र्‍यापर भिटेनको ‘पारा’ र सरकारको ‘पारा’

उदीयमान आधुनिक नेपाली पप गायक र्‍यापर समीर घिसिङ् (भिटेन) ले हालै यु ट्युबमा सार्वजनिक गरेको उनको ‘पारा’ शीर्षकको गीत हप्ता दिन पनि नबित्दै यु ट्युब ट्रेन्डिङ्ग पहिलो नम्बरमा परेको समाचारहरू आउँन नपाउँदै नेपाल प्रहरीले साइबर क्राइम ब्रान्च ब्युरोलाई भिटेन पक्रन आदेश जारी गरेको छ ।


भिटेनले सो ३ मिनेट ४८ सेकेन्डको र्‍याप गीतमा पछिल्लो पटक पुलिसले आफूलाई थुनेको प्रसङ्ग, आफ्नो विवशता, सामाजिक विकृति र समसामयिक परिवेशको चित्रण गरेका छन् ।
नेपाली पप गायनमा भिटेन उम्दा गायक हुन् । उनका र्‍याप गीतहरू नेपाली युवाजगतमा धेरै नै लोकप्रिय रहेका छन् । आफ्नो संघर्षबाट माथि उठेका भिटेनका गीतहरू एकपछि अर्को गर्दै विवाद र चर्चित हुनुमा उनको विद्रोही चेत, समाजमा भएका घटनालाई जस्ताको तस्तै उतार्ने उनको रुचि, हल्का अश्लील शब्दहरूको प्रयोग र युवा पुस्ताका स्रोताहरूको मानसिकतालाई ख्याल गरेर गीत सिर्जना गर्नु नै रहेको पाइन्छ ।


नेपाली पप गीतको इतिहास धेरै पुरानो छैन । चार दसक नाघिसकेको पप गीतको यात्रा अब धेरै नयाँ पनि रहेन । खोज्दै जाँदा तीसको दसकमा चर्चित आधुनिक गीतका गायक ओमविक्रम विष्टले नै पहिलो पप गीत ‘म मौनतामा अल्झीरहेको एउटा जीवन’ गाएको पाइन्छ ।


पप गीतलाई नेपाली समाजमा त्यति राम्रो नजरले हेर्ने गरेको भने पाइँदैन । तर पनि यसका स्रोता र प्रशंसकहरू भने ‘छुपे रुस्तम’ झैँ क्रमशः बढिरहेका छन् । नेपाली पप गीत गायनको इतिहासमा ओमविक्रम विष्टले खनेको सडकलाई चौडा बनाउने काम योगेश्वर अमात्य, नवीन के भट्टराई, सुकमित अधिकारी गुरुङ, धीरज राई, राजेश पायल राई, लोक पपमा कुमार बस्नेत हुँदैहुँदै थुप्रै गायकहरू यो लहरमा छन् । सोही लहरमा अहिलेका र्यापर भिटेनको पनि केही वर्षदेखि सर्वाधिक योगदान रहेको पप गीतका अध्येताहरू नै बताउँदछन् ।


त्यसो त मिहीन रुपले अध्ययन गरेका खण्डमा भिटेनका पप र्‍याप गीतमा छाडापन र अश्लील शब्दहरूको बाहुल्य पाइन्छ । हुन त नेपाली गीत र सिनेमामा विषय र प्रसङ्गले मागेका स्थानमा छाडा शब्दहरूको प्रयोग नभएको पनि होइन । केही आधुनिक नेपाली सिनेमा लगायत सर्वाधिक चर्चित नेपाली सिनेमा ‘लुट’ मा केही संवादमा अश्लील शब्द प्रयोग भएको थियो । पछि सो शब्दहरूलाई हलमा सिनेमा आउँदा साउण्ड म्युट गरी प्रदर्शन समेत गरियो ।


समाज जेजस्तो छ सर्जकका सिर्जनाहरू त्यस्तै हुने गर्छन् । भिटेन पनि यही नेपाली समाजको उपज हुन् । उनले खासगरी युवा लक्षित र्‍यापहरु गाएका हुनाले र ती र्‍यापहरु खाने, पिउने र मोजमस्ती गर्ने युवाहरूको आनीबानी र चित्रण बढी गरिने भएकाले पनि भिटेन बढी खुकुलो गरी सिर्जना गर्न मन पराउने गायक हुन् ।


अर्को कुरा भिटेनलाई उनका प्रशंसक, स्रोता र फलोअरहरूले मात्र लोकप्रिय बनाइरहेका छैनन् । कतिपय अवस्थामा प्रहरी प्रशासनले पनि उनलाई उनले गरेको सिर्जनाका सबालमा प्रश्न उठाएर थुन्ने, पिट्ने र दुःख दिने कार्यले गर्दा समेत उनी विद्रोही भएर सिर्जनालाई झन्झन् विद्रोही बनाएर प्रस्तु्त गर्ने गरेकाले उनी चर्चित भएका हुन् ।


अहिले उनले बजारमा ल्याएको ‘पारा’ र्‍याप गीतमा पनि आफ्नो जीवनचर्याका बाबजुद् पुलिसले उनलाई कठघरामा लगेर थुनेको जस्ता प्रसङ्गहरू उठाएका छन् । जुन कर्णप्रिय समेत रहेका छन् । एक साता पनि नबित्दै उनको गीत ‘पारा’ यु ट्युबको ट्रेन्डिङ्मा पहिलो नम्बरमा पर्न सफल भएको छ ।


उनी गीत गाउँदै जाने र प्रहरीले उनलाई थुन्दै जाने हो भने उनले गाएका जति सबै गीतहरू चर्चित र विवादित नहोलान् भन्न सकिन्नँ ।


यसरी हेर्दा उनको ‘पारा’ र सरकारको एउटा सर्जकलाई ठीक लगाउने ‘पारा’ को जुहारी नेपाली र्‍याप गीतको परम्परामा चलि नै रहने भयो । जसको नकारात्मक असर चाहिँ नेपाली पप गीतका स्रोताहरूलाई पर्न जान्छ ।


नेपाली समाजका अवयवहरू अहिले धेरै मक्किसकेका छन् । यो समाज न बन्द समाज हो न खुला । दोधारमा रहेर अघि बढिरहेको हाम्रो नेपाली समाजमा नयाँ र विशेष प्रयोगहरू कहिलेकाहीँ विवादित पनि हुन्छन् । सरकारले सोचेको ट्रयाकमा रहेर कुनै पनि सर्जकले आफ्नो सिर्जना सधैँ प्रस्तुत गरिरहन सक्दैन । ऊ अराजक र स्वच्छन्द हुन्छ । स्वतन्त्रताले नै एउटा सर्जकलाई नयाँ सिर्जनमा बल दिन्छ ।


केही हप्ता अघि नेपालको राष्ट्रिय झण्डा जलाएर गीतको सुटिङ् गरिएको भिडिओ युट्युबमा आएको थियो । पछि सरकारले त्यो गायक र कलाकारहरूलाई पक्रियो । अहिले तिनीहरूलाई मुद्दा चलाइरहेको छ । भिटेनको सन्दर्भमा उनले त्यति गल्ती गरेका होइनन् । उनले ‘गीतका गेडा’ मा रुष्टतापूर्वक कहीँकहीँ ‘मुजी’ र ‘जाँठा’ जस्ता शब्दहरू प्रयोग गरेका छन् । कथ्य रुपमा जनबोलीमा ती शब्दहरू समाजमा पाच्य पनि हुन् भन्दैमा आम सिर्जनामा वैश्वीकरण गर्ने सबालमा राख्नु हुँन्थ्यो वा हुँदैनथ्यो त्यो भिटेनका गीत/संगीत निर्माण गर्ने गायक/सर्जक, संगीतकार र प्रस्तोताले बुझ्ने कुरा हो ।


लुगाभित्र हामी सबै नाङ्गो छौं भनेर बेला न कुबेला हामीले आम समाज र मानिसका आगे जसरी नाङ्गिन मिल्दैन/सकिँदैन । त्यसरी नै सिर्जनमा पनि हामी सर्जक केकति अराजक, स्वच्छन्द र स्वतन्त्र हुने भन्ने कुरा त्यो आफैँले गर्ने ‘सेल्फ सेन्सरसिप’ हो ।


दुनियाँ जतिसुकै नै आधुनिक किन नहोस् आफूभित्र भएको चेतनाले सेल्फ गाइडेन्स गरी सेल्फ सेन्सरसिप लगाउँदैन तब त्यस्ता सर्जकहरू केही दिन सामान्य र हलुका दर्शक/स्रोताका माझ मात्र वाहवाहका पात्र होलान् तर कालजयी सिर्जनाका सर्जक हुनै सक्दैनन् । यो कुरा भिटेनले बुझ्नु जरुरी छ ।


जति जति चर्चित र प्रशंसित हुँदै गयो उतिउति सामाजिक उत्तरदायित्वको भाव पनि बढ्दै जान्छ । भोलि भिटेनकै फलोअरहरूको मत अभिमत मान्ने व्यक्ति पनि सरकार प्रमुख हुन सक्छन् । के त्यो बेलामा चाहिँ भिटेनको जस्तो अराजक लय र शब्दका गीतहरू पाच्य होलान् त ?


अहिलेलाई उठाउन खोजेको कुरो यही हो । भिटेनको ‘पारा’ र सरकारको ‘पारा’ दुवै अलि काँचो र खरो भयो । यी दुवैमा विचार हुनु अनिवार्य छ । स्रोताले त नयाँ र मौलिक गीतसंगीत सुन्ने चाहना हलपल राखिराखेका हुन्छन् ।