‘लाभग्राहीमा नाम त आयो तर घर बनाउन जग्गा छैन ।’ खड्का भावुक हुँदै भन्छिन्… (भिडियाे सहित्)

कार्तिक १३, रामेछाप ।
मन्थली नगरपालिका वडा नं. १३ मिल्ती बजारमा बसोबास गर्ने एक महिलाले आफूसँग जग्गा नभएको कारण भूकम्पको घर निर्माण गर्न नसकेको गुनासो गरेकी छिन् । विगत लामो समयदेखि मिल्ती बजारको सडक किनारामा छाप्रो हाली बस्दै आएकी लक्ष्मी खड्काले आफ्नो नाममा जग्गा नहुँदा भूकम्पको घर निर्माण गर्न समस्या परेको बताएकी हुन् ।


५० वर्षिय एकल महिला खड्कालाई रामेछापका सहयोगी मन (रासम)ले फुडबैंक मार्फत् खाद्यान्न सहयोग गरिरहँदा आफूलाई खानपिनको साथै घर बनाउन जग्गाको समेत अभाव भएको उनले बताएकी हुन् ।


जनता भ्वाइससँग कुराकानी गर्दै खड्काले भनिन्, ‘भूकम्पको लाभग्राही सूचीमा नाम त आएको छ, तर जग्गाको अभावमा घर बनाउन सकेको छैन । वडाध्यक्षलाई पटकपटक भन्दा पनि कानमा बतास लगाएनन् । न घर छ, न घर हाल्ने जग्गा नै ।’


१४ वर्ष अघि लोग्नेको मृत्यु भएको र हाल आफ्नो साहारा एउटा छोरो रहेकोमा ऊ पनि शारीरिक रुपमा अपाङ्ग गरहेको खड्का बताउँछिन् ।


पुर्ननिर्माण सम्बन्धी अनुगमनमा पुगेका कर्मचारीहरुले आफूहरुले जसरी भएपनि घर बनाउने जग्गा मिलाइदिने बचन दिएकोमा आफू ढुक्क भएर बसको खड्काले बताएकी छिन् । उनी आफूले जग्गा पाउने बारे ढुक्क भएपनि के आधारले उनले जग्गा पाउनेहुन् त्यो भने निकै अन्यौलमा रहेको छ ।