कल्पना श्रेष्ठ ‘कल्पु’ का १० मुक्तकहरु

मुक्तक : १

जिन्दगी हो जसरी’नि जिउनु पर्ने छ ।
घरी घरी मन फाट्छ सिउनु पर्ने छ ।
मनका कुरा मनमै छ सुनाउँ कसरी ?
तिम्रा याद भुलाउन पिउनु पर्ने छ ।

मुक्तक :

गीतकारलाई पीडा सुनाउँ गीत बनाइदेला ।
उस्तै भोगाइ रैछ भनी मीत बनाइदेला ।
लुकाएर पीर व्यथा हाँस्न सिक्नु छ
समाजले पत्तो पाए रीत बनाइदेला ।

मुक्तक :

बिना तेल दियो यसै बल्ने भए हजुर ।
भाग्यले नै पिर व्यथा छल्ने भए हजुर ।
यी नयन नि यसै यसै किन रसाउँथे र ?
ऊ बिना यो जिन्दगी चल्ने भए हजुर ।

मुक्तक :

कोरोनाले छुन्छ भनी कस्ले जान्याथ्यो र ?
दुनियाँ नै रुन्छ भनि कस्ले जान्याथ्यो र ?
आफन्तले आफ्नालाई नै छुन नपाउँदा
भयावह हुन्छ भनी कस्ले जान्याथ्यो र ?

मुक्तक :

सूचना नि जनहितमा जारी भएको छ ।
विश्वमा कोभिड महामारी भएको छ ।
सुरक्षालाई अपनाऔं घरभित्रै बसौं
बिरामीको संख्या झनै भारी भएको छ ।

मुक्तक :

छैन घरमा चामल उधारो दिन्छ दिँदैन ?
अब गरिबको भोट नेताले लिन्छ लिँदैन ?
रोग र भोकको लडाईंमा लड्नै सकिँन
गरे भने प्राणत्याग मलाई चिन्छ चिन्दैन ?

मुक्तक :

खै कतिन्जेल यसरी जिन्दगी चल्छ होला ?
गरिबको घरमा चुलो खै कसरी बल्छ होला ?
हिजो, आज, भोलि सधै एकनास हुँदा खेरी
मन थाकेर ज्यानै पनि यसै यसै गल्छ होला ।

मुक्तक :

भोट दिने हातहरु बिर्से नेताले ।
आश्वासनका बातहरु बिर्से नेताले ।
गाउँ, शहर कायपलट पार्छु भन्नेले
जनताले दिएको साथ बिर्से नेताले ।

मुक्तक :

निष्ठुरीको याद्ले सताएर के गर्नु ?
बिताएका पलले अँत्याएर के गर्नु ?
बीच बाटोमै अलपत्र पारिजानेको
अधुरो कहानी बताएर के गर्नु ?

मुक्तक : १०

कोही छैन यहाँ तिमी नै खास लाग्छ ।
औंसीको रातलाई जूनको आश लाग्छ ।
मरुभूमिमा खोली बनी आयौ मायालु
तिमी मेरो जिन्दगीको फेर्ने स्वास लाग्छ ।