डिजिटल दसैँ

दसैँ आमुख


‘घुमिफिरी रुम्जाटार’ भनेझैँ दसैँले फेरि हाम्रा घर आँगनमा पाइला टेक्न लागेको छ । अबका ३ हप्तामा दसैँ हिन्दू धर्मावलम्बीका घर, कोठाचोटा र करेँसामा उसको आफ्नो गति र प्रवाह अनुसार प्रवेश गरिसक्ने छ । चाहेर पनि हामीले दसैँलाई रोक्न सक्ने छैनौं ।


चाडवाडहरू हाम्रा संस्कृति र परिचयका मापक हुन् । जसरी पोहोरपरार दसैँ आउनै लाग्दा हामी विभिन्न कोण प्रतिकोणबाट बेहद् खुसी र अपार आनन्दको महसुस गर्दै हुन्थ्यौं । सकेको आफ्नो तर्फबाट दसैँको जोहो गर्दै हुन्थ्यौं त्यसको ठिक विपरीत यसपाली भने हामी दसैँ नजिकनजिक आएकोमा बेखुसी भएका छौं । कताकति तर्सेका छौं र कोरोना महामारीका कारण अर्थतन्त्तमा आएको भारी गिरावट्का कारण कसोकसो उतर्सेका पनि छौ ।


यसपटकको दसैँको आगमन आसामी बेखर्ची भएका बेला कर्कश स्वभावको साहू घरीघरी आसामी उठाउन आएजस्तो, केटाकेटीहरूले घरमुलीहरूलाई बिनाबिच्चमा रोड्याइँ गरेर दुःख दिएजस्तो र उधारो खाएर समयमा बाँकी तिर्न नसकेको एउटा लिच्चड ग्राहक फेरिफेरि सौदा किन्नका लागि पसल पसल चहारेर हिँडेजस्तो भाव भंगिमामा दसैँ आएको छ । हेरौं अहिले त कल्पना मात्र छ । यसको आगमन कसरी र गमन कसरी हुनेछ ।


आयो दसैँ ढोल बजाई, गयो दसैँ रिन बोकाई

यो सनातनदेखि चलिआएको लोकोक्ति हो । उखानले हाम्रो सर्वपक्षीय व्याख्या र विश्लेषण गर्दछ । कृषि युगमा सबै चिजबिज र जिनिश पउल भएका बेला पैसो अभाव हुँदा हामीले किन्ने सरसामान र त्यसको तिरोभरो समयमा गर्न नसकेको अवस्थामा खासगरी कृषि कार्य गर्ने कृषकहरूले चलाएको उखान हो यो ।


त्यो समयमा मासु खानका लागि दसैँ नै कुर्नु पर्ने र नयाँ लुगा सिलाएर लगाउनका लागि पनि दसैँ नै पर्खिनु पर्ने अवस्थालाई खेतीकिसानी, मजदुरी, दरबानी र अन्य बलका काम गर्ने खासगरी हुँदा खाने नहुँदा हेरिबस्नेहरूका तर्फबाट यो आहान बनाएको हुनु पर्छ ।


इतिहास बितेर वर्तमान बन्छ । वर्तमान पनि अगाडि बढ्दै त्यो भविष्यमा समाहित हुन्छ । टाइम बाउण्डमा बाँधिएका छौं हामी । हामी भनेको बाउ, छोरा र नाति पुस्ता तीनैथरी हुन् । समय अविरल र नित्यनवीन चलायमान रहिरहन्छ ।

हामीले मनाएका ती दसैँतिहार, छठ, ह्लोसार, इद, बकरिद, इष्टर पर्व र क्रिशमसमा धेरै दर्शन र विचारहरू खाँदिएका छन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई यस्ता पार्विक उत्सवहरू हस्तान्तरण गर्दा नयाँ पुस्ताले आफूले लिने र समयसापेक्ष कुराहरू मात्र लिएर काम नलाग्ने थोत्रा रीतिरिवाजहरू आफल्दै जानुपर्छ । आजको आवश्यकता यो हो ।


‘आयो दसैँ कोरोना बीच, गयो दसैँ कोरोनासँगै’ भन्नु पर्ने अवस्था छ अहिले । हामीले मनाएका ती सनातनी परम्पराका पर्वोत्सवहरू पाँच हजार÷दस हजार वर्षदेखि चलायमान् रहेका छन् । हिजो दसैँलाई हाम्रा बूढापाकाहरूले असत्यमाथि सत्यको विजय, पापमाथि धर्मको विजय, दुराचारमाथि सदाचारको विजय, अन्यायमाथि न्यायको विजय र दुष्कर्ममाथि सत्कर्मको विजयका रुपमा मनाइन थालेको किम्वदन्ती बताएका थिए ।


हामीले ती प्रसङ्गादिहरूलाई आलोचनाका चेतले नहेरिकन स्वतः मान्दै मान्दै आयौं । हजुरबाले मानेको थिति र परम्परामा बाबुले प्रश्न गरेनन् र बाबुले मनाइआएको पर्वलाई हामी छोराहरूले ‘ह्वाइ’ भनेनौं । विरोधका गजबार हालेर कहिल्यै टाङ अड्याएनौं । फलतः यी दसैँ तिहारजस्ता चाडबाडहरू हाम्रा घरआँगनमा निर्वाध रुपमा आइरहे । गैरहे ।


कोरोना कहर र डिजिटल दसैँ


समय बग्दो नदीको पानीजस्तै हो । हिजो निर्वाध रुपले आउने दसैँ अहिले कोरोना कहरबीच पनि आउन त आएको छ तर यसको आउने प्रकृति र तरिकामा विभिन्नता छाएको छ । हामी अहिले मानिसदेखि सबैभन्दा धेरै डराएका छौं ।


भौतिक दूरी कायम गरेर आफ्नो परिवारका सदस्यहरूसँग पनि टाढिनु पर्ने हाम्रो बाध्यता अहिले कोरोना महामारीले गर्दा निम्त्याएको छ । हामीले खरिद गर्ने माछामासु, सागसब्जी, टीकाप्रसादका रुपमा लगाइने जमरा, दक्षिणाका रुपमा दिइने पैसामा र खानाका परिकारहरूमा हामी विश्वस्त हुन सकिरहेका छैनौं ।


कतिपयले यो दसैँलाई भर्चुअल रुपमा मनाउनु पर्ने, दिनै पर्नेहरूलाई नेट बैँङ्किङ्का माध्यमबाट दक्षिणा दिनु पर्ने, भौतिक दूरी कायम राखेर घरमै आउने र विश्वस्त हुनेहरूलाई टीका लगाइदिने र टीका थापिमाग्ने दुवैले माक्स लगाउनु पर्ने, अक्षता दही र अबीरमा मुछेर स्यानिटाइजर छर्कनु पर्ने तथा खानेकुराहरू दिनु÷खानु भन्दा पनि सामाजिक सञ्जालको खासगरी फेसबुकमा खानेकुराहरूका तस्वीरहरू खिचेर राखिदिनु पर्ने अवस्था आइपरेको बुद्धि सुझाएका छन् ।

प्रायः रुघा खोकीबाट ग्रस्त छोरीचेली, ज्वाइँनारान, भान्जाभान्जी र नाति नातिनीहरूलाई बूढो घर, माइत र मावलमा टीका लगाउन वा भेटघाटका लागि जाँदा शंका लागेमा २ हप्ता क्वारेन्टिनमा बस्नु पर्ने नियम समेत लगाउन सक्छन् ।


हातमा पञ्जा लगाएर, मुखमा सर्जिकल वा भल्भ नभएको एन् नाइन्टिन् माक्स एक एकवटा वा दुइटै खप्ट्याएर लगाएर मात्र सवारीका साधनहरू प्रयोग गर्न पाउने, खासगरी बाइक तथा स्कुटीमा बस्दा सुरक्षाका सबै सावधानीहरू अपनाउनु पर्ने कुरामा सचेत हुनु आवश्यक छ ।


यो परिस्थिति मानिसहरूले आफ्नो चाहना र रचिका कारण निम्त्याएको नभई कोरोना कहरका बीच स्वतः आइपरेको समस्या भनेर चित्रण गरेका छन् । मानिस देखेर मानिस भाग्ने अनौठो रोग यसअघि संसारमा कहिल्यै नआएको दृष्टांश पनि बूढापाकाहरूले दिएका छन् ।


दसैँको चुरो, अन्त्यमा


हामीले मनाई आएका यी र यस्ता पर्वहरूलाई आधुनिकीकरण गर्दै मनाउनुको विकल्प छैन । कुनै पनि कुरा हामी मन नलागेकै भरमा झ्वाट्ट छोडिहाल्न सक्दैनौं ।


अझ संस्कृति र परम्पराका हकमा त ‘कुनै पनि संस्कृति अँगाल्न पाँच सय वर्ष लाग्ने र छाड्न पाँच हजार वर्ष लाग्ने कुरा बताइन्छ’ समाजशास्त्रका यी र यस्ता गुत्थीहरूले नै हामीलाई बाँध्ने काम गरेको छ ।


हिजो यस्ता पर्वहरूको रिले दौडमा हजुरबा दौडिए । उनको शेखपछि बाबु दौडिए । बाबुका शेखपछि हामी दौडिएका छौं र हाम्रो शेखपछि पनि हाम्रा छोरानातिहरू क्रमशः दौडिरहने छन् । मात्र रिले दौडको लौरोको आकारप्रकार र रंग फरक पर्ला तर हरेक समयका बाबु बन्ने धावकका हातमा उही लौरो हुन्छ । ऊ आफ्नो सकले, हुतिले, पाइन्ले र बर्गतले सकिनसकि दौडिरहन्छ ।
कहिले गेरु र कमेरो छ्यापेर दसैँका लागि तिल्काने र सिँगारे खसीहरू टाटनाबाट झिकेर आँगनमा मार हानी हामीले दसैँको मौलो पूजा गरेको देख्यौं भने कहिले हाट बजारबाट तिनै सिँगारे र पेटारे खसीहरू किनेर काम चलायौं ।


अब अहिले आएर मिट सपमा गएर छानीछानी खसी, कुखुरा, राँगा र सुँगुरको मासु किनेर आफू खुसी घर लैजाने र मनमाफी तिनीहरूका परिकार बनाएर खाने चलन पनि चलेको छ ।
भोलि कस्तो दिन आउने छ ? अहिले नै भन्न कठिन छ ।


हामीले जेजसरी भए पनि आफूले आफ्नो समाजमा सेटल हुन सिक्नु परेको छ ।
समाजमा सेटल हुन सिकिसकेपछि मात्र हामी हाम्रा धर्म र संस्कृति अनुकूलका चाडपर्वहरू निर्वाध रुपले मनाउन सक्ने रहेछौं ।


यो गीताज्ञान मलाई यस पटकको कोरोना कहरले दिलाएको छ ।