‘चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ –जीवन’

(अश्विनी कोइराला चर्चित साहित्यकार तथा स्तम्भकार हुन् । उनीसँग २० वर्ष ‘कान्तिपुर’ पब्लिकेसन्समा साहित्य विभागमा काम गरेको अनुभव त छँदैछ साथै २ वर्षयता ‘अनलाइनखबर डट कम’ मा साहित्य विभागमा प्रमुख जिम्मेवारीमा कार्यरत छन् । ‘उनी’, ‘जुकरवर्ग क्याफे’,‘प्रेमालय’ र ‘पारिजात’ जस्ता चर्चित कृतिका स्रष्टा कोइराला युवा पाठकहरूले मन पराएका लेखकका कित्तामा पर्छन् । हाल उनी‘ऊ’ नामक पाँचौँ गैराख्यान कृतिको अन्तिम तयारीमा जुटिरहेका छन् । लेखन, सम्पादन र साहित्यिक दौडधूपका व्यस्तता बीच प्रस्तुत छ –साहित्यकार पेशल आचार्यले आख्यानकार कोइरालासँग साहित्य लेखन र समसामयिक साहित्यको अन्तर्य बारे गरिएको रोचक वार्ता – सम्पादक)


यहाँले आफ्नो बाल्यकालकाकेके कुरा सम्झनु हुन्छ ?ऊ बेला यहाँले भोग्नु भएको बालापन रआजका बालबालिकाले भोगेका बालापनमा केकस्ता पार्थक्य पाउनु भएको छ ?
विराटनगरबाट १६ किलोमिटर टाढा भलुवा भन्ने मसेधी वस्तीमा म जन्मिएको हूँ । बुवागाउँमा शिक्षक हुनुहुन्थ्यो । आफूसहित गाउँका केही शिक्षित व्यक्ति मिलेर खोलेको उक्त विद्यालयमा उहाँहरूपढाउनु हुन्थ्यो । एकप्रकारले युवा जोशमा समाज परिवर्तन गर्ने उद्देश्य थियो भन्ने अहिले आएर महसुस हुन्छ । हरेक मानिसले युवा अवस्थामा समाज पविर्तन गर्ने उद्देश्य राख्छ । सायद् बुवाको पनि त्यस्तै उद्देश्य हुनुपर्छ ।
बुवाले शुरूदेखि नै समाजसेवाको उद्देश्य राखेर काम गर्नु भएकाले उहाँले सम्पत्ति जोड्नतिर लाग्नु भएन । समय छँदैछ, कमाउँला नि भनेर आमालाई सम्झाउनु हुन्थ्यो रे ! यो त्यो बेलाको कुरा हो, जब मसहित घरमा उहाँहरूका ४ जना सन्तान भए ।
पैसा कमाउने र बँचाउने योजना बनाउनु अघि नै उहाँलाई त्यही बस्तीको भलुवा खोलाले बगायो । फलस्वरूप एउटा घरबाहेक हामीसँग सम्पत्तिका नाममा केही बाँकी रहेनछ । आमाले बडो दुःखले हामीलाई हुर्काउनु भएको सम्झन्छु । हामी दसैँमा मात्र एकजोर लुगा लगाउँन पाउँथ्यौं । मिठोमसिनो भनेको त्यो बेलाका धेरै नेपालीजस्तै हाम्रो घरमा पनि चाडपर्व आएको बेला मात्र पाक्दथ्यो ।
आज फर्किएर हेर्दा नेपाल विस्तारै माथि गएको महसुस हुन्छ । किनभने आज पनि मसँग बुवाजस्तै पैसा विस्तारै कमाउँला भन्ने सोच छ । तर सामान्य काम गर्दा पनि खान दुःख छैन । यो परिवर्तन होजस्तो लाग्छ । जहाँसम्म मेरो बालापन र मेरा सन्तान या अहिलेका केटाकेटीको बालापनको कुरा गर्दा नसोचेको प्राविधिक र साँस्कृतिक परिवर्तन भएको देख्छु ।


यहाँनेर यो नाम र फेममा आइपुग्न यहाँले केकति मेहनतका पापड बेल्नुभयो ? लेखन सन्दर्भमा रहेर भन्नु पर्दा के भन्नुहुन्छ ?
अको –लेखनबाहेक मेरो कुनै उद्देश्य रहेन । सायद् यही कारण एसएलसी पास भएपछि पैसा पाइने दुग्ध विकास संस्थानको चौथो तहको जागिर छाडेर पैसा नआउने लेखनमा लागेको हूँ । त्यो बेला आमा बेस्सरी रूनु भएको थियो । भन्नुहुन्थ्यो, ‘धेरै दुःख थियो, अब छोरो कमाउने भयो भनेर खुसी हुँदै थिएँ, जागिर छाड्यो । मेरा सुखका दिन नआउने भए । नभन्दै त्यो कुरा सत्य भयो । आजका दिनसम्म पनि आमाका लागि खुसी हुने तरिकाले घरजग्गा जोड्न सकेको छैन । जेजति समय मिल्यो, लेखनमै दिएँ । आज लेखनमा मेरो स्थान कहाँ छ र भोलि मलाई कुन रूपमा सम्झन्छन्, त्यो थाहा छैन । तर आफ्नो सारा जीवन यसैका लागि दिएको छु । पैसा कमाउन सकिनँ भन्ने कुरामा कहिलेकाहीँ मेरी आमाले जस्तै मेरी श्रीमतीलेपनि गुनासो गर्छिन् तर कमाउने दिन आउला नि भन्ने लाग्छ । यसो गर्दा मेरो बुवाको स्वभाव ममा सरेको छ जस्तो लाग्छ ।


आफ्नो समग्र जीवन बुझिसक्नुभयो ?कि अझै बाँकी छन् बुझ्नका लागि जीवनगुत्थीहरू ?
जीवन भनेकै जटिलताले भरिएका घटनाहरू हुन् । जीवन समथरबाट देखिने पहाड जस्तै हो । पर हे¥यो, सुन्दर पहाड देखिन्छ । त्यहाँ गयो, अझ जटिलता र अप्ठ्याराहरू देखिन्छन् । हरेक मानिसलाई हेर्दा उसको जीवन सरल हुन्छ । तर उसँग कुरा गर्दा थाहा हुन्छ, उसले हरेक क्षण ठूला अप्ठ्याराहरूबाट रातदिन संघर्ष गरिरहेको छ ।


आफूले अनुभूत गरेका आधारमा के रहेछ त बास्तवमा मान्छेको जिन्दगी?
शुरूमा यो जीवन भनेको ठूलै कुरा प्राप्त गर्न पाएजस्तो लाग्छ । तर बाँच्दै जाँदा थाहा हुन्छ, जीवनमा प्राप्ति भन्ने कुरा केही हुँदो रहेनछ । अरूले देख्दा केही पाएजस्तो देखिए पनि मानिसले केही पाएको हुँदैन । बरू भएको समय निखिँ्रदै जाने चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ जीवन ।जो केही वर्षको अन्तरालमा चुहिएर सकिन्छ ।


यहाँका प्रकाशित कृतिहरूका बारेमा केही बताइदिनुस् न ।

मेरा पाँचवटा कृतिहरू छन् । दुईवटा अन्तरवार्ता सङ्ग्रह छन् । ती दुवै आफ्नो समयका मूल्यवान् कृति मानिन्छन् । महिलाको विषयमा ‘उनी’ र पुरुषको विषयमा ‘ऊ’ ।एउटा कथासङ्ग्रह ‘जुकरबर्ग क्याफे’ र एउटा उपन्यास ‘प्रेमालय’ प्रकाशन छन् । यी दुवै पुस्तक पाठकले मन पराएपछि म लेखकका रूपमा स्थापित भएको हूँ । एउटा हाइकुसङ्ग्रह ‘पारिजात’ पनि प्रकाशन भएको छ ।


तपाईंलाई आफ्ना मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुनेगर्छ ? तपाईं कुन विधाको लेखक भएर आफूलाई समाजले सम्मान गरोस् भन्ने चाहना राख्नु हुन्छ ?

मलाई लेखकका रूपमा सम्झिँदा हुन्छ । यद्यपि मलाई अन्य कुराभन्दा आख्यान लेख्दा बढी आनन्द आउँछ ।


आफूले अहिले बिताएकोजीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? सन्तुष्ट हुने केही कारणहरू बताउन मिल्छ ?
सन्तुष्टि भनेको आफूभन्दा माथिका मानिसलाई हेरेर होइन, आफूभन्दा तलका मानिसलाई हेरेपछि आउने हो । यस अर्थमा म दुःखी हुने कि सुखी हुने भन्ने कुरा मैले नै निर्धारण गर्नुपर्छ । धेरै वर्षसम्म चर्चित लेखक हुने धूनमा मैले माथिका लेखकहरूलाई हेरेर दुःखी जीवन बिताएँ । जुन दिन मैले सत्य बोध गरेँ, त्यसबेलादेखि आनन्दित छु । अब मलाई ठूलो लेखक हुनै पर्छ भन्ने मानसिक दबाव छैन । यसकारण पनि खुसी छु ।


देश लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा गइसक्यो । मानिसहरू संघीयताका पक्षमा क्रियाशील छन् । यस्तो अवस्थमा ससाना गोष्ठी भेला र साहित्यिक कार्य जे भए पनि या नभए पनि नेपालका आम मोफसलीय साहित्यिक गतिविधिलाईकसरी मूल्याङ्कन गर्नुभएको छ ? साहित्य लेखन र प्रकाशनका सन्दर्भमा अब केन्द्र भञ्जनको स्थिति आउनु पर्ने होइन र ?
हाम्रो समाज शक्तिको पूजा गर्ने समाज हो । किनभने हाम्रो ठूलो पर्व नै दसैँ हो । शक्तिपीठमा जानु हाम्रो संस्कार हो । यही कारण हामी जहाँ शक्ति देख्छौं, त्यहाँ झुक्छौं । झुक्ने मानिसले सधैँ अरूतिर आँखा लगाउने गर्छ । यस अर्थमा देशमा जति सुकै संघीयता, स्थानीयताको कुरा गरे पनि हाम्रो केन्द्र भनेको काठमाडौँ नै हो । हरेक प्रतिभाशाली व्यक्ति माथि जान काठमाडौँ पुग्नै पर्ने बाध्यता छ । त्यही व्यक्ति अरूतिर पूजिने हो । यस अर्थमा जबसम्म प्रतिभाशाली मानिसले गाउँ छाडिरहन्छ र त्यस्ता व्यक्तिलाई पलायन हुन गाउँ–जिल्लाले रोक्न सक्दैन, जुनसुकै राजनीतिक परिवर्तनले पनि केन्द्रभञ्जन सम्भव छैन । यसका लागि राजनीतिक परिवर्तन भएर हुँदैन, व्यक्तिको अन्तःकरण नै परिवर्तन हुनुपर्छ ।


एकथरी मानिसहरू भन्छन् साहित्यमा यौन चाहिन्छ । अनि अर्काथरी मानिसहरू भन्छन् साहित्यमा यौन वर्जित छ । यसरी चलेको बहसमा व्यक्तिगत रूपले साहित्यमा यौनको उपस्थिति कत्तिको आवश्यक ठान्नुहुन्छ ? सार्थक या निरर्थक ? सापेक्ष या निरपेक्ष ?
जसरी यौन जीवनको अनिवार्य अङ्ग हो, त्यसैगरी साहित्यमा पनि यौन अनिवार्य नै हो । साहित्य समाजको अङ्ग, व्यक्तिको चेतनाको साधन हो भने यौन मात्रै किन वर्जित ? साहित्यमा यौन वर्जित हुनुपर्छ भन्ने कुरा पाखण्ड सिवाय केही होइन । बरू यौन श्लील, शिष्ट र शालीन हुनुपर्छ । समाजमा जसरी यसको गोपनीयता र मर्यादाको ख्याल राखिन्छ, साहित्य पढ्दा पनि त्यो भत्केको महसुस हुनुहुन्न । यसको अर्थ जसरी साहित्यले समय अनुसार परम्परागत ढाँचामा परिवर्तन ल्याएको छ, यौन पनि परिवर्तन आएको छ, त्यसको छनक साहित्यमा आउनु पर्छ ।


सम्वत् २०४६ अगाडिका साहित्यिक कृतिहरू र समकालीन साहित्यिक कृतिहरूमा गुणवत्ता, पाठकीय चेत वृद्धि, विक्री, बजार र प्रभावकारिताका हिसाबले कत्तिको फरक पाउनुभएको छ? उल्लेख नै गर्नु पर्दाका अवस्थामा कस्तो स्थिति देख्नुभएको छ ?
मलाई २०४६ अघिको अवस्था थाहा छैन । म गणतान्त्रिक आन्दोलनपछिको लेखक भएका कारण त्यसपछिको कुरा गर्न सक्छु । पछिल्लो छिमलका लेखक लेखेर भात खान सक्ने भएका छन्, जुन पहिले सम्भव थिएन । भन्नुको मतलब लेखेर पैसा कमाउन नसकेका लेखकले पनि अब पहिलेजस्तो भोकै बस्नु पर्ने अवस्था छैन । जसरी श्रमिकले बाँच्नका लागि दिनभरि काम गर्नुपर्छ, लेखकले पनि दिनभरि लेखेर बाँच्न सक्ने भएको छ । नत्र पहिले लेखक आर्थिक रूपमा श्रमिकभन्दा तल थियो । अहिले श्रमिकको बराबर भएको छ ।


तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरूमध्ये ककसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ? नामै किटेर भन्नु पर्दा कोको हुन् ? भित्रैसम्म छोएका वा रमाएर एकै बसाइमा अध्ययन गरिएका कृतिहरू कत्तिका छन्?
वर्तमानमा बढी पढिने लेखकहरू बुद्धिसागर, अमर न्यौपाने, अश्विनी कोइराला, नयनराज पाण्डे, सरस्वती प्रतीक्षा, कुमार नगरकोटी, महेशविक्रम शाह हुन् । मलाई पनि यिनै लेखकका कृतिहरूले छुने गरेका छन् ।


यतिका मान्छेहरूनेपालमा साहित्य लेख्छन् ?तपाईंले नै यसरी परिश्रमपूर्वक साहित्य किन लेख्नु प¥यो? के हो तपाईंको लेखन अन्तर्य ?
हरेक मानिसभित्र कथा छ । त्यो कथा अरूले भन्न सक्तैनन् । त्यसैकारण म लेख्छु । सायद् अरू पनि यही कारण लेख्ने गर्नुहुन्छ ।


अब एउटा नयाँ र अलि विवादास्पद प्रश्नतिर लागौं । उत्तरआधुनिकता भनेको के ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग केकसरी भैरहेको छ ?किन साहित्यकारहरू यो वाद या विचारमा कित्ताकाट गरेर बाँडिएका ? तपाईं कुन कित्तामा रहनुभएको छ ? समर्थन या विरोधमा ?
मलाई कुनै पनि वादमा विश्वास छैन । मैले कुनै वादमा आजसम्म केही लेखेको छैन । म पक्षमा पनि छैन, विपक्षमा पनि छैन । त्यसैले उत्तरआधुनिकता वा अन्य कुनै पनि कुराको बहसमा म उत्रन्नँ । लेखकले लेख्दै जाने हो, समीक्षकले आफ्नो स्वभावअनुसार त्यसलाई विश्लेषण गर्ने हो । यसको अर्थ लेखकले समयको पदचाप नबुझी लेख्छ भन्न खोजेको होइन । मैले पनि आजको समयलाई बुझेको छु । यत्ति हो, यस्तो बहसमा मेरो रूचि छैन ।


यतिको उमेरको भैसक्नुभयो, अबपछिल्लो जीवनमायहाँका मनका धोकाहरू केके छन् ? बताउन मिल्ला?
अको – मैले सानैदेखि प्रेमलाई आधार बनाएर लेखेँ । जसरी जीवनको सही परिभाषा भटिँदैन, त्यसैगरि प्रेमको पनि सही परिभाषा भेट्न सकिनँ । प्रत्येक पल्ट प्रेमको परिभाषा फेला पारेँ भन्ने लाग्छ तर पछि त्यो परिभाषा गलत थियो भन्ने महसुस हुन्छ ।


स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस ? आफ्नो प्रतिविम्बन आफैँ गर्नुहोस् न ?
म असफल मान्छे हूँ । मलाई लाग्छ, कसैले आफूलाई सफल मान्छ भने त्यो या त पागल हो, या बुद्ध । किनभने बुद्धत्व बाहेक सफलताको अर्को मानक छैन ।


विदेशी भूमिमा विभिन्न सानाठूला वैदेशिक काम र भ्रमणमा जाने अनि लामो समयसम्म उतै बस्ने मानिसहरूले लेखिरहेका साहित्य (डायस्पोरा लेखन) लाई तपाईंको दृष्टिबाट कसरी मूल्याङ्कन गर्नु भएको छ ? मानकतालाई ख्याल गरेर लेखिएका छन् या रहर एवम् रोइला÷कुण्ठा मात्र लेखिएका छन् ? नेपाली भूमिबाट लेखिएका र डायस्पोराबाट लेखिएका साहित्यिक कृतिमध्ये कता पट्टिबाट प्रकाशित पुस्तकमा आफूलाई सन्तुष्ट पाउनु भएको छ ? अलि विस्तृत रूपमै बताइदिनुहोस् न ?


नेपाली साहित्य विश्वस्तरको बन्न सकेको छैन । यही कारण नेपाल वा डायस्पोरा कतै पनि गौरव गर्ने खालको साहित्य लेखियो भन्ने अवस्था मैलेचाहिँ देखेको छैन । बल्ल लेखक लेखेर बाँच्न सक्ने भएको छ, कमाउन सक्ने हुन सकेको छैन । लेखेरै कमाउन सक्ने अवस्था आएका खण्डमा कोही पनि विदेश जाँदैनन् । यस अर्थमा डायस्पोरा लेखन स्तरीय मान्दिनँ । केहीप्रयास भएका छन् । धेरै रहरले लेखेका छन् । कुण्ठा त्यसैभित्र पर्दछन् । नेपालमा लेखिने साहित्य पनि त्यो भन्दा फरक नभएकाले यो कुरा बुझ्न ठूलो अनुसन्धान गरिरहनु पर्छजस्तो मलाई लाग्दैन ।


नेपालका रहेका वा चलेका साहित्यिक गुट उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ?
ग्ुाट उपगुट बाध्यता हो । विशेषगरी राजनीतिमा माथिबाटै यस किसिमको व्यवहार गर्न सिकाइन्छ । मैले माथि नै भनिसकेँ, हामी शक्तिका पुजारी हौं । शक्तिकै लागि गुट उपगुट खडा हुन्छन् । शक्तिकै लागि प्रज्ञा प्रतिष्ठानमा कार्य गरिन्छन् । लेखेर कमाउन नसकेपछि लेखकले प्रज्ञा प्रतिष्ठानसम्म पुग्ने र बुढेशकालको बाँच्ने आधार बनाउने काम गरिरहेका छन् । यसका लागि राजनीतिसँग नजिक रहनु वाध्यता हो । र, जहाँ राजनीति हुन्छ, त्यहाँ गुट उपगुट स्वभाविक प्रक्रिया हो ।


नेपालका साहित्यिक संस्थाहरू र पुरस्कार लेनदेनमा गनाएका त्यस्ता संस्थाहरूले एउटा ऊर्जाशील र क्षमतावान् लेखकलाई साहित्य लेख्नका लागि के भरथेग गर्न सक्ने स्थिति छ ?
त्यस्ता संस्थाहरू स्वार्थमा जन्मिएका हुन्छन् र स्वार्थ परिपूर्ति गर्न पुरस्कार दिइन्छन् । यस विषयमा लामो टिप्पणी गर्नु आवश्यक छैन । बरू राम्रा भनिएका पुरस्कारहरू उचित व्यक्तिले पाएनन् भने चाहिँ चिन्ताको कुरा हो । जहाँसम्म लाग्छ, केही संस्थाले अहिलेसम्म अपवाद् बाहेक लाज बँचाएका छन् । गतलको चर्चा गरेर उनीहरूलाई किन ठूलो बनाउने ?


सहरमुखी र विज्ञापनमुखी प्रकाशन गृहहरू अहिलेको नेपाली पुस्तक बजारमा जसरी आएका छन् त्यो प्रवृत्ति विश्लेषणको अलि लामै र छुट्टै पाटो हुन सक्छ । तर उनीहरूको जो आक्रामक उपस्थितिले साहित्य लेखनका लागि लेखकलाई र पठनका लागि पाठकलाई कस्तो दिशानिर्देश गर्दै कतातिर लैजाँदै छन् ?कस्तो लाग्छ तपाईंलाई ?
आक्रमक बजारका कारण पुस्तक पढ्नु पर्छ भन्ने सन्देश गएको छ । पठन संस्कृतिका लागि यो महत्वपूर्ण कुरा हो । पढ्दै नपढी कुन राम्रो कुन नराम्रो भन्ने क्षमता पाठकले छुट्याउन सक्तैनन् । पढ्दै गएपछि कुन राम्रो लेखक, कुन राम्रो पुस्तक थाहा हुँदै जान्छ । त्यसकारण अहिले आक्रामक रूपमा बजारमा आएका प्रकाशन गृहप्रति मेरो आकर्षण छ । रक्सी, चुरोट वा अजिनोमोटोयुक्त चाउचाउभन्दा साहित्यको प्रचारप्रसार राम्रो कुरा हो ।


भाडामा लेखकहरू खडा गरेर नेपाली साहित्यमा आत्मकथा लेखाउने चलन यो दसकमा प्रशस्तै देखिए । केही गैर साहित्यिक व्यक्तिका किताबहरू पनि निकै बिके । चर्चित र विवादास्पद समेत हुन भ्याए । के यो घोष्ट प्रवृत्तिले मौलिक लेखनको प्रवृत्तिलाई मार्दैन ? संसारको अवस्था र हाम्रो अवस्था यो प्रश्नमा कहाँनेर मिल्छ, कहाँनेर मिल्दैन ?
यो प्रश्न नै गलत हो ।संसारभर सबै प्रकारका पुस्तक निस्कन्छन् । पढ्ने संस्कारको विकास हुने यसरी नै हो । कुन पुस्तक राम्रो वा कुन नराम्रो, कुन साहित्यिक कुन गैरसाहित्यिक भन्ने कुरा पाठकले मूल्याङ्कन गर्छ । आजको युगमा पाठकलाई कमजोर ठान्ने, उसलाई यो पुस्तक राम्रो यो नराम्रो भन्ने अधिकार कसैलाई पनि छैन । पाठक आफँै आफ्ना बारेमा सोच्न सक्षम छ । केवल सबै किसिमका पुस्तक पढ्ने वातावरण मिलाउनु पर्छ । आजको यु ट्यूब युगमा तपाईं केही कुरा पनि छेक्न सक्नुहुन्न । यस्तो बेलामा पुस्तकमा मात्र यो र त्यो भन्नु आजको युगलाई बुझ्न नसक्ने अज्ञानीहरूको टिप्पणी मात्र हो ।


नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा कहाँनेर पाउनुहुन्छ ? या नेपाली साहित्य विदेशी साहित्यको दाँजोमा तुलना गर्नै नसकिने स्थितिमा रहेको छ । अलि दिल खोलेर भनिदिनुहोस् न ?
विश्व साहित्य कहाँ छ भनेर नपढेकाहरू नै यो देशका चर्चित लेखक छन् । यस अर्थमा केही अपवाद्बाहेक कुनै पनि नेपाली साहित्यलाई विश्व स्तरको भन्नु अज्ञान सिवाय केही होइन । अध्ययनशील नयाँ पुस्ताहरूबाट त्यस्ता साहित्य आउन सक्ला नत्र लक्ष्मीप्रसाद देवकोटा जस्ता सिद्धहस्त महाकविका पुस्तक पनि विश्वस्तरमा आउन सक्दैनन् ।


तपाईंको आफ्नै प्रकारको मृत्यु चिन्तन छ । त्यस विषयमा केही बताउन मिल्ला ?
मेरो बुवाको मृत्यु हुँदा उहाँ ४१ वर्षको हुनुहुन्थ्यो । मेरो हजुरबुवा ३७वर्षमा जानुभयो । जिजु हजुरबुबा पनि ५० वर्ष नहुँदै भूकम्पमा परेर बित्नु भएको कुरा थाहा पाएको छु । म यतिबेला ४५ वर्षमा पनि बाँचिरहेको छु । यो मेरा लागि आश्यर्चको कुरा भएको छ । यो मलाई बोनसमा पाएको जीवन जस्तै लाग्छ । यही कारण म कुनै राजनीतिक दल, कुनै गुट, कुनै वादभन्दा माथि रहेर आफूले जानेको कुरा निर्धक्क भन्न सक्ने भएको छु । म कुनै पनि बेला मर्न सक्छु भन्ने कुरा मेरा पिता–पुर्खाको इतिहासबाट महसुस गरेका कारण पनि मृत्युको भारले धेरै किचेको छैन । यसको अर्थ मृत्युको डर छैन भन्ने होइन, मैले पनि यो संसार छाड्नु पर्छ भन्ने पीडा कम भएको छ ।


घर परिवारबाट तपाईंको लेखनलाई कत्तिको सपोर्ट मिलेको छ ? आफ्नो पेसा या व्यवसायले तपाईंलाई लेखनमा कत्तिको ऊर्जा मिल्ने गर्छ ? सकारात्मक या नकारात्मक?
हरेक लेखकको घरजस्तै मेरो घरमा पनि मैले पनि पैसा कमाउने तिर लागोस् भन्ने चाहाना छ । केही लेखिरहँदा मेरी श्रीमतीलाई यो लेख्दा पैसा आउँछ कि आउँदैन भन्ने चासो हुन्छ । यो अन्तरवार्ता लेखिरहँदा पनि यसको पनि पैसा आउँछ भनेर ढाँटेर तपाईंको प्रश्नको उत्तर लेखिरहेको छु । यद्यपि उनले लेखेर पाउने सम्मान नजिकबाट महसुस गरेकी हुनाले असहयोग छैन । बरू पैसा नदिने संस्थाका लागि नलेखे हुन्थ्यो भन्ने चाहना चाहिँ छ । उनकै कारण म व्यावसायिक भएको छु ।

लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई व्यावहारिक र खरो सल्लाह के दिन चाहनुहुन्छ ?

हरेक क्षेत्रमा लाग्ने मानिसमा एक प्रकारको पागलपन चाहिन्छ । लेखनमा लाग्ने हो भने म पागल भएरै यसमा लाग्छु भनेर आउनु होला । छिपछिपे पानीमा नुहाएर शरीर त भिज्ला तर नुहाउनुको मज्जा प्राप्त गर्न सक्नुहुन्न । जस्तोसुकै परिस्थितिलाई जित्न सक्छु र मनमा लागेका कुरा निर्धक्क लेख्न सक्छु भन्ने हिम्मत लिएर यो क्षेत्रमा आउनु होला । लेखनलाई सोखको विषय नबनाउनु होला । सोख मात्र पूरा गर्ने हो भने फेसबुकलाई माध्यम बनाउनु होला, पुस्तक लेख्ने कष्ट नगर्नु होला ।


अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
आजभोलि लेखकलाई चिन्ने तर उनीहरूको पुस्तक भने नपढ्ने चलन छ । पुस्तक नै पढ्नु भएको छैन भने उसले भनेका बकवास कुरा पढेर समय किन फाल्नुहुन्छ । किनभने पुस्तक पढेपछि मात्र को व्यक्ति कस्तो भन्ने थाहा हुन्छ । यो अन्तर्वार्ताले पनि धेरै कुरा बुझाउन सक्छ भन्ने लाग्दैन, केवल इसारा मात्र दिन सक्छ ।