त्यो दसैँ – यो दसैँ

त्यो दसैँ

हरेक चिज
कि तुल्याएर
कि भेला जम्मा पारेर
कि फलाएर
आउँथे ती दसैँहरू,

हामी केटाकेटी हुँदा
खोरमा पालेका तिल्काने खसी
बारीमा पाकेका मालभोग केरा
ढिकीमा ठूलेमा र आमाहरूले कुटेका
कान्छी मुस्लिम धानका चिउरा
बालीघरे दमैले घरमै आएर सिएका लुगाहरू
मकैका बोटमा अल्झेका
खोष्टा लाग्ने भदौरे बोडी
बारीझारीमा काँक्रा, फर्सी
र घरका छानामा डुङ्गुर घिरौंला
देख्दै आँत भरिलो हुन्थ्यो
बजारमा बेच्न ठिक्क पारेका सनपाट
र काँच्काँचैको भदैया धानमा साटिएर
चमारेका ढोलको सुस्तसुस्त आभामय ध्वनिसँगै
मन्द गतिमा
दसैँ आउँथ्यो,

अग्र्यानिक हुन्थे ती दसैँहरू
प्राकृतिक लाग्थे ती दसैँहरू
बाटेर सद्भाव लिङ्गे पिङका लठाराहरूमा
गाडेर माया लिङ्गे पिङका बाँसका खुट्टाहरूमा
हामी अपनत्व साँच्थ्यौं
हामी भाइचारा बाँड्थ्यौं,

मानिसहरू अहिले जति
न त सेल्फिस थिए
न त सेल्फी नै खिच्थे
अर्मपर्म
तिरोभरो
लेनदेन
र सरसापटमा
दुनियाँ रमाएको थियो
गार्हस्थ जीवनमा रमेका बन्धुबान्धव
बुहार्तनमा लखतरान तमाम गाउँलेहरू
न लप्पन छप्पन जान्दथे
न शोषण नै गर्दथे
भएको दिन्थे मानिसहरू आँत खोलेर
जमरा र टीकामा घर्लप्पै घोप्ट्याएर आशीर्वाद
रुचि भएका खानेकुरामा ममत्व
र आँचा चिम्लेर दिन्थे
मन खोलेर दिन्थे,

कठै ! त्यस्ता दसैँ गए
र यस्ता दसैँ आए
अहिले मानिससँग मानिस तर्कनु परेको छ
अहिले बन्धुसँग बान्धव भाग्नु परेको छ
लुकेर सँधैभरि
नरनातासँग मानिस
कहिले खुल्न सक्छ र !
कहिले फुल्न सक्छ र ?

यो दसैँ

बजारवादको
बल्छीमा अल्झेको जीवन
बजारमा छरिएका अक्टोपसहरूका
बाहुपाशमा बेरिएर
छट्पटाउँदै
नामले सर्वनामलाई ढाँटेर
सर्वनामले नामलाई छलेर
छिमेकमा पनि
उसले उसलाई ढाँट्यो
यसले त्यसलाई ठग्यो
न जिल्लिने त कोही हुँदैनन्
असन्तुष्टि लिएर
कि गुड्यो
कि उड्यो
दूर दराजका देश
र विदेशबाट,

हरेक घरमा आउँदा
माया, आशीर्वाद र अपनत्व
कोही विचार्दैनन् अब त
कति रेमिट्यान्स ल्याएको छ
सो हिसाब गरिन्छ क्यालकुलेटरमा
को इमान्दार छ ?
को बेइमान छ ?
कसैले कसैलाई
पर्वाह गर्दैन
मात्र पैसाको फित्ताले
मानिसले मानिसलाई मूल्याङ्कन गर्छन्
धनको तुजुकले मानिसको व्यक्तित्वमा निखार ल्याउँछन्,

असल र सफलको खोजी पनि हुन्न
त्यो अग्र्यानिक
र यो कुत्रिम दसैँका बीच
अनेकानेक अन्तर छन्
बहुत पृथकता छन्
म पुरानो र मौलिक
त्यो दसैँ
अझै खोजिरहेको छु
जहाँ आफ्ना बेला र वयका
दामलीहरू थिए
जहाँ आफ्नो समयका
सम्झनाहरू थिए ।