नेपाली माैलिक गीत सङ्गीतमा प्रचलित रामेछाप

नवीन मनाेहर


रामेछापमा प्रचलित गीतका प्रकारहरूको अध्ययन यस लेखमा गरिएको छ । सहभागिता, लय वा भाका, प्रकार्यका आधारमा वर्गीकरण गरिएका लोकगीतका अध्ययन मध्ये प्रकार्य अन्तर्गत संस्कार तथा धर्म, बाह्रमासे–झ्याउरे–प्रेम, बाल, श्रम, नृत्य, ऋतुपर्व, विविध लोकगीतको अध्ययन यस लेखमा गरिएको छ । समग्रमा रामेछाप जिल्ला भौगोलिक हिसाबले त्यति ठूलो नभए पनि यहाँ गाइने गीतका सयौंँ भाका र लयले गर्दा यो क्षेत्रलाई लोकगीतको महŒवपूर्ण स्थान बनाएको छ । बालकको जन्मदेखि मृत्युसम्म जीवनका प्रत्येक क्रियाकलापमा लोकगीत गाइने हुनाले यस क्षेत्रले नेपाली लोकगीतको संरक्षण र सम्वद्र्धन गर्न महŒवपूर्ण भूमिका खेलेको छ ।

समग्रमा क्षेत्रगत अध्ययन गरी यहाँका लोकगीतको सर्वेक्षण र अध्ययन गरिएको छ । यस अध्ययनबाट यस क्षेत्रमा प्रचलित लोक गीतहरूमा स्थानीय लोकधारणा, सामाजिक, आर्थिक, धार्मिक विश्वास, शैक्षिक गतिविधि, बालमनोविज्ञान, ऋतुपर्व, मेलापात र प्राकृतिक दृश्यहरूको यथार्थ चित्रण पाइन्छ । भौगोलिक दृष्टिले सानो भए तापनि व्यापक विषयवस्तु र विविध लोकलय पाइनु यहाँका लोकगीतको मुख्य विशेषता हो । यसै आधारमा यहाँ प्रचलित लोकगीतको अध्ययनमा विभिन्न प्रकारका प्रचलित रहेको निष्कर्ष पत्ता लागेको छ ।
प्रमुख शब्दाबलीः लोकजीवन, अनुष्ठानमूलक, धार्मिक विश्वास, ऋतुपर्व, चाडपर्व

विषय परिचय

लोकगीत परम्परागत गीत हो । मानव सभ्यताको इतिहास जति पुरानो छ, लोक साहित्यको विभिन्न विधामध्ये मानव मनका भावनालाई गीतको माध्यमबाट व्यक्त गर्र्ने विधा विशेष नै लोकगीत हो । सामान्यतया लोकगीत भन्नाले लोकमा प्रचलित गीत अथवा लोकद्वारा लोकजीवनलाई आधार बनाएर गाउने विधालाई लोकगीत भन्ने बुझिन्छ । लोकगीतमा लोकका दुःख, सुख, समस्या, प्रेम, विरह, वेदना अभाव, हाँसो, रोदन आदि अभिव्यक्त भएको हुन्छ । साथै एक पुस्ता र एक व्यक्तिबाट अर्को पुस्ता र व्यक्तिमा हस्तान्तरण हुँदै मौखिक परम्पराबाट सहरीभन्दा ग्रामीण संस्कृति र वातावरणमा हुर्कंदै आएको हुन्छ । लोक गीतहरू कुनै घटना वा प्रसङ्गअनुसार सहज र स्वतः स्फूर्तरूपमा सिर्जना भई, सामूहिक भाव भूमिमा व्यक्त हुने हुँदा व्यक्ति गौण र रचना प्रधान हुन्छ ।

लोकगीत समाजप्रति समर्पित हुने हुँदा व्यक्तिको पेवा नभई लोकविशेषको साझा सम्पत्ति हुन् । विभिन्न चाडपर्व, मेलापात, घाँस दाउरा गर्न जाँदा वनपाखा, चौतारी एवं पधेंरीहरूमा गुञ्जने लोकगीतले शिक्षित–अशिक्षित, बालक, युवा, वृद्ध सबैको मनलाई प्रभावित पारेको हुन्छ । यिनै सामाजिक परिवेशलाई आधार मानेर प्रकार्यका आधारमा रामेछापमा प्रचलित लोकगीतको प्रकारको अध्ययन गरिएको छ ।

लोकगीतको संकलन र विश्लेषणको आधार

लोकगीतहरू समाजमा मौखिक परम्परामा हस्तान्तरित भएका हुन्छन् । ‘साधारण अर्थमा लोक गीत भन्नाले लोकले गाउने वा लोकको गीत भन्ने बुझिन्छ । लोकको कण्ठबाट निस्कने गेय अभिव्यक्तिलाई अधिकांशतः लोकगीत नै भनिन्छ (पराजुली, २०५७ ः ६४) ।’ व्यक्ति विशेषको रचना भएपनि व्यक्ति गौण र रचना प्रधान हुँदै जान्छ अनि यस्तो लोकको साझा चित्र उपस्थित गर्ने लोकगीत लोकको साझा सम्पत्ति बन्न पुग्छ । लोकगीतमा स्वतः वा अन्जानमै भए पनि लय, छन्द, बिम्ब अलङ्कार जस्ता काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् ।


यस अध्ययनमा प्रकार्यका आधारमा लोकगीतका प्रकारको अध्ययनका लागि क्षेत्रीय अवलोकन र संकलन गरिएको छ । धार्मिक, अनुष्ठानमूलक तथा संस्कार गीत, ऋतु तथा पर्व गीत र श्रमगीतका प्रकार भित्र गाइने अनेक गीतका प्रकारको संकलन तथा वर्गीकरण गर्दै तिनको वर्गीकरणका आधार कहाँ, कहिले, कुन गीत गाइन्छन् भन्ने प्रश्नको उत्तरका लागि अध्ययन गरिएको छ । यस कार्यका लागि क्षेत्रीय अवलोकन र भ्रमणद्वारा यस अनुसन्धनात्मक लेखमा विभिन्न समय तथा पर्वहरूमा गाइने लोकगीतहरूको खोजी गरी तिनै लोकगीतको प्रकारको अध्ययन गरिएको छ ।

रामेछापमा प्रचलित लोकगीतका प्रकार

रामेछापमा प्रचलित लोकगीतका प्रकारको संकलन तथा वर्गीकरण निम्नअनुसार प्रस्तुत गरिएको छ ः

क) धार्मिक तथा संस्कार लोकगीत

संस्कार शब्दले परिष्कार, परिमार्जन वा शुद्धीकरण भन्ने अर्थ बुझाउँछ । हाम्रो समाजमा वस्तुहरूको मात्र होइन मान्छेको पनि संस्कार गरिन्छ । गर्भाधानदेखि लिएर मृत्युपर्यन्त विभिन्न समयमा विभिन्न संस्कार गर्ने गराउने परम्परा रहेको छ । प्रत्येक संस्कारमा गरिने विधि र व्यक्त गरिने भावना भिन्नाभिन्नै हुन्छन् । ती भावनालाई गेयात्मक रूपमा प्रस्तुत गरिने चलन पुरानै हो । यस्ता भावनाहरू गेयात्मक रूपमा लोकजीवनमा गाइने हुनाले यिनलाई लोकगीत कै श्रेणीमा राखिएको हो । सहरी क्षेत्र र नेपालको पश्चिमी भेगको तुलनामा यस्ता संस्कार हराउँदै गएको देखिन्छ । नेपालको कर्णाली र सुदूर पश्चिमतिर, विवाह, व्रतबन्ध, जन्म संस्कारका गीतहरू गाइन्छन् । त्यस्तै रामेछापको केही क्षेत्रमा बाहुन–क्षेत्री समुदायमा विवाह, व्रतबन्धमा मागल गीत गाउने चलन छ ।

मागल

मागल शब्दको अपभ्रंश भएर माँगल वा माहल शब्द बनेको हो । वैदिक सनातन धर्मावलम्बी हिन्दुहरूमा हरेक शुभकार्यमा मंगलमय गीत गाउने चलन छ । यो परम्पराको थालनी ऋग्वैदिक कालदेखि भएको हो । रामेछापको पूर्वी भेगमा ब्राम्हण समाजमा मागल गाउने परम्परा आजसम्म रहेको छ । विवाह तथा व्रतबन्धको अघिल्लो दिन यहाँ कसार बटार्ने परम्परा छ । कसार बटार्ने दिनदेखि विवाहमा दुलाहा निस्कदा, दुली भित्र्याउँदा, ब्रतबन्धको दिनमा पनि मागल गाइन्छ ।
व्रतबन्धमा गाइने मागल

दसै दिशा डुलिसकेँ दशैमुठी ल्याउँला
के ख्वाइ पालम गुरुबाबा, के खाई बसम हामी ।
सानो चित्त, सानो मन जनीगर आमाले
बारम्बार हुने छैन हमरैर करिम
सुनै के र खँडकरी रूपै के र सिनकी
दुवै दिदी बहिनीले गणेश भुटाइ ।।
गणेश र भुट्दा भुट्दै बाहुली मेरो गल्यो ।
कति द्यौला मेरा बाबा गणेशको नेग ।।


रामेछापमा गाइने माँगल गीतमा रसरङ्गका प्रसङ्ग छैनन् । यहाँ हाम्रा विवाह प्रणालीमा भएको त्रुटि परम्पराको विरोध करुण रसमा व्यक्त गरिएको छ । दुलाहा दुलही र ब्रतबन्धको प्रसङ्गमा उनीहरूको जिम्मेवारी साथै पारिवारिक जीवन पद्धतिमा इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने कुराको प्रसङ्ग प्रशस्त पाइन्छ । यस्ता मागल गीतहरू समूहमा गाइन्छन् । कुनै वाद्ययन्त्रको प्रयोग नगरी एकै स्वर, लयमा ढिलो भाकामा यस्ता गीत समाजका वृद्धवृद्धाले गाउने चलन छ ।


अतः जन्म, छैटी, न्वारन, चूडा कर्म, व्रतबन्ध र विवाहजस्ता संस्कारहरूमा नारीहरूले एक प्रकारका गीत गाउँछन् । त्यसलाई मागल भनिन्छ । यसको अर्को नाम सगुन हो । मागलहरूको गायन मन्दिरहरूमा, तीर्थस्थल आदिको शुभ साइतमा, कुलपूजा आदिको अवसरमा पनि गाइन्छ । आजभोलि यस्ता मागलहरू हराउँदै गएका छन् । जीवन संस्कारका अवसरहरूमा यिनको सम्झना गरिए पनि गाउनेहरूका अभावमा कतैकतै बूढी आमाहरूका मुखबाट केही चरणहरू मात्र सुन्न पाइन्छ ।

रत्यौली (खेली)

रत्यौलीको सही अर्थ रात मूल शब्दमा एली प्रत्यय लागेर रतेली शब्दको निर्माण भएको देखिन्छ । रातको समयमा महिलाहरूले मनोरन्जनको लागि गाइने गीत भन्ने बुझिन्छ । विवाहको दिन दुलाहा र जन्तीहरू दुलही लिन केटीपक्षको घरमा गइसकेपछि दुलाहाका घरमा आइमाईहरू जम्मा भएर रातभर नाचगान सहित गरिने स्त्रीपुरुष बीचको प्रेममा आधारित नाचगान, अभिनय रत्यौली हो । रातमा गाइने उत्सव भएकै कारण यसको नाम रत्यौली रहन गएको हो । रामेछाप जिल्लाको संस्कृतिमा रत्यौली गीतको आफ्नै महत्व छ ।

गाउँका लोग्नेमानिसहरू जन्ती जाने हुनाले विवाहको घरमा आइमाईहरूमात्र जम्मा भएर स्वतन्त्रतापूर्वक गाइने गीत भएकाले यस गीतको नारी स्वतन्त्रता र स्वच्छन्दताको भाव बोकेको पाइन्छ । काल्पनिक पोइ बनेर नाचगान गर्ने चलन छ । पुरुषहरूलाई प्रवेश निषेध गरेर रत्यौली गीतमा रोमाञ्चक आवाजहरू गुन्जने गर्दछन् ।


हाम्रो दाइको भन्दा कम्ती छ, हातमा घडी सुनको अाैँठी ।
हाम्रो दाइ क्यारी इमानदारी ल्यायो दुलही, सत्तुरको आड भारी ।

अतः विवाह घरमा दुलाहा अन्माएपछि उसका घरमा रहेका नारीहरूले एउटा कोठा लिपेर शुद्ध पारी भित्तामा ज्युँती लेख्छन् र पूजा गरेका ठाउँमा बत्ती बाल्छन् । त्यस घरमा नारीहरू रातभर जाग्राम बस्छन् र गीत र नृत्यमा सहभागी हुन्छन् । कहिले काही गीत नृत्यको प्रदर्शनले कुलीनताको सीमा नाघेको पनि हुन्छ । खेलीको समयमा जोगी जोगीनीको भेष गरी अभिनय गर्दा गाउने यस प्रकार छ ।

खरबारीमा खर छैन आइज जोगी डर छैन ।

(ख) ऋतुपर्वका लोकगीत

प्राकृतिक र मौसमसम्बन्धी विविधताका आधारमा वर्षभरिका बाह्र महिनालाई छ ओटा ऋतुमा विभाजन गरिएको छ । प्रकृतिको प्रत्यक्ष प्रभाव मान्छेको भावना र विचारमा पर्न जान्छ । यसले गर्दा उसका भावना र विचारमा परिवर्तन ल्याउन सक्छ । त्यसैले प्रत्येक कालखण्डका गीतहरू भिन्नाभिन्नै पाराका हुन सक्छन् । यस्ता गीतलाई ऋतुगीत भन्न सकिन्छ तर ऋतुहरूको नामबाट भने कुनै गीतको पनि नामकरण भएको छैन । बरु महिनाको आधारमा गीतहरू नामकरण भएका छन् जस्तै असारे, भदौरे, मंसिरे, फागु आदि । ऋतुगीतको छुट्टै अस्तित्व नमानी त्यसलाई पर्वसँग जोडेर ऋतुपर्व गीत भनिएको हो ।


समाजमा प्रत्येक जातिले आफ्ना संघर्षमय जीवनमा पीर, व्यथा र वेदनाका भारीहरू बिसाई एकैछिन भए पनि रमाउन विभिन्न विश्रान्तिका क्षणहरूको व्यवस्था गरेको हुन्छ । जसलाई पर्व भन्दछौं । हामी नेपालीले पनि वर्षभरिमा आ आफ्ना संस्कृति र वर्ग अनुसार धेरै पर्वहरू मनाउँछौ । त्यस्ता पर्वहरूमा खास किसिमका गीतहरू गाएर मनोरञ्जन गर्ने गरिन्छ । जसलाई पर्वगीत भनिन्छ । रामेछापमा पनि पर्वअनुसारको गीत गाएर मनोरन्जन गरिन्छ । जस्तैः तीज, भैलो देउसी, मालश्री आदि ।

तिजे गीत

भदौ र आश्विन महिनामा पर्ने नेपाली नारी जातिको महान् पर्व हरितालिका तीजको अवसरमा गाइने गीत तीजे गीत हुन् । यस पर्वमा विवाह भएका छोरीलाई माइतबाट लिन जाने, तीजको अघिल्लो दिन मीठामीठा परिकारहरू, दर खाने र भोलिपल्ट निराहार ब्रत बसी भगवान शिवको पूजाआजा गरेर आफ्ना पतिको दीर्घायुको कामना गर्दछन् भने अविवाहित महिलाले असल पतिको कामना गरी यो पर्व मनाउने गर्दछन् । यस पर्वमा नेपाली नारीले भोग्नुपरेको अभाव, पीडा, व्यथा, अन्याय आदिका आवाजहरू यस पर्वमा गुन्जने गर्दछन् ।

रामेछापको समाज मध्यमवर्गीय समाज भएकोले यहाँका नारीहरूमा पीडा व्यथाका कथाहरू छन् । सासुले बुहारीमाथि गर्ने व्यवहार, नन्द भाउजुको मनमुटाव, पतिपत्नीको सम्बन्ध, देउरानी जेठानी, सौतासौती, छोराछोरीको दिदीभाइ, समाजिक विसङ्गति, धार्मिक र सांस्कृतिक स्थितिको चित्रण, केही शिक्षित बुहारीले अशिक्षित सासुमाथि गर्ने व्यवहार यस क्षेत्रका तीजका गीतका प्रमुख विषय हुन् । आज भोलि नारी जातिको मात्र नभएर पुरुषले पनि तीजका गीत गाउन थालेका पाइन्छ ।

चौतारीमा बसम भने बरको पात फरर
माइती देश हेरम भने आँसु बरर ।
वर्षको दिनको तिजमा बाबा आए लिनलाई
पठाइ दिनोस् सासूज्यू दुवै दिनलाई ।
उही कोखीका छोरालाई कापी कलप किन्दिनी
उही कोखीकी छोरीलाई डोका बुन्दिनी ।
अहिले हाम्रो नेपालमा रगतको धारो छ
यस्तै चाल हो भने बाँच्न गा¥हो छ ।

भैलो/भैली

शरद ऋतुमा पर्ने तिहार पर्वमा गाइने हुनाले यसलाई ऋतुपर्व गीतको क्रममा राखिएको छ । तिहारमा लक्ष्मीपूजाका दिनदेखि विभिन्न समूहमा मादल, खैजडीको साथमा घर घरमा गाउँदै हिँड्नुलाई रामेछापको पूर्वी भेगमा भैलो खेल्नु भन्दछन् । भाइटीकाको दिन देखि भैली कार्यक्रम देउसीमा परिणत हुन्छ । भैलो एक किसिमको टुक्का गीत हो । यो समूह गीत भएकोले एक्लैै गाइन्न । समूहमा एक जनाले टुक्का भट्याउँछ र बाँकीले स्वर मिलाएर टुक्काको अन्त्यमा भैलो भैलो थेगो दोहो¥याउँछन् । यस भेगमा नारीपुरुष दुवैले भैलो खेल्ने चलन छ । भैलो खेल्ने परम्पराको शुरुआतका बारेमा एउटा किम्बदन्ती प्रचलित छ ।

प्राचीन कालमा देव दानवको युद्ध हुँदा देवतालाई हराई दानवराज बली देवलोक र दानवलोकका एकछत्र राजा भए । पराजित देवता चेलीहरूले दानवराज बलिसँग आज्ञा मागेर देवताहरू भएका ठाउँमा गई भैलो जगाएर आशीर्वाद लिए रे । चेलीहरूबाट आशीर्वाद देवलोकको राज्य प्राप्त गर्न सफल भएका थिए । त्यसै बेलादेखि दाजुभाइका सुख र समृद्धिका लागि चेलीहरूले आशीर्वाद दिने क्रममा यो भैलो गीतको परम्परा चलि आएको हो । रामेछापको क्षेत्र नं. ३मा पनि यस गीतले आफ्ना प्रभाव जमाउँदै आएको छ ।
जस्तैः
ए भन भन भाइ हो भैली
ए बर्षे दिनको भैली
तिहारैमा भैली
आयौ हामी भैली
ग)द्यौसी (देउसिरे)


देउसी, भैलो, नेपाली लोकगीतको एउटा धरोहर हो । देउसी भैलो दुवै तिहारमा गाइने गीत हुन् । तिहारमा भाइटीकाको अघिसम्म भैलो र पछि देउसी खेल्ने प्रचलन रामेछापको क्षेत्र नं. ३मा रहेको पाइन्छ । देउसी शब्दको उत्पत्ति बारेमा महानन्द सापकोटाले लेखेका छन् । देव + वर्ति = देवाती– देवसी देउसी । देउसी गरे देउसी भरे देउसीरे देवर्तीको अर्थ देवताका नाउँमा बालिएको बत्ती र त्यसको उज्यालो हो । देउसीको छुट्टै आख्यान पनि छ ।

जसमा दिदीले भाइलाई यमराजको पन्जाबाट बचाएको कुराको वर्णन छ । यसमा पनि भैलीमा जस्तै एउटाले भट्याउने र अरूले देउसीरे भन्ने चलन छ । यसगीतमा घरवेटीलाई फुक्र्याएर धेरैभन्दा धेरै भेटी वा सगुन उनीहरूबाट प्राप्त गर्ने लक्ष्य देउसीरेहरूले राखेका हुन्छन । वर्तमान समयमा देउसी बजाउँदै परम्परामा केही परिवर्तन आएको छ । मादल बजाउँँदै भट्याउँदै गाउनुको सट्टा रेडियो, टेप आदिका माध्यमबाट नाच्ने चलन बढ्दै गएको छ । उदाहरणको लागि एउटा देउसी गीतको अंशः
ए भन भन भाइ हो देउसीरे
ए वर्षे दिनको देउसीरे
तिहारैमा देउसीरे

फागु (होरी वा होली)

ऋतुगीतको अध्ययनको क्रममा फागु (होली) को पनि विशेष स्थान छ । यस चाडको पछाडि लामो परम्परा र पौराणिक कथा र किम्बदन्तीहरू जोडिएका छन् । हिरण्यकश्यपुकी बहिनी होलिकासँग यसको प्रसंग जोडिएको कथा पाइन्छ भने कही भगवान शङ्करले कैलाशमा आयोजना गरेको दिव्य नृत्यगायनसँग यसको सम्बन्ध भएको पाइन्छ । यो पर्व नेपाल, भारत लगायत एशियाली मुलुकमा युरोपमा विशेष उल्लाषमय वातावरणमा मनाइन्छ । नेपालका प्रायः सबै क्षेत्रमा विशेषतः तराई क्षेत्रमा यो पर्व रङ्गीचङ्गी वातावरणमा मनाइन्छ । फाल्गुण शुक्ल अष्टमीदेखि पूर्णिमासम्म आठ दिन होलास्टक हुने कुरा लेखिएको पाइए पनि यस क्षेत्रमा एकादशीदेखि पूर्णिमासम्म यो पाँचदिनसम्म सम्पूर्ण गाउँमा पञ्चैबाजाको तालमा गाइन्छ । यी गीतहरू अरू गीतभन्दा भिन्दै हुन्छन् ।

उदाहरणको लागि एउटा गीतः
होरी होरी भनिदेऊ, वर्षको यो शुभचाडमा
रमाउँदै गाउँदै आएको हजुरको दैलो दैलोमा आदि ।


यसरी बसन्तको आगमनसँगै मनाइने होलीमा गाइने नृत्य र गीतहरू शिव र विष्णुुको उपासनासँग सम्बद्ध भए तापनि यो आनन्द र उल्लासको अभिव्यक्तिको रूपमा मनाइने महान पर्व हो । रामेछापको क्षेत्र नं. ३मा प्रचलित होली गीतमा अश्लिलता बढी पाइन्छ । फागुको अष्टमीदेखि पूर्णिमासम्म गाउँका तन्नेरीहरू होली गाउँछन् ।

उदाहरणः
वारिको ढुंगो पारी कटाइदेऊ
ज्वाँइलाई सन्चो छैन जेठान बैनी पठाइदेऊ । हो, हो

मालश्री (मालसिरि)

मालश्री विभिन्न राग सँगालेर गाइने पर्वगीत हो । यो दसैँको अवसरमा गाइन्छ । यो गीत वास्तवमा दुर्गादेवीको स्तुतिगान हो । रामेछाप जिल्लामा पनि मालश्री गाउने चलन छ । जिल्लाको समग्र प्रभाव यस पूर्वी भेगमा पनि परेको छ । यहाँका ब्राम्हमण क्षेत्री समाजमा यसको चलन बढी छ । मालश्री गीत खासगरी दशैंको नवदुर्गामा घर, कोट घरमा गाउने चलन छ ।

जस्तैः
अष्टासिद्धिसहित देवी दिडो अभयवरदायिनी
अतिकोमल हृदय जननी आकाश बिच तुम बासिनी

ग. नृत्य गीत

धेरै जातजाति बसोवास गर्ने देश नेपाल धार्मिक सहिष्णुताको मुलुक हो । अन्य धर्म मान्नेले हिन्दुधर्मको पनि सम्मान गर्दछन् । हिन्दु धर्मका विविध पक्षमध्ये साधना पनि एक हो । व्रतउत्सव साधना कै अङ्ग हुन् । हाम्रो समाज धार्मिक भावनाले ओतप्रोत छ । वर्षभरिमा वर्षका भिन्न प्रकारका व्रत, उत्सव हुन्छन् । तीमध्ये सबै एकादशी र पूर्णिमाहरू, रामनवमी, शिवरात्रि, श्रीकृष्ण अष्टमी, ऋषि पञ्चमी, स्वस्थानी, कालरात्रि, सत्यनारायणको पूजा आदि मुख्य छन् । यी व्रत उत्सवहरूमा पुजाआजाका साथै विभिन्न प्रकारका धार्मिक भजनहरू तथा सांस्कृतिक महत्वका लोकगीत
गाइन्छन् ।

घाँटु /घाटु

गुरुङ मगरहरूका लोकसंस्कृतिमा आधारित आख्यानमूलक गीतिनाटकलाई घाँटु वा घाटु नाच भनिन्छ । घाटुनाच नेपालको गुरुङ मगर समाजको प्रसिद्ध लोकनृत्य हो । श्री पञ्चमीदेखि उठाएर वैशाख पूर्णिमामा अन्त गरिने घाँटु लगातार बढीमा सातदेखि दश दिनसम्म चल्छ । यसमा गाउने र नाच्ने प्रायः महिला नै हुन्छन् । यसमा एक जना गुरुमा वा गुरुबाउ रहन्छ । उनले झिकेको गीतमा अरूले छोप्दै बस्दै गरेको घुमी घुमी नाचिन्छ । यसमा नृत्य गर्ने कन्याहरूलाई घाटुसारे र मादल बजाएर माझमा नाच्ने पुरुषलाई बीजबारे भनिन्छ । यसमा माझमा नाच्ने महिलाले सेतो पहिरनछन् । मादलेले सेतो धोती र भोटो लगाएर टाउकोमा सेतो फेटा गुथेका हुन्छन् । महिलाहरू एकै रङ्गका फरिया र मखमली चोली लगाउँछन् । रामेछापको गुरुङहरूको बसोबास भएका ठाउँमा यो गीत गाउने चलन छ ।

जस्तैः गुरुमा आमै गुरुमा बाबै तुमचली आऊ ः बाली कन्या कुमारीको शिरै ढोगी आऊ ।

सोरठी

तिहारको लक्ष्मीपूजादेखि ठूली एकादशीसम्म विभिन्न पौराणिक तथा ऐतिहासिक आख्यानहरूमा आधारित विविध लय, ताल र श्रृङगारमा मारुनी नृत्य सहित गाइने एक प्रकारको लोकलयलाई सोरठी गीत भनिन्छ । सोह्रप्रकारले नाचिने र गाइने हुँदा यस गीतको नाम सोरठी रहेको हुनुपर्दछ भन्ने भनाइ पाइन्छ । सोरठी गीत, नेपालमा पूर्वदेखि पश्चिममा मगर गुरुङहरू र आर्य मूलका शुद्ध जातिले धार्मिक नाट्य विधाको रूपमा गाउने र नाच्ने गर्दछन् । गुरुङ मगरले सोरठी आख्यानलाई आफ्ना शुद्र जातिहरूको सोरठी आख्यानलाई मौखिक परम्परामा आधारित धार्मिक विधिको स्रोतको रूपमा मान्दछन् । यसै सोरठी आख्यानका आधारमा उनीहरू आफ्ना सांस्कृतिक क्रियाकलापहरू पनि गर्दछन् ।


रामेछापको पूर्वी भेगमा सोरठी गाउँदा मादल, झुर्मा र मुजुराको प्रयोग गरिन्छ । एक वा दुई जना गुरुवाउ हुन्छन् भने तिनदेखि पाँच जनासम्म नाच्ने हुन्छन् । गुरुवाबाट गीतको टुक्का झिकिन्छ र लामो पाराले गाउँदै गएपछि अरूले गीतलाई छोप्छन् । यस नृत्य गीतमा श्रीराम र कृष्णका लीला वा जन्म कथाको वर्णन भएको पाइन्छ । आजभोलि एक दुई ठाउँमा बाहेक यसको प्रचलन हराएर गैसकेको छ । सोरठी गाउँदा सुरुमा सरस्वती जगाइन्छ भने घर मालिकबाट दान दक्षिणा पाएपछि गीतैबाट उसलाई शुभआशिष दिने चलन हुन्छ ।


यसरी सोरठी गीतमा नृत्य बाद्यको अनिवार्यता ऐतिहासिक तथा पौराणिक आख्यानको प्रधानता नाटकीय संवाद, पर्व विशेषमा गाउने परम्परा र विविध लय, ताल र श्रृङ्गारको प्रयोग गरी गाउन र नाच्न सकिने विशेषताहरू पाइन्छन् ।

जस्तैः
ओ …………. हो, पुरवै दिशामा जैसिङ्गे राजा
(नेपाली लोकसाहित्यको विवेचना, पूवर्वत, पृ. ३९२ ।
बाबा र ज्यूले दिएका गहना कपडा
सबै चेली लाउँछ हामु चेली पनि लावैला
बाबा र ज्यूले दिएको सिन्दुर सबै चेली लाउँदैन
हामु चेली पनि लावैन । (बन्धु ः२०५८ः२७१)

नचरी

स्थानीय रामेछापका मगर गुरुङ जातिको आफ्नै खालको संस्कृतिमा आधारित छ । यसको लय सोरठी गाए झैं लामो अस्पष्ट ध्वनिमा गाइन्छ, यो शुद्ध कल्याण रागको आरोह अवरोहसँग मिल्दछ । यसको ताल र भनाइमा जति महत्व छ । रामेछापको नचरी कृष्णलीलामा आधारित हुन्छ । खास गरेर राम र कृष्णको लीलाकथा यसको विषयवस्तु हुन्छ वा कथा हुन्छ । यस क्षेत्रमा मङ्गलाचरण गरी गुरुबाबु बनेर नचरीको गायन गर्छन् । फुसुङ्गेले भोटो कछाड, कालो इस्टकोट लगाएको हुन्छ भने मारुनीहरू (२–३ जना) जामा, चोलो, पटुका गहनाहरू र मुकुट पनि लगाउने गर्छन् । यिनीहरूका साथ मादले पनि हुन्छ जो मादल बजाउँदै नाच्छ ।


नचरीलाई लोकगीतको वृहत रूपमा मान्न सकिन्छ, यो नृत्यगीत विशेषगरेर दशैं, तीज, पूर्णिमाका व्रतहरूका कुल देवताको पूजामा, सत्यनारायणको पूजामा, एकादशी ब्रत पूजाहरूमा वा यस्तै जाग्राम बस्नुपर्ने ब्रतोत्सवहरूमा प्रस्तुत गरिन्छ । त्यस्तै संस्कारमूलक अवसर जस्तै छैटी, पास्नी आदिमा पनि नचरीको आयोजना हुन्छ । यो नाच कवानक, स्वर, सन्धान, राग, बाध र नृत्य अभिनय समेतको मिश्रणले गर्दा निकै मन मोहक लाग्दछ । उदाहरणका लागि केही पंक्तिहरू तल प्रस्तुत छन् । (बन्धु,२०५८ ः २७६) ।


हा हो साचो न ही फिकर जनि गर बेगनी
सिरी किस्न जनम लियो ।
हो ………… हामरै कोखी जनम लियो सिरिकिस्न बालेले
हा…….. हा हामरै कोखी जनम लियो सिरिकिस्न बालैले । ।।१।।
हा……….. हाम्रा सिरिकिस्न जन्मेको दिन
हो भदवैको बुधबार रोहिणी नक्षत्र
हो रे यसै र दिन सिरिकिस्न जन्मेको दिन ।।३।।

कौरा

रामेछापेली लोकगीतको अर्को एउटा महत्वपूर्ण नृत्यगीत कौरा हो । प्रायः यो माघे सङ्क्रान्ति वा श्री पञ्चमीका दिन सुरु गरी असारको पूर्णिमाका दिन पूरा गरिन्छ । कतै कतै यसको आयोजना बाह्रै महिना हुन्छ । चाडपर्व र सामाजिक संस्कारका कौरा नृत्यगीतको आयोजना गर्दा गुरुबाको निर्देशनमा परम्परागत देवताहरूको सम्झना गरी वन्दना गरिन्छ । गाउने नाच्नेहरूलाई कहिलेकाहीँ झोँक पनि आउँछ । यस्ता नृत्यगीतमा रामायण र महाभारतका कथाहरूको गायन गर्ने चलन पनि थियो । तर यो अहिले बढी मात्रामा मनोरञ्जनतिर ढल्केको छ ।

अचेलका गीतहरू प्रेमका प्रसङ्गहरू नै बढी मात्रामा आउँछन् । केटा र प्रौढहरू खैजडी बजाउँदै गीत गाउँछन् र प्रायः अविवाहित युवतीहरू समूह नृत्य गर्दछन् । नाचका सिलसिलामा केटीहरूले टोपी वा रूमाल खोसेर नाच्न बोलाउँछन् । नाच्न नआएमा दण्डका रूपमा पैसा दिनुपर्छ । कौरा नृत्यगीतको लोकप्रियता बढ्दै गएपछि केटाहरूलाई गाउँमा बोलाएर केटीहरूको तर्फबाट भोजको बन्दोबस्त गरी कौराको आयोजना हुन्छ । सामाजिक अनुष्ठानका रूपमा आयोजित कौरा नृत्यगीतलाई असारको पन्ध्रमा विधिपूर्वक आगोमा धुप हालेर सेलाइन्छ र अर्को सालको निश्चित समयमा कौरा नाचको थालनी गर्ने आफ्ना बचनबद्धता दोहो¥याइन्छ । कौरा गीतको प्रारम्भमा भनिने मङ्गलाचरणमा देव देवीहरूको स्मरण गरेर रक्षाका निम्ति प्रार्थना गरिन्छ ।जस्तै एउटा गीतको उदाहरणः

कुरा परे नेपाल जाउँला धन परे तिरुँला
यी नानीलाई नलै छोड्दिन
परे पर्ला मै परुँला बन्दीपुरे जेलैमा
यो नानीलाई नलै भएन ।
काँ हो नानी घर तिम्रो
काँ हो माइती मावली
नानी त रैछौ हाम्रै दाँवली (बन्धु, २०५८ ः १२९)

घ. श्रम गीत

नेपाल एउटा कृषि प्रधान देश भएकोले यहाका जनता बाह्रै महिना कुनै न कुनै काममा तल्लीन देखिन्छन् । कुनै पनि काम गर्दा उनीहरू केही न केही गुन्गुनाइ रहेका हुन्छन् । यस्तै कुनै पनि शारीरिक श्रम गर्दा गाइने गीतलाई श्रम गीत भनिन्छ । यसरी श्रमसँग गाँसिएका विशेषत खेतीपाती लाउने, गोडमेल गर्ने र बालीनाली थन्क्याउने बेलामा नै बढी मात्रामा गाउने गरिन्छ । यस्ता श्रमगीतहरूमा वैशाख जेठमा गाइने जेठे गीत, साउनमा गाइने साउने भदौमा गाइने भदौरे, मंसीरमा गाइने दाँइगीत, ढिकी जाँतो गर्दा गाइने गीत आदि रहेका छन् । वैशाख जेठ तिर गाइने गीतहरू मकै गोड्दा, खेतबारीमा डल्ला फोर्दा, कुटो कोदालीसँगै गाउँदै रमाउँदै मेलो अघि सार्दै थकाइलाई मेटाउँदै गाइन्छ । साउने गीत कोदो रोप्दा गाउने गरिन्छ ।

यसलाई साउने सालैजो पनि भन्ने गरिन्छ । भदौमा भदौरे गीत बढी खेतीबारीमा धान कोदो गोड्दा गाइने गरिन्छ । दाइँगीत दाइँ हाल्दा गोरुसँगै घुम्दै गाउने गरिन्छ । ढिकी जाँतो र अन्य काम गर्दा गाइने कर्मगीतले मान्छेमा माया प्रीति हाँसो, विरह व्यङग्य, बाध्यता आदिको भाव व्यक्त भएको पाइन्छ । वार्षिक ऋतुचक्रभित्र जीवन यापनका लागि यहाँका श्रमजीविहरू हातमा काम गलामा गीत र हृदयमा आँसु र हाँसो लिएर बाह्रै मैना घामपानी, ढुङ्गामाटो र परिस्थितिसँग युद्ध गरिरहेका हुन्छन् । यिनै श्रमिकहरूबाट सञ्चित भएको अभिव्यक्तिहरूलाई श्रमगीत भनिन्छ ।

असारे गीत / रोपाई गीत

असार महिनामा गाइने र असार महिनाको वर्णन भएको गीतलाई असारे भनिन्छ । असार महिनामा खेतीबारीमा रोपाइँ गर्नका लागि हली, बाउसे, ब्याडे र खेतालीहरू (रोपाहरहरू) खटिएका हुन्छन् । यिनीहरूले शारीरिक परिश्रमका साथै आफ्ना सुख, दुःखका भावनाहरू पनि सिमसिमे पानी र दबदबे हिलोसँगै सुमधुर स्वर लहरीमा गुन्जाइरहेका हुन्छन् । यिनै खेतबारीमा रोपाइँ गर्ने खेतालाहरूले गाउले एक प्रकारको लोकलयलाई असारे गीत भनिन्छ । कतैकतै रोपाइँ गर्दा पञ्चेबाजा बजाउने पनि चलन छ । तर गीत भने प्रायः सर्वत्र गाइन्छ । साधारण झ्याउरे लयलाई नै असारे गीतको उदाहरणका प्रस्तुत गरेको पाइन्छ ।

तापनि असारे गीतमा असार महिनाको वातावरण, रोपाइँको चित्रण र सामाजिक सम्बन्धहरूको पृष्ठभूमिमा लोकमानसको अभिव्यक्ति हुन्छ । असारे गीतलाई आख्यान मुक्त र आख्यानयुक्त गरी दुई भागमा बाँड्न सकिन्छ । आख्यानयुक्त गीतलाई बाली भनिन्छ । जसलाई प्रायः उमेर पुगेर पनि पाखुरीका भरमा जिउनुपर्ने महिलाहरूले आध्यात्मिक भावनाले प्रेरित हुँदै दिनभरि नै गाउने गर्छन् । भने आख्यान युक्त गीतहरूमा वयस्क युवायुवतीहरूद्वारा आपसमा हिलो छ्यापाछ्याप गर्दै दोहोरी ठट्यौली खालका र घोचपेचमूलक असारे गीतहरू गाइन्छन् ।

असारे गीतका दोहोरी गाउने परम्परा विस्तारै लोप हुँदै गए तापनि युवायुवतीहरू आपसमा हिलो छ्यापाछ्याप गर्दै असारे गीत गाउने र हिलो नखेल्ने वृद्ध महिलाहरूले ढिलो लयमा बाली गाउने परम्परा अझै प्रचलित रहेको पाइन्छ । तर बालीगीत लामोलय तानेर गाउनुपर्ने गीत भएका कारण सबैले गाउन सक्दैनन् । त्यसैले यो गीत कमै मात्रामा गाइन्छ । बालीगीत गाउँदा हातको धानको बिउ लिएर स्थानीय देवीदेवताहरूलाई सम्झँदै गाउन थालिएपछि बेलुका काम सकेपछि मात्र गाउन बन्द गरिन्छ । असारे गीत सामुहिक रूपमा गाइन्छ । यी गीतमा वाद्यसामग्रीको प्रयोग र नृत्यको प्रचलन भने छैन ।

जस्तै असारे गीतको उदाहरणः

असार मासको दबदबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो
बेलौती काँचो ख्याल होइन साँचो छ बीस रिन लाग्यो
लेकैमा जाउँला काठ काटी ल्याउला दैलीलाई संघार
परेको मौका असारे गाइदेउ भरे त आधार

असारलाई भनी कुटेको चिउरा म कति साँचुला
सौताको छोरो मुटुको किलो म कति बाँचुला
छुपु र छुपु खैते र रोप्यो
हातमा बिउ छउन्जेल
खान र लाउन दौलत थियो
बाबाको जिउ छन्जेल (स्थानीय) ।

भदौरे गीत

कृषि प्रधान देश नेपालमा खेती बाली लगाइसकेपछि खेती राम्रो सँग फलोसफुलोस भनेर त्यसलाई गोडमेलको आवश्यकता पर्दछ । त्यस्तै गरी रामेछाप जिल्लामा पनि असारमा रोपाइँ गरेको धान र कोदो गोडमेल गर्ने महिना भनेको भदौ महिना हो । यसरी धान, कोदो, गोडमेल गर्दा स्त्री र पुरुषहरू विभिन्न गीतहरू गाउँदै आफ्ना मेलो अगाडि बढाएका हुन्छन् । यतिबेला खेतमा धान र बारीमा कोदो फुल्न थालेको छ ।

विस्तार विस्तार वर्षाको आखिरी प्रहर लागेको छ । खेतमा धान र हृदयमा लोकगीत रूपी ढुकुटी बोकेका तरुनी तन्नेरीहरू भदौरे गीत अलाप्न पछि पर्दैनन् । यो गीत समूहमा पनि गाउन सकिन्छ, एक्लै गाउन पनि सकिन्छ । यसमा वाद्ययन्त्रको आवश्यकता पर्दैन । आफ्ना कोकिल कन्ठलाई विनाबाजा प्राकृतिक मनोरञ्जनपूर्ण वातावरणमा दिल खोलेर प्रस्तुत गर्नु भदौरे गीतको विशेषता हो । जस्तै भदौरे गीतको उदाहरणः

भदौरे महिना मकै र खाउँला
मायालु चेली बसेको ठाउँमा पैताला पैल्याउँला
शिरफुल भयो ……………………..
(थापा, २०२७ः १६८)
भदौरेका घामले तालुमा पोल्यो लेऊ न नानी
न त मलाई लाउन खान न मलाई सिर्फूल
के को गुनले दिनु र हो चिसो जल ।

दाइँ गीत

मंसिर महिनामा धान काटेर खलामा फिजाँरी गोरुले धान दाउने बेलामा गाइने गीतलाई दाइँगीत भनिन्छ । यसलाई रासि गीत पनि भनिन्छ । कतै कतै कार्तिकमा पनि दाइँ राख्ने चलन छ । धान काटेर एक ठाउँमा कुन्यु लगाएर राखिन्छ गोबरले लिपेर चिल्लो पारेको खलामा कुन्यु ढालिन्छ । खलाका बीचमा गाडेको ठूलो किलालाई मियो (मेहो) भनिन्छ । त्यसैमा लहरै गोरु बाँधिन्छ र पराल सहितको धान कुच्चाइ दाइँ गरिन्छ । गोरु, धपाउने, परालसहितको धान थप्ने र झिक्ने अनि गोरुले गोब््रयाउने बित्तिकै फाल्ने र चनाखो भई गोरुलाई घुमाइराख्ने व्यक्तिलाई दँहरे भनिन्छ । दाइँ सकिएपछि धानको रास लगाइन्छ । यसलाई धानको रास भनिन्छ । दाइँ राखेको दिन खलामा जति पनि काम गर्ने पुरुष, महिला हुन्छन् ।

तिनलाई दंदरा भनिन्छ । दँदरा र खेतीगर्ने किसानले आफ्ना कर्मको प्रतिफलको रूपमा चुलिएको धानको रासलाई धूप हालेर देवदेवी आफ्ना भुमे, झाँक्री आदिको स्तुति गरी धानमा सह बढोस् भनेर कामना गर्दछन् । दाँइगीतमा गोरु घुमाउने व्यक्ति र दँदरेप्रति व्यङ्ग्य गर्दै खेत जोतेर अन्न उब्जाउने गोरुहरूप्रति आत्मीयता र कृतज्ञताका भाव प्रकट गरिएको हुन्छ ।

जस्तैः
हो हो मेहो (मिया) का टुप्पामा परालको तान्द्रो (त्यान्दो)
हो हो गोरु खेज्ने केटालाई मुसाको आन्द्रो
धुप धुवार मेरो बरदो हो भूमेले खाए
यो भार तिमीलाई मेरा भाई बरदो हो महादेवले लाए ।

बाह्रमासे लोकगीत / सदाकालिक

पर्व, संस्कार र ऋतु विशेषका अवसरमा गाइने लोकगीतहरूका अतिरिक्त वर्षको बाह्रै महिना घर आँगनदेखि लिएर वनपाखाहरूमा गुन्जिरहने लोकअभिव्यक्तिलाई बाह्रमासे गीत भनिन्छ । (दिलबहादुर थापा कोट क्षेत्रमा प्रचलित लोकगीतको सर्वेक्षण र अध्ययन २०५०ः ६५) यस्ता लोकगीतहरू कुनै पनि प्रसङ्गमा सहज र सरल अभिव्यक्तिका साथ लोक जीवनको सरल रूपाङ्कन हुने गरी बाह्रै महिना गुन्जिरहेका हुन्छन् । बाह्रमासे लोकगीत अन्तर्गत बालकदेखि बृद्धसम्मले गाउँने एकल वा युगल स्वरदेखि लिएर एकोहोरी, दोहोरी जुनसुकै अवस्थामा पनि गाउँन
सकिन्छ । यिनै बाह्रमासे लोकगीतहरूमा वैयक्तिक आँसु हाँसो र माया प्रीतिका हार्दिक अभिव्यक्ति पाइन्छन् । साथै यी गीतहरूमा वैयक्तिक परिस्थिति, बाध्यता विरहका साथै सामाजिक, आर्थिक र प्राकृतिक चित्रण पाइन्छ ।

जस्तैः
रातो रुमाल खोलीमा धुनी
बुढिगंगा सुसाउँदा मन रुनी ।
मायासँग छुट्न मन थिएन
करीमले बसन दिएन
हरियो वन भयो
जाउँँ कि बसम दोधारे मन भयो ।
चैतको उराठे महिना
भैमा पात कालीमा बतास
धन हुनेलाई धनैको रजाइँ
गरिबलाई दिन रात छ कजाँइ ।

दोहोरी लोकगीत

दुई व्यक्ति अथवा समूहका बीच गीतैमा गरिने सवाल जवाफलाई दोहोरी लोकगीत भनिन्छ । यो प्रायः युवक र युवती तथा युवकहरू र युवतीहरूको समूहका बीच हुने गर्दछ । यो रामेछापमा निकै प्रचलित लोकगीत हो । दुई व्यक्तिका बीचमा हुने दोहोरीमा प्रायः परिचयबाट गीत गाउन सुरु हुन्छ र प्रेम प्रसङ्ग ल्याएर ख्याल ठट्टा गरिन्छ । खेतबारीमा काम गर्दा, चाडपर्वमा, मेलामा, जाग्राम बस्दा, रोधीघरमा र जात्राहरूमा पनि दोहोरी गाउने चलन छ ।

यस्ता गीतहरू एउटा पाखामा काम गरेको गायकले गाएको सुनेर अर्को पाखाबाट जवाफ फालेका हुन्छन् भने कुनै मेलापूजा आदिमा बसेर युवायुवती बीचमा योजनाबद्ध तरिकाले गाइने गीत पनि हुन्छन् । त्यसैगरी केही दशकदेखि यता सामूहिक लोकदोहोरी गीत प्रतियोगिता हुने गरेको पाइन्छ । यस्ता प्रतियोगितामा निश्चित समय र परिधिभित्र रहेर लोकदोहोरी गाउने चलन बढ्दै गएको पाइन्छ । दोहोरी लोकगीतमा प्रायः एउटा समूह केटाको हुन्छ भने अर्को समूह केटीको
हुन्छ । समूहको एक जना गीत झिक्ने हुन्छ उसले गीत झिकेपछि समूहका अरूले त्यसलाई दोहो¥याउँछन् ।

त्यो प्रायः दुई तीन पटक दोहो¥याइन्छ । अर्को पक्षको नाइकेले त्यसको जवाफ गीतमै ठीक पार्छ र पालो आउन साथ त्यो गीत गाउँछ, त्यसपछि त्यस समूहका अरूले दोहो¥याउँछन् । यो सवालजवाफ कुनै एक पक्षको जीत र हार नभएसम्म चलिरहन्छ । दोहोरी गीतको भाका पूर्व परिचित भएपनि गीतका गेडाहरू, शब्दावली र अभिव्यक्ति नयाँ हुन्छन् ।


दोहोरी गीतमा लोकको सृजनशीलता हुन्छ । गीतमा युवक र युवतीका बीचको प्रेमप्रसङ्ग निकालेर प्रश्नोत्तर गर्दा मानवीय मनोभाव र सामाजिक परिस्थितिको सजीवचित्रण हुन्छ । उनीहरूले आफ्ना परिचय दिँदा आ–आफ्ना आकाङक्षाहरूलाई व्यक्त गर्दा र मनका भावहरू प्रकट गर्दा स्थानीय वातावरण, प्रकृति र समाजलाई प्रस्तुत गरेका हुन्छन् । रामेछापको उत्तरी भेगमा यो भाका निकै प्रचलित छ ।

जस्तै भाकाहरू –

केटाः यो मायाँलाई काँ भेटौं हुनी
भेटे माया बोलचाल नहुनी
माया …………………..
केटीः बल्ल तल्ल भएको भेट
माया तिम्ले खोलीदेउ मन पेट
माया ……………….
केटाः लेकै सिरिस लाउमाया लाउनीले जोवान फिरि छ
धानको बाला कोदाको कपनी
दिनको माया रातिको सपनी
माया …………………..
केटीः यो मायाको बोली नै पियारो
पियाराले दिल मेरो बिगा¥यो
माया ………………….
रामेछापको पुरानो भाकाः
केटाः यानुमायाँ कहाँ पो हुँला भेट ? यानुमायाँ
वैशाख जाँदा जेठ लाग्दा यानुमयाँ
कहाँ पो हुँदा भेट ? यानुमायाँ (थापा, २०२७ ः २५२)
स्त्रीः यानुमायाँ कहाँ पो हुँला भेट ? यानुमायाँ
कहाँ पो हुँदा भेट यानुमायाँ

झ्याउरे लोकगीत

झ्याउरे लोकगीत बाह्रै महिना गाइने लोकप्रिय र मनोरञ्जन प्रधान गीत हो । बाह्रै महिना गाइने भए तापनि झ्याउरे गीत काममा जाँदा कामबाट फुर्सद पाएको बेला, चाडपर्वहरूमा, अन्य गीतहरू गाइएका बेलामा पनि बीचबीचमा मनोरञ्जनका निम्ति झ्याउरे गीत गाउने चलन छ । अँग्रेजसँगको लडाईका सन्दर्भमा गढवालतिर गएका युवाहरू सुगौली सन्धिपछि फर्कि आउँदा सर्वप्रथम गाएको भाका नै झ्याउरे गीतको पहिलो नमूना हो ।

यसको एउटा १६ अक्षरे छन्दले साहित्यमा झ्याउरे छन्दको संज्ञा पाएको छ । जुन छन्दमा मुनामदनजस्ता उच्च काव्यात्मक मूल्यका रचनाहरू लेखिए । चुड्का, रोइला, दोहोरी, झ्याउरे कै भेद हुन तर लोकले अब यिनलाई झ्याउरे मान्दैन । यस क्षेत्रमा झ्याउरे गीत गुरुङ, मगरको, समाजमा तन्नेरी, तरुनीहरूले मादलको तालमा गाउने चलन छ । यो लामो भाका, छोटो भाकामा, एक्लै वा दोहोरीका रूपमा गाइन्छ ।

ङ. बाल तथा शिशु लोकगीत


लोकसाहित्यको भण्डार अगाध छ । यसबाट पाएसम्मका रामेछापेली हृदयका मोतीदानाहरू टिपेर यथासम्भव तिनीहरूलाई समावेश गर्ने प्रयास यी उपयुक्त परिच्छेदहरूमा गरिएको छ । यो प्रयास लोकवार्ता विषयक सामान्य दिग्दर्शन हो । यस संक्षिप्त विवेचनाबाट यसका अगाध स्वरूपहरूको के मात्रा भए पनि थाहा हुन जानेछ भन्ने विश्वास छ । यो माथि समावेश नभएका रहलपहल सानातिना लोक अभिव्यक्तिहरूको टिपोट हो ।


हाम्रो नेपाली लोक साहित्य जस्तै बाल लोक साहित्य पनि व्यापक छ । यहाँ बालगीत, बाल कविता, कथा, टुक्का, चुड्किला आदि प्रशस्त छन् । अहिले यहाँ केवल बाल लोक गीतहरूलाई मात्र लिई सानो चर्चा गर्न लागिरहेको छौं । बालगीत हाम्रा अन्य लोकगीतहरू जस्तै पुरानो लयात्मक लोककथन हो । आफ्ना साना नानीहरूलाई हँसाउने, फुलाउने, माया प्रदान गर्न, काम (भाषा हिँड्डुल) गर्न सिकाउने आदिका क्रममा हामी बालबालिकासँग विभिन्न व्यवहार गर्दछौँं उनीहरूसँग हामी उनीहरूकै भाषा (कथन र संकेत) बाट व्यवहार गरी थपडीमारी, गुनगुनाई, गाई, नाची नचाई मनोरञ्जन दिने प्रयास गर्दछौं । त्यसैले बालगीतहरू हाम्रो लोकजीवनका अभिन्न अङ्गजस्ता भएका छन् । बालगीतहरू लयप्रधान हुन्छन् र यिनको भाषा र भावना बालअनुकूल हुन्छ ।

बालगीतका बाल आवाज र तोतेबोली मिसिएको हुन्छ । रामेछापको पूर्वी भेगमा बालबालिकाहरू कुनै जात, धर्म, लिङ्ग, आदिको भेदभाव नगरी स्कुलको खुल्ला मैदानमा होस वा घरको आँगनमा होस् उनीहरू स्वच्छ भावनाले गीत गाउँदै उफ्रदै रमाउँछन् । दशैको बेला केटाकेटीले यस्तो गाउँछन् ।
खाम्ला पिम्ला ः नाना लाम्ला चिची खाम्ला ः काँ पाम्ला
चोरी ल्याम्ला ः चोरी खानु भन्दा छुट्टै बसौंला ः बस बस मौरी
बुधबार जाउली ः फुलको मह खाउली ।

विविध लोकगीत

असार र साउनबाहेक श्रमगीत अन्तर्गत गाउन सक्ने अन्य धेरै गीतहरू छन् । जस्तैः गोठालो जाँदा गाइने गीत, घाँस काट्न जाँदा गाइने घाँसेगीत, ढिकी जाँतो गर्दा गाइने गीत, भदौमा धान कोदो गोड्दा गाइने गीत इत्यादि । यी गीतहरू अघिपछि पनि गाउन सकिने बाह्रमासे खालका हुन्छन् र गीतको स्वरूप पनि प्रायः एउटै प्रकारको हुन्छ ।

जस्तै–

गोठाले गाई च¥यो भीर पनि यो मनमा कति हो पीर पनि
घाँसेः घाँस काट्यो खुर्केर, गयो जोवान डालीमा हुर्केर
ढिकीजातोः दियौ बाबा घर जानी जानी, पाल अब मेरो पीर नमानी
धानकोदो गोड्दाः धानको बाला त कोदाको कपनी दिनको भोक रातिको सपनी आदि ।

निष्कर्ष

यसरी रामेछापमा विभिन्न प्रकारका लोकगीतहरू प्रचलनमा छन् । विभिन्न समयमा गाइने यस्ता लोकगीतहरू विभिन्न पर्व तथा अनुष्ठानमा गाइन्छ । लोकगीत वसन्तको हरियालीमा, चैतको हुरीमा, जेठको खडेरीमा, बर्षे झरीमा, दिनभरको थकाईमा गाएर मनोरञ्जन लिइन्छ । प्रफुलित मन मनमस्तिष्कमा, डम्फुु, मादल, झ्याली, करताल, खैजंडी, मुजुरा, बाँसुरी तथा मुरलीको रन्कोमा रोदीघरबाट कुलकुलाइरहेका खोलानालाको अविरल धुनमा सहेंलिंदै गएका सुरिला मधुर कण्ठबाट फुटेर आएको चोखो संगीतमय उद्गारलाई सजिलै वर्गीकृत गरी विभाजन गर्नु असम्भव प्राय छ तर पनि अध्ययनको लागि यसको प्रकार्यपरक अध्ययन गर्दा देश, काल, परिस्थिति, समयसन्दर्भ अनुसार गुञ्जित हुने लोक गीतलाई सरल र सहज ढङ्गले वर्र्गीकरण गरिएको छ ।

रामेछापमा प्रचलित लोकगीतको वर्गीकरण अन्तर्गत धार्मिक तथा संस्कार लोकगीतमा मागल र रत्यौली, ऋतुपर्वका लोकगीतमा तिजे गीत, भैली, फागु र मालश्री लोगीत, नृत्य लोकगीतमा घाटु, सोरठी, नचरी र कौरा, श्रम लोकगीतमा असारे, भदौरे, दाइँ, बाह्रमासे, दोहोरी र झ्याउरे र बाल तथा शिशु लोकगीत प्रचलनमा रहेका छन् । समग्रमा रामेछाप जिल्ला भौगोलिक हिसाबले त्यति ठूलो नभए पनि यहाँ गाइने गीतका सयौंँ भाका र लयले गर्दा यो क्षेत्रलाई लोकगीतको महत्वपूर्ण स्थान बनाएको छ । बालकको जन्मदेखि मृत्युसम्म जीवनका प्रत्येक क्रियाकलापमा लोकगीत गाइने हुनाले यस क्षेत्रले नेपाली लोकगीतको संरक्षण र सम्वद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

समग्रमा यहाँका लोकगीतको सर्वेक्षण र अध्ययनबाट यस क्षेत्रमा प्रचलित लोक गीतहरूमा स्थानीय लोकधारणा, सामाजिक, आर्थिक, धार्मिक विश्वास, शैक्षिक गतिविधि, बालमनोविज्ञान, ऋतुपर्व, मेलापात र प्राकृतिक दृश्यहरूको यथार्थ चित्रण पाइन्छ । भौगोलिक दृष्टिले सानो भए तापनि व्यापक विषयवस्तु र विविध लोकलय पाइनु यहाँका लोकगीतको मुख्य विशेषता हो ।

सन्दर्भ सामग्री


जोशी, सत्यमोहन (२०१४), हामो लोकसंस्कृति, काठमाडौं स् रत्न पुस्तक भण्डार ।
थापा, धर्मराज (२०२७), हाम्रो लोकगीत, काठमाडौँ ः रेडियो नेपाल ।
थापा, धर्मराज र सुवेदी, हंसपुरे, (२०४१), नेपाली लोकगीतको विवेचना, काठमाडौं ः पा.वि.के. त्रि.वि ।
बन्धु, चूडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौं स् एकता बुक्स ।
रामेछाप जिल्लाको पाश्र्वचित्र (२०६१), जिल्ला विकास समितिको कार्यालय, मन्थली, रामेछाप ।