अशोज २१, सिन्धुली ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेको छ । हिजो मङ्गलबार मात्र जिल्लामा सबैभन्दा बढी २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ, जसमा ९ महिला र १८ पुरुष छन् । जिल्लामा हालसम्म १०४ पुरुष र २९ महिला गरी १३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सिन्धुलीको एपोलो अस्पतालको आइशोलेसनमा १६ जना, सिन्धुली अस्पतालको आइशोलेसनमा १ जना र होम आइशोलेसनमा ३६ जना गरि ५३ जनाको उपचार भैरहेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । अहिलेसम्म ८० जनाले कोरोना जिति घर फर्किएका छन् । अब ४२ जनाको पिसीआरको रिर्पोट आउन बाँकी छ ।
यसैबिच सिन्धुली अस्पतालले आजदेखि केही सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीमा पनि कारोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले सूचना जारी गर्दै आपत्कालीन उपचार बाहेकका अन्य सेवा बन्द गरेको जनाएको छ । जिल्लामा कोरोना भाइरस सङ्क्रमित बढ्दै गएको र यसबाट अस्पतालका कर्मचारी पनि सङ्क्रमित भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक सम्पूर्ण सेवा बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनुभयो ।
यता कोरोना सङ्क्रमण बढेपछि मालपोत कार्यालय सिन्धुली पनि बन्द भएको छ । कार्यालयमा काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अनिश्चितरूपमा कार्यालय बन्द गरिएको छ । कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुँदासम्म कार्यालय बन्द रहने जनाएकोे छ । यसैगरि जिल्लामा रहेका वित्तीय संस्थामा सिद्धार्थ बैंक, एनसीसी बैंक, मेगा बैंक पनि बन्द भएका छन् ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानियमा त्रास छाएको छ । दशैँ नजिकिँदै गर्दा स्थानिय व्यवसायि तथा उपभोक्ता सबै मारमा परेका छन् ।