गृहमन्त्रीलाई खुला-पत्र

सम्माननीय गृहमन्त्री ज्यू
नमस्कार !


म पेशाले एक शिक्षक अनि जातीय हिसाबले एक आम नागरिक अनि नाताले एउटी आमा पनि हू।सबैभन्दा पहिला म एउटी छोरी पनि हूँ । मलाई कता कता डर लागेको छ मन्त्रीज्यू, मेरी छोरी एउटा आमा बन्न सक्छे कि सक्दिन ?

अहिले जताततै नाबालक छोरीहरु बलत्कृत हुने र बलात्कार पछि सबुत मेटाउन मारिएको घटना दिन दुईगुणा रात चारगुणा घटिरहेको देख्न र सुन्नु परेको छ । जुन सुन्दा आङ सिरिङ्ग भएर आउँछ । मुटु त्यसै त्यसै नमिठोसँङ्ग दुखेर आउँछ । रगत भकभक उम्लेको पानी जसरी उम्लेर आउँछ । लाग्छ, आफैँ गएर बलत्कारीको छातीमा भाला रोपिदिउँ ।

त्यसको गर्धन सिरुपाते खुकुरीले एक थोपा रगत पनि नलाग्ने गरि छिनाइदिउँ अनि तनतनी रगत पानी पिएझँै पिइदिउँ । म भित्रको मातृवात्सल्य त्यसै त्यसै छचल्किएर आउँछ । मातृ हृदय त्यसै त्यसै उम्लेर आउँछ । त्यस्ता नर पिचाशहरुलाई जिउँदै आगो लगाई दिएर भष्म पारिदिउँ अनि बल्ल आफ्नी छोरीले सुरक्षित महसुस् गर्छिन । अनि मेरी छोरी एक असल आमा बन्न सक्ने छिन् ।


देशको शान्ति सुरक्षाको बागडोर समातेर बस्नु भएको तपाइँलाई पनि त छोरीको माया पक्कै लाग्छ होला । तपाइँकी आमा पनि तपाईंलाई जन्म दिनुभन्दा पहिला छोरी नै हुनुहुन्थ्यो । यो ध्रुवसत्य हो, एउटी छोरी नै भोलिको आमा हुन् । यदि तपाइँकी आमा पनि यसरी नै बाल्यकाल मै बलत्कृत भै मारिएकी भए के तपाईं अहिले गृहमन्त्री जस्तो गरिमामय पदमा आइपुग्नु हुन्थ्यो ? एकचोटी गम्भीर भएर सोच्नुहोस् मन्त्रीज्य । देशको शान्ति सुरक्षा भित्र बालिकाको (छोरीको) सुरक्षा पर्छ कि पर्दैन ?

यदि पर्छ भने तपाईंले आजको छोरी र भविष्यको आमाको पनि सुरक्षा गर्नुहोस् । बलत्कारीको कुनै जात, धर्म, पेशा, राजनीति, रुप, रङ्ग, हुँदैन भन्ने जानकारी तपाईंको सम्पूर्ण देश बासी जनतालाई गराउनुहोस् ।


भोलि कसैले पनि कुनै राजनैतिक पहँुचको आधारमा छुट् नपाउन् । एउटी छोरी कतै पनि सुरक्षित देख्दिन मन्त्रीज्यू । एउटी छोरी कतै आफ्नै जन्मदिने बाबाबाट बलत्कृत भएकी छे, कतै दाजुबाट, कतै मामाबाट, कतै हजुरबुबाबाट, कतै काकाबाट, कतै शिक्षकबाट, कतै छर छिमेकीबाट त कतै अन्जान पुरुषबाट । अनि यी बलत्कारी पनि बलत्कारी मात्रै हैन ऊ पनि कसैको छोरा हो । उ कुनै पार्टीको सदस्य हो । उ कुनै हाकिमको आफन्त हो ।

कुनै मन्त्रीको नातेदार हो । उसलाई छुटाउन पैसा र पावरको खोलो बगाउनेको बिगबिगी छ । अनि न्यायालय पनि पैसामा किनबेच हुन्छ किनकी न्यायमूर्तिहरु पनि कहाँ स्वतन्त्र छन् ? उनीहरूले पनि कसैको इसारामा चल्नु पर्छ । सबैभन्दा पहिला उसलाई नेताको फोन आउँछ त्यो फलानो मान्छे मेरो मान्छे हो । त्यसलाई छुटा, हैन भने तेरो सरुवा कर्णालीको बिकट गाउँपालिकातिर पुर्याइदिन्छु । विचरा, के गरुन् न्यायाधीशले लुत्रुक्क परेर धसीदिन्छ सही । अनि वकिल पनि उहीँ समाजको न हो नातावाद र कृपावाद अनि पैसाको थैलो हेरेर वकालत गर्छन् । भए भरको सबुत जुटाएर पानीलाई दूध र दूधलाई पानी बनाउँछन् । अनि अपराधीलाई दूधले धोएर समाजमा निकाल्छन् । गधालाई दूधले नुहाएर गाई कहाँ बन्छ र ? त्यसपछि त्यो बलात्कारी अर्को सिकारको खोजीमा हुन्छ । उसले पÞmेरि अर्को घटना घटाउँछ ।


अपराधीलाई झन आत्मबल बढ्छ । मैले जे गरे पनि केही हुन्न मेरो आफ्ना मान्छे छन् भन्दै अर्को जघन्य अपराध तर्फ अग्रसर हुन्छ । त्यसैले गृहमन्त्रीज्यू, अरुको छोरी बलात्कार गर्नेले भोलि तपाईंको छोरी नातिनीलाई पनि बलात्कार गर्न सक्छ । आज अरुलाई संरक्षण गर्दा भोलि अरुको घरको बिपत्ति तपाईंको घरमा पनि आउँन सक्छ ।

कंचनपुरकी निर्मला मरे जसरी तपाईंको छोरी नातिनीले मर्नु पर्ने दिन नआउला भन्न सकिन्न । किनकी बलात्कारीको कुनै धर्म हुँदैन । आज दैनिक छोरीहरुले बलात्कारको सिकार भएको देखेर तपाईंको मन नदुख्नु स्वाभाविक हो । किनकी अहिले तपाईंमा सत्ता, शक्ति र सम्पति सबैथोक छ अनि तपाईंका छोरी चेलीहरु एकदम सुरक्षित छन् । उनीहरूको अहिले बडिगार्ड छन् तर जब तपाईं पनि आम जनताको रूपमा आउनु हुन्छ अनि अनुभूति हुनेछ मेरी छोरी नातिनी असुरक्षित छन् ।


मेरो बिन्ती छ मन्त्रीज्यू, अपराधीलाई राजनैतिक संरक्षण नदिनुहोस् । तपाईंले तपाईंको मातहतका सबैलाई भनिदिनुहोस् अपराधीको कुनै राजनैतिक पार्टी हुँदैन भनेर । अपराधी र अपराधलाई संरक्षण गर्ने दुबै सजाँयको भागिदार हुन्छन् । भन्ने जानकारी गराउनुहोस् । कानुन किनबेच हुने वस्तु हैन भनिदिनुहोस् । कानुन किन्ने र बेच्ने दलाललाई देश निकाला गरिदिनुहोस् । सानालाई ऐन र ठूलालाई चैन हुने घृणित परिपाटीको अन्त्य गरिदिनुहोस् । बलात्कार र बलात्कार पछि हत्या यदि कसैले गर्छ भने त्यो व्यक्ति मेरै छोरो किन नहोस्, त्यसलाई फाँसी दिनुहोस् ।

यसमा मेरो कुनै गुनासो हुनेछैन । बरु धेरै छोरीहरुले न्याय पाएको महसुस गर्नेछु । तर मन्त्रीज्यू नातावाद र कृपावाद नहटेसम्म फाँसीको सजाँय नल्याउनु होला किनकी दिलिप सिंह बिस्ट जस्ता मानसिक सन्तुलन गुमेका, कोही नभएका निर्दोष छोराहरू फाँसीमा झुन्डिएको म हेर्न सक्दिन । किनकि दिलिपसिँह बिस्ट जस्ता निरीह छोरालाई पनि म जस्तै आमाले जन्म दिएका हुन् ।

राजनैनिक संरक्षण, पैसा र पावरको चलखेल हुने हाम्रो जस्तो मुलुकमा फाँसीको कानुन यदि आयो भने धेरै निर्दोष छोराहरुले अकालमा बिना कसुर मर्नु पर्छ । अनि दोषीहरु फूलमाला लगाएर सदन र सत्ता हल्लएर बस्ने छन् । त्यसैले मन्त्रीज्यू राजनीतिमा भएको फोहोरलाई पूर्ण रूपमा पखाल्नुहोस् अनि कानुनमा लेखिएको तपाईंको एक जना साथीले भनेको (रातो किताब ) मा के के लेखिएको छ खै म त केही जान्दिन भने जस्ता कालो अक्षर भैंसी बराबर हुने हाम्रा हजुर आमा र हजुरबुबाले पनि गणतन्त्रको अनुभुति गर्न सक्नेछन् । कानुनी राज्यको आभाष गर्न पाउनेछन् । हैन भने यसरी नै दैनिक छोरीहरु बलात्कार पछि हत्या गर्दै फालिने र दोषीले उन्मुक्ति पाउँदै जाने हो भने भोलि सृष्टि नै रोकिन सक्छ । कहिँ कतै पनि भोलि तपाईं जस्ता छोरा जन्माउने आमा नपाइन सक्छ ।


सत्य मन्त्रीज्यू म अहिले मेरी छोरी कसैको साथमा छोडेर एक सेकेन्ड कतै जान सक्दिन । मेरी छोरीको बलात्कार पछिको विभत्स हत्या म कसरी हेर्न सक्छु ? आफूले आफ्नै प्राणलाई दाउ लगाएर जन्माएकी मेरी छोरीलाई यदि कसैले छुन त के गिद्धे नजर मात्रै यदि लगाउँछ भने म त्यसको आँखा निकालेर कुकुरलाई खुवाउँछु । बरु मेरो ज्यानै किन नजाओस् । तपाईं पनि त्यसै गर्नुहुन्छ किनकि तपाइँलाई पनि तपाईंको छोरीको त्यतिनै माया लाग्छ । हो, त्यसैले ती अबोध अकालमा मारिएका छोरीहरूको आमालाई पनि त्यतिकै माया लाग्छ । उनीहरू छोरीको न्यायका लागि सडकमा आउँदा तपाईं हाम्रै करबाट हाम्रै सुरक्षाका लागि भर्ती भएका प्रहरीलाई लाठी प्रहार गर्न लगाउनु हुन्छ । अझ त्यतिले नपुगेर गोली हान्नेसम्म आदेश दिनुहुन्छ ।

निर्मला पन्तको न्यायको लागि निस्किएको न्याय प्रेमी छोरालाई तपाईंले बलात्कारीलाई बचाउँदा मार्न लगाउनु भयो । यो हामीले कहाँ बिर्सेका छौ र ? मन्त्रीज्यू, यस्तै खाले राजनैनिक संरक्षणका कारण अहिले बलात्कारको घटनाले विकराल रुप लिएको छ । यदि दोषीले सजाँय पाएको भए अहिले दैनिकी छोरीहरु मारिने थिएनन् होला ।


अन्त्यमा, म के भन्न चाहन्छु भने । अपराधीको कुनै जात, धर्म, पार्टी, पेसा, रुप रङ्ग हुँदैन । उसलाई परिवार र राज्य कसैले पनि संरक्षण दिनु हुँदैन । कानुन नुनको भाउमा बिकाउ हुनुहुँदैन । नातावाद, कृपावाद जस्ता सबैखाले वादको अन्त्य गरिनु पर्छ ।

नातावाद र कृपावादको ठाउँमा मानवतावादको स्थापना गरिनु पर्छ । एउटा छोरीले अर्को छोरा देख्दा बाघ भालु देखे जसरी भागेर हिड्न पर्ने अवस्थाको अन्त्य गरिनुपर्छ । अनि एउटा छोराले एउटी छोरीको अगाडि अपराधी झैँ शिर निहुँर्याएर हिंड्नु पर्ने बाध्यताको अन्त्य हुनुपर्छ । एउटा छोरीले स्वतन्त्र भएर देशको जुनसुकै ठाउँमा घुमफिर गर्न सक्ने परिपाटीको स्थापना तपाइँकै कार्यकालमा हुनुपर्छ ।
उही एक आमा ।