अर्धाङ्गिनी र सिपाही

शान्तिसेनाको सदस्य भएर लेबनान गएको वीरबहादुर जिउँदै फर्केको देखेर बाटोमा भेट भएका श्यामे, सुन्दरे हरि दाइ— सबै खुसी भए । तीमध्ये सबैभन्दा बढी खुसीचाहिँ वीरबहादुरकी आमा र श्रीमती भए । ऊ गाउँ फर्कने कुरो एक हप्ताअघि सहरबाट फर्केको सूर्जेले भन्न आइसकेको थियो । त्यसैले अलिअलि खुसी त पहिल्यै भइसकेका थिए तर साक्षात् अगाडि देख्दाखेरिको खुसी— त्यसको परिणामस्वरूप सासू–बुहारी दुवैका आँखाबाट आँसु बग्न थाल्यो ।
वीरबहादुरले आफ्नी आमाको खुट्टा ढोग्यो निधार टेकेर । उसकी स्वास्नीले पनि वीरबहादुरको गोडा ढोगी ।


थाकेकोले पिँढीमै थचक्क बसेर वीरबहादुरले टोपी फुकाल्यो र आमालाई सोध्यो— “सन्चै हुनुहुन्छ आमा ?”
तर आमाले केही जबाफ नदिई उल्टो प्रश्न गरी— “अब त लडाइँमा जानु पर्दैन होला नि, बाबू ?”
“अँ, अब त पठाए पनि नजानू ।” स्वास्नीले थपी ।
—कति आत्मीय संसारमा आइयो— वीरबहादुरलाई व्यथित बनायो । आमा र स्वास्नी— संसारमा यी दुईले जति माया अरू कसैले पनि गर्दैनन् । आजसम्म अरू कसैले नभनेको कुरा भने यिनीहरूले— “अब त जान पर्दैन होला नि लडाइँ खेल्न ? नजानू ।”


सँगसँगै हिँडेको भरिया बल्ल आइपुग्यो र भारी बिसायो । सामान थुप्रै थिए । भारी बिसाएर भरियाले लामो सास फे¥यो । टोपी फुकाल्यो र टोपीले नै अनुहार पुछ्यो— “खोइ, पानी खाऊँ न आमै !”
बूढीले बुहारीतिर हेरी । बुहारी भित्र गई पानी लिन ।
बूढीले भरियालाई सोधी— “बाबूको घर कहाँ नि ?”
“तीँ तल हो फेदीमा ।”
बुहारीले पानी लेराई । भरियाले पानी पियो, आफ्नो ज्याला लियो र नमस्ते गर्दै ओल्र्यो तल फेदीतिर ।


“छोरालाई दूध तताइदे न बुहारी ! तात्तातो दूध पियो भने थकाइ मेटिन्छ नि !”
“अनि मेरो पुन्टे खोइ त आमा ?”
“मामाघर गएको छ बाबू त्यो त । म सुदर्शनलाई लिन पठाइदिन्छु आजै । भोलि त ल्याइहाल्छ नि !”
पुन्टे भनेको वीरबहादुरको छोरोको नाम हो । पाँच वर्षको भइसकेको छ । जहिले पनि आफ्नी स्वास्नीबाट टाढा सहरमा रहने वीरेले कसरी छोरा जन्मायो— यो कुरा वीरेकी स्वास्नीलाई बाहेक अरूलाई थाहा छैन । तर वीरेलाई के थाहा छ भने— छ वर्षअघि दशैँमा एकपटक ऊ गाउँ आएको थियो ।
त्यसपछि अर्को वर्ष स्वास्नीले छोरो जन्माएको सुनेर सहर बसेर वीरे खुसी भएको थियो । खुसी भएर गाउँ आएको थियो र पुन्टेलाई हेरेको थियो । कत्रो भयो होला त्यो अहिले ? कस्तो भयो होला त्यो अहिले ?


“जाऊँ जाऊँ भित्र जाऊँ । यसो पल्टी आराम गर् । दूध खा तात्तातो ।” आमाले छोरालाई स्नेहपूर्वक भनी ।
छोरो घरभित्र गयो । आमा पनि गई र बुहारीले एक–एक गर्दै सबै सामान लगी । छालाको ठूलो बाकस, त्यसपछि अलि सानो बाकस, झोला अनि गुन्टाजस्तै लगी । कपडाको पोको— सबै सबै माथि मटानमा गए । वीरे लुसुक्क ढल्क्यो गुन्द्रीमा । बुहारी अनि दूध तताउन चुलोतिर लागी ।
एकछिनपछि बुहारीले तातो दूध गिलासमा राखेर लेराई ।
तातो बाक्लो दूध पिएपछि वीरे अलि तङ्ग्रियो । भन्यो— “सहरमा त यस्तो शुद्ध दूध खान पाइँदैन । मेसिनले बनाएको दूध मात्र खानुपर्छ । आहा ! गाईको दूध त क्या मीठो !”
त्यसपछि वीर पलेँटी कसेर बस्यो र बाकस खोल्यो ।
“यो आमालाई” भन्दै बाकसबाट एउटा बाक्लो ऊनी स्वेटर झिक्यो उसले ।
आमा दङ्ग परी ।
“यो पनि आमालाई ।” अर्को खास्टो निकाल्यो ।
आमा झन् दङ्ग परी— “यो कहाँबाट, लडाइँ गर्न गएको ठाउँबाट ल्याएको हो ?”
“त्यो ठाउँबाट त होइन, बाटोमा पर्ने ठाउँबाट ल्याएको हुँ ।”

“आः केलाई ल्याउनुपथ्र्यो त ?”
भन्न त वीरबहादुरले भन्यो ‘बाटोमा पर्ने ठाउँबाट ल्याएको हुँ’ भनेर तर विदेशबाट चाहिँ होइन । विदेशबाट ल्याएका सामानहरू उसले काठमाडौँका पसलहरूमा लगेर बेचेको र त्यही पैसाबाट काठमाडौँका सस्ता सामानहरू किनेर ल्याएको कुरो कसलाई थाहा छ र ? विदेशबाट ल्याएको त ऊसँग खालि एउटा सुनको पातलो सिक्री मात्र बाँकी छ । त्यो उसले आफ्नी स्वास्नीलाई दिन भनी खल्तीमा राखेको छ ।


विचार गरेको थियो— ‘उसकी स्वास्नी कति जाती छे । सासूको हेरविचार गरी एक्लै बस्न सकेकी छे गाउँमा । कहिल्यै कुनै किसिमको सिकायत गर्दिन ऊ । त्यस्तीलाई सुनको गहनाजस्तो मूल्यवान् वस्तु लग्नु नै राम्रो हुनेछ ।’
वीरबहादुरले अनायासै काठमाडौँका वेश्याहरू सम्झ्यो, कतिसँग सुतिसकेको छ ऊ । यो बिचरी स्वास्नीलाई के थाहा ? यसो साथीहरू जम्मा भएर मिलाउँथे केही वेश्याहरू । अनि साथीको डेरामा रमाइलो गर्थे । रमाइलो यस अर्थमा कि सिपाहीको नीरसलाग्दो जिन्दगीबाट अलि पर गएर रक्सी पिउँथे, सिपाहीको पट्टाइलाग्दो जिन्दगीबाट अलि पर गएर वेश्या नङ्ग्याउँथे र अँगालो मार्थे । युद्धको विभीषिकाबाट फुत्केर अचानक काठमाडौँ ओर्लंदा त्यस्तो रमाइलो धेरै गरेको थियो उसले । ‘यस्तो रमाइलो उसकी स्वास्नीले के भोगेकी होली ? बिचरी ! जहिले लोग्ने आयो गाउँमा, अनि मात्र सायद् ऊ यस्तो रमाइलो गर्ने मौका पाउँछे । हेर न आज पनि कति रसिलो आँखा लिएर मलाई हेर्दै छे । छ वर्ष भयो लोग्ने नभेटेको, यति पतिव्रता स्त्रीलाई मचाहिँ पथभ्रष्ट भएर धोका दिँदै छु !’ सोचेर वीरबहादुर थक्कथक्क भयो ।

पँधेरा जाँदा, गोठालो जाँदा जहिले पनि बाटोभरि जिस्क्याइरहन्थ्यो प्रधानको छोरो । एक दिन स्याउलापात टिप्न बनमा जाँदा त समाइ पनि हाल्यो पाखुरामा र त्यहीँ भुइँमै सुतायो मोराले ।


‘यस्तो सोझो इमानदार लोग्नेलाई हरे ! म धोका दिँदै छु ।’ —साँझ पर्दै आएपछि चुलोमा भात पकाउँदै सिपाहीकी अर्धाङ्गिनीले पनि यस्तै सोची ।
‘लोग्नेले आफ्नो तिर्खा कसरी दबाएर राखेको होला । यति धेरै वर्ष भेट हुँदैन आफ्नी स्वास्नीसँग । मलाई कस्तो इमानदार भनी सोचिराखेको होला उसले । मलाई गाउँको प्रधानको छोरोले बिटुलो बनाइसकेको कुरा उसलाई के थाहा ?’
पँधेरा जाँदा, गोठालो जाँदा जहिले पनि बाटोभरि जिस्क्याइरहन्थ्यो प्रधानको छोरो । एक दिन स्याउलापात टिप्न बनमा जाँदा त समाइ पनि हाल्यो पाखुरामा र त्यहीँ भुइँमै सुतायो मोराले । त्यसपछि बाटो खुलेजस्तो भयो । प्रायःजसो बनमा आउन थाल्यो, एकान्तमा । पछि झ्यालको बाटोबाट घरको कोठाभित्र पनि पस्न थाल्यो ।
टोक्थ्यो, चिथोथ्र्यो, चाट्थ्यो— के गथ्र्यो गथ्र्यो प्रधानको छोरोले उसलाई, नशाले झैँ मात लगायो ।
‘प्रधानको छोरो सहरमा पढेर आएको, सबै जानेको थियो त्यसले । बच्चा नहुने कुन्नि त्यसले कहाँ, के औषधि राख्थ्यो । कहिल्यै बच्चा हुने झन्झटमा पनि परिएन ।’ —सोच्दासोच्दै वीरेकी स्वास्नीलाई पनि थक्कथक्क लाग्यो— ‘धत्तेरी !’
‘कति सामानहरू ल्याइदियो लोग्नेले मलाई— फरिया, चोलो, ओढ्ने । त्यस्तो माया गर्ने लोग्नेलाई पनि किन धोका दिएकी होला मैले ? बिचरो ! कत्ति खरिएर आएको होला सहरबाट । जे गर्छ गरोस्, केही भन्दिनँ म उसलाई ।’
यस्तै सोचाइहरूमा भात पाक्यो, दाल पाक्यो, तरकारी पाक्यो । सधैँ ढिँडो र गुन्द्रुक पाक्ने चुलोमा आज एक्कासि भात, दाल पाक्यो— चुलोलाई पनि सायद गजब लाग्यो ।
दिनभरि उकालो चढेर आएको वीरबहादुरले त्यो छाक धेरै भात, दाल, तरकारी खायो । छ वर्षअघि आउँदा वीरेले ल्याएको मैन्टोल बूढीले भण्डारकोठाबाट झिकी । त्यो बाल्यो उसले । सधैँ टुकी र लालटिनको उज्यालो मात्र पाएको त्यो घर मैन्टोलको उज्यालोमा मुसुक्क मुस्कायो ।
घरधन्दा सकेर वीरेकी स्वास्नी सुत्ने कोठामा आउँदाखेरि वीरे मैन्टोलको उज्यालोमा खल्तीका कागतपत्रहरू हेर्दै थियो ।
“किन आजै हेर्नुपर्छ कागतहरू ? थाक्नुभएको होला । सुते हुन्थ्यो नि !” स्वास्नीले भनी ।
वीरे एकपल्ट ऊतिर हेरेर मुसुक्क हाँस्यो आत्मीयताले । झोलाको एउटा कुनाबाट केही नोटहरू निकालेर उसलाई दियो ।
“ल, यो तिमी राख । मन लागेका चीजहरू किनेर खानू ।”
“आः केलाई चाहिन्छ मलाई पैसा ?” भन्दै लोग्नेसँग टाँसिएर बसी ।
ऊ टाँसिनु के थियो, वीरेलाई सनक चढिहाल्यो । उसले कागतपत्र र नोटलाई एकातिर राख्यो र स्वास्नीलाई अँगाल्यो । बल्ल एकान्त पाएका थिए यिनीहरूले । स्वास्नी पनि जे गर्छ गरोस् भन्ने पक्षमै थिई । डङ्ग्रङ्ङ ओछ्यानमा पल्टिदिई । वीरेले आफ्नो ओठ बिस्तारै स्वास्नीको ओठतिर बढायो । राम्ररी चुठेकी रहिनछ क्यार, स्वास्नीको मुखबाट अघि खाएको तरकारीको गन्ध गएको रहेनछ । वीरेको ओठ म्वाइँ नै नखाई पर स¥यो ।
वीरेले खल्तीबाट अघिको सुनको सिक्री झिकेर स्वास्नीको घाँटीमा लगाइदियो ।
स्वास्नी त खुसीले पागल भई— “आबुइ ! सुन पनि ल्याइदिया रहेछ !”
“अब के त, एक्लै यत्रो घरव्यवहार, आमा, छोरा सम्हाली हेरविचार गरी बसिरहेकी छ्यौ । यति पनि नल्याइदिए त के र !

स्वास्नीलाई आफ्नो सर्वाङ्ग चिसो भएको अनुभव भयो । ‘यस्तो रातमा त प्रधानको छोरोले झ्याल खुलाउनका लागि सिटी बजाउँछ । झ्यालमुनि ढुकिरहेको हुनुपर्छ बजिया !’


“अब के त, एक्लै यत्रो घरव्यवहार, आमा, छोरा सम्हाली हेरविचार गरी बसिरहेकी छ्यौ । यति पनि नल्याइदिए त के र ! अरू कति साथीका स्वास्नीहरू त पोइल जान्छन् । थाहा छ ? तिमी केवल मेरै निम्ति जीवन धान्दै बसिरहिछ््यौ” लोग्नेको यत्रो प्रेम देखेर स्वास्नी ग्लानिले पानी भई ।
सिक्री लगाइदिने निहुँमा वीरेले आफ्ना दुवै हात स्वास्नीको छातीमा लगेर थपक्क राख्यो । स्वास्नीलाई काउकुती लगाएजस्तो भएछ— फत्र्य्राक्फुत्रुक गर्दै हाँस्न थाली ।
स्वास्नीको यस्तो अभिनय मन प¥यो वीरेलाई । बिस्तारै उसको चोलाका तुनाहरू फुकाल्न थाल्यो । आफ्नो ओठले स्वास्नीको ओठबाहेक अरू सबै ठाउँ— पेट, घाँटी, तिघ्रा, छाती— जताततै म्वाइँ खान थाल्यो । ओठमा म्वाइँ खाएन यस कारणले कि त्यहाँ तरकारीको गन्ध आउँथ्यो ।
यति नै खेर घरबाहिर अचानक कसैले सिटी बजाएको आवाज आयो । स्वास्नीलाई आफ्नो सर्वाङ्ग चिसो भएको अनुभव भयो । ‘यस्तो रातमा त प्रधानको छोरोले झ्याल खुलाउनका लागि सिटी बजाउँछ । झ्यालमुनि ढुकिरहेको हुनुपर्छ बजिया !’
आफ्नो लोग्नेतिर हेरी । स्वास्नीको नरम तिघ्रामा गाला जोडेर उसले आँखा चिम्लेको थियो । उत्तेजनाले उसको अनुहार रातो भएको थियो ।
बाहिर फेरि चर्को आवाजमा सिटी बज्यो । के गर्ने, के गर्ने— अलमलमै हात कमाउँदै वीरेकी स्वास्नीले मैन्टोलको हावा फुस्काइदिई । छुस्स गर्दै मैन्टोल निभ्यो ।
कोठा अन्धकार भएको तत्कालै बाहिर सिटी बज्न बन्द भयो ।
।।समाप्त।।