी बताउँछन् । ‘चँदारो पेशा आफैंमा काठको राम्रो काम हुँदाहुँदै किन संकटमा परेको होला ?’ भन्ने हाम्रो जिज्ञासामा भण्डारी भन्छन्,

‘जसले सो पेशा अंगालेको छ, अबका पुस्ताले त्यो पेशाले मात्रै धान्न सक्ने अवस्था छैन । दैनिक बढेको महंगी र चरम आवश्यकताका कारण पनि यो पेशा संकटमा परेको हो ।’


विश्वकर्माले हालका दिनसम्म यो पेशा जोगाएरै राखेका छन् । दैनिक रुपमा एउटा ठेकी बनाउँदा सरदर २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म बेच्न सकिने उनी बताउँछन् ।