टीकाको उत्तम साइत १०:१९ बजे, ‘सतर्कता अपनाउन आग्रह’

नेपालमा धुमधामका साथ मनाइने बडादशैँको प्रमुख दिन आज परेको दशमीमा आफूभन्दा ठूला र मान्यजनबाट टीका तथा जमरा लगाएर आशिर्वाद लिने गरिन्छ।

त्यसको निम्ति उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

तर कोरोनाभाइरसको महामारीका कारण अन्य चाडपर्व जस्तै यस वर्षको दशैँ पनि प्रभावित बनेको देखिएको छ।

अघिल्ला वर्षहरूमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्व राजा लगायत उच्च पदस्थ अधिकारी र नेताहरूले सर्वसाधारण एवम् आफू मातहतका कर्मचारी तथा कार्यकर्ताहरूलाई टीका लगाइदिने चलन थियो।

यसपटक कोरोनाभाइरसको महामारीका कारण त्यसो नगरिने बताइएको छ।

आराधनाप्रतिको आस्था र कारण
घटस्थापनाबाट सुरु हुने बडादशैँमा नवरात्रीमा ब्रत बस्ने र विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा पूजा अर्चना गर्न जाने चलन छ। नवरात्रीपछि दशौँ दिन देवी विसर्जन गरिन्छ।

नवरात्रीमा शक्तिको उपसना गरिन्छ। त्यसको अर्थबारे नेपाल संस्कृत विश्व विद्यालय, धर्मशास्त्र विभागका सहप्राध्यापक वासुदेव खनाल भन्छन्, “शक्तिको उपसना गर्नाले पहिलो कुरा आत्मशान्ति प्राप्त हुन्छ। दोस्रो शक्तिको आराधना गर्दा छुट्टै किसिमको उर्जा, तेज, शक्ति, क्षमता प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ।”

नेपालमा मनाइने हरेक पर्व अध्यात्म साधनासँग जोडिएको पूर्वराज्यमन्त्री एवम् संस्कृतिविद् कान्ता भट्टराईको भनाइ छ।

दशैँ पर्व झन् शक्तिकै आराधनाको चाड भएको बताउँदै उनी भन्छिन्, “यो कुनै वर्ग विशेषको मात्र नभइ सम्पूर्ण नेपालीहरूको पर्व हो। यसले सबै नेपालीलाई बाँधेको छ।”

सरकारले कोरोनाभाइरसको महामारीको जोखिमलाई ख्याल गर्दै जो जहाँ छ त्यहीँ चाडपर्व मनाउन बारम्बार आग्रह गर्दै आएको छ।

गच्छे अनुसार विभिन्न परिकार बनाएर सक्दो मिठो खाने र राम्रो लुगा लगाउने पर्वको रूपमा पनि दशैँलाई लिने गरेको पाइन्छ।

मनुस्मृतिको सातौँ अध्यायमा यस्ता विपत्तिसँग मिल्दो सन्दर्भ रहेको सहप्राध्यापक बासुदेव खनालको भनाइ छ।

कोरोना भाइरस नेपालः यसपालि कसरी सुरक्षित तरिकाले दशैँ मनाउन सकिन्छ
उनी भन्छन्, “आपत्तिकालका निम्ति हामीले धनको संरक्षण र जोहो गर्छौँ, तर धन छाडेर श्रीमतीको रक्षा गर्नुपर्छ भनिएको छ। सबैभन्दा पहिले शरिरको रक्षा गर्नुपर्छ। त्यसको निम्ति सतर्क रहनै पर्छ, त्यो धर्मशास्त्रीय मान्यता पनि हो।”

नेपालमा कोरोनाभाइरसको सङ्क्रमण पछिल्ला महिना तीब्र रूपमा बढ्दो छ।

संस्कृतिविद् कान्ता भट्टराई पनि दूरी राखेर यस्ता चाडपर्वलाई निरन्तरता दिन सकिने ठान्छिन्।

उनले भगवतीको आराधाना र शास्त्रहरूको अध्ययन, अनुसन्धान तथा मनन गर्न प्रचलन कम भएको बताउँछिन्।

तर भट्टराई भन्छिन्, “शास्त्रको मार्गअनुसार हामीले सदाचारको पालना गर्‍यौँ भने यस्ता महामारीबाट बच्न पनि सक्छौँ।”

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने १५ दिन लामो बडा दशैँ औपचारिक रूपमा कोजाग्रत पूर्णिमाको दिन सम्पन्न हुन्छ।

त्यो पूरै रात जागेरै धनकी देवी महालक्ष्मीको आराधना गरिन्छ। यसपटक मलमास भनिने अधिकमास परेकाले दशैँ पछि सरेको हो।

यसअघि टाढा रहेका इष्टमित्र र नाता कुटुम्बसँग लामो समयपछि भेटघाट गर्ने अवसरको रूपमा पनि यो पर्वलाई लिने गरिन्थ्यो। सर्वसाधारणहरूको चहल पहल कम देखिन्छ।

यस लगत्तै पर्ने तिहार, नेपाल सम्बत र छठ पर्व पनि धुमधामका साथ मनाउने चलन छ।