म पनि भोलि बृद्ध हुन्छु, सोचौं ।

आज विश्व जेष्ठ नागरिक दिवस । विश्व समुदायले हरेक वर्षको अक्टोबर १ तारिखमा विश्व ज्येष्ठ नागरिक दिवस मनाउने गर्दछ । बुढाबुढी भइसकेका आमाबुवाको छोराछोरी प्रति चाहना अनि अपेक्षा हुने गर्दछन् । धेरै ठुलाठुला अपेक्षा पनि हुँदैनन्, सामान्यतया स–साना बालबालिकाको झैँ ।


संसारमा सबैभन्दा बढी खुशी आमा–बुवाले आफ्ना सन्तानलाई दिन चाहन्छन्, देख्न चाहन्छन् । आफ्नो गक्षले भ्याएसम्मको जीवन सुख–सयल दिएर नै तपाइँ हामीलाई हाम्रा आमाबुवाले हुर्काएका हुन्, र आज यहाँसम्म आइपुगेका हाँै । समयक्रम संगै बुवाआमाको पाखुरामा क्रमश बल कम हुँदै जाने, अनि सन्तानहरुमा बल भरिँदै जाने, यो जीवनको चक्र हो ।


जब सन्तान वयश्स्क हुँदै जान्छन्, तव बुबाआमामा बुढेसकाल शुरु हुन्छ । उमेर ढल्कँदै गएका बुढा बाआमा, डाँडामाथिका जूनघाम जस्तै हुन् ।

सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । विक्रम सम्वत २०६८ सालको जन–गणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेका छन् । प्रत्येक १० बर्षमा गरिने गणनाको तथ्यांक अनुसार वृद्धवृद्धाहरुको संख्यामा बृद्धि देखिएको छ ।


यसबाट नेपालमा औसत आयू पनि बढेको स्पष्ट हुन्छ । विश्वमा ६० वर्ष उमेर पुगेका मानिसको संख्या ७६ करोड रहेको अनुमान छ । औसत आयूमा देखिएको सुधारले यो संख्या सन् २०५० सम्ममा दुई अर्ब पुग्ने अनुमान छ । तुलनात्मक रूपमा हेर्दा जनसंख्या वृद्धिसँगै ज्येष्ठ नागरिकहरूको संख्या बढे पनि वार्षिक वृद्धिदर भने केही घटेको देखिन्छ ।

ज्येष्ठ नागरीक अर्थात् पाका उमेरका बृद्धबृद्धाहरु, धेरैजसो देशहरुमा ६० बर्ष पुरा भएका नागरीकलाई राज्यले ज्येष्ठ नागरीकको श्रेणीमा राखेको छ । उमेर ढल्कँदै गएपछि अरुहरु प्रति हुने निर्भरता, जीवनशैलीको कष्ट अनि माया ममताको चाह पनि बढ्दै जान्छ ।


विभिन्न देशहरुमा आ–आफ्नै चलन हुने गर्दछन् । जस्तो कि नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउने चलन पनि देखिएको छ । यसरी वृद्धा आश्रममा बाआमालाई पठाएर ठुलो बोझ बिसाएझँै गर्ने ति सन्तानहरुको मनमा किन नआएको होला म पनि एकदिन जेष्ठ नागरिक बन्नुपर्छ भनेर ? आज आफुले गरेको व्यवहार, सिकाएको पाठ भावी सन्तानले पनि सिक्यो भने के होला ? किन नसम्झेको होला, किन नसोचेको होला ?


हिजो सानो छँदा तिनै बाआमाको काँधमा चढेर पिसाव गर्ने, दिसा गर्ने सन्तान, आज तिनै बाआमाको लुगा धुन किन घिनाउँछन् होला ? खाना नखाएर को–खाई, को–खाई गर्दै ÷भन्दै घण्टौ लगाएर खाना खुवाउने बाआमालाई अशक्त हँुदा मिठो– मसिनो दिन किन कन्जुस्याँइ ? जन्मिएका सबै सन्तान पाल्न सक्ने हैसिएत बनाउने बाआमा पाल्न सन्तानलाई किन यति सकस ? के यहि हो त, एउटा सन्तानको कर्तव्य ?


उमेर ढल्कंदै गएपछि एक्लोपना बढ्दै जानु स्वभाविक पनि हो किनकी साथीभाई, आफन्तसँगको जमघटमा कमि आउने गर्छ । यस समयमा आफ्ना मनमिल्ने साथीभाई को पुराना यादले सताउनु पनि अस्वभाविक भन्न नमिल्ला । पुराना यादहरुकोे बहावले सताएका आफ्ना वृद्ध बाआको नजिकको साथी बन्नु हामी सन्तानको दायित्व होइन र ?


नेपालको संविधान २०७२ को धारा ४१ मा ’ज्येष्ठ नागरिकको हक’ शीर्षकमा ’ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ उल्लेख गरिएको छ । यसैगरी ज्येष्ठ नागरिकका हकहितको सुनिश्चितताको लागि विभिन्न कार्यक्रम तर्जुमा गर्न सहज होस् भन्ने उद्देश्यले पछिल्लो समय ’ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३’ तथा ’ज्येष्ठ नागरिकसम्बन्धी नियमावली २०६४’ पनि जारी गरिएको छ । यसका अलावा हरेक वर्ष सरकारको नीति तथा कार्यक्रमहरूमा पनि ज्येष्ठ नागरिकको विषय समेटेको पाइन्छ ।


जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिकस्थलमा ज्येष्ठ नागरिकलाई आवश्यक सेवा, सुविधा र सहयोग प्रदान गर्नु गराउनु सबैको कर्तव्य हुनेछ ।


(२) नेपाल सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकको लागि कम्तीमा दुईवटा सीट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा पचास प्रतिशत छूट दिनु पर्नेछ ।


(३) स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ ।


(४) नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको संख्याका ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छूट दिनु पर्नेछ ।


(५) खानेपानी, बिजुली, टेलिफोन लगायत सार्वजनिक सेवा प्रदान गर्ने अन्य संस्थाले सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनु पर्नेछ ।


(६) यस दफामा उल्लिखित छूट र सुविधाको अतिरिक्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ज्येष्ठ नागरिकलाई समय समयमा अन्य छूट र सुविधा दिन सक्नेछ । लगाएत उल्लेख छ तर, व्यवहारत लागु भएको भने पाँइदैन । अहिले देशमा भएका तीन तहका सरकारले विभिन्न नितिको व्यवस्था गरेको छ । कतिपय स्थानिय तहले जेष्ठ नागरिकका लागि भनेर एम्वुलेन्समा छुट दिएको पाइन्छ भने कतिपय वडा अध्यक्षहरु वृद्धभत्ता बोकेर घरैमा पनि पुगेका छन् । जुन कार्य स्वागतयोग्य छन् । यस्ता प्रयासहरु निरन्तर हुन आवश्यक छ ।


अब बन्ने भौतिक संरचनाहरु, पाटीपौवा, धारो, चौतारो सबै जेष्ठनागरिक मैत्री हुनु पर्छ । तपाइँ हामी प्रत्यक सन्तानहरुले – म पनि एकदिन जेष्ठनागरिक बन्नुपर्छ भनेर सोचौँ, आफ्ना वृद्ध बाआमालाई हेरचाह गर्न, माया ममता दिनमा दिन, बार र दिवस नकुरौँ ।

सभ्य समाज निर्माण गरौँ, भोलीका सन्नततीलाई राम्रो पाठ सिकाआँै । होइन भने भोली पालोको पैँचो स्वीकार्न तयार बन्नुको विकल्प छैन । त्यसैले जेष्ठनागरिकलाई हेला होइन, माया र सम्मान दिआँै, सम्पतिको आधारमा बाआमा पाल्ने भागबन्डा नगरौँ ।