विदाइमा (कविता)

नवीन मनाेहर


तिमीले
हल्लाएका हातहरूको
हावा अझै
वासन्ती पवन झैँ
सुस्तसुस्त
कानमा
बहिरहेको छ,

अहर्निष चाहनाको
पोल्टामा
गाँठो पारिराखेको
मुस्कान
अनि भर्खर फक्रेका
सयपत्रीका
द्योष्ठ्यहरू
काला लाम्चा आँखा
किनकिन
नशालु लाग्छन्
किनकिन
बैँसालु बन्छन्,

विदाइमा
छुट्टिनु भन्दा
छुट्टिए पछिको
तनाव झेल्नै
नसकिने रहेछ
किन हो,
विछोडभन्दा
विछोडको झट्का
अझ झन बढी
पिरो हुँदो रहेछ ।

मन्थली, रामेछाप