मन

मन एउटा नदेखिने वस्तु तर यसलाई म शक्ति भन्न चाहन्छु । नेपाली बृहत् शब्दकोशमा मनलाई यसरी अर्थ लगाएको पाइन्छ ः “संस्कृत नाम, मन १– चालिस शेर बराबरको वजन वा तौलको परिणाम मन २– प्राणीहरुको इच्छा, बोध, विचार, संकल्प, विकल्प आदिलाई नियन्त्रण तथा परिचालित गर्ने अन्तस्करणको अश वा वृत्ति, नाक, कान, आँखा आदिबाट थाहा पाइने कुराबाट आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय , अन्तःकरण, चित्त, हृदय, इच्छा, कामना, अभिलाषा, रुचि, विचार आदि आदि । मान्छेका विचार पनि कति अनौठा अनौठा छन् । मलाई आज नदेखिने वस्तु मनको बारेमा जान्ने इच्छा जागेर आयो । यो पनि मन नै हो । धेरै दिनदेखि म यो विषयमा केही जान्ने हुट्हुटीले छट्पटी हुँदै गयो । अङ्ग्रेजी शब्दकोष अनि नेपाली शब्दकोष पल्टाएर । आफूले अहिलेसम्म जाने बुझेको सबै उपाए गरेर आफूभन्दा जानकार अग्रजहरुबाट सोधि मागेर मनबारे जान्ने प्रयत्न गरेँ । सबैबाट एकै एकै खाले उत्तर पाएँ । र पनि मेरो मन नै बुझेन ।


मन कस्तो अनौठो वस्तु जुन देख्न नपाइने । विज्ञानले पनि प्रमाणित गरेर देखाउन नसक्ने । जो सुकै र जुनसुकैसङ्ग पनि हुने तर एकले अर्काको मन देख्न नसक्ने अझ आफ्नै मन पनि कत्रो र कस्तो छ भनेर प्रत्यक्ष देख्न नपाइने । पहिलो परिभाषा वा अर्थ हेर्दा चालिस शेर वजन बराबरको तौल वा परिणाम भनेको पाइयो । यो भौतिक वस्तुको नापतौल हो । तर प्राणीको मन चाहिँ कसैले तौलेर परिणाम बताउन नसक्ने अनि देख्न नसक्ने ? अनि यहि अदृश्य मनका कारण मान्छेले जीवनमा धेरै पाएका पनि छन् र गुमाएका पनि छन् ।


मानिसहरू भन्ने गर्छन्, तिम्रो मन त कस्तो ? हरेक प्रसङ्गमा मन फरक – फरक ढंगले अनुभूति हुने, केही कुनै वस्तु कसैलाई मन पर्ने त कसैलाई मन नपर्ने ? हैन यो मन भनेको के को ? कसले निर्माण गर्यो मनलाई ? अनि किन सबैको मन एकैखाले हुन नसकेको ? नाक, कान, आँखा आदिको अनुभूति नै मन भन्ने अर्थलाई सबैले मान्यतामा दिएका छन् । मलाई मन परेको वस्तु अरुलाई मन नपर्न सक्छ । अनि फेरि यो मन पनि कस्तो वस्तु होला ? राम्रो देख्यो कि मन परिहाल्ने जे देख्यो त्यही मन परिहाल्ने मन परेको वस्तु जति सबै आफ्नै होस जस्तो पनि लागि हाल्ने । मान्छेले आफूलाई मन परेको वस्तु नपाए जे पनि गर्छन् ।


समाजका सम्पूर्ण पक्ष एकातिर र ऊ एक्लै भए पनि ऊ आफ्नो मन परेको वस्तु आफ्नो बनाउन लागि परेको हुन्छ । यो पनि उसको हठी र जिद्दी मन नै हो । म कहिलेकाही आफैसङ्ग प्रश्न पनि गर्छु । तँैले मन पराइस् भन्दैमा त्यो तेरै हुनुपर्छ भन्ने कहाँ छ र ? आफ्नो मनलाई बशमा राख् । बशमा त राख्ने तर कसरी ? न त्यसलाई देख्न सकिन्छ न समात्न नै । बाँधेर राख्न मिल्ने भए त म कसैले खोल्न नसक्ने गरि सम्पूर्ण बलबुताले भ्याएसम्म बाँधेर राख्थँे । अझ कसैले नदेख्ने र कसैलाई नदेखिने गरि छोपेर राख्थेँ । फेरि यो कस्तो अचम्मको ? यात्रा गर्न यसलाई कुनै हवाइमार्ग, जलमार्ग, भूमिमार्ग केही पनि नचाहिने । अनि साधन पनि नचाहिने । रातदिन पनि नभन्ने । जहाँ र जताततै पनि सयर गर्न सक्ने । कुनै भौतिक, सामाजिक, आर्थिक, राजनैतिक मापदण्डले पनि नछेक्ने । जो जहाँ सुकै पनि पुग्न सक्ने । कसैको केही वस्तु देख्यो कि राम्रो छ भने मन परिहाल्ने । कोहीसँग अनुमति पनि लिन नपर्ने । कस्तो बिचित्रको वस्तु हो मन ? मन पर्नु, राम्रो लाग्नु, केही गर्ने इच्छा लाग्नु, चाहना राख्नु सबै मन हो तर मन कस्तो छ र कत्रो छ भनेर देख्न नपाउनु कस्तो अचम्म ?

मन परेको जति सबै आफ्नो बनाउने प्रयत्नमा लागेकाहरु कतिले आफ्नै र कतिले अर्काको जीवन ध्वस्त पारेका छन् । कहिलेकाही त लाग्छ यो मन किन बन्यो ? खुसी मन फूलजसरी फुल्ने, दुखी भए मन दुख्ने, फेरि दुखेको कसैलाई देखाउन नमिल्ने । भन्छन्, मानिसहरू शारीरिक चोट त सबैले देख्छन तर मानसिक चोट कसैले देख्दैन । यो अर्थमा लाग्छ मन भनेको मस्तिष्क हो कि क्या हो ? तर, यो अर्थ पनि ठ्याक्कै मिलेको जस्तो लाग्दैन । कसैले नराम्रो केही भन्यो, मन दुखिहाल्ने । कसैले माया देखायो, मन पखेटा फिजाएर उडिहाल्ने । हैन यो कस्तो वस्तु हो ? साना बालबालिकालाई माया कहाँ लाग्छ भनेर सोध्यो भने भन्छन् ‘गालामा’ । यो उनीहरुको सहि बुझाई हो किनकि मान्छेले माया देखाउन गालामा नै म्वाइ खान्छन् । उनीहरुको बुझाई सतही हुन्छ । जब उ ठूलो हुँदै जान्छ, संसार चिन्न थाल्छ । अनि भन्छ्न माया मनमा लाग्छ । हैन यो मन चाहिँ कहाँ हुन्छ त ?


सबै प्राणीको आन्तरिक र बाह्य अङ्ग सामान्यतया मिल्छ । टाउको, हात, खुट्टा, आँखा, नाक, कान घाँटी भँुडी आदि आदि । अनि आन्तरिक अङ्ग पनि मिल्न जान्छ मुटु, कलेजो, फोक्सो, मृगौला, आन्द्रा भुडी, पित्त आदि आदि । तर, मन भन्ने अङ्ग चाहिँ भौतिक रुपमा देख्न सकिदैन । यो देख्ने गरि नबन्नुको पनि कारण सायद देखियो भने चोरी धेरै हुन्छ भनेर होला । प्राणीको सबैभन्दा प्रिय वस्तु नै मन हो । मान्छेले नदेखिने मनमा त यति हत्ते गरेका छन् झन देखिने गरि बनेको भए त सबै मान्छेको मन चोरी हुन्थ्यो होला । नदेखिने मन त चोरी हुन्छ सुटुक्क हात खुट्टा, आँखा, नाक, मुख सबैतिर चौकीदार भएर खडा हुँदा त । झन् देखिने गरि मनको निर्माण हुँदा त कसैले पनि मन जोगाउन सक्दैन थ्यो होला ।


हैन यो मन पनि कति लोभी र पापी होला है ? कसैको केही देख्यो कि लोभ लागिहाल्ने । अनि कति असन्तोषी होला ? आफूसँग जति राम्राराम्रा वस्तु भए पनि अर्काकै राम्रो देख्ने । अनि राम्रो जति हाम्रो भन्दै पछि लाग्ने । मलाई लाग्छ आँखा नै होला मन । आँखा लोभी मन पापी भन्ने भनाई पनि कता कता मिलेको हो कि जस्तो लाग्छ । जसको आँखा नै छैन त्यो मान्छेको मन त्यति नै उज्यालो लाग्छ । अनि जसको आँखा छ, त्यसको मन त्यति नै अँध्यारो लाग्छ । त्यसैले मलाई लाग्छ मान्छेको मन बहकाउने काम आँखाले गर्छ । यो मेरो आफ्नो व्यक्तिगत धारणा हो । तपाईंको पनि यसमा सहमत हुनुपर्छ भन्ने कुनै जरुरी छैन । हरेक प्रसङ्गमा आउँछ मनै त हो के गर्नु मान्दै मान्दैन ।

हैन तपाईं कस्तो खालको मान्छे नदेखिएको वस्तु त्यही मनसँग किन डराउनु हुन्छ ? आफ्नो मनलाई तपाइँ आफूले बशमा ल्याउन सक्नु हुन्न भने तपाईं के मान्छे ? तपाईं आफ्नो मन पनि काबुमा राख्न सक्नुहुन्न भने तपाईं मान्छे हुनुको खै औचित्य ? जस्ता प्रश्नहरूको डङ्गुर तपाईं माथि थुप्रो लाग्छ । त्यसैले तपाईंले, मैले अनि हामी सबैले आफ्नो आफ्नो मनलाई आफैले बसमा राख्यौ भने मलाई लाग्छ समाज एक किसिमले आफै सफा हुन्छ । तपाईं पनि सफा अनि तपाईं देश, समाज र परिवार पनि सफा । सबैभन्दा पहिला हामी आफू आफैले आफ्नो कालो मनलाई धोएर चम्किलो बनाउनु पर्छ । अनि सबै सबैले आ–आफ्नो मन चम्किलो बनाए कसैको मनमा मैलो–धैलो नै हुन्न अनि कति सफा समाज निर्माण हुन्छ । आफू मनभरी फोहोरको डङ्गुर बोकेर बस्ने अनि अर्कोको उछितो काढेर बस्ने खराव प्रवृत्तिले नै हो मान्छेको मन र समाज दुबै फोहोर भएको ।


हैन यो कति शक्तिशाली हो ? न लडाइँ, न झगडा, न हानाहान, न बाझाबाझ, सुटुक्क कसैको मनभित्र छिर्ने ? न बाटो न कुनै साधन सुटुक्क पुगिहाल्ने अनि चरापचुरुप चोरेर भागी हाल्ने ? न कसैलाई देखिने गरि असर गर्ने ठूलो चोट दिए पनि धेरै माया गरेपनि नदेखिने कस्तो अचम्मको शक्ति छ यो मनमा । कहिलेकाही त लाग्छ यो मन नै फुत्त झिकेर फ्याकिदिउँ । अनि कसैको मतलब नहोस् । कोही कसैले दुखाउन नसकोस् तर असम्भव छ । यो कहाँ देखिने भौतिक वस्तु हो र ? नदेखिएको वस्तु कसरी फ्याक्नु ? अनि भित्रभित्रै पस्ने अनि भित्रभित्रै निस्कने यो जादुमय शक्ति मन । जति जोसुकै र जुनसुकैलाई मन पराए पनि नसकिने । जो देख्यो, जसलाई देख्यो मन परिहाल्ने, अझ माया नै लागि हाल्ने ।

अनि देखे र भेटेजति सबैलाई मन परे पनि माया लागे पनि नसकिने अझ झन बढेर जाने हैन यो के हो मैले त अहिलेसम्म बुझ्नै सकेको छैन । बुझ्ने चाहना वा इच्छा राख्नु पनि मन नै हो । मन भन्ने जिनिस् यहि हो भन्ने भएको भए पक्का म त्यो मनलाई झिकेर नदीमा बगाइ दिन्थे या कसैले चोर्न र झिक्न नसक्ने गरि बन्दक बनाएर राख्थे । कसले बनायो यो मन अनि कसले लुकायो फेरि यसलाई यस किसिमको कुतूहल मेरो मनमा नागबेली झै फन्कोे मारेर घुमिरहेको छ । अझ कहिलेकाँही त एउटा कुराले खुब पिरोल्छ हैन मन परेको जति र माया लाग्छ भनेजतिलाई फेरि खुलेर स्वीकार गरि स्वागत पनि किन गर्न दिदैन समाज ? मान्छेलाई बाँचेर पनि जिउँदै मरेजस्तो किन बनाउँछ यही मनले । देखे जति सबैलाई राम्रो देखाउँछ यही मन, सबै मेरै हुनुपर्छ पनि भन्छ यही मन मनपरेको जति सबै कहाँ पाउँछस त भनेर सम्झाउँछ पनि । यही मन फेरि आफ्ना चाहना पूरा भएनन् भनेर तड्पितड्पी रुन्छ पनि यही मन ।


त्यसैले म मनलाई देउता ठानी पूजा गर्छु । ए मन त बहकिएर नभाग । तेरो कारण मैले कसैलाई दुखाउन र कसैबाट मैले दुख्नु नपरोस् । मन त कहिल्यै पनि खराब संगत र बाटोमा नहिड । कसैको पनि कुभलो नसोच सबैलाई समान व्यवहार गर । धेरै लोभि र पापी नबन । सहि गलत छुट्टाउने हैसियत राख भन्दै प्राथना गर्छु । अनि सबैसबै मानवको मन पानी जस्तै कञ्चन होस भन्ने काममा गर्छु । चित्त शुद्धी अर्थात् आत्मशुद्धीको लागि भगवानसँग प्राथना गर्छु । सबै मानवको मन शुद्घ, सफा र शान्त होस् अनि त्यो शुद्ध मनले सबैको हित गरोस् । हत्या, हिंसा, बलात्कार, चोरी डकैती , लुटपाट जस्ता समाजलाई धमिल्याउने तत्वको सदा सदाको लागि अन्त्य होस् ।