जगदीश दाइ सँगको सिकाइ

जगदीश घिमिरेसँग दिलले दिल चिनेको सम्वत् २०४६ सालदेखि हो । मेरो पेशागत कामको गुरु तथा समाज कल्याणमा लाग्ने प्रेरणा भने सम्वत् २०५० सालदेखि प्राप्त भयो । साहित्य पढने मात्र होइन लेख्ने प्रेरणा सम्वत् २०६४ देखि प्राप्त गरँे । उहाँसँगको अन्तरंग सम्बन्धका बारेमा अभिव्यक्ति, जगदीश स्मृति अङ्क, पूर्णाङ्क – १७३, भदौ÷असोज २०७१ मा नगेन्द्रराज शर्मा दाइको प्रेरणाबाट लेखेँ । तर यहाँ अलि भिन्न विषय, समाजमा पछाडि पारिएका समुदाय र नागरिकहरूलाई, उहाँको दूरदृष्टिले कसरी सामाजिक र आर्थिक प्रगति गर्न सहयोगी सावित भयो । मलाई कसरी खासमा मानिस बन्न मद्दत गर्यो भन्ने बारेमा संक्षिप्त विवेचना गर्न चाहन्छु ।


तामाकोसी सेवा समितिको स्थापनाको मूल ध्येय हो –अशक्तलाइ सशक्त बनाउने । त्यस अनुरूप समुदायका नागरिकहरू खासगरी महिलाहरूको आर्थिक उन्नतिका लागि रामेछाप जिल्लाका १२० भन्दा बढी महिलाहरूको समूहहरूमा बचत तथा ऋणको सुभारम्भ भएर हाल धेरै सहकारी संस्थाहरू स्थापना भएका छन् । यसमध्ये मन्थली बचत तथा ऋण सहकारी संस्था रामेछापको अग्रणी संस्थाको रूपमा रहेको छ, जसले तामाकोशी अस्पतालको स्थापना कालदेखि झण्डै १२ वर्षसम्म अनवरत आर्थिक सहयोग गरिरह्यो ।


जनसंख्यामा आधा भन्दा बढी महिलाहरू रहेको र उनीहरूको स्वास्थ्य, शिक्षा,, पिउनेपानी ,चर्पी आदि समस्याहरूलाई निराकरण गर्न ताुसेसले साक्षरता, खानेपानी, दीगो कृषि, चर्पी निर्माण र आधारभूत स्वास्थ्यको व्यवस्था गर्याे । जो जगदीश सामुदायिक विकासको मूल मन्त्र हो । जुन अनुरूप रामेछापका गाउँ बस्तीले अहिलेसम्म आइपुग्दा राहत महसुस गरेका छन् । यस्ता लक्ष्य परिपूर्तिका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था लि, तामाकोसी अस्पताल, जगदीश घिमिरे प्रतिष्ठान, तामाकोसी पुस्तकालय आदि संस्थाहरूको जन्म भएको हो ।


तामाकोसी सेवा समितिको ग्रामीण वस्तीमा आधारभूत स्वास्थ्य सेवा उपलव्ध गराउने मूल उद्देश्यलाई अगाडि बढाउन म सम्वत् २०५० सालदेखि संलग्न छु । जगदीश दाइको मार्ग निर्देशनमा मलाई विश्वविद्यालयले नपढाएको शिक्षा तर जो व्यवहारिक, पेशागत र दैनिक जीवनका लागि आवश्यक पर्दछ, त्यो सिक्ने मौका पाएँ । स्वास्थ्य सेवा कार्यक्रमको लक्षित वर्ग ग्रामीण महिलाहरू थिए । हरेक महिनामा उनीहरूको टोलमा पुगेर स्वास्थ्य शिक्षा, आधारभूत स्वास्थ्य, परिवार नियोजन सेवा र आयआर्जन सिकाउने मुख्य काम थियो । किनभने त्यसबखत रामेछाप जिल्लाका महिलाहरूको औसत आयु ४९ वर्ष र साक्षरता ५ प्रतिशत मात्र थियो ।

सं.२०५७ सालमा महिला र शिशुहरूको मृत्युदर घटाउन रामेछाप जिल्लाका विभिन्न १२ स्थानहरूका लक्षित समुदायमा झण्डै ३ घन्टा पैदल यात्राको दूरीमा भेटिने गरी अनमि सहितको स्वास्थ्य केन्द्रको स्थापना भएको थियो तर देशको राजनीतिक द्वन्द्वका कारणले यो निरन्तर रहन सकेन ।


तामाकोसी सेवा समितिको स्थापनाकालदेखि नै मन्थलीको जगदीश दाइको घरको कोठाको बाकसबाट सञ्चालित स्वास्थ्य केन्द्र कच्ची एकतले घर पार गर्दै सं. २०५७ सालमा अहिलेको अस्पताल भवनमा आएपछि सानो अस्पतालको रूप लियो ।


राजनीतिक द्वन्द्वका कारण गाउँमा स्वास्थ्य केन्द्र सञ्चालन गर्न कठिनाइ भएपछि ती स्वास्थ्यकर्मीहरू यस अस्पतालमा संलग्न भएर पन्ध्र बेड हुदै हाल २५ बेड अस्पतालको रूपमा सञ्चालित छ । यस अस्पतालमा हाल विभिन्न उपकरणहरूको प्रयोगबाट वर्षेनी सालाखाला तीस हजार बिरामीहरूको रोगको निदान, उपचार, रेफर साथसाथै समय समयमा बिशेषज्ञ सेवा उपलब्ध हुन्छ । ग्रामीण भेकमा निःशुल्क स्वास्थ्य शिविरहरू अनवरत सञ्चालित छन् र उनीहरूलाईबाट छनोट भएर आएका बिरामीहरूलाई विशेषज्ञ सेवा आवश्यकता पर्ने भएमा यही अस्पतालमा उपलब्ध गराइन्छ । यो कार्य जगदीश दाइको मनले भनेको असक्तहरूलाई सहयोग गर्ने विचारलाइ कार्यरूप दिनका लागि हो, नेपालको संविधानले भनेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क र घरदैलोमा पु¥याउने अभियान र प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको दायित्व पूरा गर्ने र नागरिक र रोगहरूको नजिक पुग्ने कार्यक्रम हो ।


पाठेघर खसेका महिलाहरू पनि यसरी नै छनोट हुन्छन् । आज भन्दा २० वर्ष पहिले झण्डै ३० प्रतिशतका हाराहारीमा यो समस्या भेटिन्थ्यो । यसमा तत्कालीन जिविस, एस्डीसी स्विस संस्था, नारी निकुन्ज–अष्ट्रेलिया (दुर्गा घिमिरेको सहयोगमा प्राप्त) मन्थली साकोस, तासेस लगायतका संस्थाहरूको प्रायोजन रहेको थियो । यो नेपालकौ पहिलो नमुना कार्यक्रम थियो । सं. २०६० सालबाट प्रारम्भ गरेर हालसम्म पाँचसय महिलाहरूले निःशुल्क अपरेसन सेवा प्राप्त गरिसकेका छन् । तिलगंगा आँखा प्रतिष्ठान, (जसको स्थापना जगदीश घिमिरे र डा.सन्द्रुक रुइतले गर्नु भएको थियो) बाट सं. २०५८ देखि सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रले समुदाय र तामाकोसी अस्पतालमामा झण्डै चार हजार मोतियाबिन्दुको अपरेसन गरिसकेको छ ।


सं. २०६३ देखि धुलिखेल अस्पतालका डा.रामकण्ठ श्रेष्ठको सहयोगले जर्मन रोटरी भोलेन्टियर डाक्टर्सहरूको अनवरत सेवामा संलग्नता, मेरा रोटरी मित्र डा इल्मारको मद्दतले जर्मन रोटरी फाउण्डेसनको सहयोग र मेरो रोटरी क्लब, रोटरी क्लब अफ काभ्रे बनेपाको सहयोगले गुणस्तरीय दाँत सेवा र इमर्जेन्सी सेवालाई गुणस्तरीय बनाउन सकिएको छ । डा.इल्मारको रोटरी क्लबले एउटा एम्बुलेन्स र मेरा अर्का रोटरी मित्र डा.क्लेमेन्स र धुलिखेल रोटरी क्लबको सहयोगले स्वास्थ्य शिविर जानका लागि गाडीको बन्दोबस्त भयो ।


रुरल एसिस्टेण्ट नेपाल, युके, हेल्थ एक्चेन्ज, नेपाल, युके र द लिटिल थिंग्स, युकेसँगको मेरो सम्बन्धले इण्डोष्कोपी, इको, टिएम्टी मेसिन र सेवा प्राप्त हुनाका साथै युरोप, एसिया, अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयबाट वर्षेनी झण्डै ३० जना मेडिकल स्टुडेण्टहरू स्वयम्सेवी इलेक्टिभ र अनुसन्धानका लागि आउँदछन् । दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा पु¥याउन सहयोग पु¥याउछन् । त्यस्तै नेपालका स्वास्थ्य सेवा व्यवस्थापन विषयका विद्यार्थीहरू हाम्रो असल प्राक्टिसहरूको अनुसन्धानका लागि आउने गर्दछन् ।


यी केही तथ्याङ्कहरूका आधारमा, मेरो २७ बर्षको अनुभव र भोगाइहरू तथा जगदीश दाइको सामिप्यताले नेपालका लागि यो उपयुक्त प्राथमिक स्वास्थ्य सेवाको मोडलका रूपमा विकास हुदैछ । मैले भन्ने गरेको “जगदीश सामुदायिक विकास खुल्ला बिश्वविद्यालय” मा यो मोडेललाई नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकका लागि प्राथमिक स्वास्थ्य सेवा मोडेल का रूपमा विकास गर्न सकिन्छ । यो मोडेल नेपालका पहाडी र हिमाली जिल्ला अस्पतालहरूका लागि पनि उपयोगी हुनसक्छ । जसमा स्वदेशी तथा विदेशी आत्मीय मित्रहरूको सहयोग सदाझैँ रहने छ । यसले व्यवहारिक सिकाइलाइ सिद्धान्तहरूमा लिपिबद्ध गर्दछ र अन्य अभावका स्थानहरूमा अनुशरण गर्न सिकाउँछ र गरिरहेको पनि छ ।


प्राथमिक स्वास्थ्य सेवा मोडेल का निम्न ५ व्यवहारिक र सैद्धान्तिक आधारहरू रहने छन् ः
१. अहिलेको तामाकोसी अस्पतालबाट प्राप्त भएजस्तै स्वास्थ्य सेवा प्रदान गर्नेछ तथा सम्भव भएसम्मका विशेषज्ञ गुणस्तरीय सेवाहरू ग्रामीण वस्तीका नागरिकहरूको पहूँचमा पु¥याउनु पर्नेछ । सकेसम्म रोग होइन, अस्पताल हिँडनु पर्दछ र सेवा गुणस्तरीय हुनु पर्दछ, भन्ने आशयको हुनेछ । यसमा सेवाको दिगोपनाका लागि स्वास्थ्य वीमा कार्यक्रम, दाताहरू, विरामी, स्थानीय सरकार, कसै न कसैको योगदान रहने छ । यसले गाउँलाई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, सरकार, स्थानीय सरकार र व्यक्तिहरूसँग जोडने काम गर्नेछ । यसले अन्तर्राष्ट्रिय तथा देशका विद्यार्थीहरूलाई अनुसन्धान र सिकाइका लागि मद्दत गर्नेछ ।


२. रोगबाट ग्रसित नागरिकहरूको घर दैलोमा पुगेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरू र साधन स्रोतको उपयोग गरी ग्रामीण नागरिकहरूको स्वास्थ्य समस्याहरू र यसमा प्रभाव पार्ने तत्वहरूको उत्खनन, जागरण, प्रशारण, सरोकारवालाहरूसँग योजना तर्जुमा, कार्यान्वयन, मूल्याङ्कन गर्ने र सिकाइहरू अन्य स्थानहरूमा विस्तार गर्नेछ । यस अनुरूप हरेक वर्ष झण्डै ३००० रोगीहरूको जाँच, उपचार, परामर्श र रेफर गरिन्छ र यसमा स्थानीय क्लब, संस्थाहरू, स्वयम्सेवीहरू, स्थानीय सरकारहरूको प्रत्यक्ष संलग्नता रहन्छ । यसले आफ्नो समुदायको स्वास्थ्य सेवामा आफैँ जिम्मेवार ढङ्गले स्वयम्सेवा गर्ने र समुदायलाई माया गर्ने बानीको विकास भएको छ र स्वयम्सेवी अभियानलाई टेवा पु¥याएको छ ।


३. दुर्गम स्थानहरू जहाँ स्वास्थ्य सेवा पु¥याउन सकिएको छैन, स्थानीय संस्थाहरू र सरकारहरूसँग मिलेर स्वास्थ्य संस्थाहरूको निर्माणमा सहयोग गर्नेछ । हालसम्म मन्थली केन्द्रको सेवा घेराभित्र पर्ने सिन्धुली, रामेछाप र ओखलढुङ्गाको चार स्थानहरूमा तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको मद्दतले ग्रामीण आँखा ्िक्लनिकहरू र एक स्थानमा विद्यालयभित्र दाँत अस्पतालको विस्तार गरिएको छ, जुन नेपालकै पहिलो नमुनाको रूपमा रहेको छ । दाँत अस्पतालका लागि मेरा रोटरी मित्र जर्मन डेन्टिस डा.जोन एडर्सनको व्यक्तिगत तथा उनको रोटरी क्लब मिल्टेन वर्ग र मेरो रोटरी क्लब काभ्रे बनेपाको सहयोग प्राप्त छ । समाज कल्याणका लागि आफूले सिकेका सिकाइहरूलाई विस्तार गर्दै अपुग स्थानहरूमा सेवा गर्न मद्दत गर्नुपर्दछ । यो मोडेलको अर्को दर्शन हो ।


त्यस्तै यहाँको सिकाइबाट सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा इटालियन संस्थाको सहयोगमा जयनेपाल नामक संस्थाले बोडगाउँ स्वास्थ्य केन्द्र सञ्चालित छ। जसमा मेरो संलग्नता बोर्ड अफ डिरेक्टर (सल्लाहकार) का रूपमा रहेको छ । यस संस्थाले गाउँको स्वास्थ्यमा प्रभाव पार्ने सबै अवयवहरूमा गाउँकै युवा पुस्ताहरूको स्वयम्सेवी भूमिका मार्फत् कार्य गरिरहेको छ । जुन एक अनुकरणीय कार्यक्रमका रूपमा विकसित हुँदैछ । हाल रामेछाप नगरपालिकाबाट सञ्चालित समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरू तथा अन्य साना ठूला स्वास्थ्य संस्थाहरूमा सल्लाह प्रदान गरिरहका छाैँ । अन्य स्थानीय संस्थाहरूबाट सञ्चालित साना स्वास्थ्य संस्थाहरू र योजना बनाइरहेका संस्थाहरूलाई प्राविधिक तथा व्यवस्थापकीय सरसल्लाह र सहयोग प्रदान गरिरहेका छाैँ ।


४. नेपालमा स्वास्थ्य सेवा व्यवस्थापन विषयको स्नातकोत्तर अध्यापन हुने पोखरा विश्वविद्यालयको एक मात्र कलेज नेसनल ओपन कलेज तथा स्नातक विषयका विद्यार्थीहरूलाई म प्राध्यापक तथा बाहय परीक्षकको हैसियतले अध्यापन गर्ने र परीक्षा लिने तथा स्वास्थ्य सेवा व्यवस्थापन विभागको सल्लाहकारका रूपमा कार्य गर्दैछु । यसमा मलाई छनोट गरिनुमा जगदीश मोडेलको सामुदायिक विकासको कार्यक्रममा मेरो संलग्नताले हो । यो विषयमा देश भरका विभिन्न ठूला तथा साना अस्पतालहरूका विशेषज्ञ चिकित्सकहरू जो निर्देशकका भूमिकामा छन्, या भूमिका निर्वाह गर्न लागेका छन्, लगायत अन्य विषयका विद्यार्थीहरू अध्ययनका लागि आउँदछन् ।


नेपालको प्राथमिक स्वास्थ्य सेवा विषयको अध्यापन गर्दा मैले तामाकोसी सेवा समिति लगायत नेपालका अन्य जिल्ला र विहारका केही स्थानको सामुदायिक विकासमा जगदीश मोडेलका बारे बताउछु र जगदीश दाइको कृति अन्तर्मनको यात्रा लाई उनीहरूको सन्दर्भ पुस्तकका रूपमा अध्ययन गर्न लगाउँछु । अन्तर्मनको यात्रा पढिसकेर जब उनीहरूले एउटा धारणा बनाउँछन्, तव मैले हाल हामीले अपनाएको प्राथमिक स्वास्थ्य सेवाको मोडलको आवश्यकता, अनुभव, हाल प्रचलित स्वास्थ्य सेवा प्रणालीको फरकको बारेमा विस्तृत रूपमा बताउँछु । यसले मुख्य रूपमा विद्यार्थीहरूलाई गाउँको स्वास्थ्य सेवा सुधारका लागि धारणा बनाउन मद्दत गर्दछ र उत्प्रेरित गर्दछ । यो प्रयासले त्जष्लप न्यिदबििथ ब्अत ीयअबििथ भन्ने विचारलाइ चरितार्थ गरिदिन्छ । यसरी विश्वविद्यालयहरूमा हाम्रा भोगाइ र सफल सिकाइहरूलाइ पढाएर राष्ट्रलाई योगदान गर्ने पनि यो मोडेलको लक्ष्य हो ।


५. मेरो सधँै मान्यता रहन्छ कि मैले दिने समयहरू र कामले संस्थाको आर्थिक दिगोपनालाई टेवा दिनुपर्दछ । जुन जगदीश दाइको विकासको सिद्दान्तको सबै भन्दा महत्वपूर्ण दर्शनका रूपमा रहेको छ, हरेक विकास आफँैमा दिगो हुने सङ्कल्प र योजनासाथ जन्मनु पर्दछ । यस अनुरूप मेरो लक्ष्य कम्तीमा दिन, महिना र वर्षमा किटान छन् ।


हरेक दिन हरेक क्षणमा मेरो कामले कति उपलब्धि दिनुपर्दछ, त्यो प्राप्ति भयो भएन भनेर म आफैँलाई मूल्याङ्कन गर्दछु । मैले प्राप्त गर्ने आर्थिक लाभ कुनै न कुनै किसिमले मैले संस्थालाई निरन्तर उपलब्ध गराइरहनु पर्दछ, तब संस्थाले मलाई दिन सक्दछ भन्ने मेरो विश्वास हो । हरेक दिनको, महिनाको र वर्षको आफ्नो लक्ष्यलाई म नियाली रहन्छु र निरन्तर यसको परिमार्जन आवश्यक भए, त्यसलाई सच्याउँछु । संस्थाका हरेक विभागहरू र त्यसमा कार्यरत कर्मठ कर्मीहरूले यसो गरून् भन्ने मेरो कामना रहन्छ । हरेक कर्मीको कर्मले आफूलाई पाल्ने आम्दानी या संस्थाको ध्येयको परिपूर्ति अथवा प्रत्यक्ष समाज कल्याणको कार्य गर्नु पर्दछ । यो महत्वपूर्ण दर्शनका रूपमा रहनेछ र यसले कालान्तरसम्म हरेक संस्थाहरूलाई दिगो राख्नेछ ।


कुनै पनि दिन यदि मैले गरिरहेको काम र अनुभवबाट नयाँ विचार उमार्न सकिन, त्यसलाई प्रस्ताव–पत्रमा ढाल्न सकिन र मेरो स्वदेशी र विदेशी मित्रहरूलाइ सम्प्रेषण गर्न सकिन भने मलाई त्यो रात निद्रा कम आउँछ । त्यस्तै यो प्रयासले मेरो अस्पताल भित्रको कामबाट प्राप्त आम्दानी बाहेक महिनाको सालाखाला २ देखि ५ लाख बराबरको योगदान अस्पताललाई दिन सकिन भने वर्षको अन्तमा खल्लो महसुस हुन्छ । तर कसैकसैलाई मेरो कामका बारेमा गलत टीकाटिप्पणी गर्न नपाएको दिन रातमा निद्रा नपरेको पनि भान हुन्छ । तर म सकारात्मक विचारहरूको सदैव स्वागत् गर्छु र सो अनुरूप अघि बढछु । किनभने मलाई म भन्दा मिसन प्यारो छ ।


२० वर्षअघि वर्षको डेड लाखको हिसाबकिताब भएको अस्पतालमा तासेस, मन्थली बचत तथा ऋण सहकारी संस्था र सबै स्वदेशी तथा विदेशी मित्र र संस्थाहरूको सहयोगले कुनै दिन डेढ लाखको हिसाब नाघेको देख्दा सन्तुष्टी मिल्छ । नेपालमा अस्पताललाई दिगो रूपमा चलाउन कठिन भएको परिप्रेक्ष्यमा यो दुर्गम भेगमा पनि अस्पताल यो रूपमा आइपुग्दा सफलताको महसुुस हुन्छ । तर यी टीका टिप्पणीहरू मेरो व्यक्तित्व र सीप विकासका लागि ऊर्जा प्रदान गर्ने र भगवान्को वरदान जस्तो सावित भएको छ । प्रयास असल मानिस हुने हो, ठुलो मानिस होइन । जगदीश दाइले पनि कामका सिलसिलामा धेरै नै वाधाहरू र टीकाटिप्पणी भोग्नु परेको अन्तर्मनको यात्रा पढ्दा पनि थाहा लाग्दछ र हामीलाई पनि व्यक्त गर्नु हुन्थ्यो । यो हरेक समाजको एउटा नियति होला जस्तो लाग्छ ।


संक्षेपमा, तामाकोसी सेवा समितिले दीगो विकासको रामेछाप नमुनालाई देशको कुनाकाप्चामा फैल्याउँदै प्रेरणा दिनु पर्दछ र अझै नयाँ मोडेलको विस्तारसँगै ग्रामीण वस्तीहरूमा प्रवेश गर्नु पर्दछ । यसले जन्माएका मन्थली बचत तथा ऋण सहकारी संस्थाले जनताको आर्थिक उन्नतिको साथी बन्न अग्रणी भुमिका निभाउनु पर्दछ । तामाकोसी अस्पतालले गरिब जनताहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै नेपालका ग्रामीण भेगमा यस्ता सेवा विस्तारमा प्रेरक बन्नु पर्दछ । जगदीश घिमिरे प्रतिष्ठानले देशको साहित्य र कलाको उत्थान साथै जगदीश घिमिरेको तिखो कलमले जस्तै समाजको बिसङ्गति विरुध्द आवाज उठाउनु पर्दछ र तामाकोसी पुस्तकालयले ग्रामीण पुस्तकालयहरू खोल्न प्रेरणा र टेवा प्रदान गर्न सकेमा मात्र जगदीश दाइप्रति सच्चा श्रद्धान्जलि हुनेछ ।

(लेेखक कर्माचार्य तामाकाेसी अस्पताल रामेेछापका निर्देशक हुन् । -प्रधान सम्पादक)