एउटा काहालीलाग्दो जिन्दगीको वास्तविकता, न आफैं कमाउन सक्छन् न कामाउने नै कोही छ (भिडियो सहित्)

असोज २८, प्रकाश /कुमार।


बर्खाको महिना, झमझम पानी परिरहेको समय छ । यो समयमा प्रकृति यति मायालु बनेको छ कि, लाग्छ धरति यतिबेला रजस्वला भएको छ । धरतिले काँचुली फेरेको बेला हो यो भन्छन्, कवि मन भएका कलमजीविहरु यसलाई ।


चारैतिर डाँडाकाँडा कुहिरो र तुवाँलेले ढाकिएका छन् । हेर्दा प्रकृतिले घुम्टो ओडेको जस्तो देखिन्छ । घुम्टोभित्र यो धरति यसरी लुकेको छ, जहाँ धरति र आकाशको लुकामारी चलिरहेको छ । रातो माटोको पृष्ठभूमिमा आकाशका अप्सराले प्रयोगगर्ने अत्तरको थोपा चुहिएझैं लाग्ने गरी पानी बर्षिरहेको छ, तप्प तप्प, तप्प ।


आकाशको पानीले धरतिलाई पनि अन्याय गरिरहेको झैं लाग्छ काहीँकाहीँ त । एउटै धरतिको आँचलमा पनि कतै हरियो रंगले आफूले आफैंलाई सिँगारेको छ त कतै रातो रंगले । सर्सर्ती हेर्दा लाग्छ, हरियो रंगले प्रकृति आफूलाई जीवनवादी भएर देखाउन चाहन्छ भने कतैकतै चाहिँ क्रान्तिवीर ।

तस्वीर : लठ्ठी साहारामा अाफूलाई उभ्याउँदै म्हेम्बर । जनता भ्वाइस ।


दर्शकहरु, आज हामी यही प्रकृतिमा रहेर रमाएका एकजना व्यक्ति, जो जीवन विहिन जीवन जसोतसो जिउँदै गरेका छन् । उनै एकजना पात्रलाई यहाँहरुको माझमा प्रस्तुत गर्ने जमर्कोमा छौं । यहाँहरुले पृष्ठभूमिमा देखिरहनु भएका व्यक्ति वास्तवमै जीवनले ठगेका पात्र हुन जस्तो लाग्छ ।
रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. ९ सिमन्तीमा बसोबास गर्ने म्हेम्बर तामाङको दर्दनाक अवस्था यहाँहरुको माझमा देखाइरहेका छौं । यतिबेला ५२ वर्षको उमेरमा हिँडिरहेका छन् म्हेम्बर आजका दिनसम्म । जन्मेको ६ वर्षको चञ्चलतापूर्ण अवस्थामा उनी जीवन रहेसम्मका लागि अपाङ्ग बनेको बताउँछन् । २०२५ सालको त्यो परिवेशले उनको जीवनमा जीवनको रंग त भर्यो तर रंग भरेको ६ वर्ष अर्थात् २०३१ सालको साउन महिनामा उनको उही जीवनको आधा रंग नियतिले खोसेर लाग्यो, जीवनलाई अपाङ्ग बनाइयो ।


उपचारका लागि बिराटनगर र धरानका अस्पतालमा त्यो बेलामा डोकोमा बोकिएर धाउँदा पनि उनको अवस्था नसुध्रिएको म्हेम्बरको भनाई छ । यतिबेला तामाङ दुबै गोडलाई टेकेर सामान्य मान्छे जस्तो उभिन सक्दैनन् । २ वटा लठ्ठीको साहारामा आफूलाई यताउता लैजाने गरेका छन् । आफूलाई धेरै माया गर्ने आमालाई पनि तामाकोसी र सुनकोसीको संगम बेनीघाटले खाइदिएको छ । आमाको यादमा बाबुको साहाराले बाँचेको भए पनि १० वर्ष अघि आफ्नो बाबुलाई गुमाउँदा भने साँच्चै पीडा भएको बताउँछन् ।


विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पले तामाङ्को १ तले घरलाई पनि ढाल्यो । घर ढलेसँगै आफ्नो साहारा र बासस्थान दुबै ढालिदिएको त्यो बेलामा तामाङ्लाई लागेको रहेछ । राज्यले भूकम्पमा छाप्रा भत्किएका तथा पहिले नै भग्नावशेष भएका र बास नै सिद्धिनेगरि भत्किएका आवासलाई पनि एउटै डालोमा हल्यो र आवास पुनर्निमाणको लागि ३ लाख दिने घोषणा गर्यो ।
यता म्हेम्बरको घर पनि सरकारले हालेको ३ लाखको डालोमा गुट्मुटिएर कोचरियो । उनले आफ्नो बास बनाउन ३ लाख पाए । ३ लाख त पाए, तर उनले पाएको ३ लाख उनलाई बालुवामा पानी खन्याय जस्तै भएको उनले हामीसँग बताएका छन् ।

आफूले अपाङ्ग भत्तास्वरुप पाएको रकम र आफ्नै जग्गामा टेलिफोन कम्पनी एनसेलले टावर बनाएर महिनावारी दिने २–२ हजार रुपैयाँ बचाएर राखेको रकमबाट ३ लाख गरी ६ लाखमा २ कोठे भवन बनाएका रहेछन् । एनसेलले टावर राखे पनि त्यसको नियमति देखभालका लागि कुनै शुल्क नलिई त्यो बापत् सोही टावरले व्यहोर्ने गरी २ वटा बत्ती बालेको भएपनि हालका दिनमा सो बत्ती पनि कटौती गरिदिएकोमा उनले निकै दुःख व्यक्त गरेका छन् ।

तस्वीर : अाफ्नाे घरकाे पेटीमा बसेका म्हेम्बर । जनता भ्वाइस ।


भवन त बनाए, तर त्यो भवनलाई सिँगारपटार गर्ने काम अहिलेसम्म सकिएको छैन । नयाँ बनाएको घरमा न झ्याल हालेको छ, न ढोका नै । चार भित्ता र छानो मात्रै ठड्याएको घरमा कुनै फिनिसिङ गरिएको अवस्थामा छैन ।


उनी आफ्नो आगामी जीवनको बारेमा सोच्दा रहेछन् । हिजोको जीन्दगीमा आएका चुनौतिलाई सामना त म्हेम्बरले गरेरै आजका दिनसम्म आइपुगे । तर भोलिको जीवन कस्तो बन्ला भन्ने चिन्ता उनको मनमा मडारिने गरेको उनले हामीलाई बताएका छन् । एकमुठी तातो पानी पनि भोलिका दिनमा दिने कोही नहुने कुराले उनलाई निकै सताउने गरेको छ ।


म्हेम्बरका आफ्ना धेरै समस्याहरु छन् । उनी राम्ररी हिँड्न सक्दैनन् । सुत्नेघरदेखि भान्छाघरको यात्रा उनको लागि निकै कष्टकर हुन्छ । दुबै हातले लठ्ठी टकेकर त्यही लठ्ठीको साहारामा कान्ला उक्लिनु पर्दाको पीडा उनलाई सहिनसक्नु हुने तामाङ बताउँछन् । हत्केला र घुँडाका छालाहरु घोटिएर १० बाली काँधमा जुवा राखेर जोती बुढो भएको गोरुको काँध जस्तो भएको देख्दा मन अमिलो हुने अवस्था छ ।


उनी आफ्नोलागि भन्दा अरुका लागि सहित् हुने समस्या बताउँछन् । उनलाई आफ्नो घरमा झ्याल र ढोका नभएकोमा चिन्ता छैन । चिन्ता छ त केवल, गाउँमा भएको खानेपानीको समस्याको मात्र । आफूलाई एनसेल टावरले दिएको २ वटा बत्तिको लाइन समेत काटिए पछि आफ्नो जीवन दिउँसै अंध्यारो भएकोमा अब त राती पनि अध्यारो भएको बताउँछन् । उनलाई यतिबेला बिजुरीको बेहद् खाँचो छ, तर कसले दिने ? गरीब, दुखीको साहारा यो स्वार्थी दुनियाँमा को हुने रहेछ र ? गरिब दुखीको साहारा भनेको भगवानलाई मानिन्छ । तर त्यो पनि नदेखिने भएर हिँड्छ होला, बोल्न नसकेर लाटो भएको होला ।


उनी शरीर अपाङ्ग भएपनि दिमागका भने असाध्यै सबल देखिन्छन् । उनको बुझाई निकै उच्च कोटिको छ । उनले आफ्नो शारीरिक अवस्थाको कारणले पढ्न नपाए पनि जीवनकालको मध्यविन्दुमा भने प्रोढ कक्षा पढ्न पाएका रहेछन् । आफूले पढ्न पाएको प्रौढ कक्षामा जीवनवादी शिक्षा पाएका रहेछन् भन्ने अनुमान हामीले पनि गर्न सक्यौं । समाजिक कुलतका विषयमा उनको बुझाई असाध्यै उच्चस्तरीय रहेछ । केही समय गाउँमा नै पढेको प्रौढ कक्षाको कारण उनी यतिबेला आफ्नो नाम कनीकुथी लेख्न सक्ने भएछन् । प्रौढ कक्षाको पढाईको कारणले उनी आफूमा धेरै परिवर्तन आएको बताउँछन्


उनको जीवनमा धेरै चुनावहरुलाई उनले व्यहोरेका छन् । देशमा भइरहने हरेक चुनावहरुले कतै न कतै गरिब, भोका तथा दीनदुखीहरुको मर्मको भावलाई बोल्ने गर्छ भन्ने विश्वव्यापि मान्यता छ । यही मान्यतालाई आत्मसाथ गर्दै आफ्नो गरिबी, दुखदायी अवस्थाको अन्त्य होला भन्ने आसमा उनले पनि पटकपटक कुनै न कुनै राजनैतिक पार्टीलाई भोट हालेका छन् । भोट किन हाल्नु पर्छ भन्ने पनि उनलाई उनको स्तर पर्याप्त बुझाई रहेछ । आफूले अघिल्लो चुनावमा कसलाई भोट हालें भन्न पनि उनी हिच्किचाउँदैनन् । पछिल्लो समयमा भएको संघीय राज्य व्यवस्थाले उनको चेतनामा सामाजिक परिवर्तन ल्याउनुपर्छ भन्ने छाप छोडेको रहेछ ।


रामेछापका सहयोगी मन (रामस) ले मन्थलीमा संचालन गरेको फुडबैंकको काउन्टर सेवा भन्दा बाँकी समयमा गाउँगाउँमा भएका असाहय, अपाङ्ग, वृद्धवृद्धा सहयोगमुखी राहत वितरणमा रासमले पहिलो पटक भेटेको हो म्हेम्बरलाई । रासमले म्हेम्बरलाई १ बोरा चामल, १ लिटर तेल, ४ केजी दाल, २ केजी नुन र १ केजी सोयाबिन वितरण गर्न जाँदा गरेको अनुभव हामीलाई रासम सदस्यद्वय जय मानन्धर र विपिन भट्टराईले बताएपछि उनको अवस्थालाई बुझ्न हामी पनि लागेका हौं सिमन्ती तर्फ ।


तामाङ्को त्यस्तो अवस्थालाई देख्दादेख्दै रिपोर्टिङ्को लागि मात्रै क्यामेरा तेस्र्याउन मात्र जान हामीलाई पनि मन लागेन । जसरी रासमले दाताले दिएको सहयोगलाई न्ययोचित वितरण गरी गरिब दुखीको सेवा गरिरहेका छ, त्यसरी नै हामी पनि उनलाई सहयोग जुटाउन तर्फ लाग्यौं । सहयोग खोज्दै जाँदा युवा व्यवसायी हरेराम बस्नेत, जो मन्थलीको बसपार्कमा सुनापति बेकरी फुड प्रोडक्ट संचालन गरी बसेका छन् । उनलाई हामीले तामाङ्को बारेमा बतायौं । बस्नेतले आफूले आफ्नो तर्फबाट सक्नेजति करिब २ हजार बराबरको बिस्कुट तथा बेकरी खाजा आइटमको पोको पारिदिए । त्यही पोकोलाई हामीले पनि उच्चकोटीको सहयोग मानी स्वीकार ग¥यौं ।


बस्नेतले खाजाको बन्दोबस्त त गरिदिए । अब उनको हातमा केही रकम पनि राखिदिन पाए उनी झनै खुशी हुनेथिए भन्ने आंकलन हाम्रो टिमले फेरि ग¥यो । त्यसको लागि पनि दाता खोज्ने काम भयो । पैसाको माम्लो, आफूसँग भएको रकम सजिलै त कसले दिन्थ्यो र ? धेरै व्यक्तिहरुसँग सहयोग माग्दै गर्दा हामी पुग्यौ, रामेश्वर पाण्डेसँग । पाण्डे यतिबेला रामेछाप जिल्लाको ट्राफिक प्रहरी प्रमुखको रुपमा कार्यरत् राष्ट्रसेवक हुन् । उनलाई हामीले तामाङ्को बारेमा बतायौं र हामीहरुको योजना सुनाउनासाथै उनले अबिलम्ब आफूसँग भएको ३ हजार रुपैयाँ हाम्रो हातमा थमाइदिए । यसले त हामीलाई झनै हौसला मिल्यो ।


हामी २ जना महान मनकारी दाताले दिनुभएको सहयोगको पोको बोकेर सिमन्ती पुग्यौं । जब हामीले तामाङ्लाई सो सहयोग हस्तान्तरण ग¥यौं तब उनको अनुहारमा अलग्गै किसिमको आभा प्रष्ट देख्द सकिन्थ्यो । हेर्नुस् न पाठकवृन्द, अभावमा बाँच्नेहरुका लागि सानो सहयोग पनि कति मूल्यवान हुँदो रहेछ ।


यतिराम्रो प्रकृतिको सिर्जना । यही मनमोहक सिर्जनाको मोहकता कता हो कता आनन्दमय बन्ने गर्दछ । तर यता यस्तै प्रकृतिको मोहकतामा मुर्झाएका म्हेम्बरहरु हाम्रो समाजमा धेरै छन् । यस्ता अनगिन्ती म्हेम्बरहरुलाई हामी खोजी गर्दैछौं । हामी त एक माध्यम मात्रै हौं । म्हेम्बरलाई बिना स्वार्थ सहयोग गर्ने रामेश्वर पाण्डे जस्ता कुशल प्रहरी रत्न देखि समृद्ध नेपाल बनाउने अभियानमा आफ्नो तर्फबाट योगदान गर्दै र राज्यलाई कर तिर्दै आइरहेका हरेराम बस्नेत जस्ता मनकारीहरुलाई हामी पनि अत्यन्तै आदरपूर्वक सम्मान व्यक्त गर्दछौं ।

म्हेम्बरको ढोका सम्म पुग्ने गोरेटो निर्माण गरिदिने रासम परिवार पनि उत्तिकै धन्यवाद्को पात्र हाम्रालागि बनेको छ । जिल्लामा भएका अन्य यस्तै असाहय गरिब दुखी हरुको लागि हामी सेवाभावले खटिँदा आउने तपाईंहरु सँगै हो फेरिपनि । यस्तो अवस्थामा आफ्नो तर्फबाट सहयोग गर्न यहाँहरुले ठूलो मन पारिदिनु पर्छ है पाठकवृन्द ?