जापान जान छोडेर कृषिमा लगानी

मंसीर १५, प्रकाश न्यौपाने / कुमार श्रेष्ठ, रामेछाप


गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरेका आङ् टेण्डी शेर्पाले आफ्नो व्यवसायिक कृषि फर्मबाट वार्षिक साँढे चार लाख कमाउने गरेका छन् । विभिन्न ६ प्रजातिको स्याउ, अर्गेली, लौठ सल्लाको नर्सरी तथा चिया खेतीमा विगत १ दशकदेखि रमाउँदै आएका शेर्पा कृषि पेशामा नै आफ्नो भविष्य देख्नेहरुका लागि उदाहरण बनेका छन् ।


गौरीशंकर एप्पल फर्म एण्ड टेक्ससवालिचियाना नर्सरी मार्फत कृषि व्यवसायमा रमाउँदै गरेका कृषक शेर्पाको जीवनको विगत निकै रोमाञ्चकारी रहेको छ । शेर्पाको छोरा हुनुको नाताले पनि बृटिश लाहुरे बन्न रहर भइहाल्छ । तर पनि उनले त्यो रहरलाई थाँती राखेरै २०४२ सालदेखि विभिन्न रुपबाट कृषि कर्ममा लाग्ने र त्यसैलाई धानेर आफू बच्ने, अरुलाई पनि बचाउने कर्ममा लाग्ने प्रण गरे । आफ्नो केही समयको शिक्षण पेशालाई बिट् मारेर शेर्पाले २०७२ सालदेखि यो फर्मको जन्म दिएर त्यसैमा आफूलाई भिजाउने प्रयत्न गरिरहेका छन् ।


शेर्पाको जीवनमा देखेको सपना युएस जाने त पुरा भएन भएन । तर युएसको सपना पुरा नभएपछि उनले जापान जाने र केही कमाउने लाससा भने मनमा बाँकी नै थियो । यसो हुँदा त्यसले आफू र आफ्नो परिवारको मुहारमा खुशी ल्याउने भरमग्दुर प्रयास गर्न बाँकी राखेनन् । यस्तो अवस्थामा पनि शेर्पाले आफूलाई सफल नपाउँदा उनी अन्नतः आफ्नै माटोमा फर्किएर कृषि कर्ममा लागेका छन् ।
शेर्पाको कृषि फर्म कूल ७८ रोपनीमा फैलिएको छ । ३० रोपनी जग्गालाई शेर्पाले स्याउ खेतीका लागि प्रयोग गरेका छन् भने ४ रोपनी लौठसल्ला नर्सरीका लागि प्रयोग गरिरहेका छन् । बाँकी जमिन चिया खेतीका लागि उनले प्रयोग गरिरहेका छन् ।


जीवनमा कृषि कर्ममा नै किन लाग्नुभयो भन्ने हाम्रो जिज्ञासामा शेर्पाले निकै गहन जवाफ दिए । उनी भन्छन्, ‘सबै खुशी सपनाको खोजीमा नै कहाँ सकिन्छ र ? आफूले चाहेको खुशी खोज्न वास्तविकतामा पनि त आउन सक्नु प¥यो नि ? मैले पनि जीवनमा ठूलो खुशी खोज्दा खोज्दै धेरै उमेर कटाएँ तर वास्तविक खुशी मलाई यही मेरो माटोमा मिलेको छ । अब यसैलाई आफ्नो जिउने आधार बनाउँछु ।’


शेर्पाको यो भनाईले हामीलाई पनि निकै सोचमग्न बनायो । हामीले पनि सोच्यौं, शेर्पाको यो सोचमा दम छ । वास्तवमा नै हामीले खोज्ने खुशी हामीसँगै हुँदो रहेछ । २०७२ सालको भूकम्पको धक्का अझै उनको मनमा ताजै छ । भूकम्पले जमिन हल्लाए पनि उनको मनको योजना र दिमागी सोचमा भने कहीँ कतै क्षति पु¥याउन सकेन । देश भूकम्पको थर्काइमा थर्किइरहँदा उनको मनमा भएको कृषि फर्मको योजना भने विस्तारै विस्तारै अगाडि बढ्दै गयो । अन्तत शेर्पाको सोही वर्ष गौरीशंकर एप्पल फर्म एण्ड टेक्ससवालिचियाना नर्सरी नामक कृषि फर्म दर्ता गरेर काम सुरु गरे । हाल उनको नर्सरीमा भएका स्याउहरु निकै राम्रा देखिन्छन् । केही बोटहरुमा स्याउका चिचिला लागेका छन् भने कोही बोटहरुमा फूलहरु ढक्मकाउन थालेका छन् । आफ्नो स्याउ फर्मको बारेमा जिज्ञासा राख्दा शेर्पा भन्छन्, ‘अझ मैले सोचे जस्तो स्याउको बगान बन्न सकेको छैन । मेरो सोचमा त स्याउलाई साँच्चै स्याउ बगान नै बनाउने थियो । हाल स्याउमा बोक्रा खुइलिने रोग लागेकाले त्यसको उपचार खोजिरहेको छु । लाग्छ अबको केही समयमा यसलाई झनै बढाउँदै लैजाने छु ।’


शेर्पाले हालसम्म आफ्नो कृषि फर्मको लागि ५० लाख भन्दा बढी लगानी गरिसकेका छन् । स्याउ बगाउन बनाउने सपनालाई साकार पार्नका लगि मात्रै २० लाख भन्दा बढीको लगानी भइसकेको शेर्पा बताउँछन् । आफ्नो फर्म संचालन गर्नुभन्दा पहिला पनि स्याउको बारेमा आफूले भरपुर ज्ञान लिएकाले गर्दा आफूलाई स्याउ खेती गर्न मनले हुट्हुटी लगाएको शेर्पा बताउँछन् । उनी भन्छन्, ‘यो फर्म संचालन गर्नुभन्दा पहिला मैले पशुपालनमा आफूलाई लगाउँछु भन्ने सोचेको थिएँ तर समयले त्यसो हुन दिएन । ललितपुरको गोटीखेलमा आफ्ना केही साथीहरुले गरेको पशुपालनलाई देख्दा मनमा निकै लोभ लाग्थ्यो तर भनेजस्तो भएन । त्यो बेला मेरो सोच सफल भइदिएको भए आज ललितपुरतिरै म पशुपालनमा रमाइरहेको हुन्थें । २०÷२५ लाख लागनी पनि हुन्थ्यो होला । तर आज यो फर्म संचालन गर्दा निकै आनन्द लागिरहेको छ ।’


गोकुलगंगा गाउँपालिकाले व्यवसायिक कृषि कर्ममा लाग्ने आफ्ना नागरिकहरुका लागि निकै फराकिलो नीति अख्तियार गरेको छ । कृषकहरुलाई लागि अनुदान मात्रैका लागि वार्षिक ७ करोड भन्दा बढी रकम छुट्याएको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार बताउँछन् । राज्य पुर्नसंरचनाको अभ्यास भएपछि बनेका रामेछापका ८ वटै पालिकाहरु मध्ये गोकुलगंगाले कृषिलाई निकै बढावा दिइरहेको हो । आफ्नो गाउँपालिकामा अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्ने लक्ष्य लिए बमोजिम शेर्पाले संचालन गरिरहेको कृषि फर्मले पनि अर्गानिकतालाई मुख्य मन्त्र बनाएको छ ।


तपाईंले अर्गानिक उत्पादनमा नै लाग्नुपर्छ भन्ने मनासाय कसरी बनाउनु भयो ? भन्ने जिज्ञासामा शेर्पा भन्छन्, ‘रासायनिक मल र किटनाशक औषधिको व्यापक प्रयोगले न त माटो नै बच्न सक्यो, न त त्यस्ता मलहरुबाट उत्पादित उत्पादनलाई खाएर मान्छेहरु नै दीर्घजीवि बन्न सके । आज मान्छेलाई अर्गानिक वस्तुहरुको सेवन गर्नु आवश्यक छ । यो ३ हजार फिट भन्दा माथीको हाइटमा उत्पादन भएका कृषि सामग्रीहरुको सेवनले मान्छेलाई निकै स्वस्थ बनाउने छ । पैसा त जे गरेपनि कमाउन सकिन्छ नि । तर मान्छेको स्वास्थ्यलाई पैसाका लागि खेलवाड गर्नु हुँदैन ।’
आफूले सिर्जना गरेको स्याउ फर्म विल्कुलै अर्गानिक रहेको उनले बताएका छन् । देख्दा मुस्ताङ्को जस्तो स्याउ नदेखिने भएपनि स्वादमा भने मुस्ताङ्गी स्याउ भन्दा केही फरक नभएको स्थानीय ललिता श्रेष्ठ बताउँछिन् ।

शेर्पा यस गौरीशंकर एप्पल फर्म एण्ड टेक्ससवालिचियाना नर्सरीका एकल संचालक हुन् । उनका २ छोरा र श्रीमती राजधानीमा नै बस्छन् । २ छोराहरु उच्च शिक्षाको सिलसिलामा छन् भने श्रीमती छोराहरुको देखभालमा । तपाईंलाई फर्म संचालन गर्न र अन्य सरसहयोगका लागि कसले साथ दिएको छ त ? भन्ने जिज्ञासामा शेर्पा भन्छन्, ‘२ भाइ छोराहरु कलेजको पढाईका लागि काठमाडौंमा नै छन् । उनीहरुको हेरचाहका लागि श्रीमती उतै छिन् । आवश्यक पर्दाको घडीमा उनको सहयोग पाइनै रहेको छु । फर्म संचालन यता मैले गर्दा व्यवहार पनि एउटै गतिमा अगाडि बढ्न सक्छ नि ?’
आङ् टेण्डी शेर्पाले हालसम्म कुनै पनि सरकारी स्तरको कृषि अनुदान लिएका छैनन् । गोकुलगंगा गाउँपालिकाले कृषिमा अधिक अनुदान खन्याए पनि उनको तहसम्म अनुदान पुग्न सकेको उनले बताएका छन् । यस सम्बन्धमा हामीले शेर्पालाई जिज्ञासा राख्यौं, ‘किन अनुदानका लागि पहल गर्नु भएन ? या अनुदानमा नै यहाँको रुची नभएर ?’ यस जिज्ञासामा शेर्पा भन्छन्, ‘पहिलो कुरा त अनुदानका लागि मैले पहल नै गरिँन । दोस्रो कुरा, पहल गरेर अनुदान लिँदा पनि उस्तो धेरै आउने पनि हैन । आफूलाई लगानी गर्नका लागि पुगेकै छ । कुनै दिन आवश्यक प¥यो भने त्यसका लागि पहल गरौंला ।’


कतिपय कृषकहरु आफूलाई नामुद कृषक हूँ भन्दै अनुदानका लागि विभिन्न सरकारी स्तरमा धाउने गर्दछन् । विभिन्न नामका कृषि फर्महरुको डकुमेन्ट तेस्र्याउँदै झोलामा अनुदान पार्नेहरुको लाममा शेर्पा कहिल्यै परेनन् । आजसम्म जति कृषिका नाममा शेर्पाले लगानी गरेका छन्, त्यो सबै आफ्नो मात्रै भएको शेर्पा बताउँछन् ।


शेर्पा जस्ता धेरै कृषकहरु गोकुलगंगा गाउँपालिकामा व्यवसायिक कृषि फर्ममा व्यस्त छन् । अझ भन्दा गोकुलगंगा रामेछाप जिल्लाको कृषिको हब् भनेपनि हुने गाउँपालिका भित्र पर्दछ । चुचुरेमा आफ्नो सम्पूर्ण रगत पसिन बगाएर कृषि कार्यमा लीन भएका शेर्पा जस्ता अन्य धेरै कृषकहरुको व्यवसायिक कृषि फर्मलाई अझ विस्तार गर्न वडाको तर्फबाट पालिकासँग गर्ने समन्वय के हो ? भनेर हामीले गोकुलगंगा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मणीकुमार लामालाई सोधेका थियौं ।
उनी भन्छन्, ‘पालिकाभित्र गरिने यस्ताखाले व्यवसायहरुलाई अझ प्रवर्धन गर्ने लक्ष्य स्वरुप हामीले उहाँहरुलाई चाहिने प्राविधिक सहयोगको लागि वडाले सदैव पहल गर्नेछ । लगानी गर्नका लागि आवश्यक पर्ने अनुदानको व्यवस्था गर्न गाउँपालिकाले नीति नै बनाएर अघि बढेको अवस्थामा अन्य कृषकहरुलाई पनि व्यवसायिक कृषि फर्ममा आकर्षिक गराउन विभिन्न उत्प्रेरणमूलक कार्यक्रम मार्फत् अगाडि बढ्ने लक्ष्य लिएका छौं र त्यसै अनुसार अगाडि बढ्ने छौं ।’


स्याउ, अर्गेली, लौठ सल्ला तथा चिया खेतीको व्यवसायमा रमाउँदै गरेका शेर्पा जस्तै अन्य धेरै कृषकहरु गोकुलगंगा गाउँपालिकामा अनवरत कृषि पेशामा लागिरहेका छन् भने स्वदेशमा आम्दानीको बाटो नदेखेर विदेश पलायन हुनेहरुका लागि शेर्पा उदाहरण बनेका छन् ।