भोकाहरुको भोक मेटाउँदै रासम, १ हजार भन्दा बढीको भोक मेटियो

असोज ७ । जनता भ्वाइस संवाददाता, रामेछाप ।
रामेछापका सहयोगी मन (रासम) ले मन्थलीमा संचालन गरेको फुडबैंकबाट १ हजार भन्दा बढी व्यक्तिहरुको भोको आगो निभेको छ ।


गत भदौ २५ गतेदेखि संचालन भएको फडबैंकबाट प्रति परिवार २ केजी चामल, १ केजी नुन, आधा केजी दाल र १ पाउ सोयाविन (मस्यौरा) वितरण भइरहेको छ । गत असोज ६ गतेसम्म रासमले ५ सय ६४ केजी चामल, २ सय ८२ केजी नुन, १ सय ४१ केजी दाल र ५६. ४ केजी सोयाविन वितरण गरिसकेको छ ।


फुडबैंकद्वारा हालसम्म २ सय ८२ परिवारका कूल व्यक्ति १ हजार १ सय ५४ जनाले छाक टार्न पाएको रासमले जनाएको छ । हालसम्म फुडबैंकबाट गत असोज ५ गते सबैभन्दा धेरै व्यक्तिहरुले खाद्यान्न लिएर गएका छन्, जसको संख्या ४६ जना रहेको रासम सदस्य नवराज श्रेष्ठ बताउँछन् ।