रात (कविता)

नवीन मनाेहर

कहिल्यै नबोल्ने
मानिस जस्तो
गजधुम्म परेर
वर्षौं वर्षदेखि
मेरा जीवनमा रात परिरहेको छ
म रातलाई जहिल्यै
बेखुसी देख्छु
म रातलाई सदासर्वदा
अनुदार देख्छु,

कतिपय अवस्थामा
रातमा घात हुन्छ
रातमा जल प्रपात पनि हुन्छ
त्यसै भनेका होइनन्
बूढापाकाहरुले
‘दिन भनेको आफ्नो र
रात भनेको अरुको हो,

अहिले आएर म बुझ्दै छु
रात भनेको साथ हो
तर यसलाई चलाउन जान्नुपर्ने रहेछ
यसलाई मात्र खेलाउन जान्नुपर्ने रहेछ ।


मन्थली, रामेछाप