पहिलो पटक मलामी जाँदाको अनुभव

इन्द्रै बिन्ती गरुन् झुकेर पदमा, त्यो बिन्ती मान्दैन त्यो
आयो टप्प टिप्यो लग्यो, मिति पुुग्यो, टारेर टर्दैन त्यो ।


यो दुखद् खबर जहाँ मन्थली नगरपालिका वडा न. १४ घर भएका बुद्ध लामाको असामयिक निधन भएको छ । उहाँको अन्तिम श्रदाञ्जलिमा असोज ९ गते म पनि उपस्थित भएको थिएँ । म पहिलो पटक मलामी जाँदाका अनुभवहरु बटुलेको छु । जुन यसरी सुरु भएको छ ।


२०७७ साल असोज ८ गते बिहिबार करिब मध्यान्नकै समयतिरको कुरा हो । फेसबुकका भित्ताभरि नै बुद्ध लामाको असामयिक निधन भएको भनेर उहाँका तस्विरहरु रामेछापका विभिन्न तह र तप्काका व्यत्तित्वहरुले सामाजिक संजाल फेसबुकमा सजाउनु भएको थियो ।


मैले लामाको फेसबुकमा भेटेका तस्वीरहरुलाई धेरै बेर नियालेर हेरेँ तर मबाट भने उहाँ अपरिचि व्यत्तित्व नै हुनुहँुदो रहेछ । मबाट उहाँ अपरिचित भएपनि उहाँको अल्पायुमा नै भएको असामयिक निधनले गर्दा म स्तब्ध भएको थिएँ । ती फेसबुकमा आएका उहाँका तस्वीरहरुमा हार्दिक श्रदाञ्जलि भन्नु बाहेक अब बाँकी केही पनि थिएन ।


बिस्तारै अरुबाट बुझ्न थालेँ । उहाँ नेकपाका युवा नेता तथा राष्ट्रिय युवासंघ रामेछापका निवर्तमान अध्यक्ष हुनुहुदो रहेछ । उहाँको तारिफ गर्नेहरुको त रामेछापमा कुरै नगरौँ । त्यति धेरै मान्छेहरुको ढुक्ढुकी बन्नुभएका लामा संसारलाई नै छाडेर बिदा भइसक्नु भएको थियो ।


म जनता भ्वाइस डट कम मन्थलीमा बिट् संवाददाता हूँ । असोज ८ गते बिहिबार अफिसको काम सकेर घर फर्किने बेलातिर अफिसमा सरहरुको सल्लाह भयो, भोलिपल्ट अर्थात् शुक्रबार फुलासी जानुपर्छ भनेर । मैले सोचेँ सरहरु रिपोर्टिङको लागि जान लाग्नु भएको होला । त्यतिकैमा मैले भनँे, ‘म पनि जान्छु नी सर ?’ सरले ‘हुन्छ’ भन्नुभयो । त्यत्तिकैमा बिहिबार अफिसको काम सकेर म घर फर्किएँ ।


भोलिपल्ट, ९ गते बिहान शुक्रबार अफिसको सामान्य काम सकेपछि करिब मध्यान्ह १२ बजेतिर हामी चार जना फुलासी तर्फ लाग्यौँ । म त्यति बेलासम्म ढुक्क थिएँ, हाम्रो यो फुलासीको यात्रा समाचार सङ्कलनको लागि भइरहेको छ । देविटारसम्म भएको सडक कालोपत्रे थियो र त्यसभन्दा माथि लाग्नुपर्ने बाटो हायर ग्राबेलिङ् भएपनि पानी परेकोले बाटोमा जताततै ढुङ्गा र ससाना पहिरो समेत धस्किएको थियो ।

यात्राको क्रममा मन्थली १३ साविकको फुलासी २ को हर्रेमा पुगेपछि मैले सरलाई सोधें, सर, हाम्रो यो यत्रा अब कति दूरसम्म छ ? सरले भन्नुभयो ‘हामी पोखरी बजारसम्म पुग्छौँ । त्यहाँ पुगेर पनि अलिकति हिँड्नु पर्छ । तामाङहरुको घाट डाँडामा पर्छ । सरहरुको त्यो कुरा सुनेर मैले मनमनै सोचिरहेकी थिएँ, हामी पक्कै अर्कै कामका लागि जान लागेका हौँला भनेर ।


मैले त्यसै बीचमा फेरि प्रतिप्रश्न गरेँ– ‘सर, हामी हिजो मृत्यु हुनु भएका बुद्ध लामाको घरसम्म जान लागेको हो ?’
सरले जवाफ दिनुभयो,
‘हो ।’


मैले फेरि मनमनै सोचेँ, हिजो नै उहाँको मृत्यु भएको थियो । आज त हामी उहाँको परीवार प्रति सहानुभूति र दिवंगत आत्माको चीर शान्तिको कामनार्थ जाँदैछौं ।


बिस्तारै उकालो चढ्दै गयौँ । पोखरी बजार पुगियो ।


त्यहाँ पुग्दा कहिल्यै पनि त्यति धेरै चहलपहल नदेखिने जस्तो स्थानमा मोटरसाइकल, बोलेरो, सुमो लगायतका साना गाडीहरु पार्किङको धेरै चाप भएको पाएँ ।


हामी एकैसाथ मन्थलीबाट चारजना गएका थियौँ । २ वटा मोटरसाइकलमा । पोखरी बजारमा मोटरसाइकल राखेर हामी सबै उकालो लाग्यौँ । अघिल्लो दिन ठूलो पानी परेको हुनाले बाटोमा धेरै हिलो थियो । करिब २० मिनेट जति उकालो चढेपछि हामीसँग अघिपछि हिड्ने मानिसको संङ्ख्या पनि अत्याधिक थियो ।


त्यहाँ पुग्दा लामाको अन्तिम बिदाईका लागि लामाहरुले आफ्नो बौद्ध परम्परा अनुसार कार्यक्रम गरिरहेका देख्यौं ।

बिहिबार नै दाहसंस्कार भई सक्नु पर्ने उहाँको तर बौद्ध धार्मिक परम्परा अनुसार विविध विधि संस्कारले ढिलाई भएको पायौं ।


मेरो जीवनकै पहिलो मलामी यात्रा थियो यो । मैले विगतमा दिनहरुमा मलामी गएको यादहरु संगालेको छैन । यसको अर्थ त्यस दिन अघि म कहिल्यै पनि मलामी गएको थिइँन । लामाको अन्तिम संस्कारका लागि आर्यघाटमा पुग्दा मेरो मनमा अनेकौँ मनोभावहरु सल्बलाइ रहेका थिए । हाम्रो समाजमा छोरी मान्छे मलामी जानु उचित मानिदैन । सामाजिक मनोभावको कारण छोरीमान्छेहरुमा सहन क्षमता बढी हुँदैन । लाशलाई देखेपछि डराउँछन् र त्यसका कारण भोलिका दिनमा समस्या पर्ला भन्ने हो जस्तो मलाई लाग्दै थियो ।


मृत्यु र मलामी अनुभव मैले जित्नै सकेको थिइँन, त्यो बेला सम्म ।


लामाको मलामी यात्रामा सहभागी हुनु भन्दा पहिलासम्म मलाई पनि कताकता मलामी जान भनेपछि डर लाग्ने जस्तो लाग्थ्यो । तर लामाको मलामी गएपछि म मा पनि शव, मलामी, दाहसंस्कार सबै शब्दावलीहरुलाई मैले मेरै अनुकूलमा बुझ्न पाएँ जस्तो लाग्न थाल्यो ।


बुद्ध लामाको अन्तिम श्रदाञ्जली दिने ठाउँसम्म हामी पुग्दा त्यहाँ कुनै मेला महोत्सवमा भएको भिड जस्तो थियो त्यो ठाउँ । धेरै भिडभाड थियो । त्यहाँ तामाङ जातिहरु कतै चिसो, बिस्कुट लिएर एक छेउमा बसेका थिए ।


अलिपर पुग्दा बाजागाजा, शङ्खको धुनले गर्दा त्यो डाँडो शोकले गुञ्जयमान थियो । सबैका आँखा रसाएका थिए । लामा गुरुहरु के के भन्दै मन्त्र पढिरहेका थिए । अरु सबै एउटा छेवैमा भएको मृत लासमाथि हात जोडेर मन्त्र जप्दै चामल छर्किरहेका थिए ।


मलाई त्यो देखेर अचम्म लाग्यो ।


मानिसहरु जिउँदो हुँदा किन यति धेरै लोभ र लालचमा फस्छ भनेर ।


म दिवंगत शवको अघिल्तिर गएर त्यो सबै कुराको अनुभव गरिरहेको थिएँ । त्यसै बीचमा हामी पनि एउटा मृत मानिस जसको शरीर पुरै पहेँलो कपडाले ओडाएर त्यसमाथि खादा नै खादाको चाङ लगाइएको थियो । तर उहाँको मुहार भने ढाकिएको थिएन ।


भर्खरै उठेर हिँड्ला जस्तो त्यो मुहार, निधार भरी सेतो अक्षता, ऐना हेरेर मिलाए जस्तो कपाल, मृत होइन आनन्दले निदाए जस्तो उहाँको शरीर देखेर मेरो मन भकान्निएर आयो । डाँको छोडेर रुन मन लाग्यो ।


मैले बाहिर आँशु नदेखाए पनि भित्रभित्रै रोएको थिएँ म । मृत लाशको छेवैमा गएर श्रद्धा भेटी चढाएर म हतारमै बाहिर निस्किएँ ।


लामाको बारेमा हामीले शवयात्रामा सहभागी भएकाहरुको प्रतिक्रिया लियौं । किनकी हामीलाई लामाको अन्तिम शवयात्राको रिपोर्टिङ समेत गर्नुथियो । हामीले लामाको बारेमा सोध्दा सबै भकान्निएर रुने गर्थै ।


उनको मृत्युले फुलासी १३ र १४ न. वडालाई नै ठूलो राजनैतिक क्षति पु¥याएको त्यहाँका स्थानीयहरु बताउथेँ । त्यो सँगैसँगै रामेछापको बामपन्थी आन्दोलनलाई समेत अपुरणीय क्षति पुगेको हामीलाई सहभागीहरुले बताएका थिए ।


सबैलाई रुवाएर बिदा भएका छन् उनी यस संसारबाट । सदाका लागि आफ्नो परिवार, आफन्त र सिङ्गो रामेछापलाई नै शोकमा डुबाएर बिदा भए यस धर्तीबाट ।


रामेछापका एउटा आशा लाग्दा युवा नेताको अवसान भएको छ । विभिन्न विकास मार्फत् समृद्धिको खुड्किला बनाउँदै गरेका उनको मृत्युले फुलासीका लागि मात्रै नभएर रामेछापका लागि पनि अकल्पनीय क्षति भएको कुरा त्यहाँका स्थानीयहरुले बताएका छन् ।


बुद्ध लामाको अन्तिम श्रदाञ्जलि नेकपाका जिल्ला नेता देवशंकर पौडेलले दिएपछि उहाँको चितामा आगो सल्काउने बेला भएको थियो । म त्यो हेर्न नसकेर हतारमा बाहिर निस्किँदै उहाँको चितामाथि सुतेको मृत शरीरतर्फ परेको आगोको लप्कालाई नियाल्दै भनें, ‘बुद्ध दाई, हजुरको आत्माले शान्ति पावस् । मेरो तर्फबाट पनि अन्तिम श्रदाञ्जलि ।’ भन्दै म त्यो भिडबाट एकाएक हराएँ ।


मलाई फर्किदा बाटोभरि नराम्रो लाग्यो । उहाँको असामयिक र अकल्पनीय निधनले कलिला छोराछोरी, बाबुआमालाई कति पिडा भएको थियो होला महसुस गर्दे गर्दै म फर्किएँ ।


बाटोभरि उहाँकै तस्बिर मेरो अगाडि खेलिर हन्थ्यो । वरीपरी लामाले बाजागाजा बजाउँदै लामा पढेका, त्यो बीचमा बुद्ध लामाको मृत शरीर सायद् पहिले पटक मलामी गएको भएर होला म धेरै पिरोलिएको जस्तो भएको थिएँ ।


जस्तोसुकै परिस्थिति आए पनि सहनै पर्ने रहेछ मानिस भएपछि । एउटा फरक मृत्यु भन्ने कुरा सायदै कसैको ढिलो त कसैको चाँढो भन्ने मात्र फरक हो । मेरो हृदयदेखि नै फेरि पनि हार्दिक श्रदाञ्जली दाई हजुरको आत्माले शान्ति पाओस् ।

(सत्य घटनामा अाधारित अालेख….)