ढुक्क हुनुस् राष्ट्रपतिज्यू, तपाई‌की छाेरी बलात्कृत हुन्नन्

सानु शाही पुलामी

मान्छे हुन मानवीय संवेदना हुनुपर्छ । केवल शारीरिक बनावट हुँदैमा मान्छे भएको मानिँदैन । एउटा सफल मानव हुनका लागि उसले कुनै न कुनै क्षेत्रमा योगदान पुर्याउनु पर्छ । योगदान व्यक्तिगत या सामाजिक जुनसुकै पनि हुनसक्छ । व्यक्तिगत योगदान मात्रै दिएको छ भने पनि उसको परिवार र आफ्नो व्यक्तिगत जीवन सफल हुन्छ । सामाजिक योगदान दिनसक्यो भने समाज र देश दुबैलाई फाइदा हुन्छ । ऊ मानव भएर जन्मेको सार्थक हुन्छ । तर कोही कोही यस्ता नरपिशाच पनि मान्छेको रूपमा जन्मेका हुन्छन् कि जसले परिवार, समाज र राष्ट्रलाई समेत पूर्णरुपमा सखाप पार्छ । यतिमात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत आफ्नो देशको नाम बद्नाम गर्छ ।


त्यस्तो व्यक्ति परिवार, समाज र राष्ट्रका लागि घातक हुन्छ । त्यस्ता व्यक्तिलाई संरक्षण दिएर राख्न कुनै जरुरी छैन । त्यस्ता व्यक्तिलाई अरुलाई मारेर आफू बाँच्ने कुनै अधिकार छैन । चाहे त्यो जोसुकैको छोरा होस, या जुनसुकै पार्टीको मानिस होस् । अपराधीको कुनै जात, धर्म, पेशा, लिङ्ग, वर्ग, राजनीति हुँदैन । त्यो केवल अपराधी मात्रै हुन्छ । अपराधको पनि सीमा हुन्छ । खान नपाउनेले चोर्नु, दोहोरो भनाभन हुँदा हात हालहाल हुनु स्वभाविक हुन । तर जुन व्यक्तिले र बच्चाले आफ्नो शारीरिक अङ्गको नाम पनि जानेको छैन, त्यस्तो व्यक्तिलाई अपहरण अनि बलात्कार गरेर मार्ने नर पिशाचलाई बाँच्न पाउने कुनै अधिकार छैन । अनि त्यस्तालाई बचाउँने जिम्मा सरकारले लिनु पर्छ भन्ने पनि छैन । त्यस्ता नरपिशाचलाई फाँसी दिनको कुनै विकल्प छैन । तर यहाँ सरकार त्यस्ता नरपिशाचको बचाउमा लागेको देखिन्छ, किन ?


सरकारलाई फाँसीको सजाँय ल्याउन के ले छेकेको छ ? अरु देशलाई हेरेर पनि यस्ता अपहरण अनि बलात्कार पछि गरिने हत्या जस्ता जघन्य अपराधमा फाँसी ल्याउन के ले रोकेको छ सरकारलाई ? राष्ट्रपति महिलाको भएको देशमा छोरीले बलात्कार भएर मर्नुपर्ने कस्तो लाजमर्दो स्थिति हो यो ? दैनिक छोरीहरु बलत्कृत भएर मरिरहेका छन् । महामहिम राष्ट्रपतिज्यू, यदि यस्तो हुँदा पनि तपाईं फाँसीको कानुन ल्याउन सक्नुहुन्न भने सबै नारीहरुको योनी फालेर लिङ्ग प्रत्यारोपण गरिदिनुहोस् । हैन भने कि त फाँसीको सजाय ल्याउन तपाईंकै छोरी नातिनीले बलत्कृत भएर मर्नु पर्ने हो ? हैन भने तपाईं किन चुप् लागेर बस्नुहुन्छ ? अनि गृहमन्त्रीज्यू, तपाइँ यदि छोरीलाई सुरक्षा दिन सक्नुहुन्न भने आफ्नी छोरी र नातिनीको पनि विभत्स हत्या भएको हेर्न तयार हुनुहोस् । तपाईंको वरिपरी जनताको कर खाएर सुरक्षा दिने सुरक्षा गार्डलाई आफ्नो घरमा फर्काउनु होस् अनि निर्धक्क भएर सुत्नुहोस । सक्नुहुन्छ ? कदापि सक्नुहुन्न्न । किनकी तपाईं आफ्नै व्यवहारले असुरक्षित हुनुहुन्छ ।


एउटा हैन, दुईटा हैन धेरै छोरीहरू बलत्कृत भएर मरिरेको खबर म दैनिक रूपमा अनलाइन पत्र पत्रिका र टेलिभिजनमा सुन्थेँ। त्यो सुन्दा म एक छोरी भएको नाताले डराउथेँ । आमा भएको नाताले आफ्नो छोरी कसरी जोगाउन सकिएला भनेर आँतिन्थेँ । तर २०७७–०८–०८ गते मैले मेरै आँखाले एउटी अबोध ६ वर्षे नानी गुल्बासा खातुनको बलात्कार पछि गरिएको क्षतविक्षत शव देखेर मेरो मन कति दुख्यो । यति त म जन्मेको ३ दशक भयो अहिलेसम्म त्यति दुखेकी थिइँन । म कति रोएँ, यति त मैल जीवनको तीन दशक लामो समयमा पनि रोएकी थिइँन । आँसु त यति बगे कि त्यति आँसु मैले अहिलेसम्म बगाएको थिइँन । कुन आमाको मन रुँदैन होला र जसलाई आफ्नो शरीरको अङ्गको नाम थाहा छैन उसलाई नरपिशाचले आफ्नो यौन चाहना मेटाउन बलात्कार गर्छ, अनि बलात्कार पछि शरीरलाई क्षतविक्षत गरेर हत्या गर्छ । त्यसपछि बोरामा खाँदेर झाडीमा फालिएको अवस्थामा भेटिन्छ ।


त्यो नरपिशाच हामीलाई जिम्मा दिने कानुन बनोस् । जसलाई हामी आमाहरूले अचार पिसे जसरी पिसीपिसी हत्या गर्न पाइयोस् । सार्वजनिक स्थलमा बिना हातहतियार अदुवा लसुन पिसे जसरी धूलोपीठो पारेर मार्न पाइयोस् । अनि मात्रै एउटी आमाले शान्तिको श्वास फेर्न पाउँछिन् । अनि अबोध मृत आत्माले शान्ति पाउनेछ । हैन भने आमाले जहिल्यै पनि त्यसको बदला लिने दाउ खोजिरहन्छिन् । अनि अबोध आत्माले तपाईंलाई सताइरहने छ ।


किन छेक्छ सरकार नरपिशाचलाई फाँसी दिन ? कतै तपाईंको छोरा पनि यस्ता यस्ता जघन्य अपराधमा संलग्न भैरहेका त छैनन् ? कि यस्ता घटनाको मतियार तपाईं नै हो ? हैन भने तपाईं किन दोषी बचाउन लाग्नुहुन्छ ? त्यो अपराधी तपाईंको के नाता पर्छ ? तपाईंले त्यो अपराधीबाट के सौगात पाउनु भयो ? हामी आम जनतामा यस्ता खाले प्रश्नहरु क्यामाराको रील घुमेजसरी घुमी रहेको छ ।
यी प्रश्नको जवाफ माग्ने अधिकार हामी आम नागरिकमा छ कि छैन ? अपराधीलाई कार्वाहीको माग गर्न हामीले पाउने कि नपाउने ? अनि अपराधीलाई कडा कार्वाही गराउन आवाज उठाउदा गोली ठोक्ने अधिकार तपाईंलाई कसले दियो ? जनताले तिरेको कर खाएर बाँचेका अनि हाम्रै सुरक्षा गर्न खटाएका प्रहरीमाथि हामीले प्रश्न गर्न पाउने कि नपाउने ?

हामीले भोट दिएर पठाएको तपाईं जनप्रतिनिधिलाई जनताको सुरक्षा दिने तपाईको दायित्व हो कि हैन ? तपाईंले नै सही निर्णय गर भनेर नियुक्त गर्नु भएको न्यायाधीश किन पैसामा न्याय बेच्छ ? के न्याय किनबेच गर्ने वस्तु हो ? गुल्बसा खातुनलाई बलात्कार गरेर हत्या गर्ने नरपिशाच अरुण साहलाई यदि तपाईंले चौध दिन अगाडि धरौटीमा रिहा नगर्नु भएको भए आज ती अबोध बालिका र निहत्था भाइ सन्जय न्यौपानेको ज्यान जाने थिएन । यो अपराधको सजायको भागिदार तपाईं हुने कि नहुने ? पटक पटक चोरी, डकैती, लागुऔषध दुर्बेशनी, यौन हिंसा अनि ज्यान मार्ने करतुतमा जेल परेको व्यक्तिलाई पैसा खाएर छुटाउने तपाईं श्रीमान न्यायाधीश यस घटनामा तपाईं आफूलाई दोषी ठान्न तयार हुने कि नहुने ?


आफ्नो कुलतमा फसेको, पटक पटक जघन्य अपराध गरेर जेल परेको छोरालाई पैसाको आडमा छुटाउने तपाइँ बुवा आमा यो घटनामा आफूलाई सजाँयको भागिदार ठान्ने कि नठान्ने ? आफ्नो एउटा अपराधी छोरालाई बचाउँदा तपाईंको छोराले अरुको ज्यान लियो । तपाइँको लापरबाही र लाडप्यार अनि अहम्ले मेरो छोरो अपराधी भएको हो । छोरोले गरेको अपराधको हिस्सेदार आफूलाई ठान्ने कि नठान्ने ? छोरा छोरी अपराधी हुनुमा आमा बाबुको पनि ठूलो हात हुन्छ । चाहे तपाईं जतिसुकै आफूलाई निर्दोष ठान्नुहोस् तर म यो स्वीकार गर्न सक्दिन कि तपाईं निर्दोष हुनुहुन्छ । तपाईंको छोराको कारण आज तपाईं घरवार विहीन हुनुभएको छ । तपाईंको घर जलेको छ । यसमा मेरो पनि असहमति छ । घरले के गरेको थियो र यो घर त तपाईंको छोराको मात्रै हैन । तपाईं बुवा आमाको र तपाईंको अरु छोराछोरी, बुहारी र नातिनातिनाको पनि हो । तर किन तपाईंले त्यो अपराधी छोरालाई त्यहाँ आश्रय दिनु भो ?


तपाईंले किन आफ्नो अपराधी छोरालाई निर्दोष देख्नु भो ? हो यसकै सजाय अब तपाईंले भोग्नुपर्छ । तपाईं आफ्नो छोराको गल्तीलाई पैसाले ढाक्ने प्रयत्नमा लाग्नु भयो तर अरुको हित सोच्नु भएन । हो त्यसैले तपाईं अपराधीलाई संरक्षण दिने बुवा आमा र सम्पूर्ण परिवार यो सजायको भागिदार हुनुहोस् । अपराध गर्ने र गर्न सहयोग गर्ने दुबै सजायको भागिदार हुनपर्छ । नेपालीमा एउटा उखान छ “गर्नेभन्दा गराउने ठूलो ।”


आज प्रत्येक आमा, बा त्रसित हुनुपर्ने अवस्था सिर्जना भएको छ । अबोध बालिका गुल्बासा खातुन त एउटा प्रतिनिधि पात्र मात्रै हो । धेरै छोरीहरु बलात्कारको शिकार भएका छन् । कति मारिएका छन् । त कति घरपरिवार र समाजबाट तिरस्कृत भएका छन् । अझ कतिपय घटना त अभिभावक आफ्नो इज्जत जाने डरले बाहिर ल्याउन चाहँदैनन् । यहाँ छोरी चेलीको ज्यान भन्दा इज्जत ठूलो ठान्ने गलत परम्परा छ । कतिपय घटनाहरु आर्थिक लेनदेनमा मिलाइन्छ त कतिपय घटना बलात्कार गर्ने व्यक्तिलाई नै जबर्जस्ति छोरी जिम्मा लगाएर पनि मेट्ने काम गरिन्छ । यो सरकार गलत हो । म तपाईलाई पुग्ने जति पैसा दिन्छु के तपाईं आफ्नो छोरीलाई बलात्कार गरि मार्न दिनुहुन्छ ? छोरीले के यहाँ बाँच्ने अधिकार छैन ?


छोरी भएर जन्म लिनु उनको कमजोरी हो ? एउटा केही महिना अगाडिको एउटा सिराहा जिल्लाको घटना हो । एउटी छोरीले म बलत्कृत भएँ, मलाई न्याय चाहियो । मलाई न्याय पाउने ढोकासम्म पुर्याइ दिनुस् भनेर आफ्नो घर परिवार, आमा बुवासङ्ग रोइकराइ लाख बिन्ती गरिन् । आफ्नो इज्जत जाने डरले कसैले पनि ती निरीह छोरीको चित्कार सुनेनन् । अन्तमा ती निर्दोष छोरीले आत्महत्याको बाटो रोज्नुपर्यो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । यहाँ कैयौं छोरीहरुको ज्यान अकालमा गुमाउनु परेको छ । के यी सब अन्धो र बहिरो सरकारले नदेखेको र नसुनेकै हो त ?


निदाएको मान्छेलाई उठाउन सकिन्छ तर निदाएको बहाना गर्नेलाई उठाउन सकिँदैन भन्ने नेपाली आहान चरितार्थ भएको देखिन्छ । अपराधीलाई राजनैतिक संरक्षण गरिएका थुप्रै उदाहरणहरु छन् । तपाईं राजनीति गर्नेको गोबर भरिएको गिदीमा किन यो कुरा नघुसेको ? के तपाईंको गिदीमा मानवीय गोबर छ कि के ? अपराधीको कुनै राजनीति हुँदैन भन्ने चेत कहिले घुस्छ तपाईंहरुको खोपडीमा ? तपाइँहरुको दिमाग एउटा माटोको मानवीय गोबर भरिएको भाँडो हो कि क्या हो ? आफ्नो सत्ता टिकाउन मात्रै राजनीति गर्ने कि देश र जनताको लागि पनि ? कि आफ्नो आसेपासे, झोले कार्यकर्ता र नातागोताको लागि ? जनतालाई आपत परेको बेला कानमा तेल हालेर बस्न मिल्छ तपाईहरुले ? आजकाल कोही बाबु आमा ढुक्कसङ्ग निदाउन सकेका छैनन् ।


कतै आफ्नो छोरा बलात्कारी भएर आउने हो कि ? कतै छोरी बलात्कृत भएर झाडीमा फालिएको भेटिने हो कि ? यो सब हुनको कारण फितलो कानुन र घुसखोरी र भ्रष्ट कानुनका पुजारीहरु अनि सत्ता टिकाउनका लागि डन पाल्ने परम्परा हो । जहिलेसम्म राजनीतिको फोहोर हट्दैन, तबसम्म छोरी सुरक्षित हुन सक्दिनन् । आफ्नो पार्टीको भन्ने बित्तिकै अन्धो भएर विश्वास गर्ने र गुणगान गाउने प्रवृतिको अन्त्य हुँदैन, तबसम्म कुनै पनि आमा ढुक्कसङ्ग निदाउन सक्दिनन् ।


छोटो र अश्लील लुगा लगाएर छोरी बलात्कार हुन्छे भन्ने कतै कतै सुनिन्छ । यो ढोङ्गी सोच हो । पाश्चात्य मुलुकतिर प्रायजसो सबै नारीहरु अर्धनग्न नै हिंड्छन् । खै त त्यहाँ छोरी बलात्कार भएको खबर आएको ? यहाँ लुगा छोटो भएर बलात्कार भएकी हैन छोरी । यहाँ त सोच छोटो भएर छोरी बलात्कार भएकी हो । पहिला आफ्नो सोचलाई लामो बनाऊ, लुगा त एउटा बहाना मात्रै हो । यहाँ २ वर्षे अबोध शिशु बलात्कार भएकी छिन् भने ८० वर्षे हजुरामा बलात्कार हुनुभएको छ ।
के यहाँ लुगाको कारण बलात्कार भएको हो त ? यहाँ छोरी बलात्कार हुनको पछाडि थुप्रै कारणहरु छन् । जो तपाईंलाई पनि थाहा छ । तर तपाईं गलत नियत भएका व्यक्तिहरु थाहा पाएर पनि नपाएको जस्तो गर्नुहुन्छ । कानुन नुनसङ्ग साटिनु, सत्ता र स्वार्थका लागि राजनीति गर्नु, भ्रष्टाचार बढ्नु, धन सम्पति अहम लिनु, भन्सुनमा काम गर्नु, छोराछोरीले जति गलत गरे पनि बाबू आमाले साथ दिनु, इज्जतलाई सबैभन्दा ठूलो ठान्नु, नारीलाई नरकको मूलढोका ठान्नु, छोराछोरीमा विभेद गर्नु, गरिबी र बेरोजगारी बढ्नु, व्यवसायिक र प्राविधिक शिक्षाको कमी हुनु आदि थुप्रै कारणहरु छन् ।


हरेक समस्याको समाधान हुन्छ । समाधान नै नहुने कुनै समस्या हुँदैन । यो ध्रुवसत्य हो । सबैभन्दा पहिला फोहोरी राजनीतिको अन्त्य हुनुपर्छ । कानुनका पुजारीहरु खरानी धसेर जय शम्भो भन्दै हिँड्ने ढोङ्गी जोगि जस्तो हुनुभएन । न्याय र अन्याय छुट्टाउने ल्याकत हुनुपर्छ । छोराछोरी जन्माएर मात्रै हुन्न । उनीहरुलाई सही संस्कार सिकाउनु हाम्रो मुख्य दायित्व हो भनेर सबै बाबू आमाले बुझ्न सक्नुपर्छ । आफ्नो छोराछोरी के गर्दैछन् ? प्रत्येक आमाबाबुले जानकारी राख्न सक्नुपर्छ । यदि सहि संस्कार सिकाउँदा सिकाउँदै पनि छोराछोरीले गलत गर्छन् भने आफैँले सजाँय दिलाउने हिम्मत प्रत्येक बुवा आमाले गर्नुपर्छ । राज्य अझ सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ ।


अशिक्षा, गरिबी र बेरोजगारको अन्त्य गर्नुपर्छ । अपराधीलाई कडाभन्दा कडा सजाँयको व्यवस्था गर्नुपर्छ । भ्रष्टाचार, शोषण, दमनको अन्त्य गर्नुपर्छ । आफू मातहतका सम्पूर्ण कर्मचारीलाई राम्रो काम गर्नेलाई उच्च सम्मान र नराम्रो काम गर्नेलाई दण्द जरिवानाको व्यवस्था गर्नुपर्छ । नातावाद र कृपावादको अन्त्य गर्नुपर्छ । यति गर्न सक्यो भने स्वस्थ र स्वच्छ समाज निर्माण हुने कुरामा कसैको दुई मत हुनसक्दैन ।

उल्लेखित पाठ्य सामग्री लेखकका निजी विचारहरु हुन् । (प्रधान सम्पादक)