गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै

मंसीर ०४, रामेछाप ।
जिल्लाको गोकुलगंगा गाउँपालिकामा कृषि सम्मेलन हुने भएको छ । ‘वैज्ञानिक तथा आधुनिक कृषि पद्धति, प्रविधि सहितको गाउँको आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ आगमी मंसीर ५ गते उक्त सम्मेलन हुने भएको हो । गाउँपालिका केन्द्र रस्नालुको सभाहलमा हुने सम्मेलनमा पालिका क्षेत्रभित्रका विभिन्न क्षेत्रका कृषकहरुको प्रतिनिधिमूलक सम्मेलन हुने बताइएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमलाई मध्येनजर गर्दै अधिकतम सुरक्षा नीतिको अबलम्बनका साथ कार्यक्रम हुने गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले जनता भ्वाइसलाई जानकारी दिएकी छिन् ।

पालिका क्षेत्रभित्रका चौंरी पालक, बाख्रा पालक, तरकारी खेती, किवी खेती, आलु खेती लगायतका कृषकहरुको प्रतिनिधिमूलक भेला गरी गोकुलगंगा गाउँपालिकालाई के कसरी कृषिमा आत्मनिर्भर बनाई अर्थोपार्जनको बाटो खोज्न सकिन्छ भन्ने योजना सहितको घोषणापत्र तयार हुने अध्यक्ष खड्गबहादुर सुनुवार बताउँछन् ।

जनता भ्वाइससँग कुराकानी गर्दै सुनुवार भन्छन्, ‘अर्गानिक खेती विस्तारमा गोकुलगंगा गाउँपालिकाले वार्षिक योजना सहितको कार्यक्रम ल्याइरहेको सन्दर्भमा यस सम्मेलनले पालिकालाई अझ थप कृषि मजबुद् बनाउनेमा म आशावादी छु । वार्षिक बजेटमा नै कृषिलाई अधिकतम महत्व दिएको गाउँपालिकाले यस्ता सम्मेलनबाट आएका सुझावहरुलाई भोलिका दिनमा फिल्डस्तरमा नै लागु गरिने योजना निर्माण गर्न पालिकाको कुनै कसर बाँकी रहने छैन ।’


गोकुलगंगा गाउँपालिकाले आयोजना गर्ने एकदिने कृषि सम्मेलनलाई जेबिडी ग्रुप कम्पनी काठमाडौंले सहजीकरण गर्ने जनाइएको छ ।