मानिसमा हराउँदै गएको मान्छे

म कहाँ गएर खोजौं मान्छे ? कहाँ पाइन्छ मान्छे ? एक किसिमको नभेटिने मान्छेको खोजीमा लागिरहेको छु म । तपाईं छक्क पर्नु भयो होला । यत्रो मान्छे नै मान्छेको कोलाहलमा मान्छे खोज्दै हिँडेको देखेर मलाई पागल ठान्नु भयो होला ? तर तपाईं जे भन्नुहोस् म मान्छेकै खोजीमा छु । मैले अहिलेसम्म मान्छे पाउन सकेको छैन । झट्ट हेर्दा तपाईंलाई लाग्यो होला, कोही मेरो आफन्त हरायो होला । तपाईंको मनमा प्रश्न उठ्न सक्छ । हराएको मान्छे कतै मानसिक रोगी पो थियो कि ? कि त वृद्ध ,अपाङ्ग कोही हुन सक्छ । हराएको मान्छे । हुन पनि हो प्रायः यस्तै यस्तै मान्छे हराउछन् पनि । रेडियो टेलिभिजनमा, पत्रपत्रिकामा किन हराएको सूचना नराखेको त ? अनि प्रहरीलाई किन खबर नगरेको ? यी प्रश्नहरु जगजायज हुन् पनि ।


तर आज म एउटा मात्रै हैन, अनि मेरो मात्रै हैन सबै सबैको प्रिय धेरै धेरै मान्छेको खोजीमा छु । जुन करोडाँै मान्छेको भिडमा अहिलेसम्म कसैले पनि भेट्न् सकेको छैन । हराएको मान्छे कतै न कतै कसै न कसैले त देख्नु पर्ने नि ? भन्ने प्रश्न पनि उठ्छ यहाँ । जुन स्वाभाविक हो । हराएको मान्छे पक्कै पनि जीवित नै हुन्छ । मृत मान्छे हराउने सवाल नै हुन्न । हराएको मान्छे कतै बाटो भुलेर गयो होला । ऊ कतै न कतै पुग्यो होला पुग्नु पनि पर्ने हो तर ऊ कतै पनि पुगेको छैन । उसको सास व लाश कतै न कतै भेटिनु पर्ने हो । तर अहिलेसम्म कतै केही पनि कसैले भेटेको छैन । म वर्षौंदेखि उसलाई खोज्दै छु । जीवनको तीन दशक बितिसक्दा पनि मैले उसलाई भेट्न सकेको छैन । जताततै जनसंख्या वृद्धि भैरहेको छ । सुनसान र चकमन्न भन्ने कतै छैन । जताततै भीडभाड र कोहाहल धुलो धुवाँ छ ।

मेरो हजुरबुबाको पालामा बाघ कराउने र दिउँसै बाख्रा, बाछाबाछी अझ एक्लै छ भने बाघबाट मान्छे हराउने ठाउँमा गगनचुम्बी महल बनेको छ । एक्लै हिँड्दा जंगली जनावर तथा अदृश्य शक्ति (भूतप्रेत) ले तर्साउँछ भन्ने ठाउँमा मान्छे नै मान्छेको जमात भेटिन्छ । जहाँ जता गए पनि मान्छे नै मान्छेको भीड भेटिन्छ तै पनि मान्छे भेट्न सकेको छैन । मान्छेको जस्तै शरीर र मुकुट भएका वस्तुहरु असरल्ल छन् तर ऊभित्र मान्छेको थोरै गन्ध पनि पाउन सकेको छैन कस्तो विडम्बना !

उहिले एउटा गाउँमा जम्मा एउटा घर हुन्थ्यो । तैपनि मान्छेले एक्लो महसुस गरेको थिएन । ऊ रातदिन जुनसुकै बेला पनि आफूलाई सुरक्षित महसुस गर्दथ्यो । तर अहिले घरै घर थुक्न पनि जथाभावी नमिल्ने शौचको त कुरै छाडौं । बाटोमा हिँड्दा वा बाहिर कतै जाँदा थुक आयो, सिँगान आयो अर्थात् दिसा नै लाग्यो भने जसरी पनि बोकेर ल्याएर आफ्नै घरभित्र थन्क्याउनु पर्छ । यस्तो भीडमा र कोलाहलमय वातावरणमा पनि मान्छे नभेटिनु कस्तो दुःखद अवस्था हो ? कतै बसमा यात्रा गर्नुहोस् खुटा हाल्ने ठाउँ हुन्न । यो त ठिकै छ मानँे । मैले सबैले गन्तव्यमा पुग्नु नै छ । गाडीमा झुण्डिने क्रममा समलिङ्गी भए त केही फरक परेन । विपरीत लिङ्गी भए त फसाद् । एउटा घटना अझै दिमागमा क्यामाराको रील घुमेझैँ घुमिरहेको छ ।

एकपटक यात्रा गर्ने क्रममा म पनि माइक्रो बसमा झुन्डिएर यात्रा गर्दै थिएँ । एउटा हातले बच्चा च्यापेको थिएँ । अनि अर्को हातले गाडीको डन्डी । पछाडि र अगाडि विपरीत लिङ्गी थिए । आफूलाई कसरी गन्तव्यमा पुगौँ भन्ने तनाव छ । त्यसलाई चाहिँ उत्तेजना ? दुबैतिरबाट मलाई घोचेको महसुस भयो । केही बोल्न सकिँन । त्यो भिडमा कसले सुनोस् ? मेरो चित्कार अनि हिम्मत गरेर एक लात हानेँ । अनि त्यो ब्वाँसो जिल्ल परेर अलि पर सर्यो ।


ल भन्नुहोस् त खै यहाँ मान्छे ? खै कहाँ गयो त्यो भित्रको मान्छे ? यहाँ मात्रै हैन हस्पिटल, बजार, सडक, गल्ली, सिनेमाहल, सभा, समारोह, मेलापर्व जताततै भीड ठेलमठेल छ । हिँड्दा एकले अर्कोलाई ठक्कर दिँदै हिँड्नुपर्छ । त्यहाँ पनि म मान्छे भेट्न सक्दिन ।


हस्पिटलमा बिरामी डाक्टर, नर्स र आफ्नै कुरुवाको बीचमा पनि आफूलाई एक्लै ठान्छ । ऊ आफूलाई असुरक्षित ठान्छ । अप्रेसन कक्षमा के थाहा मेरो भित्री अङ्ग गायब पो हुन्छ कि ? अनि मलाई मारिन्छ कि भन्दै ऊ मान्छेकै खोजी गर्छ । म मानवता बिहिन मान्छेको भीडमा जहिल्यै मान्छेकै खोजीमा हुन्छु । सभा समारोह, तालिम, गोष्ठी आदिबाट निस्कँदा पनि म मान्छेको भीडमा म मान्छेकै अभाव देख्छु । किनकी ब्वाँसा प्रवृत्ति भएका हाकिमबाट आफ्नै कारिन्दा लुटिएको मैले सुनेको छु र देखेको पनि छु ।

आजकाल त हुँदा हुँदा एक्लै हिँड्न पनि डर लाग्छ । साथीहरू सङ्ग हिँड्न पनि डर लाग्छ । यतिमात्र कहाँ हो र ? म त आफ्नै बाउ, ससुरा, लोग्ने, दाजुभाइ, काका, भिनाजू, फुपाजू लगायतका पुरुष जातिमै मान्छेको अभाव देख्छु । एक हिसाबले लाग्छ, म खोज्दै छु मान्छे भाग्दै छ । कतै कोही नभएको जहाँ मान्छे नै मान्छे भएको ठाउँको खोजीमा भाग्दै छु ।

मेरो हजुरबुवा भन्नुहुन्थ्यो, सुनसान जङ्गल हुन्थ्यो । त्यहाँ जंगली जनावरको डर हुन्थ्यो । बाटोमा एक्लै हिँड्दा कोही मान्छे भेट्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर अहिले ठिक उल्टो भएको छ । बाटोमा एक्लै हिँड्दा कोही नभेट्न पाए हुन्थ्यो । एउटा मान्छेले अर्को मान्छे भेट्दा अपराधीले झँै शिर निहुर्याएर हिँड्नु पर्छ । मानव सभ्यताको विकाससङ्गै विज्ञानको विकास त भयो तर विज्ञानभित्र ज्ञानको बास हुन सकेन । मान्छे धेरै जन्मे तर मान्छे भित्र मान्छे जन्मन सकेन । मान्छे केवल मान्छे मात्रै जन्मियो उभित्र जंगली हिंस्रक जनावरको बास भएर आयो । कहिलेकाही काहीं त हजुरबुवाहरु भन्नुहुन्छ “जंगली जनावर बस्ने घर सबै मान्छेले कब्जा गर्यो त्यसैले मान्छेभित्र जंगली जनावर र राक्षसको आत्माले प्रवेश गर्यो ।” होजस्तै लाग्छ पनि

म पूर्णरुपमा नास्तिक हुन सक्दिन । किनकि म जन्मे हुर्केको समाज पनि यही हो । त्यसैले मलाई पनि लाग्छ, प्रेतात्मा, सबै मान्छेको गर्भबाट जन्मेछ कि क्या हो ? पहिला पहिला भूत देखिन्थ्यो रे । तर मैले अहिले यो सन्सार देखेको तीन दशक भयो । अहिलेसम्म भूत देखेको छैन । जब म मान्छे हूँ भनेर बुझ्न थालेँ र आफ्नो अस्तित्व खोज्न थालेँ । मान्छे नै भूत भएको, राक्षस भएको देखेँ । मलाई अहिलेसम्म कुनै पनि प्रेतात्माले दुखाएको छैन । बरु धेरै पटक मान्छेरुपि भूतबाट दुखेको छु । म मान्छे मान्छेदेखि नै भाग्दैभाग्दै हिँडेको देखेको छु । भाग्दै त जाने तर कहाँ जाने ? जहाँ गए पनि मान्छे भेट्न् सकिन्न । मन्दिरमा देउता बस्छन रे । तर खै त ? देवताले मान्छेलाई बचाएको ? सम्झना बि.क.लाई मन्दिरमै मारिएको हैन । मन्दिरको देउतालाई न कसैलाई बचाएको छ, न त मारेको नै छ । त्यसैले यसमा पनि मलाई विश्वास छैन । खै त ती अबोध बालिका सम्झनालाई देउताले बचाएको ? यो सुन्दा लाग्छ, सबैसबै मन्दिरका देउतालाई उखालेर खोलामा फ्याँकिदिउँ । मन्दिरमा मान्छेरुपि दानवलाई बलि चढाउँ । मेरो आस्थाको पर्खाल त्यसैत्यसै भत्किन्छ ।

दशैमा नवदुर्गा देवीको पूजा भयो तर यहाँ जीवित देवीहरु दिनदिनै मारिँदै छन् । के यही हो त मानवता ? सधै मन्दिरमा पूजा गर्ने जोगी सँधै माग्दै हिँडेको छ । अनि सधै बसीबसी खाने मानिस रातारात अमिर भएकी छ । यस्तो देख्दा मेरो मात्रै हैन सबैको आस्थाको पर्खाल भत्किएको होला ? तै पनि अझै मान्छेले खरानी घसेर जोगी बन्न छोडेको पनि छैन अनि मन्दिरमा देवीको पूजा गर्न पनि छोडेको छैन । सायद उनीहरु पनि म जस्तै मान्छेको खोजीमा होलान् ।


जति पनि मान्छे दुखेका छन् मान्छेकै कारणले । त्यसैले मान्छेले अब मान्छे बन्न सक्नुपर्छ । म पनि मान्छेकै खोजीमा छु । तपाईं पनि मान्छेकै खोजीमा लाग्नुहोस् । मान्छेले मान्छे देख्दा भाग्दै हिँड्ने अवस्थाको अन्त्य होस् । मान्छे अब मान्छे जस्तै भएर जन्मियोस । दशकौँदेखि म मान्छेकै खोजीमा छु । अहिलेसम्म मान्छे पाएकी छैन । आखिरी मान्छेको खोजी मैले कहिलेसम्म गर्नु पर्ने हो कुनै पत्तो छैन ।
जय मानवता !