‘छँदाखाँदाको छोरालाई ललाई फकाई मन्थली लगे । काम लगाइदिए जस्तो गरे र मारिदिए ।’ (भिडियाे सहित्)

कार्तिक ३ । सविना कार्की, रामेछाप ।
जनता भ्वाइस डट्कमको समन्वयमा मन्थली ३ की एकलमहिला तीर्थमाया रोकालाई सहयोग हस्तान्तरण गरिएको छ । केही दिन अघि रामेछापका सहयोगी मन (रासम) ले मन्थलीमा संचालित फुडबैंक मार्फत खाद्यान्न सहयोग गरेसँगै जनता भ्वाइस डटकमले खाद्यान्न तथा आर्थिक सहयोग गरेको हो ।


नजिकिँदो दशैंमा गरिब बिपन्नको ओठमा मुस्कान भर्ने अभिप्राय स्वरुप रोकालाई रामेछापका व्यवसायीहरुसँग समन्वय गरी सहयोग रकम हस्तान्तरण गरिएको जनता भ्वाइसका प्रधान सम्पादक प्रकाश न्यौपानेले बताएका छन् ।


रोकालाई सहयोग गर्नका लागि रामेछाप उद्योग वाणिज्य संघका महासचिव नवराज ढुङ्गेलले पाँच हजार रुपैयाँ, त्रिशक्ति फिड उद्योग सूर्य पोल्ट्रीफर्मका संचालक खेटबहादुर सुनुवारले ३ हजार रुपैयाँ गरी कूल ८ हजार रुपैयाँ नगद सहयोग गरिएको हो । रामेछाप उद्योग वाणिज्य संघका महासचिव ढुङ्गेल जिल्ला बाहिर रहेको अवस्था भएपनि जनता भ्वाइसले सहयोग गरिदिन गरेको अनुरोधलाई सहर्ष स्वीकार्दै आफ्ना सहयोगी मार्फत उक्त रकम प्रदान गरेका हुन् ।


त्यस्तै मन्थलीमा संचालित लोकप्रिय बेकरी सामग्री उत्पादन गर्ने उद्योग सुनापति बेकरी उद्योगले १५ प्याकेट बिस्कुट पनि सहयोग गरेको छ । विगतका दिनमा जनता भ्वाइसले रामेछाप ९ सिमन्तीका म्हेम्बर तामाङ्लाई सहयोग प्रदान गर्दाको समयमा पनि करिब २ हजार रुपैयाँ बराबरको बिस्कुट सहयोग गरिसकेको छ । भोकमा नै निदाउने वास्तविकता भएका वर्गलाई सहयोग गर्न पाउँदा आफूलाई निकै गर्वानुभूति हुने उक्त उद्योगका प्रोपाइटर हरेराम बस्नेत बताउँछन् ।


मन्थली नगरपालिका वडा नं. ३ डाँडागाउँमा दुखजिलो गर्दै बसेकी रोकाको ४ वर्ष अघि श्रीमानको निधन भएको थियो भने २ वर्ष अघि तामाकोसी नदीमा डुबेर उनका १४ वर्षे छोराको समेत मृत्यु भएको छ । यद्यपि रोका आफ्नो छोराको तामाकोसी नदीमा डुबेर मृत्यु भएको नभई अरु कसैले मारिदिएको आरोप लगाउँछिन् । उनी भन्छिन्, ‘छँदाखाँदाको छोरालाई ललाई फकाई मन्थली लगे । काम लगाइदिए जस्तो गरे र मारिदिए ।’ रोका रुँदै भन्छिन् ।


गत शुक्रबार जनता भ्वाइसको टिमले उनको घरमै पुगेर उनलाई दाताले दिएको सहयोग रकम र सामग्री हस्तान्तरण गरेको हो । समाचार संकलन गर्नु मात्र नभई गरिब बिपन्नको दुःखमा सरिक हुनु पनि पत्रकारिताको व्यवहारिक मर्म हो । सोही बाटोमा हिँड्न मात्र जनता भ्वाइस कोसिस गर्दैछ ।’ सहयोग हस्तान्तरणको बारे छोटो प्रतिक्रिया दिँदै अध्यक्ष कुमार श्रेष्ठ बताउँछन् ।