म छुट्टै…

अवश्य साथी,
म तिम्रो सामु छुट्टै देखिन्छु
म अजुवा छु, अनेक गर्छु,
अनौठो बोल्छु,
विचित्रको देखिन्छु
तिमीहरूसँग मेरो केही पनि मिल्दैन,
अनि मिलोस् पनि त कसरी ?


किनकी,
तिमीहरू र म त बच्चादेखि नै फरक
तिमीहरू पैसालाई जग बनाएर
अगाडि बढेको मान्छे
म पाँच रुपैयाँ जम्मा गर्न
दशै कुर्नुपर्ने मान्छे
तिमीहरूको खाजा
खाजाघर र रेष्टुरेण्टमा हुन्थ्यो होला
मेरो त डुम्रीको रूख

पानी अमलाको झारमा हुन्थ्यो,
तिमीहरू,
आफ्नो रोजाइको बस्त्र नपाए रूने मान्छे
म खुट्टामा चप्पल लगाउन पाए
खुसी हुने मान्छे,
तिमीहरूको खैलौना गाडी र रेल हुन्थ्यो होला
मेरो त नेचुरल थिए विशुद्ध नेचुरल
माटोको थुप्रो र सल्लिपीरमा
सर्लक्कै सिलीलीली
तिमीहरू कोजीबेडमा
एयर कन्डिस्नर मिलाएर सुत्ने मान्छे
म थारोमा राखेको परालमा
भुसुक्कै निदाउने मान्छे,


तिमीहरूको नुहाउने ठाउँ
बाथटब र स्वीमिङ पुल
मेरो त बगेको खोला अनि
झरेको झरना,
तिमीहरू सेन्ट्रोकारमा सवार गर्दैगर्दा
ट्राफिक जामसँग दिक्क भइरहँदा
म चाहिँ मकैको ढोड बोकेर हिँड्दै हुन्थें
माथिबाट भारी अड्काउने
झाङसँग दिक्क पारिन्थें
तिमिहरु इलेक्ट्रिसिटीमा,
प्याट्ट स्विच अन गरेर खाना बनाउने मान्छे
म चाहिँ घरको सलाही जोगाउन,
बाँड भत्केको सिलेबरको ताप्के बोकेर
कस्को घरमा धुवाँ निस्कियो भनि
छिमेक धुरीमा आँखा घुमाउँदै हेर्ने मान्छे


हो म,
यस्तै यस्तै अनेकौं खालको मान्छे
यसैले तिमिहरुसँग जहिले पृथक दाजिन्छु
किनकी, म सँधै मेरो पृष्ठभूमिसँग बाँधिन्छु
म समयको पंखा भएको रथमा
सवार एक पात्र हूँ
समय सापेक्ष चल्न सिक्दै गरेको
एक छात्रा हूँ
तिमीहरुलाई म
उठाइ बसाई हिँडाई डुलाई
सब कुरामा छुट्टै देखिन्छु
खै, मेरो पृष्ठभूमि जटिल भएर होकी
मेरो सिकाईको गति सुस्त भएर हो
तिमीहरूको सामु म सँधै साँच्चै छुट्टै नै देखिन्छु ।