देउसी भैलो खेल्न प्रशासनको रोक

रामेछाप, २७ कार्तिक ।

 कोभिड-१९ को महामारीको कारण  जिल्लामा संक्रमणको दर बढी रहेको छ । नेपालीहरुको महान चाड विजयादशमी भर्खर सकिएको र शुभदिपावली, छठ पर्व तथा नेपाल सम्वत नजिक आइरहेका छन् । प्रतिकुल परिस्थितिमा विगतमा जस्तो चाडपर्व मनाउन नसकिने र यसबाट थप संक्रमण बढ्न जाने भएकोले उच्च सर्तकता अपनाउन जरुरी देखिएको छ । चाडपर्वको अवसरमा हुने लुटपाट चोरी, डकैती, झै झगडा, अपराध, आगलागी, विस्फोटकबाट बच्न उच्च सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध तथा निर्देशन गरेको छ ।

 चाडपर्वहरु मनाउँदा जो जहाँ छौं त्यहीबाट सुरक्षित साथ मनाउनुका साथै  जिल्ला भित्र हुने कुनै प्रकारका मेला महोत्सव, जात्रा, खेलकुद, धार्मिक साँस्कृतिक कार्यक्रम, भिडभाड, जमघट हुने खालका कार्यक्रम नगर्ने/नगराउने समेत जिल्ला प्रशासनले सूचनामा भनेको छ ।

त्यस्तै. पटका, आतसवाजी लगायत विस्फोटक पदार्थको आयात, सञ्चय तथा प्रयोग गर्न नपाइने, बेलुका ८:०० बजे पछि मदिरा तथा मदिराजन्य पदार्थको बेचविखन तथा सेवन गर्न/गराउन नपाइने, जुवा तास खेल्ने/खेलाउने लगायत कानूनले निषेध गरेका कार्यहरु गर्न/गराउन नपाइने समेत जिल्ला प्रशासनले सूचनामा प्रष्ट लेखेको छ ।

 तिहार नेपालीहरूको महानचाड भए पनि यसपाली देउसी/भैलो कार्यक्रम नगरी कोरोनाको संक्रमणबाट जोगिन प्रशासनले अनुरोध गरेको छ ।